कार्यक्रम सारांश

पृष्ठभूमि

कर्णालीलाई चिन्ने र चिनाउने, साथै कर्णालीमै बसेर राष्ट्रिय बहस गर्न सकिन्छ भन्ने मानक स्थापित गर्नका लागि शुरु गरिएको कर्णाली उत्सव ..कुडा कर्नालीकाको चौथो संस्करण सम्पन्न भएको छ। २०७९ फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा सञ्चालन भएको कर्णाली उत्सव ..कुडा कर्नालीका एउटा साहित्यिक, सांस्कृतिक एवं नीतिगत बहसको कार्यक्रम हो। विचारको उत्सवको रुपमा समेत परिचित कर्णाली उत्सव हरेक वर्ष फागुन महिनामा तीन दिनसम्म सञ्चालन हुन्छ।

नेपाली भाषाको उद्गम तथा खस राज्यको विरासत बोकेको कर्णाली प्रदेशले अब आफ्नो कुरा आफैं भन्न थालेको छ। प्रदेशका नीति निर्माता तथा जवाफदेही व्यक्तिहरुलाई कर्णालीले प्रश्न गर्न थालेको छ।  उत्सवको पहिलो संस्करण २०७६ फागुन १९, २० र २१ गते सम्पन्न भएको थियो। जसमा विभिन्न १४ वटा सत्रहरु तथा अन्य विषयहरूमा बहस तथा साहित्यिक कार्यक्रम सञ्चालन भएको थियो। कर्णाली उत्सवको दोस्रो संस्करण २०७७ फागुन २६ देखि २९ गतेसम्म सम्पन्न भएको थियो, जसमा पनि १४ वटा सत्रहरु रहेका थिए। कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करण २०७८ फागुन २७ देखि २९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा सञ्चालन भएको थियो। यस संस्करणमा कुल १३ वटा सत्रहरु सञ्चालन भएका थिए।

कर्णाली उत्सव ..कुडा कर्नालीकाको हालसम्मका चारवटै संस्करणमार्फत् देशको ध्यान कर्णालीमा तान्ने प्रयास गरिएको छ। उत्सवमा देशकै प्रतिष्ठित व्यक्तित्व, कर्णालीलाई बुझेका र बुझ्न चाहने सबैको सहभागिता रहेको थियो। उत्सव कर्णाली प्रदेशलाई चिन्ने र चिनाउने अभियानसंगै कर्णाली प्रदेशमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा बहस गर्न सकिन्छ भन्ने प्रयास हो। उत्सवले कर्णालीका पहिचान र सम्भावनाहरुको खोजी गर्नुका साथै समग्र प्रदेशको समृद्धिमा बौद्धिक योगदान गरेको छ। कर्णाली उत्सवलाई चौथो संस्करणसम्म आइपुग्दा सफलतापूर्वक सञ्चालन गर्नका लागि विभिन्न माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, सल्लाह, सुझाव, हौसला र सकारात्मक आलोचना प्रदान गर्नुहुने सबै जना धन्यवादको पात्र हुनुहुन्छ।

कर्णाली उत्सव ..कुडा कर्नालीकाको चौथो संस्करण २०७९ फागुन ५ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो।

उत्सवको लक्ष्य

कर्णाली प्रदेशको पहिचान र संभावना केलाई यहाँका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्व दर्शाउँदै कर्णाली प्रदेशलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नु यस उत्सवको लक्ष्य हो।

उत्सवका उद्धेश्यहरु

  • कर्णाली प्रदेशमा पर्यटन प्रर्वद्धन गर्नु।
  • कर्णाली प्रदेशको कला, संस्कृति, भाषा र साहित्यको प्रर्वद्धन गर्नु।
  • प्रदेशको शैक्षिक तथा प्रशासनिक विकासका लागि पैरवी गर्नु।
  • प्रदेशमा रहेका आर्थिक संभावनाहरुको खोजी गर्नु।
  • प्रदेशको सामाजिक अवस्थामाथि विमर्श गर्नु।
  • संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध मजवुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु।

उत्सवको उपयोगिता

कर्णाली उत्सवले कर्णालीमा एक प्रकारको उर्जा सम्प्रेषण गरेको छ। कर्णालीमा समृद्धिको बाटो पहिल्याउन मद्धत पुगेको छ। कर्णालीको पहिचान र संभावनाका विषयमा खुलेर छलफल भएका छन्। देशैभर छरिएर रहेका विद्धान् तथा विदुषीहरुले कर्णालीको बारेमा चर्चा गरेका छन्। उत्सवमा भएका छलफलको सार विभिन्न अध्ययन, अनुसन्धान तथा प्रतिवेदनको अंश बन्न सक्छ। नीति निर्माताहरुलाई खुराक बन्न सक्छ। समग्रतामा कर्णालीको चर्चा हुनु भनेको प्रदेशले उन्नतिको मार्ग पहिल्याउन सक्नु हो। उत्सवले कर्णालीको सांस्कृतिक र साहित्यिक विकासमा योगदान पुर्याएको छ। कर्णलीलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमै उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सहयोग पुगेको छ। कर्णाली उत्सवमा मुख्यतः प्रदेशको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक तथा पर्यटकीय क्षेत्रका मुद्दालाई छलफलको विषय बनाइएको थियो। कर्णालीमा रहेका सामाजिक समस्याहरु, समस्या समाधानका उपायहरु साथै कर्णालीमा विकासको अवस्था, योजना कार्यान्वयनमा हुने ढिलासुस्ती र समाधानका विषयमा खुला छलफल भएका छन्। छलफलले तत्काल सुधार गनुपर्ने विषय, दिर्घकालमा समाधान गर्नुपर्ने विषयहरु स्पष्ट पारेको त छ नै, त्यसका साथै नीति निर्माणमा सार्वजनिक वहसको महत्व समेत दर्शाइदिएको छ। उत्सवको आयोजनाले प्रत्यक्ष तथा परोक्ष रुपमा प्रदेश सरकारको विभिन्न कार्यक्रमहरुलाई सार्थक तुल्याउन धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ। उत्सवका अवसरमा सुर्खेत आउने धेरैजसो साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुले कर्णालीबारे सञ्चार माध्यामहरुमा लेख्दै आएका छन्। उत्सवमा छलफल भएका राजनीति, इतिहास, समाज, कला, साहित्य, विकास तथा समृद्धिका विषयले मिडियामा प्राथमिकता पाएको छ।

उत्सवका  परिणामहरु

  • कर्णाली उत्सव चौथो संस्करण भौतिक उपस्थितिमा आठ हजार भन्दा बढीले र अनलाइनमा १० लाख भन्दा बढी पटक हेरिएको छ।
  • कर्णाली, यसको परम्परागत पहिचान र यसलाई हेर्ने दृष्टिकोणबारे विविधतायुक्त विचार, वादविवाद एवं मतभेदहरुलाई समेत सहभागितामूलक बहस, मन्थन र चिन्तनको थालनी गर्ने साझा मञ्च कर्णाली उत्सव भएको छ।
  • सरकार, नागरिक समाज, विज्ञ र कर्णालीबासी एवं कर्णालीलाई माया गर्नेहरुबीच कर्णालीका साझा समस्याको पहिचान गरी कला, भाषा, संस्कृति र विकासका साझा अवधारणा बनाउन मद्दत पुगेको छ जसले सरकारका तीनवटै तहलाई कर्णालीमा विकास र सम्मृद्धिको थप खाका कोर्न एवं योजनाहरु अघि बढाउन मद्दत हुनेछ।
  • उद्योग, पर्यटन, मानव विकास लगायतका नतिजामुखी कृयाकलापहरु अघि बढाउन आर्थिक, सामाजिक, राजनितिक र सांस्कृतिक परिदृष्यहरु झनै महत्वपूर्ण कारक तत्व हुने हुँदा छलफलका निचोडहरु यी सबै क्षेत्रका लागि सन्दर्भ सामग्रीका रुपमा चीरकालसम्म उपयोगी हुनेछन्।
  • विश्वविद्यालय, विद्यालय, पत्रकारिता लगायतका वौद्धिक, प्राज्ञिक एवं चिन्तनका विषयहरुमा समेत कर्णाली उत्सवको बहसबाट निस्किएका विचारहरु अध्ययन, अनुसन्धानका लागि सन्दर्भ सामग्रीका रुपमा उपयोगी हुनेछन्।
  • कर्णालीका प्रतिभाहरुले प्रतिपादन गरेका सिद्धान्त, आविष्कार र सिर्जनाहरुलाई समेत विश्वव्यापी रुपमा पहिचान दिलाउँदै यसको विश्वव्यापी स्विकारोक्तिका लागि उत्सवले पहल गरेको छ। प्रदेशमा नीतिगत सुधारका सुझावहरु प्राप्त भएका छन्।
  • आम नागरिकले आफ्ना नीति निर्माताहरुलाई सार्वजनिक मञ्चबाट सुझाव दिन पाएका छन्, प्रश्न सोध्न पाएका छन्।

