
कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिन ‘शिक्षा र समर्पण’ सत्र सञ्चालन गरिएको थियो । शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वहरू नारायण सिग्देल र सिस्टर रोसिता सहभागी रहेको छलफलको सहजीकरण राजन कुमार कँडेलले गरेका थिए ।

हरेक मान्छेले आफ्नो चाहना र क्षमता अनुरुप आफूलाई निखार्दै लैजानुपर्छ । तर हामी आफ्नो क्षमता थाहा नपाएर कताकता भौतारिँदा रहेछौँ । तर घुम्दैफिर्दै आखिरमा आफ्नो चाहनाको क्षेत्रमै पुगिने रहेछ । म २०२४ सालमा तनहुँ जिल्लामा जन्मेको हुँ । विद्यालय निकै टाढा हुन्थे । त्यतिबेला तीन कक्षामा जिल्लास्तरीय परीक्षा हुन्थ्यो । त्यो परीक्षा दिन मलाई घरबाट डेढ घण्टाभन्दा बढी हिँडेर जानुपथ्र्यो । त्यसबेला म ९ वर्षको थिएँ । मेरी आमाले मलाई विद्यालय धेरै टाढा छ परीक्षा दिन नजाउ भन्नुभयो । मैले त्यसै गरेँ र तीन कक्षा दोहो¥याएर पढेँ । तीन कक्षा पछि पाँच कक्षामा फेरी जिल्लास्तरीय परीक्षा हुन्थ्यो ।
मलाई विद्यालय नजिक हुन्छ भनेर चार कक्षा पढ्न तनहुँबाट बर्दिया अंकलको घरमा पठाइयो । म नौ कक्षामा पढ्दै गर्दा मेरो बुवा बित्नुभयो । घरखर्चको लागि भएपनि मैले एसएलसी दिएलगत्तै पाँच वर्ष वन पैदावार विकास समितिमा काम गरेँ । त्यतिबेला कामको सिलसिलामा म विराटनगर, चितवन सर्लाही र नेपालगञ्जमा बसेँ । मैले जागिर गर्दै पढेँ । त्यसपछि स्नातक पढ्न म सुर्खेतको वीरेन्द्रनगर आइपुगेँ । सोही क्रममा म बड्डीचौरस्थित विद्यालयमा पढाउन पुगेँ ।
त्यहाँ सात कक्षासम्म मात्रै पढाइ हुँदोरहेछ । त्योभन्दा माथि पढ्न या त ६ घण्टा हिँडेर वीरेन्द्रनगर जानुपर्ने या चार घण्टा हिँडेर फिनीकाँडा वा विद्यापुर जानु पथ्र्यो । म त्यहाँ गएको दुई वर्षपछि २०४८ सालमा सोही विद्यालयको प्रधानाध्यापक भएँ । त्यसपछि मैले अभिभावकमाझ विद्यालय सुधारको योजना पेश गरेँ । जसमा सबैले अलिअलि लगानी गर्दा कक्षा ८ सम्म पठनपाठन गराउन सकिने कुरा थियो । सबैको सहयोगमा हामीले कक्षा ८ चलायौँ । कक्षा ८ मा राम्रो नतिजा आएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुरले १० हजार रूपैयाँसम्म बेरुजु आयो भने मै तिर्दिम्ला भन्नुभयो । त्यसले काम गर्ने हौसला आयो ।
त्यतिबेलै मैले अन्य जागिरका लागि पनि प्रयास नगरेको होइन । कतै लिखितमा नाम निस्कियो, मौखिकमा निस्केन । पछि मैले व्यवस्थापन समितिसँग मलाई बिदा दिनुस् भनेँ, तर अध्यक्षले हामी सोझालाई फसाएर विद्यालय बनाउने अहिले आएर जान्छु भन्ने भनेर कराउनुभयो । जाने भए विद्यार्थी पनि लिएर जानु भन्नुभयो । मास्टर पनि लैजानु अनि विद्यालय पनि लैजानु भन्नुभयो । मलाई तिनै शब्दले छोए । त्यसपछि म यहीँ बसेर पढाउँछु भन्ने अठोट गरेँ । मैले १८ वर्षसम्म अस्थायी नोकरी गरेँ । र स्थायी भएको १६ वर्ष भयो ।
बड्डीचौरमा हाल शिशुदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । प्राविधिकतर्फ १८ महिने कृषि भेटेरीनरी पढाइ हुन्छ । सामान्य तथ्याङ्क हेर्ने हो भने आजको मितिमा हामीले साढे तीन खर्ब रूपैयाँको कृषि वस्तु किनेर खान्छौँ । २० लाख बिगाह जमिन बाँझो छ । हाम्रा विद्यालयमा पढेका मान्छे हाम्रो श्रम बजारमा भेटिँदैनन् । विद्यार्थीलाई श्रम बजारमा जोड्नका लागि सबैभन्दा पहिले उनीहरूलाई कृषिसम्बन्धी सीप सिकाएर कृषिकर्ममा जोड्नु हो । र हाम्रो विद्यालयको मुख्य ध्येय यही हो ।
