कार्यक्रम सारांश

सारांश

वर्ष

२०७६

दिन

सत्रहरु

१४

वक्ताहरु

५९

भौतिक उपस्थिति

१० हजार

भर्चुअल उपस्थिति

१ लाख ६० हजार

सत्रहरु

सत्र १ः ‘सरकारका तीन तह, बगाउन्या कर्णालीका बह’

मितिः २०७६ फागुन १९ गते

संघीय तहबीचको आपसि सम्बन्ध, गाँउगाँउमा सिंहदरवार पुग्यो वा पुगेन ? तीन तहका सरकारबीच स्रोत‐साधनको बाँडफाँडको विषय, संघीयता र समृद्धि लगायतका विषयमा बहस गर्ने उद्देश्यले निर्माण गरिएको ‘सरकारका तीन तह, बगाउन्या कर्णालीका बह’ शिर्षक रहेको सत्रबाट कर्णाली उत्सवको सुरुवात भएको थियो । उक्त सत्रमा संघिय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल वक्ताको रुपमा हुनुहुनथ्योभने यस सत्रको सञ्चालन लेखक तथा पत्रकार सरोजराज अधिकारीले गर्नुभएको थियो । चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले जनताका असिमित आवश्यकताहरुलाई सिमित श्रोत साधनबाट पुरा गर्नु स्थानिय सरकारका जनप्रतिनिधिहरुको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले संघियताको मर्म पुरा गर्न स्थानिय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिंदै स्थानिय तहको वडास्तरदेखि स्रोत, साधन र अधिकार लगायत हरेक कुराले पुर्णता पाउनुपर्ने उल्लेख गर्नुभयो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्थानिय तहलाई जनताहरुको गाउँको सिंहदरबार अर्थात नीति निर्माण हुने नजिकको सरकार बनाएको बताउनुभयो । उहाँले नीति निर्माणमा संघिय सरकारले अभिभावकिय भुमिका निभाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकारल संघिय सरकार र स्थानीय सरकारविच पुलको काम गरिहेको वताउनुभयो । संघिय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्रोत, साधन र बजेटको समानान्तर बाँडफाँडका लागि संघियताको उपयोग भएको बताउनुभयो । सरकारका तीन तहका कारण कर्णालीका जनताको दुख अर्थात बह बगाउन वा मेट्न कसरी सक्छ भन्ने विषयवस्तुमाथि सत्र केन्द्रित रहेको थियो ।

सत्र २ः खसका खासखुस

मितिः २०७६ फागुन १९ गते

खस सभ्यताको बिरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश, खसका गर्व गर्ने विषयहरु ज्स्ता विषयवस्तुलाई छलफलको मुख्य क्षेत्र निर्धारण गरी ‘खसका खासखुस’ नामक सत्र रहेको थियो । उक्त सत्रमा प्रस्तोताको रुपमा कर्णालीका लेखक तथा जुम्ला निवासी माधव चौलागाईं हुनुहुन्थ्यो ।
करिब तनि दशक त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउनुभएका, खस सभ्यताका जानकार, लुम्बिनी बौद्ध विश्वविद्यालयका सभा सदस्य प्रा. डा. रमेश ढुङ्गेल वक्ताको रुपमा हुनुहुन्थ्यो । त्यस्तै जुम्ला निवासी खस भाषाको शव्दकोश खसिया आखर लेखिरहनुभएका रमानन्द आचार्य र कामको सिलसिलामा लामो समय कर्णालीका विभिन्न जिल्लामा विताउनुभएका डाक्टर बद्रि चापागाईं वक्ताको रुपमा रहनुभएको थियो ।
प्रा.डा. रमेश ढुङ्गेलले कर्णाली प्रदेश खस साम्राज्यको इतिहासबारे उल्लेख गर्नुभयो । उहाँले खस साम्राज्यले नेपाल देश बन्न सहयोग पुगेको बताउनुभयो । रमानन्द आचार्यले खस सम्राज्यको राष्टिय भाषा खस रहेको बताउनुभयो । खस भाषा नेपाली भाषाको पिता जस्तै भएको उहाँको भनाई थियो । डाक्टर बद्रि चापागाईंले आफ्नो खस भाषाप्रति प्रेम रहेको बताउनुभयो ।