चौथो संस्करण २०७९

पहिलो दिन, २०७९ पागुन ५ गते

उद्घाटन समारोह

आयोजक शहरको तर्फबाट स्वागत मन्तव्य

निलकण्ठ खनाल, उपप्रमुख, वीरेन्द्गनगर नगरपालिका सुर्खेत

कर्णाली उत्सव ..कुडा कर्नालीकाको आयोजक शहरको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उत्सवको चौथो संस्करणका आगन्तुक एवं सहभागीहरुलाई स्वागत गर्नुभयो। कर्णाली प्रदेशको कला, भाषा, साहित्य संस्कृति तथा विकासका विषयवस्तुहरुमा बहस गर्ने कर्णाली उत्सवको उद्देश्य  रहेको बताउँदै उहाँले देशको विभिन्न भूभागबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पाल्नुभएका सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभयो। साथै उहाँले वीरेन्द्रनगर नगरपालिका यस उत्सवको आयोजकको रुपमा रहन पाँउदा गर्व लागेको कुरा बताउनुभयो।

भिडियो हेर्नः

चौथो संस्करणसम्म आइपुग्दा

केलप्रसाद भण्डारी, सचिव राष्ट्रिय योजना आयोग एवं पूर्व प्रमुख सचिव, कर्णाली प्रदेश सरकार

कर्णाली उत्सव ..कुडा कर्नालीकाको सुरुवाती समयमा कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको भूमिकामा रहनुभएका तथा उत्सवको पहिलो संस्करण देखि नै उत्सवलाई सफल बनाउन अभिभावकीय भूमिका खेल्नुभएका हाल राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दाको अनुभव राख्नुभयो। उहाँले कर्णाली उत्सवको सुरुवातको कथासँगै उत्सवको चौथो संस्करणसम्म आइपुग्दाका विभिन्न उपलब्धि समेत व्याख्या गर्नुभयो। उहाँले चौथो संस्करणसम्म आइपुग्दा आम जनमानसमा उत्सवको उमङ्गको विषयमा समेत व्याख्या गर्नुभयो। पहिलो, दोस्रो र तेश्रो संस्करणको पृष्ठभूमिलाई उल्लेख गर्दै उहाँले चौथो संस्करणबारे समेत जानकारी दिनुभयो। उहाँले उत्सवलाई निरन्तरता दिने र यसको लागि सवैको सहयोग र सुझावको समेत अपेक्षा रहेको बताउनुभयो।

भिडियो हेर्नः

हामी कसरी जोडियौँ ?

किरण कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक

कर्णाली उत्सव ..कुडा कर्नालीकाको शीर्ष प्रायोजकको रुपमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णालीलाई चिन्ने र चिनाउनेका साथै कर्णालीमै बसेर राष्ट्रिय बहस गर्ने उत्सवको तेश्रो संस्करणदेखि नै शीर्ष प्रायोजकको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको बताउनुभयो। कर्णाली प्रदेशको समृद्धिको लागि विकासका विविध आयामहरु जस्तै पर्यटन, पर्यावरण, उर्जा, रोजगार, लगानी, नीति निर्माण जस्ता पक्षहरु माथिको गन्थन, मन्थन र चिन्तनले अवश्य पनि सार्थक परिणाम ल्याउने उहाँले बताउनुभयो ।

भिडियो हेर्नः

कर्णाली उत्सवदेखि लाम्रा संवादसम्म

नारायणी चौलागाईं, आयोजक, लाम्रा संवाद

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित लाम्रा गाउँमा बिगत तीन बर्षदेखि लाम्रा संवाद: गाउँगाउँका कुडा सञ्चालन हुँदै आएको छ। लाम्रा संवादका आयोजक समिति सदस्य नारायणी चौलागाईंले  उक्त लाम्रा संवादको बारेमा जानकारी दिनुभयो। लाम्रा संवाद कर्णाली उत्सव जस्तै एउटा संवादको भाग भएको बताउँदै उहाँले गाउँको इतिहास र कला संस्कृति तथा विकासका विषयवस्तुहरु बारे बहस भएको बताउनुभयो। उहाँले लाम्रा संवाद आयोजनाको प्रेरणाको रुपमा कर्णाली उत्सव भएको र सामाजिक संवादका श्रृखंलाहरु ग्रामीण क्षेत्रमा पनि शुरु गर्न आवश्यक रहेको बताउनुभयो।

भिडियो हेर्नः

विद्धत प्रवचन : निर्वाचन र लोकतन्त्र

भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त, नेपाल

कर्णाली उत्सवको चौथो संस्करणको उद्घाटन समारोहमा नेपालका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्र विषयमा विद्धत प्रवचन दिनुभयो। उहाँले लोकतन्त्र एउटा राजनीतिक प्रणाली मात्र नभएर आचरण, संस्कार र संस्कृति पनि भएकोले र यो नागरिकको जीवनपद्धति हुनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र अर्थात अझ परिष्कृत लोकतन्त्र रहेको बताउनुभयो । संविधानको भावनाअनुसार न्यायोचित प्रतिनिधित्व हुने, निर्वाचित निकाय प्रभावकारी बनाउने, ती संस्थाबाट असल शासनको प्रत्याभूति गराउने र निर्वाचित पदाधिकारीलाई जवाफदेही बनाउन हाम्रो निर्वाचन प्रणाली लगायतको सुक्ष्म रुपले पुनरावलोकन गरी तत्काल सुधारको थालनी गर्नुपर्ने उहाँको सन्देश थियो।

भिडियो हेर्नः           पुरा पढ्नः

शुभकामना मन्तव्य

माननीय राजकुमार शर्मा, मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली उत्सव कुडा कर्नालीकाको चौथो संस्करणको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले विचारहरुमाथिको छलफलले प्रदेश सरकारको नीति निर्माणमा योगदान पुग्ने सरकारका अभियानमा आम नागरिकको अपनत्व सिर्जना गर्न मद्दत गर्ने बताउनुभयो। उहाँले कर्णालीको दुश्मनी गरिबीसँग रहेको र यसको अन्त्यका लागि श्रम, सीप, मानव शक्ति, जङ्गल, पानी र खानीलाई परिचालन गर्न सकेमात्रै गरिबीको अन्त्य हुने धारणा व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले भन्नुभयो, ‘बहसले कर्णाली समृद्ध बन्नमा टेवा पुर्याउने अपेक्षा गरेको छु। कर्णालीमा चुनौती र सम्भावनाको बहसका विषयमा कर्णाली सरकारले छलफल गर्दै आएको छ।’

