कर्णाली चिन्तन: कर्णालीको विकासका लागि गर्नैपर्ने १० काम र गर्नै नहुने ५ काम

नन्दबहादुर सिंह, उपकुलपती,  मध्यपश्चिम विश्वविद्यालय

राष्ट्रको चिन्तन सदैव जरुरी विषय हो । कर्णाली उत्सवको माध्यमबाट हामी यही चिन्तन गर्दैछौँ । र, कर्णालीको चिन्तनले देशको चिन्तनमा सहयोग पुगोस् भन्ने चाहना छ ।

कर्णाली प्रदेश प्रशस्त स्रोतसाधन भएको क्षेत्र हो । सर्वप्रथम त हामी यस्ता प्राकृतिक स्रोत साधनको उपयोगमा आधुनिक प्रविधिको प्रयोग र नवप्रवर्तनबारे विचार गर्नुपर्छ । जसका लागि वैज्ञानिक अध्ययन अनुसन्धानमा विशेष ध्यान दिनु जरुरी छ । कर्णाली प्रदेशको सुन्दरता र मौलिकतालाई संरक्षण गर्दै यहाँको विकासलाई तीव्रता दिने हाम्रो चिन्तन हुनुपर्छ । जुन चिन्तनले कर्णालीलाई बस्न लायक प्रदेश बनाउन सहयोग गर्छ ।

कर्णाली निर्माणको सन्दर्भमा मैले ‘१० हो र ५ हैन’ भन्ने सिद्धान्त निर्माण गरेको छु । जसलाई अंग्रेजीमा ‘Deca Da, Penta Nyet’ भन्न सकिन्छ । कर्णाली केन्द्रित विषयमा दशकौंसम्म गरिएको चिन्तनबाट यो सिद्धान्त जन्मेको हो । यसमा ‘Deca’ भनेको ‘दश’ र ‘Da’ भनेको ‘हो’ हो । यस्तै ‘Penta’ भनेको ‘पाँच’ र ‘Nyet’ भनेको Russian भाषामा ‘हैन’ हो । यस सिद्धान्तले कर्णालीको समग्र विकासका लागि १० काम गर्नैपर्ने र ५ काम गर्नै नहुने अवधारणा अघि सारेको छ ।

हामीले गर्नै पर्ने १० काम यसप्रकार छन्ः

पहिलो, कर्णालीका सबै ठाउँमा यातायात पुग्नुपर्छ । कर्णालीभित्रको सडक सञ्जाल हामीले गर्नैपर्ने पहिलो काम हो । दोस्रो, सडकसँगै विद्युतीकरण हुनुपर्छ । यातायात सुविधा र विद्युतीकरणविना देश विकास सम्भव छैन । हामीले रसियाको उदाहरण हेर्न सक्छौँ । रुसियाले मुलुकको विकासका लागि धेरै स्थानमा यातायात त पुर्यायो तर विद्युतीकरणमा चुक्यो । यसर्थ रसियन विकास मोडेल असफलता उन्मुख भयो । यद्यपि, अमेरिकी विकास मोडेलमा यी दुवै सँगसँगै अघि बढे । अर्थात् जहाँ यातायात पुग्यो त्यहाँ उर्जा पुग्यो । ऊर्जासँगै कलकारखाना पुगे । अनुसन्धान र सभ्यता सुरु भयो । यसले देश विकासमा विशेष सहयोग पु¥यायो ।

तेस्रो, कृषि उद्यमको कुरा हो । हाम्रा परम्परागत कृषि उद्योगले अहिलेको माग धान्न सक्दैनन् । दक्षिण कोरियाको उदाहरण हेर्ने हो भने हाल ४.५ प्रतिशत कृषिको योगदान छ । यस्तै उद्योगको योगदान २४.५ प्रतिशत छ । बाँकी ७० प्रतिशतभन्दा बढी सेवामा आधारित छ । यो सेवा भनेकै नवप्रवर्तनमा आधारित हो ।

चौँथो, कर्णाली विकासको आधार पर्यटन हो । कर्णालीका १० वटै जिल्लालाई जोडेर पर्यटन सर्किट निर्माण गर्नु जरुरी छ साथै कैलाश सम्म पुग्ने सहज सञ्जालको विकास गर्नुपर्छ । नदी किनारका धेरैजसो सडकको छेउछाउमा पर्यटक भुल्ने तथा रमाउने गन्तव्य बनाउन सकिन्छ । हाल पहिचान भएका पर्यटकीय गन्तव्यहरूको समेत थप विकास गर्नु जरुरी छ । कर्णालीको पर्यटकीय विकासको मोडेल मैले प्रदेश सरकारलाई समेत प्रदान गरेको छु ।