सीपयुक्त विद्यार्थी उत्पादन गर्न सकेमात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ । यहाँ एउटा प्रसंग महŒवपूर्ण छ । सीपलाई अंग्रेजीमा ‘स्किल’ भनिन्छ । स्किलको ‘एस’ हटाइदियो भने ‘किल’ हुँदोरहेछ । र ‘किल’बाट ‘के’ हटाइदियो भने ‘इल’ हुँदोरहेछ । हामीले पढाइरहेका विद्यार्थी या त इल छन् या त किल, हाम्रो प्रयत्न त एस थप्ने मात्रै हो । हामीले सीपयुक्त विद्यार्थी उत्पादन गरेमा मात्र उनीहरू श्रम बजारमा बाँच्न सक्छन् ।
विद्यालयमा हामीले अहिले सिकाइरहेका कुरा हुन्, तिमी १८ वर्ष पूरा भयौ भने बा–आमाको कमाई नखानु । ६ घण्टा विद्यालय र ६ घण्टा घरमा पढ । ६ घण्टा आराम गर । ६ घण्टा काम गर । पब्जी हैन सब्जी खेल । हाम्रा विद्यार्थीहरुले कुखुरा, बाख्रा, बंगुर, च्याउ खेती गरेका छन् । अब हामीले हाम्रै फेसन डिजाइनर तयार पारौँ । जसले कर्णालीका पहिरनहरु बनाउन् । हामी हाम्रै रैथाने र अर्गानिक बाली उत्पादन गरौँ । कम्तीमा यहाँबाट सुरु गर्न सके पनि धेरै हुन्छ भन्ने लाग्छ । आजपनि हामीले दिनहुँ खाने तरकारी फलफूल बाहिरबाट ल्याउँछौँ । हामीले अब उत्पादनका कुरामा ध्यान दिनुपर्छ । र यसलाई शिक्षासँग जोडेरै लैजानुपर्छ भन्ने लाग्छ ।
जीवनमा सफलता प्राप्त गर्न धैर्यता चाहिन्छ । म बड्डीचौरमा बसिरहँदा बत्ती थिएन, इन्टरनेट थिएन । एउटा बिएस्सी पास गरेको शिक्षक खोज्न म चितवन हुँदै झापासम्म पनि पुगेको हुँ । धैर्यताका साथ शिक्षक ल्याउँदै विद्यार्थीहरूलाई पढायौँ ।
सफलताको अर्को सुत्र हो लगनशीलता । धैर्यता मात्रै भएर हुँदैन । जबसम्म हामी लगनशील हुँदैनौँ खास केही गर्न सकिँदैन । सबैभन्दा महŒवपूर्ण कुरा जुन समुदायमा बसिन्छ त्यहाँ वैरभाव राख्नुहुन्न । कतिपय अवस्थामा आफ्नोबारे नराम्रो सुनेपनि सहन सिक्नुपर्छ । किनभने अरुले थाहा नपाएरै विरोध गरेका हुन्छन् । तर त्यस्तालाई कामले देखाउने हो । हाम्रो विद्यालयले अवलम्वन गर्दै आएको पढ्दै कमाउने कार्यक्रमलाई नेपाल सरकारले चालु बजेटमा समावेश गरेको छ । जसमा देशभरका २४० विद्यालय समेटिएका छन् । यसले विद्यार्थीलाई भविष्यमा के बन्ने भन्ने कुराको छनौट गर्ने अवसर पनि दिन्छ । हाम्रो जनज्योति माविमा शुल्क तिर्न नसक्ने विद्यार्थीलाई विद्यालय आउ कमाएर तिरौला भन्ने नीति छ । यसका लागि २० लाख रूपैयाँ ऋण लगानी हुने गरेको छ ।
नेपाल सरकारले पढ्दै कमाउँदै भन्ने कार्यक्रम सुरु गर्नासाथ गैर आवासीय नेपाली संस्था (एनआरएन) ले एक हजार विद्यार्थीहरूलाई प्रति विद्यार्थी २० हजारको दरले लगानी गर्ने कार्यक्रम छ । यसका लागि पाँच वटा जिल्ला छनौट भएको छ । खुसीको कुरा के भने १० वटा देशका २५ जना विदेशीहरू जनज्योतिमा हामीले गरेका कामबाट धेरै प्रभावित भएका छन् । यो पढ्दै कमाउँदै भन्ने विचारलाई उनीहरु आफ्नो देशमा लैजाने कुरामा समेत प्रतिबद्धता जनाएका छन् । धेरैजसो स्थानीय तहले पनि पढ्दै कमाउँदै कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन् । यस कुराले हामी धेरै नै उत्साहित भएका छौँ।