भिडियो हेर्नः

सत्र १ कर्णाली चिन्तनः प्राज्ञिक कर्णाली

कर्णाली उत्सवको चौथो संस्करणको पहिलो सत्रको रुपमा रहेको कर्णाली चिन्तनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले प्राज्ञिक कर्णालीको विषयमा मन्तव्य राख्नुभयो। उहाँले मध्यपश्चिम विश्वविद्यालयले कर्णालीलाई प्राज्ञिक केन्द्र बनाउनका लागि योगदान गर्ने र आफूहरु त्यसतर्फ अग्रसर रहेको बताउनुभयो। उहाँले समृद्ध कर्णाली निर्माणका विभिन्न उपायहरुको व्याख्या गर्दै नीति निर्माताहरुले ध्यान दिनुपर्ने कुराहरुको सूची सुनाउनुभयो।

भिडियो हेर्नः       पुरा पढ्न्ः

सत्र २ कर्नाली खेल्दो छ

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो सत्रको रुपमा कर्नाली खेल्दो छ सत्र रहेको थियो। अबको दुई वर्षभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना हुँदैछ। कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ। सुर्खेतमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम भइरहेको छ। रंगशालाबाहेक सुर्खेतका अरु ठाउँ र प्रदेशका अन्य जिल्लाहरुमा बनाउनुपर्ने संरचनाहरुको लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव गरिएको छ। कर्णालीमा आयोजना हुने उक्त राष्ट्रिय प्रतियोगिता र कर्णालीको समग्र खेलकुदको विषयमा कर्णाली उत्सवमा विमर्श गरिएको छ। बहसमा सहभागी कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशको खेलकुदलाई विकास गर्न पाँच वटा आधारस्तम्भ बनाएर सरकार अघि बढेको बताउनुभयो। उहाँका अनुसार खेलकुदका पूर्वाधार, खेलाडीलाई प्रशिक्षण, प्रतियोगिता, पुरस्कार तथा प्रोत्साहन र प्रतिभा छनोट यहाँको खेलकुद विकासका आधारस्तम्भ हुन्। यी आधारस्तम्भलाई मनन् गरी खेलकुद परिषद र सरकार अघि बढे आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दुई अङ्क ल्याउने दाबी उहाँले गर्नुभयो। बहसमा सहभागी राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले कर्णाली प्रदेश खेलकुदमा अग्रसर भएर अघि बढे खेल छोडेर विदेशिनुपर्ने खेलाडीको बाध्यता अन्त्य हुने बताउनुभयो । ‘कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा लगानी हुँदैछ, तर खेलाडीले जित्नुपर्छ भनेर लगानी गरिएको छैन,’ उहाँले भन्नुभयो ‘हामीले यहाँका खेलाडीलाई सहज हुनेगरी खेलमा फोकस गर्नुपर्छ।’

बहसमा सहभागी राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य नन्दा बस्यालले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सञ्चालन गर्नुपर्ने बताउनुभयो। ‘कर्णालीमा राष्ट्रिय खेलकुद गराउन धेरै चुनौती छन्, चुनौतीका बावजुद पनि हामीले तोकिएकै समयमा प्रतियोगिता गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अब आउने प्रतियोगितामा सहभागी हुने यहाँका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएर पनि निखार्नुपर्छ, लगानी पनि त्यही अनुसार गर्नुपर्छ। कर्णाली प्रदेश सरकारले खेलकुदका लागि भौतिक संरचनामा जस्तै खेलाडीमा पनि लागनी गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यहाँ कुन प्रतियोगिता गर्दा मेडल जित्छौं, त्यो खालको खेल खेलाउनुपर्छ। यहाँ प्रशिक्षक ल्याउने कुरामा पनि पनि सक्दो लगानी गर्नुपर्छ।’

भिडियो हेर्नः           पुरा पढ्नः

सत्र ३ यो शहर, त्यो रहर

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो सत्रको रुपमा यो शहर, त्यो रहर सत्र रहेको थियो। यो सत्रमा वक्ताको रुपमा वीरेन्द्रनगर शहरका पहिलो योजनाकार माधवभक्त माथेमा र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल हुनुहुन्थ्यो भने सहजकर्ताको रुपमा गोविन्द कोइराला हुनुहुन्थ्यो। यो सत्र वीरेन्द्रनगर शहरको रुपमा विकास गर्दा योजना गरिएको विषय देखि वर्तमानमा नगरपालिकाको तर्फबाट गरिएका प्रयत्नहरुमा केन्द्रित थियो। सत्रमा बोल्दै योजनाकार माथेमाले अरु देशका शहर हेरेर वीरेन्द्रनगरको गुरुयोजना नबनाइएको बताउनुभयो। यसलाई यहींको मौलिक शहरका रुपमा विकास गर्ने योजना बनेको थियो । ‘म सुर्खेत आउँदा यहाँ ठूलो भोकमारी थियो, त्योबेला मैले गरिबीको महसुस गरेको थिएँ। त्यही भएर त्यतिबेला मैले नेपाल बाहिरका शहरको परिकल्पना गरेर योजना बनाइनँ,’ माथेमाले भन्नुभयो। सुर्खेतमा लगाइएका अहिलेका गुलमोहर फूलका बिरुवाहरु भारतको लखनउबाट १०० रुपैयाँमा किनेर ल्याइएको थियो।

माथेमाका अनुसार गुरुयोजना बनाउने बेला नै वैकल्पिक गुरुयोजनाको परिकल्पना गरिएको थियो। उहाँले त्यतिबेला योजना बनाउँदा अहिलेको विमानस्थलबाहेक देउतीबज्यै क्षेत्रमा पूर्व-पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रुपमा हेरिएको तर त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल नभएको बताउनुभयो। सत्रमा वक्ताको रुपमा रहनुभएकी वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले अहिलेसम्म वीरेन्द्रनगरको विकास योजनाबाहिर नगएको बताउनुभयो। यसलाई अझ व्यवस्थित गर्न नगरपालिका लागेको उहाँको भनाइ थियो। ‘हाम्रो पहिलो अभियान सरकारी जग्गाको संरक्षण हुनेछ, बजार क्षेत्रको पार्किङलाई व्यवस्थापन गर्न जोड दिएका छौं,’ उहाँले भन्नुभयो, ‘हिजो जुन उद्देश्यले गुरुयोजना बनाइएको थियो, त्यसअनुसार गर्छौं भनेर हामीले प्रतिबद्धता गरेका थियौं, त्यसै गरिरहेका छौं।’ नगरपालिकाले वीरेन्द्रनगरलाई कसरी विकास र व्यवस्थित गर्ने भन्ने विषयमा ६ महिना अध्ययन गरिएको बताउनुभयो। उहाँका अनुसार पुरानो गुरुयोजनालाई कायम राख्नेगरी अहिले नगरपालिकाले भूउपयोग नीति बनाएको छ। जसमा अब नयाँ प्लटिङ गर्दा १० मिटरको बाटो बनाउनुपर्ने, खोला किनारमा कुनै पनि व्यक्तिगत संरचना बनाउन नमिल्ने व्यवस्था गरिएको छ।

भिडियो हेर्नः पुरा पढ्नः

सत्र ४ भोट भेट

कर्णाली उत्सवको चौथो संस्करणको चौथो सत्रको रुपमा भोट-भेट सत्र रहेको थियो। यो सत्रमा वक्ताका रुपमा अध्येता छक्कबहादुर लामा, पर्यावरणविद् जनिता गुरुङ हुनुहुन्थ्यो भने सत्रको सहजीकरण अध्येता जगबहादुर बुढाले गर्नुभएको थियो। यो सत्रमा भोट के हो?  भोटमा के छ? भोट दुर्गम कि सुगम? भोटको रहनसहन, भाषा, संस्कृति र जीवनशैली किन महत्वपूर्ण छ? संस्कृति र प्रकृतिको सम्बन्ध कस्तो छ? र भोटको भविष्यबारे विविध विषयमा केन्द्रित भएर यो वहस चलेको थियो।

