
मैले सोचेको थिएन कि कर्णाली उत्सवमा आएर मैले आफ्नो रक्तदानका कथाहरु भन्न पाउछु भनेर, आयोजक ऋति फाउन्डेशन, अनि मेरा मित्र प्रकाश लामिछानेलाई धेरै धेरै धन्यवाद, मेरो कुरा यँहा भन्ने मौका दिनुभएकोमा। म २०३४ साल असारको २९ गते भानु जयन्तीको दिनमा मेरा स्वर्गिय पिताजी जीवन कुमार शाक्य र आमा रमा देवी शाक्यको कोखबाट मैले यस धर्तिमा पर्दापण गर्ने मौका गर्न पाएको थिए कान्छो छोराको रुपमा। मैले प्राथमिक शिक्षाको सुरुवात नेपालगन्जको महेन्द्रनगर देखि सुरु गरेको थिए। त्यसपछि भने सुर्खेतमा हामी बसाईसराई गरेर आयौ। ईत्राम स्कुलमा, त्यसैगरी डाँडाँ स्कुल भनेर भन्निन्छ, नेपाल प्राथमिक विद्यालय र हाई स्कुल गर्दै गर्दै आफ्नो शिक्षालाई अगाडि लिदै गए। मेरो बुवा स्वर्गिय जीवन कुमार शाक्य सामाजिक सेवामा लाग्ने मान्छे, लागिराख्नु भएको थियो र पत्रकार पनि हुनुहुन्थ्यो। मेरो बुवाको गुण म मा अलिकति सरेको होकि भन्ने मलाई लाग्छ। अहिले यो रक्तदानको क्षेत्रमा काम गर्दै गर्दा खेरी।
अब मैले रगत कसरी दिन सुरु गरे भन्ने कुरा म यँहाहरुलाई जानकारी दिन चाहान्छु। करिब २०५४ सालतिर हो, म एउटा पेशाले साईन बोर्ड लेख्ने आट्रिस्ट पनि भएको हुनाले, साईन बोर्ड लेख्दै थिए रक्तसञ्चार केन्द्रको। त्यतिखेर रक्तसञ्चार केन्द्रका प्राविधिक स्वर्गिय आदरणीय दाजु प्रकाश श्रेष्ठले ल आउत तिम्रो रगत तान्नु पर्यो भन्ने बेलामा म भागेर गएको थिए। त्यो सुई देखेर म भागेर गएको थिए। त्यसैको केहि दिन पछि पसलमा बसिरहेको बेलामा मेरो साथि लक्ष्मण कंडेल (लक्ष्क्षु) ले मलाई तिमी सँग एउटा सानो काम छ, आउ त। मेरो मोटर साईकलमा बस, गणेश चोकसम्म जाँउ भनेर मलाई अनुरोध गर्यो। मैले होला त नि, साथीलाई सहयोग गर्नु पर्यो घरमा गएर भनेर, बाईकमा बसेर गए। गणेश चोक उसले आफ्नो घरमा लैजान्छ कि भनेको त, उसले फरक्क घुमाएर उसले नजिकै रहेको जिल्ला अस्पतालमा पुर्यायो।
मैले सोचे, कोहि बिरामी छन् होला, भेट्न जानलाई होला, तर मलाई सिधै रक्तसञ्चार केन्द्र पुर्याईयो। किन नि यँहा भनेर मैले सोधे, तिमीले रक्तदान गर्नु पर्यो भन्नुभयो। म त आपतमा परे, त्यो सुई सम्झेर। अब म कँहा भागौ, भाग्नलाई कुनै ठाँउ नै भएन। म दुब्लो, पातलो, लिखुरे थिए त्यतिबेला, फु.. गरेर पनि ढल्ने जस्तो थिए। मैले त सक्दिन रक्तदान गर्न, यत्रो मोटो सुई, ए रगत दिए भन्ने त म मरिहाल्छु नि प्रकाश दाई भनेर भने। प्रकाश दाईले केहि पनि हुदैन, तिमी जस्तो धेरै दुब्लो पातलोले रगत दिएका छन् भनेर भन्नुभयो। अनि मेरो रगत निकालियो र रगत निकालीसके पछि म घरमा आए। मेरो पिताजी लाई आज मैले रक्तदान गरे नि भनेर उँहालाई भनेपछि, सायद अहिले मेरो पिताजी यहाँ भईदिएको भए, मेरो छोरो ले यसरी बोल्यो भनेर निकै नै खुसि हुनुहुन्थ्यो होला।