पाँचौं, कर्णालीमा पाइने औषधीय गुण भएका विरुवाहरूको प्रयोग गरेर आवश्यक उत्पादन बढाउन सकिन्छ । प्रयोगशाला अध्ययन तथा औद्योगिक उत्पादन हुने गरी हर्वल क्षेत्रको विकास गर्नु जरुरी छ । यस कार्यमा मध्यपश्चिम विश्वविद्यालय सबैसँग सहकार्य गर्न तत्पर छ । विश्वविद्यालयबाटै हामी केही हर्वल उत्पादन सुरुवात गर्न लागेका छौँ । विश्वविद्यालयको डिग्रीमा हामीले धारणा, ज्ञान र सीपलाई जोड्न चाहन्छौँ । विश्वविद्यालय पढेकाहरू विदेश भन्दा पनि गाउँघर गएर उत्पादन र विकासमा लागुन् भन्ने हाम्रो चाहना हो । यार्सागुम्बा लगायत कर्णालीमा पाइने सात सयभन्दा बढी हर्वल प्लाण्टको प्रयोगबाटै यहाँको आर्थिक समुन्नति सम्भव छ ।

छैठौँ, शिक्षा महŒवपूर्ण कुरा हो । शिक्षामा हाम्रोतिर धेरै राजनीतिकरण भयो । फलस्वरूप गुणस्तर भएन । हाम्रा छोराछोरीहरू हाम्रो नजिकको विश्वविद्यालयमा पढ्न तयार छैनन् । हुनेखानेहरू धेरैजसो काठमाडौं जान्छन् । केही विदेश जान्छन् । यो वर्षमात्रै एक लाख २४ हजार जना नेपाल छोडेर बाहिर गएका छन् । कर्णालीका गाँउमा युवाहरू छैनन् ।

यसका लागि विश्वविद्यालयहरूले समय तथा भूगोल सुहाउँदो पाठ्यक्रम निर्माण गरी उत्पादनमुखी शिक्षामा ध्यान दिनुपर्छ । यसका लागि शिक्षामा स्वायत्तता जरुरी छ । साथै, शिक्षालाई राजनीतिमुक्त गर्नु पनि जरुरी छ ।

सातौं, कर्णालीको विकासमा स्वास्थ्य अर्को महŒवको क्षेत्र हो । सरकारले लोककल्याणकारी राज्यको अवधारणा अनुरूप कर्णालीमा अत्याधुनिक अस्पताल बनाएर स्वास्थ्यको जिम्मा लिनुपर्छ । यसका लागि स्वास्थ्य बीमाको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।

आठौं, कानूनी व्यवस्थामा सुधार हो । जसका लागि अत्यावश्यक कानुनहरू निर्माणमा प्रदेश तथा स्थानीय सरकारहरू लाग्नु जरुरी छ । नीति निर्माण विना विकास सम्भव छैन । साथै कानुन निर्माणमा जनप्रतिनिधि तदारुकताका साथ लाग्नुपर्छ ।

नवौं, स्मार्ट प्रशासन । माथि भनिएका सबै कुराको प्रभावकारिता चुस्त प्रशासनमा निर्भर हुन्छ । एक्काइसौँ शताब्दीको प्रशासन भनेको प्रविधि मिश्रित प्रशासन हो । एउटा मान्छे सेवा लिन दिनप्रतिदिन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।

दशौं, दुरदर्शी नेतृत्व । मुलुकमा विकास र सुशासनलाई व्यवस्थापन गर्ने भनेकै अग्रगामी नेतृत्वले हो । जनताको भावना बुझेको, काम गर्न सक्ने, इमान्दार र स्वच्छ छविको नेता आजको आवश्यकता हो । तर बिडम्वना भ्रष्टाचारी जेलबाट छुट्दा समेत हामी फूलमालाले स्वागत गर्छौं ।

अब पेन्टा न्येत (Penta Nyet) बारे कुरा गरौँः

२०४७ सालपछि यो देशमा पाँच वटा गर्नै नहुने कामहरू भए । जसमध्ये पहिलो हो शिक्षामा राजनीतिकरण । शैक्षिक क्षेत्रमा हुने चरम राजनीतिका कारण आज शैक्षिक विकृति धेरै देखिएका छन् ।