भिडियो हेर्नः पुरा पढ्नः

सत्र ५ शिक्षा र समर्पण

कर्णाली उत्सवको चौथो संस्करणको पाँचौं सत्रको रुपमा शिक्षा र समपर्ण सत्र रहेको थियो। यो सत्रमा वक्ताको रुपमा पश्चिम नेपालको नमूना विद्यालयको रुपमा रहेको जनज्योति मावि वड्डिचौरका प्रधानाध्यापक नारायण सिग्देल र नवज्योति केन्द्रकी कार्यक्रम निर्देशक सिस्टर रोशिता हुनुहुन्थ्यो भने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक राजन कँडेलले सत्रको सहजीकरण गर्नुभएको थियो। यो सत्रमा समपर्ण के हो? कुनै व्यक्तिको कुनै विषयमा किन गहिरो लगाव हुन्छ? उ कसरी सफल हुन्छ? भिन्न भूगोलमा जन्मेर भिन्न भूगोलमा समर्पित हुनुको पछाडी के कुराले काम गर्छ? शिक्षाको क्षेत्रमा काम गर्ने प्रेरणा केले दियो? समाजमा काम गर्दाका समस्या र कठिनाई के छन्? यसको योगदान के हुन सक्छ र भविष्यमा के के गर्न सकिन्छ? आदि विषयमा वहस भएको थियो।

भिडियो हेर्नः पुरा पढ्नः

पैकेलो : सुरज पण्डित

पैकेलो नाम जनाउने शब्द हो जसको अर्थ सिपालु, जुनसुकै काम गर्न सक्ने, पराक्रमी व्यक्ति, शुरो भन्ने बुझिन्छ। खस भाषाको यो शब्दले साहस, बल, चातुर्य र योगदानको प्रसङ्गलाई समेत जोड्छ। कर्णाली उत्सव ..कुडा कर्णालीकाको दोस्रो संस्करणबाट पैकेलो/पैक्यालोलाई उत्सवको एक महत्त्वपूर्ण हिस्सा एवं आकर्षणका रूपमा प्रस्तुत गर्न थालिएको हो। कर्णाली प्रदेशमा जन्मे हुर्केर अथवा कर्णालीमा बसेर यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन योगदान दिएका वा पहिचानका लागि सङ्घर्षरत व्यक्तिहरूले आफ्नो कथा आफै सुनाउने सत्र नै पैकेलो सत्र हो। कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिन पैकेलोको रुपमा गायक सुरज पण्डित उपस्थित हुनुहुन्थ्यो।

कर्णालीको जुम्लामा जन्मिनुभएका उहाँको रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा बोलको गीत निकै चर्चामा रहेको गीत हो। बाबाका दुई श्रीमतीमध्ये जेठीपट्टीको कोखबाट जन्मिएका पण्डितको लालनपालन र शिक्षामा परिवारले लगानी नगरेको, भात खानका लागि खाद्य संस्थानमा चामलको लाइनमा बसेको, मकैको चामलको भात धानको भात भन्दै खाएको जस्ता संघर्षमय दिनहरू छिचोल्दै जुम्लादेखि काठमाडौंसम्मको चुनौतीपूर्ण संघर्षको कथा सुनाउनुभयो। गाउँमा ढुंगा र गिट्टी कुटेर कमाएको पैसाले वाक्मिन र नारायण गोपालको क्यासेट किनेर एक दिनको घाम सयौँ दिनको पानी, लौ सुन मेरो रामकाहानी बोलको गीतमा संगीत सुनेर आफ्नो गायन जीवनको थालनी गरेको बताउनुभयो। चैतमा घुच्ची च्याउ र असोजमा चरेस पारेर बिक्री गरेर टिभी किनेका गायक पण्डितले भन्नुभयो, ‘मेरा लागि जुम्लाबाट काठमाडौं धेरै टाढा थियो। विद्यालयमा हाफ टाइममा गीत गुनगुनाँएको सुनेका शिक्षकले विद्यालयको वार्षिकोत्सवमा गीत गाउन आग्रह गरे। त्यसै बेला झुपा रेल पन भन्ने बोलको गीत गाएर मैले मेरो कलाकारिता जीवनको शुरु गरेको हुँ।’

भिडियो हेर्नः        पुरा पढ्नः

कर्णाली कन्सर्ट : सांगीतिक साँझ

कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिनको साँझ सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो। यस साँझको सहजीकरण कलाकार कृष्णराज धमलाले गर्नुभएको थियो। यस साँझमा मुख्यतया कर्णाली चिनाउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखिएको थियो। साँझको शुरुमा जुम्लाको तातोपानी गाँउपालिकाले स्थानीय स्तरमा पञ्चेवाजा संरक्षणमा गरिरहेको प्रयास सहित बाजाको बखान सत्र सञ्चालन भएको थियो जसको सहजीकरण जुम्लाका पत्रकार सागर परियारले गर्नुभएको थियो। बाजाका विभिन्न प्रकार र बाजाहरु कस्तो अवसरमा कसरी बजाइन्छ भन्ने विषयमा उदाहरणसहित विमर्श भएको थियो। प्रस्तुतिको लागि तातोपानी गाँउपालिकाबाट १३ जना स्थानीयहरु बाजासहित सुर्खेत आउनुभएको थियो। उक्त सत्र लगत्तै सुर्खेतका गायक कवि गिरी, नृत्य निर्देशक चन्द्र मन्दिर र गायक सुरज पण्डितको सांगीतिक प्रस्तुतिहरु रहेका थिए।

भिडियो हेर्नः

दोश्रो दिन, २०७९ पागुन ६ गते

विद्धत प्रवचनः विकास र सुशासन

अंगराज तिमिल्सेना, सुशासनविद 

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिन सुशासनविद अंगराज तिमिल्सेनाले विकास र सुशासन विषयमा विद्धत प्रवचन दिनुभयो। प्रवचनका क्रममा उहाँले कर्णाली विकासका लागि कृषिदेखि ऊर्जासम्म, सडकदेखि पर्यटनसम्म भारत र चीन दुबैबाट लगानी भित्र्याउनुपर्ने बताउनुभयो। विकासले कर्णालीलाई कर्णाली बाहेकको नेपालसँग मात्र जोड्ने नभएर भारत र चीनसँग समेत जोड्न सहयोग गर्ने र यसका लागि केन्द्र र प्रदेश दुबैको सहकार्य अत्यावश्यक रहेको उहाँले बताउनुभयो। सुर्खेत–हिल्सा फास्ट ट्रयाकलाई चीनको बीआरई (बेल्ट एन्ड रोड इनिसियटिभ) बाट बनाउन सकिने सम्भावना वा कर्णालीका जलविद्युत परियोजनाका लागि भारतको लगानी जुटाउने सम्भावनाहरू रहेको उहाँले बताउनुभयो।

प्रवचनका क्रममा उहाँले अरु प्रदेशभन्दा कर्णालीमा नीतिगत स्थायित्व छ, भ्रष्टाचार कम छ, सरकारको सेवा–सुविधा छरितो छ, व्यवसायीलाई दुःख दिइँदैन भन्ने पर्यो भने लगानी बढ्ने कुरा बताउनुभयो। सरकारले गर्ने आफ्नो लगानीमा समेत आफ्नो प्रशासनिक काम कारबाही छरितो बनाउने, कार्य–सम्पादन नतिजामुखी बनाउने, राजस्व संकलनलाई चुस्त बनाउने, आम्दानी र खर्चलाई पारदर्शी बनाउने, प्रशासनिक र फजुल खर्चमा लगाम लगाउने अनि आफू अन्तर्गतको भ्रष्टाचार र अनियमितता छानबिनको आफैले स्वामित्व लिने गरे मात्रै सोचे अनुसार स्रोत र साधनको सही सदुपयोग हुने उहाँको भनाई थियो ।

भिडियो हेर्नः पुरा पढ्नः 

सत्र ६ दलित दलिल

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनमा सञ्चालन भएको सत्र दलिल दलिलमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य माननीय छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार, उर्जा तथा जलश्रोत राज्यमन्त्री माननीय उर्मिला विश्वकर्मा र नेपाल सरकारका पूर्वसचिव डा. मानबहादुर विके हुनुहुन्थ्यो। उक्त सत्रको सहजीकरण अभियन्ता अमर सुनारले गर्नुभएको थियो।