सत्र ३ः संस्कार र समानता

मितिः २०७६ फागुन १९ गते

विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था र भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयवस्तुमा छलफल भएको संस्कार र समानता नामक सत्रमा त्रिभुवन विश्वद्यालयका प्राध्यापक एवम् लेखक संजिव उप्रेती, स्वतन्त्र फोटो पत्रकार एवम् अधिकारकर्मी उषा तितिक्षु र अधिवत्ता गिता कोइराला वक्ताको रुपमा रहनुभएको उक्त सत्रको सञ्चालन पत्रकार टिका विष्टले गर्नुभएको थियो ।

सत्र ४ः रङ्ग

मितिः २०७६ फागुन २० गते

रंगमञ्चमा कर्णालीको स्थान, अवस्था र वास्तविकता लगायतका विषयमा कर्णाली उत्सवमा विमर्श भयो । कर्णालीका रंगकर्मीहरु मिन भाम, गणेशभक्त गौतम, माया थापासंग प्रकाश लामिछानेले बहस गर्नुभयो । वक्ताहरूले कर्णालीको रंगमञ्चको विगत, वर्तमान र भविष्यको लेखाजोखा गर्दै चुनौतीहरू र सम्भावनाहरू बारे बहस गर्नुभयो । कर्णालीको कथाको स्वाद र मौलिकपन देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै मूल्यवान् भएको तर्क वक्ताहरुको थियो । उत्सवमा सहभागी हुन मुगुबाट सुर्खेत झरेका युवा रंगकर्मी हीरा बिजुली नेपालीले रंगमञ्चलाई छुट्टै छलफलको विषय बनाएकोमा कार्यक्रमको प्रशंसा गर्नुभयो ।

सत्र ५ः कर्णाली क्यानम घुमेर हेर्दा

मितिः २०७६ फागुन २० गते

कर्णाली घुम्नुपर्ने कारणसहितको बहसको सत्र ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ मा लेखक तथा पत्रकार मोहन मैनाली, पर्यटन व्यवसायी अमरबहादुर शाही र यात्री अस्मिता थापाले चर्चा गरे । उक्त सत्रको सञ्चालन लेखक तथा पत्रकार दामोदर न्यौपानेले गरेका थिए । लेखक तथा पत्रकार मोहन मैनालीले कर्णाली हरेक ठाउँ घुम्न लायक रहेको उल्लेख गर्नुभयो । उहाँले यहाँको सम्पदा र स्थल मात्र पर्यटनका आकर्षण नभई यहाँको संस्कृती र सभ्यता पनि महत्वपुर्ण रहेको बताउनुभयो । केही समयअघि ३३ दिनसम्म एक्लै कर्णालीका विभिन्न जिल्लामा यात्रा गर्नुभएकि झापाकी अस्मिता थापाले कर्णाली घुम्ने मात्रै नभई महसुस गर्ने ठाउँ रहेको बताउनुभयो ।

सत्र ६ः प्रश्न किन गर्ने ?

मितिः २०७६ फागुन २० गते

सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण, कर्णालीमा नागरिकहरुको प्रश्न गर्ने बानीको अवस्था र प्रश्नको महत्व लगाएतका विषयमा बहस भएको सत्रको सञ्चालन पत्रकार दिलभुषण पाठकले गर्नुभएको थियो भने वक्ताहरुमा राजनीतिशास्त्री हरि शर्मा, कवि तथा लेखक सरिता तिवारी र नेपाल पत्रकार महासंघका पुर्व सभापति शिव गाउँले रहनुभएको थियो । लेखक हरि शर्माले कर्णालीले प्रश्न गर्न नसकेकै कारण उपेक्षित भएको बताउनुभयो । प्रश्न गर्न नसकेको कुण्ठाले कर्णालीले प्रगती गर्न नसकेको उहाँको भनाई थियो । लेखक सरिता तिवारीले प्रश्न गर्दा पनि दृष्टिकोणको विविधताले कर्णालीसंगै महिला, जनजाती, दलित र अल्पसंख्यक समुदायको आवाज नसुनिएको बताउनुभयो । पत्रकार शिव गाउँलेले सत्ता र शक्तिका रहनेहरुले जनताको प्रश्नलाई गाली सम्झेर उपेक्षा गर्दा अपेक्षाकृत प्रगती नभएको बताउनुभयो ।