दोस्रो हो स्वास्थ्य क्षेत्रमा हुने राजनीति । डाक्टर कुनै दलको हैन बिरामीको हुनुपर्छ । गरिब जनताको पक्षमा हुनुपर्छ ।

तेस्रो हो कर्मचारीतन्त्रमा राजनीति । जनताको करबाट तलब भत्ता लिएर जनताको सेवा गर्ने कर्मचारीनै कुनै दलको सदस्य बनेर जिन्दावाद मुर्दावाद भन्छ भने त्यो भन्दा नराम्रो के हुन्छ ।

चौथो, सुरक्षा निकायमा हुने राजनीति । सुरक्षा निकायका प्रमुख हुन गृहमन्त्रीलाई करोडौं बुझाउन पर्ने व्यवस्थाले हामी कसरी सुरक्षित हुन सक्छौँ ?

पाँचौं, न्यायलयमा हुने राजनीति । राजनीतिक दलको खल्तीबाट न्यायाधीश बनाइनु हुँदैन । न्याय बचाउन न्यायालय व्यावसायिक हुनुपर्छ ।

यसबाहेक पनि अरु केही चिन्तनबारे चर्चा गरौँ ।

पहिलो, भ्रष्ट देशहरूको सूचीमा नेपाल ११० नम्बरमा छ । डेनमार्क सबैभन्दा सुशासनयुक्त देश हो भने सबैभन्दा भ्रष्ट मुलुकको रूपमा सोमालिया छ । अब हामी यो भ्रष्टाचारको चँगुलबाट चाँडै बाहिर निस्कनुपर्छ ।

दोस्रो, हामीले शिक्षालाई ज्ञानसँग, ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग, उत्पादनलाई समृद्धिसँग र समृद्धिलाई शान्तिसँग जोड्ने अभियान थाल्नुपर्छ । तब मात्र देश विकास सम्भव हुन्छ । अबको शिक्षा अनुसन्धानमा आधारित हुनुपर्छ । व्यवहारिक र प्रयोगात्मक हुनुपर्छ । विकासको सहयोगी हुनुपर्छ । हामीले विश्वव्यापीकरणसँगै स्थानीयतालाई पनि ध्यान दिनुपर्छ । हाम्रो शिक्षाले हामीलाई सहज जीवन यापनमा सहयोग पु¥याउने खालको हुनुपर्छ ।

हामीले कर्णालीका हर्वल प्लाण्टहरूबारे अनुसन्धान गरी प्याटेन्ट अधिकार दर्ता गर्नुपर्छ । आज विकसित धेरैजसो देशले धेरै नवप्रवर्तन गर्नुका साथै तिनको प्याटेन्ट अधिकार लिएका छन् । अर्थात् मगजको प्रयोगनै आजको विकासको आधार हो । अतः हाम्रो शिक्षाले नवप्रवर्तन र आर्थिक वृद्धिका लागि सघाउनुपर्छ ।

यसका लागि शिक्षामा लगानी बढाउनुपर्छ । सरकारले कूल बजेटको कम्तीमा ६ प्रतिशत शिक्षा तथा दुई प्रतिशत अनुसन्धान र विकासमा छुट्याउनुपर्छ ।

स्तरीय शिक्षा र स्वास्थ्य पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हुन् । उदाहरणको लागि इथियोपियालाई लिन सकिन्छ । सन् १९९० अघि त्यहाँ तीन वटा मात्र विश्वविद्यालय थिए भने हाल ५७ वटा विश्वविद्यालय छन् । ति सबै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित छन् । साथै, शिक्षा नै अर्थतन्त्रको बलियो आधार बनेको छ । यस्तै अष्ट्रेलियन अर्थतन्त्रको मूल खम्बाको रूपमा त्यहाँको शिक्षा रहेको छ ।

अतः शिक्षा नै एक्काइसौं शताब्दीको समृद्धिको कडी भएकाले हामीले शिक्षा प्रणालीको सुधार र प्रयोगमा विशेष ध्यान दिनुपर्छ । हाल मैले नेतृत्व गरेको मध्यपश्चिम विश्वविद्यालयबाट यी सबैखाले सुधारको सुरुवात भएको छ ।


Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events