प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नेपाली समाजलाई सद्भावयुक्त बनाउन राज्य र समाज सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले दलित र भेदभावमा परेको अन्य समुदायको आत्मसम्मानका लागि भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्ने बताउनुभयो। ‘यहाँ विभेदकै कारण मानिस मारिएको अवस्था छ, यस्ता विभेद अन्त्य गर्न राज्यले समानातको सिद्धान्तलाई अवलम्बन गरी अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले हाम्रो समाजलाई सद्भावयुक्त बनाउनुर्छ र यसका लागि राज्य र समाज सँगसँगै अघि बढ्नुपर्छ।’ सत्रमा वक्ताका रुपमा सहभागी कर्णाली प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्माले दलित समुदायले आफ्नो जिविकाका लागि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो। ‘अहिले दलितले खलो माग्ने प्रचलनको अन्त्य गर्नका लागि दलितसम्बन्धी ऐनहरुलाई संशोधन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘दलितले खानाका लागि खलो माग्ने होइन, आफैले केही पाइला चाल्नुपर्दछ।’ उहाँले सरकारमा आफ्नो सहभागितालाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने बताउनुभयो। कर्णालीमा महिला र दलितको प्रतिनिधित्व ढोकाबाट छिर्न नसकेपछि राज्यमन्त्री पदमार्फत् झ्यालबाट भित्र पसेको पनि उहाँको टिप्पणी थियो। सत्रका अर्का वक्ता नेपाल सरकारका पूर्वसचिव डा. मानबहादुर बिकेले अहिलेको कानून र अभ्यासले सरकारी सेवामा दलितको उचित प्रतिनिधित्व नहुने बताए। कर्णालीका सन्दर्भमा उनले सरकारले दलित समुदायलाई राज्यको मूलधारमा नल्याएसम्म प्रदेश माथि नउठ्ने दाबी गर्नुभयो। ‘प्रजातन्त्र आएको दुई दशकपछि नेपाल सरकारले एउटा सचिव पायो, यही कानून र अभ्यास भयो भने अब अर्को सचिव आउन ११ बर्ष लाग्छ’ उहाँले भन्नुभयो।

भिडियो हेर्नः पुरा पढ्न

सत्र ७ भोक र भोजन

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनमा सञ्चालन भएको सत्र भोक र भोजनमा वक्ताको रुपमा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय भीमप्रकाश शर्मा, परिकार यात्री केदार शर्मा र खाद्य सुरक्षाविद् डा. यमुना घले वक्ताको रुपमा रहनुभएको थियो भने अध्येता जथन्नाथ अधिकारीले सहजीकरण गर्नुभएको थियो। सत्रमा बोल्दै मन्त्री शर्माले खाद्य संस्कार नै परिवर्तन गर्नुपर्ने बताए। ‘भोक मार्न भोजन खाएर मात्रै हुँदैन। भोजनले मान्छेलाई पार्ने प्रभावको बारेमा सोच्नुपर्ने हुन्छ,’ मन्त्री शर्माले भने, ‘स्थानीय उत्पादनले मात्रै पुग्छ भन्ने हिसाबले गयौं भने पुग्दैन। धानको बाला नफल्ने देश पनि विकसित छ भने हामी कर्नालीका मान्छे कसरी गरिब भयौं त?’ उनले खाद्य सुरक्षासम्बन्धी नियमावली बनिरहेको र नियमावली बनेपछि कर्णालीमा अझ सजिलो हुने बताए। राजनीति, संस्कार, संस्कृति र खाने तरिका अन्तरसम्बन्धित रहेको पनि उनको धारणा थियो। खाद्य सुरक्षाविद डाक्टर यमुना घलेले संविधानले नै खाद्य अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने लागू हुन नसकेको बताउनुभयो। कर्णालीका विकट जिल्लाहरुमा पैसा भएर पनि किनेर खान नपाउने अवस्थाको चित्रण गर्दै भोजनमा कसैले विभेद गर्छ भने त्यो पनि मानवीयता र सामाजिक न्यायका बिरुद्ध रहेको उहाँले बताउनुभयो।

परिकारयात्री केदार शर्माले मानव जातीको विकास भएपछि मान्छेलाई भोकले नै संसार घुमाएको बताउँदै भोकलाई आदि सत्ताका रुपमा ब्याख्या गर्नुभयो। ‘मानव जातीको विकास भएपछि संसार घुमाएको भोकले हो । मेरो पुर्खालाई जुम्लाबाट इलाम पुर्याएको पनि भोकले हो,’ शर्माले भने, ‘खाने कुरालाई भोकका रुपमा मात्रै सिमित गर्यौं भने आधारभूत हुन्छ। खाने कुरालाई उत्सवका रुपमा लिनुपर्छ।’ आफूले हालसालै कर्णाली घुमेको बताउँदै उहाँले भन्नुभयो, ‘कर्नाली घुमेपछि के लाग्यो भने यो हिम्मतबहादुर र सहनशीलाहरुको भूमि हो, यो बाली र बनबालीहरुको भूमि हो। र, कर्णाली परिकारहरुको भूमि हो।’

भिडियो हेर्नः

सत्र ८ रेडियोको रस

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनमा सनञ्चालन भएको सत्र रेडियोको रसमा वक्ताका रुपमा अध्येता देवराज हुमागाईं, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्मा र रेडियोकर्मी गोमा परियार हुनुहुन्थ्यो भने सत्रको सहजीकरण सामुदायिक सूचना नेटवर्कका सम्पादक लक्ष्मण कार्कीले गर्नुभएको थियो। बहसका वक्ताहरूले नेपालका स्वतन्त्र रेडियोहरूले आम नागरिक र समुदायको सुख दुःखको साथी र सारथी बनेको तर बदलिँदो परिवेश अनुसार आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।

मार्टिन चौतारीमा आवद्ध अध्येता देवराज हुमागाईँले नेपालमा स्वतन्त्र रेडियोको गर्विलो इतिहास, वर्तमानमा महत्त्वपूर्ण भूमिका र भविष्यमा आवश्यकता रहेको उल्लेख गर्दै रेडियोहरूले त्यसैअनुसार आफूलाई स्रोतसाधन सम्पन्न बनाउँदै लैजानुपर्ने बताउनुभयो। मध्यपश्चिम विश्वविद्यालयका आम सञ्चार विषयका उपप्राध्यापक युवराज शर्माले सामुदायिक रेडियोले अहिलेसम्म पुर्‍याएको योगदान अतुलनीय रहेको तर विभिन्न कारणले रेडियोमा समुदायका चासोका विषय कम प्राथमिकतामा परेको हो कि जस्तो आभास भएकाले यसमा रेडियो प्रसारकहरूले ख्याल राख्नुपर्ने बताउनुभयो। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो देशका ठूला परिवर्तनको संवाहक बनेर मात्र नभइ समुदायका आवाज उठाएर नीतिनिर्माता समेतलाई झक्झकाउने काम गरिरहेको बताउनुभयो। उहाँले नेपालका सामुदायिक रेडियोहरूलाई समयानुकल थप बलियो गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाउनुभयो। यसका लागि राज्यको भूमिका महत्त्वपूर्ण भएको उहाँको भनाइ थियो। रेडियोकर्मी गोमा परियारले रेडियो र रेडियोकर्मीले आफ्ना कमीकमजोरी सच्याउँदै आवाजविहीनको आवाज बन्नुपर्ने बताउनुभयो। अनेकौँ समस्या र सीमितताका बीच नेपाली रेडियोहरूले सीमान्तकृत समुदायको आवाज बन्ने प्रयास गरिरहेको स्मरण गर्दै उहाँले नेपालका स्वतन्त्र रेडियोहरूको गुणस्तरीयताका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने बताउनुभयो।

भिडियो हेर्नः     पुरा पढ्नः

सत्र ९ संघीयताका पाँच वर्ष : कति विस्मात कति हर्ष ?