सत्र ७ः सिमान्त स्वर

मितिः २०७६ फागुन २० गते

उत्सवमा सिमान्तकृत समूदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँच बारे बहस भएको छ । सिमान्त स्वर नामक सत्रमा पुर्व सांसद तथा राजनीतिकर्मी मोहम्मदी सिद्धिकी, अधिकारकर्मी दुर्गा शोब, कर्णाली प्रदेशसभा सदस्य मिनासिं रखाल लगायतले बहस गरेको उक्त सत्र पत्रकार चन्द्रकिशोर झाले सञ्चालन गर्नुभएको थियो ।

सत्र ८ः दबाई र देउता, भोक र भकारी

मितिः २०७६ फागुन २० गते

कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता भोक र भकारी’ नामक सत्रमा लेखक तथा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलबीच बहस भएको छ । सत्रको सञ्चालन पत्रकार केशब ढकालले गर्नुभएको थियो । सत्रमा कर्णालीको औषधी उपचार र धामी झाँक्रि, मुल्यमान्यता तथा खाद्यान्न र कुपोषण जस्ता विषयमा बहस भएको थियो । डा. कृष्णप्रसाद पौडेलले कर्णालीले आफ्नो उत्पादन भुल्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । चिनो, कागुनो, कोदो, फापर र मार्सेको खेती छोडेर दाताले दिएका अन्नमा निर्भर हुन थालेको संकेत गर्दै डा. अरुणा उप्रेतीले आफ्नै ठाउँमा उत्पादन हुने भोजन हराउनु नै भोक र भोकमरीको मुख्य कारण भएको उल्लेख गर्नुभयो ।

सत्र ९ः कर्णालीका कथा

मितिः २०७६ फागुन २० गते

कर्णालीका साहित्यकार श्यामल, उषा हमाल, इन्दिरा शाहले कर्णालीको साहित्यबारे बहस गर्ने सत्र पत्रकार बिमल आचार्यले सञ्चालन गर्नुभएको थियो । नेपाली साहित्यमा कर्णालीको स्थान, कर्णालीलाई कस्ता कथा कसरी र कति लेखिएको छ ? साहित्यमा कर्णालीको विम्ब कस्तो देखिन्छ? अब कस्ता कुरा लेखिनुपर्छ ? लगायतका प्रश्नहरुमा उक्त सत्रमा बहस भएको थियो । कवि एवम् निबन्धकार श्यामलले कर्णालीबारे लेखिए पनि लेखिनुपर्ने जति नलेखिएको बताउँदै यहाँका कुरा कर्णालीकै मान्छेले लेख्नुपर्नेमा समेत जोड दिनुभयो । भाषा आयोगकी सदस्य एवम् लेखक उषा हमालले आफ्नो माटोको कथा आफैंले लेख्नुपर्ने बताउनुभयो । साहित्यकार इन्दिरा शाहले बाहिरबाट आएर कसैले कर्णालीबारे लेख्दा त्यसमा यहाँको मौलिकपन नआउने भएकाले पनि यहाँका खास कथा यहाँकै लेखकहरूबाट लेखिनुपर्ने उल्लेख गर्नुभयो ।

सत्र १०ः कहरी बनला कर्णाली ?

