रुपान्तरणः पुस्तान्तरण

कर्णाली उत्सवको चौथो संस्करणको तेस्रो दिन ‘रुपान्तरणः पुस्तान्तरण’ सत्रको आयोजना गरिएको थियो । जसमा प्रतिनिधिसभा सदस्यहरू ज्ञानेन्द्र शाही र सोविता गौतम तथा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक दिपेश घिमिरेले छलफल गरेका थिए । बहसको मुख्य विषयवस्तु राजनीतिमा रुपान्तरण र नेतृत्वमा पुस्तान्तरण रहेको थियो । उक्त छलफलको सहजीकरण पत्रकार प्रशान्त अर्यालले गरेका थिए ।


मा. ज्ञानेन्द्र शाही (सदस्य, प्रतिनिधि सभा)

 

रूपान्तरण नभइ पुस्तान्तरणको कुनै पनि काम छैन । त्यसका लागि सोचमा परिवर्तन हुनु जरुरी छ । नेपालको राजनीतिलाई उदाहरणको रूपमा लिन सकिन्छ । हामीकहाँ व्यवस्था परिवर्तन भएपनि सोचमा परिवर्तन हुन सकेको छैन । सोचमा परिवर्तन हुनु नै रूपान्तरण हो । रूपान्तरण विनाको पुस्तान्तरण भनेको सत्ता हस्तान्तरण मात्रै हो । कुनैपनि व्यवस्थामा हुने परिवर्तनले जनताको अवस्थामा समेत परिवर्तन ल्याउन सक्नुपर्छ ।

नेपालको राजनीतिमा नयाँ पुस्तालाई सजिलै स्वीकार गर्न सकेको पाइँदैन । पाका नेताले युवालाई विश्वास मानेको अवस्था छैन । त्यसो त युवाले पनि पुराना नेताको विश्वास जित्न नसकेको होला । सत्ता भन्ने चिज कसैले पनि सजिलै अरुलाई सुम्पँदैन । त्यसका लागि सोचसहितको युवा राजनीतिकमा अग्रसर हुनुपर्ने देखिन्छ । तन्नेरी तन तर वृद्ध विचारले केही हुनेवाला छैन ।


दिपेश घिमिरे (समाजशास्त्री)

 

रूपान्तरण र पुस्तान्तरणको अवधारणा एक आपसमा अन्योन्याश्रित छ । नेपालमा विभिन्न कालखण्डमा कुनै न कुनै रूपमा राजनीतिक व्यवस्था परिवर्तन भएकै छ । विशेष गरी ४६ सालपछिको परिवर्तन जुन हामीले देखेभोगेका पनि छौँ त्यहाँ उही व्यक्तिको प्रभाव कायम छ । रूपान्तरण गरेपनि हामीले पुस्तान्तरणको लागि खासै काम गर्न सकेका छैनौँ ।

व्यवस्था परिवर्तनले नेतृत्वमा पनि परिवर्तन खोज्छ । किनभने परिवर्तनसँगै परिस्थिति अनुकूल मुद्दा हुन्छन् । त्यस्ता मुद्दा र मागलाई सम्बोधन गर्ने नेतृत्व परिवर्तनले खोजेको हुन्छ । तर दुर्भाग्य हामीकहाँ व्यवस्था मात्रै परिवर्तन गर्ने तर उही पुरानो सोच र शैली भएको नेतृत्वले शासन गर्ने अभ्यास छ । जसले गर्दा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै भएको हो ।

हाम्रो सन्दर्भमा हेर्दा एउटा पुस्ता त्याग र बलिदानबाट आएको छ भने अर्को पुस्ता विचार र विकास लिएर आएको छ । कुनै बेला राजनीतिमा त्याग र वलिदानको असाध्यै महŒव थियो । हाम्रा अग्रजहरूको समय त्यस्तै थियो । उहाँहरूकै योगदानले आज हामी यसरी भेला भएर विचार प्रकट गर्न पाएका छौँ । तर आज पनि त्यही विचार राजनीतिमा हाबी हुनुले हामी जहाँको त्यही भयौँ ।