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनमा सञ्चालन भएको सत्र  संघीयताका पाँच वर्ष : कति विस्मात कति हर्ष? मा वक्ताका रुपमा नेकपा एमाले कर्णाली प्रदेश कमिटिका अध्यक्ष एवं कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय बिनोद कुमार शाह, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटिकी अध्यक्ष विमला केसी तथा नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका सभापति ललितजंग शाही हुनुहुन्थ्यो। पत्रकार नेत्र केसीले सत्रको सहजीकरण गर्नुभएको थियो।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले संघीयतालाई बिस्मात नभएर अवसरको रुपमा लिनुपर्ने बताउनुभयो।  ‘संघीयता विस्मात हुँदै होईन, बरु कार्यान्वयनको सन्दर्भमा एकखालको चुनौति होला,’ उहाँले  भन्नुभयो, ‘संघीयता अवसर हो, आज सबै खालका समुदायले राज्यमा संलग्न हुन पाएका छन्। यो त संघीयताको उपलब्धी हो।’ स्थानीय स्तरमा घरआँगनमा सरकार सञ्चालन हुनु, जनताले सरकार नजिक भएको अनुभूति गर्न पाउनु, काठमाडौंमा मात्र केन्द्रित शक्ति विकेन्द्रीकृत हुनु जस्ता कुरा पनि केसीको बुझाईमा संघीयताका उपलब्धी हुन्।नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाहीले अहिले संघीयता चाहिँदैन भन्ने नारा लागिरहनु गलत भएको बताउनुभयो। ‘मुलुक किन संघीयतामा जानुपर्यो भन्ने लामो बहस बन्न सक्ला, संविधान बनिसकेपछि मुलुक संघीयताको मर्मसँग गाँसियो र यसलाई हामीले संघीयताको ढाँचामा ढाल्यौं,’ उहाँले भन्नुभयो, ‘संघीयता सुरुमा त कर्णालीलाई नै चाहिएको थियो।’ उहाँले अहिले दलहरु कसलाई तानेर कसको नेतृत्वमा बनाउने भन्ने विषयमा केन्द्रित भएकाले संघीयता कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफलमा लाग्न नसकेको टिप्पणी गर्नुभयो। नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष बिनोदकुमार शाहले संघीयतामा तल्लो तहका सरकारलाई अधिकार दिन र विश्वास गर्न लोभ मानिएको टिप्पणी गर्नुभयो। जनताको प्रत्यक्ष सुविधाका लागि संघीय प्रणालीको व्यवस्था गरेपनि यो प्रणालीको अवधारणा ल्याउने नेतृत्वले नै अधिकार दिन नखोजेको उहाँले बताउनुभयो। उहाँले कर्णालीको विकास र समृद्धिका लागि दक्षिणी सीमानामा जोड्नुपर्ने तर्क पनि गर्नुभयो।

   भिडियो हेर्नः     पुरा पढ्नः 

सत्र १० कर्णाली नदी प्रणाली

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनमा सञ्चालन भएको सत्र  कर्णाली नदी प्रणालीमा वक्ताको रुपमा नेपाल सरकारका सहसचिव कलानिधि पौडेल, सामाजिक विकास विज्ञ मीनबहादुर शाही, आठबिस नगरपालिका दैलेखका पूर्व उपप्रमुख दिपा बोहोरा र अभियन्ता मेघ आले वक्ताका रुपमा हुनुहुन्थ्यो भने यस सत्रको सहजीकरण अभियन्ता नारायण वाग्लेले गर्नुभएको थियो।

कर्णाली नदी किनारमा जन्मे, हुर्किएकी दिपा बोहोराले देखेको, भोगेको कर्णाली नदी पहिले भन्दा अहिले धेरै फरक छ। त्यो बेलाको कर्णाली नदी सफा र स्वच्छ थियो। नदी किनारबाटै असला माछा खेलीरहेको प्रष्ट देखिन्थ्यो। नदी स्थानीयको जीविकोपार्जन गर्ने आधार बनेको थियो। कर्णाली नदीमा माछा मारेरै नदी किनारका बस्तीहरु पालिएका थिए। सत्रमा बोल्दै उपप्रमुख बोहोराले भन्नुभयो  ‘हामीले कर्णालीलाई ढल दिएका छौं, प्लाष्टिकको थुप्रो दिएका छौं।’ हिजो पिउन मिल्ने कर्णाली नदीको पानी आज गन्हाउने बनेको छ। ‘वर्षायाममा कहिलेकाँही कर्णाली रिसाउँछ, गर्जिन्छ। मलाई अझै कति दोहोन गर्छौ? कति लुट्छौ? भन्छ तर हामी सबै टुलुटुलु हेरेर बसेका छौं। अब नदी संरक्षणमा जुटौं।’ नदी संरक्षण अभियन्ता मेघ आलेले, ‘कर्णाली नदी कहाँबाट आउँछ?’ भन्दै मञ्मा रहेकाहरुलाई प्रश्न गर्नुभएको थियो। कैलाश मानसरोवरको काखबाट बग्ने कर्णाली नदीको बैबभ र महत्व यहाँका नागरिक र सरोकारवालाहरुले नबुझेको उहाँले बताउनुभयो। कर्णालीको रक्षाका लागि सबैले ‘ओम कैलाश, कर्णाली कर्म’ मन्त्र जप्न पनि सबैलाई आग्रह गर्नुभयो। भविष्यका सन्ततिलाई कर्म गर्ने थलोको रुपमा कर्णाली नदीलाई बचाउनुपर्ने उहाँको भनाई थियो। सामाजिक विकास विज्ञ मीनबहादुर शाहीले नदी प्रणाली जोगाउन संरक्षण र विकास संगसंगै लैजानुपर्ने बताउनुभयो। कर्णाली जस्तो गरिबीको रेखामुनी रहेको प्रदेशमा ठूला योजना निर्माणका लागि नदी हस्तक्षेप गर्नुपर्ने उहाँले बताउनुभयो। ‘विद्युत मात्रै नभई बाटोघाटो पनि यहाँको आवश्यकता हो। विकास र संरक्षणलाई एकसाथ अघि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको नदी प्रणालीमा आएका समस्याबारे राज्य गम्भीर बन्नुपर्छ। आवश्यक नीति निर्माण र त्यसको कार्यान्वयन गर्नुपर्छ।’ सत्रमा नेपाल सरकारका सहसचिव कलानिधि पौडेलले नदी संरक्षणका लागि सरकारले आवश्यक कानून निर्माण गरिहको बताउनुभयो। तीनै तहका सरकारले एकीकृत योजना तर्जुमा गरेर चासो नदिएसम्म नदी संरक्षण हुन नसक्ने उहाँको भनाई थियो।