मितिः २०७६ फागुन २१ गते

कर्णाली प्रदेश पछि पर्नुको कारण र अब कसरी समृद्ध बन्ला भनी भएकोे बहसमा कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, अर्थविद् भोजराज पौडेल र राजनीतिशास्त्री डा. अर्जुन बहादुर अयडी रहेको सत्र समृद्धी फाउण्डेशनका निर्देशक दिपेन्द्र चौलागाईले सञ्चालन गर्नुभएको थियो ।

सत्र ११ः कर्णालीको ११औं जिल्ला

मितिः २०७६ फागुन २१ गते

कर्णाली उत्सवमा कर्णालीको लोपोन्मुख आदिवासी समुदाय राउटेलाई कर्णालीको नयाँ अर्थात एघारौं जिल्लाको रुपमा उभ्याइ बहस भएको थियो । उनीहरुको नागरिकता र स्थायी बसोवास नभएकोले कर्णालीको एघारौं जिल्लाको रुपमा व्याख्या गरिएको हो तर कर्णाली प्रदेशमा १० जिल्ला छन् । राउटे महामुखिय मैनबहादुर शाही, राउटे अभियान्ता सत्यदेवि खड्का, डा. डम्बर चेमजोङ र राउटेलाई सामान्य जीवनमा फर्काउन विभिन्न प्रयास गरिसकेका दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीसहित एपीवन टेलिभिजनका सम्पादक टिकाराम यात्रीले बहस गरे । उक्त सत्रमा लोपोन्मुख राउटे जातिको अवस्था, जीवनशैली र सामाजिक रुपान्तरण, राज्यको दायित्व लगायतका विषयबस्तुमाथि विमर्श भयो । बहसमा राउटे महामुखिया मैनबहादुर शाहीले आफुहरु जंगलमै बस्न चाहेको बताउनुभयो साथै आफुहरु अन्य मानिसजस्तै सामान्य जिवनमा फर्किन असम्भव रहेको पनि प्रष्ट पार्नुभयो ।

सत्र १२ः कालापहाडका तोडा

मितिः २०७६ फागुन २१ गते

कर्णालीकोे बेरोजगारी, बैदेशिक रोजगारी, आर्थिक क्रियाकलाप, उद्योग, युवा आप्रवासन, उद्यमशिलता लगायतका विषयमा बहस भएको ‘काला पहाडका तोडा’ नामक सत्रमा ‘तोडा’ शव्दको अर्थ धन पैसा राख्ने छाला आदिको थैली भन्ने हुन्छ । वक्ताको रुपमा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार विज्ञ युवराज बस्नेत, सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्रकुमार केसी रहेको सत्र पत्रकार कलेन्द्र सेजुवालले सञ्चालन गर्नुभएको थियो । कर्णालीका नागरिक रोजगारीका लागि छिमेकी मुलुक भारत (कालापहाड) निर्भर हुनुपर्ने तितो यथार्थको समीक्षा गर्दै वक्ताहरूले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने क्षेत्रहरू औंल्याउनुभयो ।

सत्र १३ः कृषि पर्यटन र पानी, पुर्वाधारमा लगानी

मितिः २०७६ फागुन २१ गते

कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र भेरी बबई डाईभर्सन बहुउद्धेश्य आयोजनाका निर्देशक सञ्जिव बरालसंग कारोबार राष्ट्रिय आर्थिक दैनिकका सम्पादक कुबेर चालीसेले विमर्श गर्नुभयो । उक्त सत्रको नामाकरण थियो, ‘कृषि पर्यटन र पानी, पुर्वाधारमा लगानी’ । उक्त सत्रमा प्रदेशको अर्थतन्त्रको मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, लगानी कसरी भित्र्याउने, लगाएतका विषयबस्तुमाथि बहस भएको थियो । वक्ताहरुले अर्थतन्त्रका प्रमुख तीन आधारका रूपमा हेरिएका कृषि, पर्यटन र जलस्रोतमा लगानी गरेर प्रदेशलाई समृद्ध बनाउन सकिने सम्भावनाहरू उल्लेख गरे ।

सत्र १४ः डिजिटल कर्णाली

मितिः २०७६ फागुन २१ गते

कर्णालीलाई कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीका सुचना प्रविधि सल्लाहकार अस्गर अली, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका सचिव वीरेन्द्रकुमार यादव र प्रविधिविद् डा. सुधांशु दाहालका बीच गणेश आचार्यले डिजिटल कर्णालीको अवधारणा र सम्भावनाको खोजी गर्नुभयो ।

साहित्यिक प्रस्तुतीहरु

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events