त्यतिबेला मेरो पिताजी एकदमै खुसी हुनु भएको थियो। तैले जिन्दगीमा पहिलो चोटि पुण्यको काम गरिस। यदि त यो संसार छोडेर आध्यात्मिक संसारमा गईहालिस भने पनि तैले आफ्नो घर बनाउनको लागि एउटा ईट्टा थप्ने काम गरिस छोरा। जिन्दगीमा रक्तदान गर्न कहिल्यै पनि नछोड्नु, जुन दिन रक्तदान गर्न तैले छोडिस भन्ने मैले खबर पाए तेरो र मेरो सम्बन्ध कट भनेर भन्नु भएको थियो। मैले सोचे, यस्तो कुरामा पनि के बुवाले जिद्दी गरेर मलाई फकाई राख्नु भएको होला भन्ने लागेको थियो। त्यसपछि मैले रक्तदानका बारेमा किताबहरु पढ्न थाले, बुझ्दै जान थाले, रगत त एउटा यस्तो चिज रहेछ, जुन न मेडिकलमा किन्न पाईन्छ, न अस्पतालमा पाईन्छ। त्यो रगत नै हो, एउटा व्यक्तिले अर्को व्यक्तिलाई दिएपछि अर्को व्यक्तिको ज्यान बाँच्छ। यो कुरा जब मेरो मन मष्तिस्कमा छिर्न थाल्यो, अनि म रक्तदानमा सरिक हुदै गए।
धेरै ले भन्छन; ओहो यो रगत निकाले पछि मरिन्छ होला नि, हैन? तिमीलाई केहि भएको छैन? तिमी त केहि पनि भएको छैनौ, बाँचेकै छौ। अनि म भन्ने गर्छु, यो त एउटा भ्रम रहेछ, भ्रम पाल्नु नै गलत रहेछ। जबकि मेडिकलमा किन्न पाईदैन, त्यसको अरु विकल्प छैन, मानिसले मानिसलाई नै दिने त्यो रगत हामी किन पछि पर्ने? हेर्नुस त, तपाईको अगाडि म यति सक्लो छु। मैले अहिले सम्म ८५ पटक रक्तदान गरिसकेको छु। मेरो यो ईच्छा, मेरो जीवन रहेसम्म, म १०० पटक रक्तदान गर्छु भन्ने मेरो ईच्छा छ। मेरो उमेरले, मेरो स्वास्थ्यले साथ दिएसम्म, यदि केहि भएर मैले गर्न सकिन भने मेरो छोरा जिन्दावाद छ। म मेरो छोराबाट भएपनि १०० पटक रक्तदान गराउने छु।
मेरो छोरीको विवाहको कुरा आयो, विवाहको कुरा आउने बेलामा ज्वाई के गर्नु हुन्छ? भनेर सोधे, ज्वाई त ईन्जिनियर हो, राम्रो घराना बाट कुरा आएको छ भन्ने कुरा गर्नु भयो। हैन, रक्तदान गर्नु भएको छ तपाईले? भन्ने कुरा भयो। त्यसपछि त सम्धीहरु सबै छक्क पर्नु भयो मेरो कुरा सुनेर, रक्तदान नै किन चाहियो त छोरी दिनको लागि, मैले भने, पहिला तपाई रक्तदान गर्नुस, अनि मेरो छोरीको हात पाउनुहुन्छ। यो यति भनिसकेपछि मेरो हुने वाला ज्वाईले बडो दु:ख मान्दै, रक्तदान गरेको कुरा मलाई भन्नु भयो। मैले भने, मलाई फोटो पठाउनुस् रक्तदान गरेको, नत्र म छोरी दिदै दिन्न, अनि उहाँले फोटो पठाउनुभयो। अब भने मेरो छोरी तपाईलाई सुम्पिए। अब अरु केहि पनि चाँहिदैन, यसरी भने र यो गर्दै जाँदा खेरी सुर्खेतमा रक्तदाताहरुको निकै नै कमि भएको मैले महशुस गरे।