भिडियो हेर्नः   पुरा पढ्न

सत्र ११ कर्णालीमा लगानी

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनमा सञ्चालन भएको सत्र  कर्णालीमा लगानीमा वक्ताको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठक, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही र चेम्वर अफ कमर्स कर्णाली प्रदेशका अध्यक्ष लक्ष्मण न्यौपाने वक्ताको रुपमा हुनुहुन्थ्यो भने सत्रको सहजीकरण सञ्चारकर्मी निर्मला शर्माले गर्नुभएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कतिपय लगानीकर्ताहरु कानूनी अड्चनका कारण लगानी गर्न हतोत्साही हुने पाइएकाले यसमा देशका तीनै तहका सरकारबीचको सहकार्यमा सहजता ल्याउनुपर्ने बताउनुभयो। सरकारले परम्परागत कानूनलाई परिवर्तन गरी लगानीकर्ताका लागि सहज वातावरण बनाइदिनुपर्नेमा उहाँले जोड दिनुभयो। कर्णालीमा लगानी जुटाउन स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार भित्र पनि आवश्यक कानून र संरचना बनाउनुपर्ने उहाँको भनाई थियो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष डा. बलराम पाठकले कर्णालीमा लगानी गरेपनि प्रतिफल लिन समस्या हुने गरेको बताउनुभयो। ‘पहिला हामीले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोचेका थियौं, त्यसमा प्रतिफल लिन गाह्रो देखियो। अब हामी फराकिलो रुपमा लगानी गर्ने सोचेका छौं,’ उहाँले भन्नुभयो, ‘अहिले सरकारले छुट्याएको बजेट पनि खर्च गर्न सकेको अवस्था छैन, यस्ता कारणले हामी निजी क्षेत्रमा पैसा भएर पनि लगानी गर्न सक्दैनौं भने प्रतिफलको कसरी आशा गर्ने?’ गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि नेपालमा लगानीमैत्री वातावरण नभएको बताउनुभयो। ‘विदेशतिर निजी क्षेत्रले लगानी गर्छु भनेर प्रस्ताव गर्नुपर्यो भने हुलाकमार्फत दस्तावेज पठाए हुन्छ, कसैलाई सिधै भेट्नुपर्दैन,’ लामिछानेले भन्नुभयो, ‘यो विषयलाई गहन रुपमा लिएर सरकारले वातावरण सिर्जना गर्नु जरुरी छ।’ छिमेकी राष्ट्रको तुलनामा नेपालमा ठूलो लगानी गर्ने एकल लगानीकर्ता नभएको पनि उहाँले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा अरु प्रदेशमा भन्दा धेरै लगानीको सम्भावना भएको बताउनुभयो। चेम्वर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण न्यौपानेले निजी व्यावसायिक संगठनले बाहिरका लगानीकर्तालाई ल्याएर भएपनि कर्णालीमा होटल क्षेत्रमा लगानी खोजेको बताउनुभयो।

भिडियो हेर्नः   पुरा पढ्नः

पैकेलो : कोशल हमाल

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिन पैकेलोको रुपमा भिज्युअल आर्टिस्ट कोशल हमाल हुनुहुन्थ्यो। सत्रमा बोल्दै हमालले चित्रमा मात्रै ध्यान दिँदा एसएलसीमा राम्रो अंक ल्याउन नसकेको सुनाउनुभयो।

एसएलसीमा विज्ञानमा चारवटा मात्रै चित्र बनाएर फर्किएको र त्यही चित्रले पास भएको उहाँले बताउनुभयो। उत्सवमा उहाँले आफ्नो कलायात्राबारे मार्मिक कथा सुनाउनुभयो।

भिडियो हेर्नः  पुरा पढ्नः

कर्णाली कन्सर्ट : कविता साँझ

कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिन साँझ कर्णाली कन्सर्ट : कविता साँझ सञ्चालन भयो।

यस सत्रमा कविको रुपमा कवि विप्लप प्रतीक, कवि डा. महेन्द्रकुमार मल्ल, कवि देवकी तिमिल्सेना र कवि नवीन अभिलाषी हुनुहुन्थ्यो भने सत्रको सहजीकरण कवि मोहराज शर्माले गर्नुभएको थियो।

भिडियो हेर्नः

तेश्रो दिन, २०७९ पागुन ७ गते

सत्र १२  रुपान्तरण: पुस्तान्तरण

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिनको पहिलो सत्रको रुपमा सत्र रुपान्तरणः पुस्तान्तरण रहेको थियो। उक्त सत्रको वक्ताका रुपमा प्रतिनिधिसभा सदस्यहरु माननीय ज्ञान बहादुर शाही (ज्ञानेन्द्र), र माननीय सोविता गौतम तथा विश्लेषक दिपेश घिमिरे रहनुभएको थियो भने पत्रकार प्रशान्त अर्यालले सत्रको सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताउनुभयो। ‘हामी रुपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम छैन । व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न,’ शाहीले भन्नुभयो,  ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिंदैन। अवस्था मात्रै परिवर्तन भएको भए यस्तो अवस्था हुँदैन थियो। युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था छैन। त्यसैले पहिले रुपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ।’ सत्रमा सांसद सोविता गौतमले आफूहरुलको मूल एजेण्डा रुपान्तरण नै रहेको बताउनुभयो। तर रुपान्तरणलाई बोक्न सक्ने गरी नयाँ पुस्ता आउनुपर्ने उहाँको तर्क। ‘हाम्रो मूल एजेण्डा रुपान्तरण नै हो रुपान्तरणलाई बोक्ने फेरि नयाँ पुस्ता हो। रुपान्तरणलाई बोक्न पुस्ता आवश्यकता पर्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको जनसंख्याको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ। युवाको मुद्दा हजुरबुबा हजुरआमा उमेर समूहकाले बोक्न सक्नुहुन्न। त्यसैले रुपान्तरण जरुरी छ संगसंगै पुस्तान्तरण पनि।’ अहिलेको युवा पुस्ताको विद्रोह पनि रुपान्तरणका लागि भएको उहाँले बताउनुभयो। विश्लेषक दिपेश घिमिरले २०४६ साल यता राजनीतिक व्यवस्था कुनै न कुनै रुपमा परिवर्तन भएता पनि नेताहरु परिवर्तन नभएका कारण मुलुकमा प्रगति हुन नसकेको बताउनुभयो ।

भिडियो हेर्नः  पुरा पढ्न

सत्र १३ सग्लो समाज, सङ्लो राजनीति

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिन सग्लो समाज, सङ्लो राजनीति सत्र सञ्चालन भयो। उक्त सत्रमा वक्ताका रुपमा प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र मानव अधिकारकर्मी मोहना अन्सारी हुनुहुन्थ्यो भने सहजकर्ताको रुपमा सुशासनविद अंगराज तिमिल्सेना हुनुहुन्थ्यो।

सत्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताउनुभयो। ‘राजनीति भित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति जनतामा वितृष्णा जागेको पाइन्छ’, उहाँले भन्नुभयो, ‘कुनै दिन जिल्ला प्रशासन कार्यालय नागरिकता लिन पुगेको मानिसले समयमै नागरिकता नपाउँदा त्यहाँ ढिलो गर्ने कर्मचारीलाई भन्दा नेतालाई गाली गर्छ।’ राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो। सत्रमा सहभागी मानव अधिकारकर्मी मोहना अन्सारीले यसअघि असमानता र विभेदमा टिकेको नेपालको राजनीति विस्तारै परिवर्तन हुँदै गएको बताउनुभयो। जनताको चाहना बुझेर राजनीतिक दलले आफ्नो बाटो निर्धारण गर्नुपर्ने उहाँको सुझाब थियो। ‘जनताले आफ्नो घरलाई सिंहदरबार बनाइदिनु भनेका छैनन्, उनीहरुले रोजगारीका लागि हामी भौतारिनु नपरोस् भन्ने चाहेका छन्,’ उहाँले भन्नुभयो, ‘यस्ता कुरालाई राजनीतिज्ञले बुझ्न जरुरी छ।’ समाजको प्रतिबिम्वका रुपमा रहेको राजनीति सफा भए मात्र समाज पनि सफा हुने अन्सारीले बताउनुभयो। अहिलेको राजनीतिभित्र असमान प्रवृत्ति विकास भइरहेको उहाँको भनाई थियो। अन्सारीले पछाडि पारिएका समुदायलाई राजनीतिक मूलधारमा ल्याउन सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। एउटै व्यक्ति राजनीतिक दलको नेतृत्वमा भइरहनुपर्छ भन्ने मान्यता त्याग्न पनि उहाँले नेताहरुलाई आग्रह गर्नुभयो।

