
म घरकी जेठी छोरी, मेरो बुबाले मेरा दाइ र बहिनीलाई स्कुल पठाउँदा मलाई भने स्कुल पठाउनु भएन । मलाई गोठालो बनाउनुभयो । मलाई गोठालो मात्रै भएर बस्न पटक्कै मन थिएन । पढ्ने लालसाले नै म बुबासँग लड्दै लड्दै स्कुल गएँ । दाइ र बहिनीहरु स्कुल जाँदै गर्दा मलाई भने त्यही स्कुल जान बुबासँग लडाइँ गर्नुपर्ने भयो । स्कुल पुगिसकेपछि पनि बुबाले मलाई भर्ना गर्न नै मान्नु भएन । तर प्रधानाध्यापकले मेरो नाम नि:शुल्क लेखाइदिनुभयो । मैले पढ्ने सपना पूरा गर्ने अवसरको त्यो पहिलो खुड्किलो थियो । नि:शुल्क स्कुल पढ्न पाएपछि म पाँच कक्षासम्म पहिलो भएँ । तर ६ कक्षादेखि माथि पढ्न आर्थिक स्रोत जुटाउन नसकेपछि मेरो स्कुल जाने सिलसिला त्यहीँ रोकियो । पढ्न नपाएको पछुतो अहिले पनि छ, जीवनभर नै रहनेछ । तर जति पढेको थिएँ, त्यति नै भए पनि सदुपयोग गर्न भने पाएँ ।
१३ वर्षको हुँदा मेरो विवाह भयो । कसैले केही भन्यो भने रुनेबाहेक अरु गर्न सक्दिनथेँ । भाग्यवश २०५२ सालमा त्यो शिक्षा सदुपयोग हुने अवस्था आयो । म महिला स्वास्थ्य स्वयंसेविका हुन पाएँ । अरु साथीहरुले पाँच कक्षासम्म पनि पढ्न नपाएका कारण मैले अवसर पाएकी हुँ । मुस्लिम समुदायमा धेरै बच्चा जन्माउने चलन थियो । स्वास्थ्य स्वयंसेविका भएपछि मैले जन्मान्तर नै नगरी धेरै बच्चा जन्माउने सिलसिला तोड्नुपर्छ भन्नेतिर मेरो ध्यान जान थाल्यो । मैले स्वयंसेविका भएपछि गर्नुपर्ने काम के हो भन्ने कुरा मेरो दिमागमा खेल्न थाल्यो ।
मैले समुदायका साथीहरुलाई अस्थायी साधन प्रयोग गर्न लगाएँ । त्यसअघिसम्म परिवार नियोजन हाम्रो समुदायमा वर्जित जस्तै थियो । त्यही सोचका कारणले पनि होला साथीहरुलाई गलत काम भयो भन्ने भएछ । हाम्रो समाजमा तीनपटक तलाक भनेपछि घरबाट निस्किनुपर्थ्यो । त्यसका लागि पनि अभियान चलाएँ । तलाकलाई कानुनले मान्यता दिएको थिएन, त्यसो गर्नेलाई कानुनको कठघरामा उभ्याउने अभियान मैले चलाएँ । मेरो अभियानले महिलालाई त सहयोग पुग्यो तर पुरुषहरुले मलाई समाज भाँडेको आरोप लगाए ।

मैले कुनै जात भनिन, कुनै समुदाय भनिनँ । मैले अहिले विकास निर्माणमा पनि आफ्नै नेतृत्वमा गाउँको दुईतर्फी नाला बनाएको छु, बाटो बनाएको छु । तपाईंहरुलाई पनि म भन्छु, जस पाइनँ भनेर कोही पनि साथीहरु पछाडि नहट्नुहोला काम गर्न चाहेपछि पढाइले रोक्दो रहेनछ । भोलि राम्रो काम गरेर मर्नुपर्छ म मरे पनि मेरो नाम जीवित रहन्छ भनेर अघि बढ्नुपर्छ । तिरस्कारको मानसिकता नराख्नुहोला, तिरस्कारको मानसिकताले कहिल्यै अघि बढ्न सकिन्न ।
चुनौतीले नै मलाई आँट बढायो । म पछि हटिनँ । मैले पुरस्कार पाउन काम गरेको हैन, तर म मरे पनि मेरो नाम अमर रहोस् भनेर प्रतिबद्ध भएर लागेको छु । त्यतिखेर मलाई मस्जिदको कठघरामा उभ्याउनेहरु मलाई अहिले सफल मान्नुहुन्छ । हिजो म सही बाटोमा हिँडेकाले त्यतिबेला तिरस्कार गर्नेहरुले अहिले मलाई अँगालो हाल्नुभएको छ । त्यसले मलाई खुसी दिन्छ ।
मुस्लिम समुदायमा परिवार नियोजनको अभियान थाल्ने पहिलो महिला खैरुन निशाले कर्णाली उत्सवमा दिएको मन्तव्य ।