म संस्थागत रुपमा लागेर नै मानिसको ज्यान बचाउन पर्छ भन्ने तर्फ लागे। मैले ब्लड डोनर यसोसिएसन नामक रक्तदान सम्बन्धी काम गर्ने संस्थामा आबद्ध हुन चाँहे। सुर्खेतमा त्यस संस्थाको शाखा पनि गठन गरे, तर खै किन हो किन, त्यहाँ राजनितिक गन्धले गर्दा खेरी मलाई त्यहाँ बस्न मन लागेन। अनि त्यो संस्थाबाट बिस्तारै टाढा भए। म त्यो संस्थामा नरहे पनि मेरो रक्तदानको यात्रा चलिरह्यो। रगत चाहिने बितिकै प्राविधिक आदरणीय स्वर्गिय दाजु प्रकाश दाईले, ल भाई रक्तदान गर्न आउ त, यहाँ गारो भयो भनेर, म गई हाल्थे। अनि तिम्रो साथीहरु पनि होलान नि? उहाँहरुलाई पनि रक्तदान गर्न भन्नुपर्यो भन्नेपछि म त्यसरी रक्तदान गर्दै गए।
एकचोटी मैले रक्तदान गर्ने शिलसिला मै भारतको लखनउ गएर पनि रक्तदान गरे। त्यहाँको प्रविधि र मेरो देशको प्रविधि आकाश जमिनको फरक थियो। त्यो आकाश जमिनको फरक कहिले आउछ भन्ने मलाई अझै पनि लागिरहेको छ। यावत् रुपले रक्तदान चलि नै रहेको थियो। कोरोना काल आईपुग्यो। यो कोरोना कालमा सुर्खेतमा रगत भनेको केवल पुर्ण रगत मात्र हुन्थ्यो। रक्त तत्वहरु निकाल्ने सुर्खेतमा रक्तसञ्चार केन्द्र नै थिएन। तर पनि सामाजिक सेवाको भावना मेरो मनमा थियो। हामी आदरणीय दाजु सुदर्शन श्रेष्ठ, अशोक कुमार सिंह, भरत शाही ठकुरी, अनिल ढकाल लगायत हामी मिलेर “१ हजारमा एउटा सिलिन्डर” अभियान चलाएर कोरोनाका ति बिरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न थाल्यौ। त्यो अक्सिजनको व्यवस्था गर्ने समुहमा मेरो काम थियो, रगतका कारणले कसैका ज्यान जान नपरोस, रगत खोज्ने जिम्मा मेरो भयो।
अनि त्यसपछि म दिनरात नभनि कोरोना संक्रमितहरुको लागि रगत खोज्नमा व्यस्त भए। फाईदा के भयो भन्ने, म पत्रकार पनि भएको हुनाले पत्रकारको आईडि कार्ड लगाएर मलाई रक्तदाताहरु खोज्न, अनि अस्पतालहरुमा जानलाई सजिलो भयो। यसको एउटा फाईदा पनि भयो र यसरी मैले, हामीले सबैजना साथीहरु मिलेर कोरोना कालमा शवहरु व्यवस्थापन गर्यौ भने, रगत पनि जोहो गर्न तिर लाग्यौ। यसै क्रममा अर्का, रगतमा मानिस धेरै खोज्नु पर्छ भनेर लाग्ने, मेरा अर्का प्रिय भाई पत्रकार पुनम वि.सि हुनुहुन्थ्यो। म चाँहि अलिकति कम लागिरहेको थिए, पुनम वि.सि अलि बढि जोडतोडले लागिराख्नु भएको थियो।