भिडियो हेर्नः    पुरा पढ्न

सत्र १४ समावेशी शासन

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिन चौधौं सत्रको रुपमा समावेशी शासन सत्र सञ्चालन भयो। यो सत्रमा वक्ताका रुपमा राष्ट्रिय सभा सदस्य माननीय खिमलाल देवकोटा, कर्णाली प्रदेश सभाका उपसभामुख माननीय यशोदा न्यौपाने, गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विक र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सरकारका सचिव आनन्द सारु हुनुहुन्थ्यो। संघीयताका जानकार शेखर दहितले सत्रको सहजीकरण गर्नुभएको थियो।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले कानून संशोधन गरेकै कारण अघिल्लो निर्वाचनको तुलनामा अहिले स्थानीय तहमा महिलाको नेतृत्व कम भएको बताउनुभयो। ‘हामीले कानूनमा पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक जना जना महिला हुनुपर्ने कानून बनायौं, त्यही अनुसार अघिल्लो निर्वाचनमा महिला सहभागिता स्थानीय तहमा धेरै देखियो,’ उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनका नाममा त्यो खोसियो, अहिले पहिलेको तुलनामा महिला सहभागिता कम देखिएको छ।’ यद्धपी नेपालमा महिला सहभागिता उल्लेख्य रहेको उहाँको भनाई थियो। सत्रमा सहभागी गुर्भाकोट नगरपालिकाका उपमेयर मैना बिकले समावेशी सिद्धान्तलाई मिचेर राजनीतिक दलहरु अघि बढेको टिप्पणी गर्नुभयो। राजनीतिक दलले आफ्नो भागबण्डा मिलाउन गरेको निर्णयले स्थानीय तहमा महिलाको प्रतिनिधित्व कम भएको बताउनुभयो। कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले कर्णालीमा समावेशी कानून बनाउने विषयमा अहिले अध्ययन भइरहेको बताउनुभयो। ‘हामीले कानून बनाउने कुरामा सबैको छलफलमा समावेशी बनाउने प्रयास गरेका छौं, यसअघिको कार्यकालमा यही अभ्यास भएको थियो,’ उहाँले भन्नुभयो ‘हामी कर्णाली प्रदेश सभाबाट कानूनलाई अझ कसरी समावेशी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन पनि गर्दैछौं।’ सत्रमा सहभागी अर्का वक्ता मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव आनन्द सारुले नागरिकसम्म कानूनी शिक्षा पुर्याएमा समावेशी कानून बनाउन सहज हुने बताउनुभयो।

भिडियो हेर्नः   पुरा पढ्न

सत्र १५ डिजिटल डेमोक्रेसी

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिन पन्ध्रौं सत्रको रुपमा डिजिटल डेमोक्रेसी सत्र रहेको थियो।

यो सत्रमा वक्ताका रुपमा प्रतिनिधिसभा सदस्य माननीय मनिष झा, सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्द, लेखक रामेश कोइराला र सामाजिक सञ्जाल प्रयोगकर्ता पवित्रा साँकी (मिस पवि) हुनुहुन्थ्यो भने यो सत्रको सहजीकरण डिजिटल राइट्स नेपालका अध्यक्ष टंक अर्यालले गर्नुभएको थियो।

भिडियो हेर्नः   पुरा पढ्न

सत्र १६ कर्णालीदेखि काठमाडौंसम्म

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिन सोर्हौं सत्रको रुपमा कर्णालीदेखि काठमाडौंसम्म सत्र सञ्चालन भएको थियो। उक्त सत्रमा वक्ताको रुपमा संघीय सरकारका पूर्व मन्त्री सत्य पहाडी, कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री नरेश भण्डारी, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाही वक्ता हुनुहुन्थ्यो भने यो सत्रको सहजीकरण साहित्यकार महेशविक्रम शाहले गर्नुभएको थियो।

‘कर्णालीमा दुखका कथा मात्र लेखिँदैन, पीडाका गीत मात्र गाइँदैनन्, कर्णालीका सपनाहरु फोक्सुण्डोमा डुबेका छैनन्, कर्णाली सम्भावनाको सगरमाथा हो,’ कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता नरेश भण्डारीले भन्नुभयो- ‘म भागेर काठमाडौं गएको होइन, कर्णालीको विकासका लागि काठमाडौंमा कर्मथलो बनाएको राजनीतिकर्मी हो र मैले अन्तिम सास कर्णालीमै फेर्ने हो।’ पूर्वमन्त्री सत्य पहाडीले आफूलाई कर्णालीको पहिचान बोकेर यहाँको सुन्दर सपना साकार पार्न काठमाडौं पुगेको एक यात्रीका रुपमा चिनाउनुभयो। ‘मैले काठमाडौं बस्दा पनि धेरैपटक डोल्पाको प्रतिनिधित्व गरेकी छु। विभेदको हुरी अन्त्य गर्न, समानताको सपना साकार पार्न काठमाडौं पुगेर सामन्ती शासनमाथि धावा बोलेको योद्धा हो,’ उहाँले भन्नुभयो, ‘म निरन्तर कर्णालीको निम्ति बाँचेको छु, बाँचिरहनेछु।’ नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आफूलाई राजनीतिले नै डोर्याएर काठमाडौं पुर्याएको बताउनुभयो। भौतिक अवस्थितिले चेतनाको निर्माण गर्छ भन्ने आफ्नो दलको सिद्धान्त पछ्याउँदै कर्णालीदेखि काठमाडौंसम्मको यात्रा तय गरेको उहाँको भनाई छ। नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले अब कर्णालीको परिचय बदल्नका लागि आफैंले काम गर्नुपर्नेमा जोड दिनुभयो। ‘हाम्रा नेताले, हाम्रो अगुवाले गरिदिन्छन् भनेर भर पर्नुहुँदैन,’ उहाँले भन्नुभयो ‘कर्णालीलाई परिवर्तन गर्ने दायित्व कर्णालीकै मान्छेको मात्र पनि होइन, नेपालका प्रमुख राजनीतिक दल, जसले देशको नेतृत्व गरिरहेका छन्, उनीहरुको पनि हो।’

भिडियो हेर्नः   पुरा पढ्न

पैकेलो खैरुन निशा

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिन पैकेलोको रुपमा खैरुन निशाले आफ्नो कथा सुनाउनुभयो।

मुस्लिम समुदायमा परिवार नियोजनको अभियान थाल्ने पहिलो महिला खैरुन निशाले आफ्नो स्यवंसेवी प्रयास तथा मुस्लिम महिलाहरुको हकहितको लागि लामो समयदेखि आफूले गरेको संघर्षको कथा सुनाउनुभयो।

भिडियो हेर्नः   पुरा पढ्न

कर्णाली कन्सर्ट : गजल साँझ

कर्णाली उत्सवको चौथो संस्करणको तेश्रो दिनको साँझ कर्णाली कन्सर्ट : गजल साँझ सञ्चालन भयो।

यो सत्रमा गजलकारको रुपमा विद्यानिर्दोष पहाडी, संगीता थापा, महेश के भट्टराई र पुष्पराज आचार्य हुनुहुन्थ्यो भने सहजकर्ताको रुपमा क्षितिज समपर्ण रहनु भएको थियो ।

भिडियो हेर्नः

समापन समारोह

प्रमुख अतिथि माननीय नन्दा गुरुङ, सभामुख, कर्णाली प्रदेश सभा

कर्णाली उत्सवको चौथो संस्करणको समापन कर्णाली प्रदेश सभाका सभामुख माननीय नन्दा गुरुङले गर्नुभयो। समापन समारोहमा बोल्दै उहाँले यस प्रकारका उत्सवले आम नागरिकहरुमा वृहत्तर चेतना वृद्धि गर्नुका साथै यावत सामाजिक सवालहरुलाई वहसको विषय बनाउने बताउनुभयो। कार्यक्रमको समापन गर्दै कर्णाली उत्सव आयोजक समिति संयोजक कमलराज लम्सालले उत्सवलाई सफल बनाउन सहयोग गर्नहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले कर्णाली उत्सवको पाँचौ संस्करण २०८० फागुन ५ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा हुने जानकारी दिनुभयो।

भिडियो हेर्नः

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events