अब हामीले राजनीतिको वागडोर नयाँ पुस्तालाई जिम्मा लगाउनु पर्छ । नयाँ पुस्ताको चाहना र मागलाई नयाँ पुस्तले नै सम्बोधन गर्न सक्छ । पुरानो पुस्ताले जिम्मेवारी हस्तान्तरण नगरेसम्म यो सम्भव छैन । पुस्तान्तरण नभए रूपान्तरणको पनि कुनै अर्थ छैन । यद्यपि, रूपान्तरण र पुस्तान्तरणको विषय उमेरसँग मात्र सम्बन्धित छैन । बरु रचनात्मक विचारसँग सम्बन्धित छ । हामीले सम्बन्धित ठाउँमा प्रश्न उठाउन सक्यौँ कि सकेनौँ भन्ने सवाल महŒवपूर्ण छ । हामी कति रचनात्मक हुन सक्यौँ भन्ने कुरामै रूपान्तरण अडिएको छ ।

नेपालको कर्मचारीतन्त्र र राजनीतिमा ठूलो परिवर्तन आवश्यक छ । हामीकहाँ राजनीति र प्रशासन दुबै राणाकालीन शैलीको छ । दुवैले राणाकालीन उद्देश्य बोकेका छन् भन्दा अत्युक्ति नहोला । दुवैमा अरुलाई दबाउन खोज्ने र हेप्न खोज्ने प्रवृत्ति हाबी छ । जहाँ अरुको सम्मान हुँदैन त्यहाँ लोकतन्त्रलाई कुनै स्थान छैन भन्दा हुन्छ । हामीले राजनीति र समग्र मुलुकी प्रशासनको उद्देश्य बदलेर त्यही अनुरूप अघि बढ्नु जरुरी छ ।

यहाँ रूपान्तरण पनि छैन, पुस्तान्तरण पनि छैन । रूपान्तरणसहितको पुस्तान्तरणमा जानका लागी हामीले हरेक कार्यकारी पदको समयाबधि तोक्नुपर्छ । उदाहरणको लागि राष्ट्रपति एक पटक मात्र । यस्तो अभ्यासले पुस्तान्तरणलाई सहज बनाउँछ । र सँगसँगै रूपान्तरण पनि सम्भव छ । हामीले नयाँ पुस्तालाई पुरानो पुस्तामा नढालीकन वा पुरानो नबनाइकन नेतृत्वमा पु¥याउन सक्यौँ भने मात्र देश विकास सम्भव छ । किनभने आजको समय विचार र विकासको समय हो ।


मा. सोविता गौतम (सदस्य, प्रतिनिधि सभा)

 

 

हाम्रो मुख्य एजेण्डा रूपान्तरण हो तर रूपान्तरणलाई बोक्ने पुस्ताले हो । पुस्ताको कुरा गर्दा नेपालको लगभग ४२ प्रतिशत हिस्सा युवाले ओगटेको छ । युवा पुस्ता भनेको घरको मियो जस्तो हो । घरपरिवार सबैलाई जोड्ने । र, युवालाई राजनीतिमा नजोडेसम्म पुस्तान्तरणको कुरै हुन सक्दैन ।

राजनीतिज्ञको दुई वटा रूप हुन्छ । एउटा व्यक्तिगत र अर्को राजनीतिक वा सार्वजनिक । व्यक्तिगत विचारका कारण मान्छेको पहिचान बनेको हुन्छ र त्यही विचार राजनीतिमा प्रतिविम्बित हुन्छ । पार्टीभन्दा पर पनि मानिसको व्यक्तिगत जीवन हुन्छ । हामीले त्यसको पनि सम्मान गर्नुपर्छ ।

व्यक्तिको निजी जीवन र राजनीतिक पार्टीको पद्धति दुवैमा लोकतन्त्रको महŒवपूर्ण स्थान छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ उदाएका राजनीतिक शक्ति सबैमा आन्तरिक लोकतन्त्रको अभ्यास जरुरी छ ।
त्यहाँ पनि पर्याप्त वहस र विमर्श हुन आवश्यक छ । कहिलेकाहीँ नेतृत्वले गरेका गलत कुराको खबरदारी हुनु जरुरी छ । यदी नयाँमा पनि यस्तो प्रवृत्तिको विकास हुन सकेन भने त्यो पुरानै पार्टी जस्तो हुन्छ । पुस्तान्तरण भएपनि रूपान्तरण हुन नसक्ने हो भने देश विकास सम्भव छैन ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events