हामीले १५ स्थानीय तहमा खरीद–बिक्री केन्द्र बनाउन लागिपरेका छौँ । यसले उत्पादन र बजारीकरणलाई जोड्छ । यसका लागि हामीले ‘डिग फर नेपाल’ अभियान अन्तर्गत तीस जना स्वयंसेवी विद्यार्थी परिचालन गर्दैछौँ । हामी विद्यालयलाई समाज र समुदायसँग जोड्न खेतबारी खनजोत कार्यक्रम, पूर्ण सरसफाइ कार्यक्रम सुरु गर्दैछौँ । यसका अलावा एक स्थानीय तह र एक मौलिक भान्छाघर, एक स्थानीय तह एक गार्मेन्ट उद्योगको पनि कुरा गरेका छौँ । यसका लाग हामीले खरायो र हास पालन गर्न सक्छौँ । यसरी हामीले कृषिमार्फत् सकारात्मक सञ्चार प्रवाह गर्न खोजेका हौँ । र यसले मुलुकलाई समृद्ध पार्न सक्छ भन्ने मान्यतामा हामी दृढ छौँ ।

दक्षिणी भारतको एउटा सम्पन्न घर परिवारमा जन्मेकाले मैले सानैदेखि पढ्ने मौका पाएँ । यद्यपि, म १० कक्षामा पढ्दै गर्दा भारतको बिहारमा भएको गरिबीको अवस्था र बच्चाहरू पढ्न नपाएर गाँउघरमै बस्ने गरेका समाचार र तस्बिरले मेरो मन छोयो । अनि मलाई पनि यस्तै ठाउँमा गएर सेवा गर्न पाए भन्ने भावना जागेको हो । तर मलाई बिहार गएर काम गर्ने कुरामा कसैको सहमति थिएन । मैले सिस्टर्स अफ च्यारिटिको सदस्यता लिन खोज्दा घरबाट पनि अनुमति भएन । यद्यपि, मलाई कसैले रोक्न सकेन । बरु आफ्नो इच्छा पूरा गर्न घर नै त्यागिदिएँ र बिहार पुगेँ ।
बिहारमा मैले धेरै विद्यालयमा पढाएँ । क्याम्पस पढ्दाताका मैले सुस्त मनस्थिति भएका बच्चाहरू पढ्ने स्कुलमा जाने मौका पाएँ । मैले उनीहरुलाई पढाउने तालिम पनि लिएँ । समय बित्दै जाँदा नेपालमा पनि यस्ता विद्यालय छन् तर ति बन्द हुने अवस्थामा छन् भन्ने सुनेरै म नेपाल आएको हुँ । मैले काठमाडौंमा सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई पढाएँ । समय क्रममा मैले सुर्खेतको बारेमा सुनेँ र यहाँ आएर काम गर्ने निर्णय गरेँ । अहिले म यहाँका महिला र बालबालिकाको अवस्था सुधार्न काम गरेकी छु ।
सुर्खेतमा मैले विभिन्न सरकारी विद्यालयमा काम गरेकी छु । ती विद्यालयमा बाल क्लबहरू गठन गरेर बालबालिकाको वृद्धि विकासका लागि काम गरेँ । यस्तै विद्यालय नै नजाने बच्चाहरुको लागि बाल केन्द्रहरू खोलेकी छु । विद्यालय बाहिर रहेका बच्चाहरुलाई शिक्षाको पहुँचमा पु¥याउन मैले विभिन्न बाल केन्द्रहरु पनि सञ्चालन गरेकी छु । हामीले नवज्योति केन्द्रमार्फत् उनीहरूलाई पढ्न सहयोग गरेका छौँ । बालबालिकाले विद्यालयमा गएर किताबको ज्ञान मात्र होइन अरु धेरै कुराहरू सिक्नुपर्छ । त्यसका लागि उनीहरुलाई अतिरिक्त क्रियाकलापमा भाग लिने कार्यक्रमहरू आयोजना गर्ने र नेतृत्व विकास गर्ने व्यावहारिक कुराहरू पनि सिकाउनु पर्छ । यसका अलावा बालबालिकाहरूलाई हामीले समुदायमा बस्ने र बाँच्ने तरिका पनि सिकाउनु जरुरी छ ।
गाउँका विद्यालयहरुमा काम गर्दा मैले महसुस गरेको चुनौती राजनीति हो । जे कुरालाई पनि राजनीतिक रङ दिने प्रवृत्तिले हामी प्रगति गर्न सक्दैनौँ । केही राम्रा काम गर्न खोज्दा पनि परिस्थिति प्रतिकुल बन्थ्यो । सहरी क्षेत्रमा भने शिक्षामा व्यावसायीकरण भइसकेको छ । शिक्षालाई सेवा भन्दा पेसा वा व्यवसाय मान्ने परम्पराले यसको गुणस्तरमाथि प्रश्न उठ्न सक्छ । हामीले शिक्षालाई गुणस्तरीय बनाउनु जरुरी छ । गुणस्तरीय शिक्षाले नै धेरै सम्भावनाका ढोका खोल्ने हो । अतः शिक्षाको पहुँचभन्दा बाहिर रहेकालाई पनि गुणस्तरीय शिक्षा दिनेतर्फ राज्य सचेत हुनुपर्छ ।