अनि एक दिन पुनम वि.सि ले दाई मेरो संस्था बाट रक्तदान सम्बन्धी क्यालेन्डर निकाल्न लागेको छु, तपाई त कर्णाली प्रदेश मै धेरै रगत दिने मान्छे, तपाईको फोटो राख्नु पर्यो भनेपछि, हुन्छ भनेर म खुसी भए। मैले त्यो भनिसके पछि घर गएर सोचे, ओहो म त धेरै रगत दिने ठुलो मान्छे पो रहेछु त भनेर यसो सोचे, आफैमा घमण्ड चढ्यो अलिकति, ठुलो मान्छे रहेछु अनि यो घमण्डलाई आत्मसात गर्दै कम गरे। हैन, मैले पुनमलाई रक्तदानको क्षेत्रमा जित्नु पर्छ, रगतको जोहो गर्नलाई मैले जित्नु पर्छ भनेर अनि त्यसपछि म फेरि लागे। त्यसको केहि दिन पछि एकजना महिलालाई रगत चाहिएको रहेछ। दुर्लभ रगत भन्छौ हामी, रगतमा २ ओटा समुह हुन्छन्, ‘पोजेटिभ’ र ‘नेगेटिभ’। दुर्लभ रगत खोज्न भनेपछि अझै पनि मलाई शरिरमा काँडा फुलेर आउछ। ..कुडा कर्णालीका सुरु हुनु भन्दा १ दिन अगाडि पनि यहि दुर्लभ रगत १ जना बिरामीलाई हामीले चढाउन सफल भएका थियौ।
दुर्लभ रगत चाहियो दाई, मैले रक्तदाताको विवरण त तयार गरे तर उहाँ महिला हुनुहुदो रहेछ। म एक्लो पुरुष मान्छे, कसरी जाँऊ? तपाईको घर नजिकै नजिकै हो। लौ न दाई, सहयोग गर्नु पर्यो भन्ने कुरो आयो। मैले, हुन्छ म तयार छु। रातिको करिब साढे ११ बजिसकेको थियो। अनि म जानलाई बाईक निकाल्न तयार भए। मेरी गृहमन्त्री, मेरि श्रिमतीले रोकिन्, कहाँ २ जना छोरा मान्छे मात्र एक्लै छोरी मान्छेको घर जाने, भोलि नानाभाथी कुरा आउला, अनि त्यतिबेला के गर्छौ? हुदैन, मलाई लैजाने भए जान दिन्छु, नत्र २ जना छोरा मान्छे मात्र जान दिदैन भन्नेपछि गृहमन्त्रीको कुरा मान्नै पर्यो। भोली उनको कुरा मानेन्न भने भात पनि खान पाईदैन कि, अनि भात खान नपाए पछि उसले रगत कसरी दिने? हैन त, यस्तो भन्दै मैले उनलाई लिएर गए। धेरै अनुनय विनय गर्यौ। तिलपुरमा हो, महिला हुनुहुन्थ्यो। तपाई भएन भने त्यो बिरामीले यो संसार हेर्न पाउदैन। लौ न, जाँउ भनेर उहाँलाई करिब आधा घन्टासम्म अनुनय विनय र आग्रह गरेपछि करिब रातिको १२ बजे हामी प्रदेश हस्पिटलमा गएर रक्तदान गरेर उहाँलाई फेरि मैले राति नै उहाँको घरमा छोडिदिए।
त्यसको केहि दिनपछि बाटोमा उहालाई मैले देखे र बोलाए, बहिनि सन्चै हुनुहुन्छ? रगत दिएर तपाईलाई कस्तो अनुभव भयो? भनेको त अनि उहाँ म सँग त रिसाईहाल्न लाग्नु भयो। लौ, मेरो रगत तानिदिने, म दुब्लाए, म खतम भए, म त बिरामी भए नि भनिसके पछि, अनि मैले उहाँलाई न आतिनुस्, पख्ननुस् तपाईलाई के के भएको छ? सबै कुरा यसरी भन्छु है भनेर भने, अनि उहाँ बस्नु भयो, हेर्नुस रगत नै एउटा यस्तो चिज हो, जो एक मानिस बाट अर्को मानिसलाई दिने हो। मलाई थाहा छ, तपाईलाई केहि पनि भएको छैन। तपाईको एउटा भ्रम मात्र हो, त्यो भ्रमको कारणले तपाईलाई त्यस्तो भएको हो। तपाई त पहिला भन्दा नि तन्दुरुस्त देखिरहेको छु नि भनेर मैले भनेपछि उहाँले भन्नुभयो, मैले ढाँटेको हो। यसरी ढाट्ने मेरा थुप्रै साथीहरु हुनुहुन्छ। अनि मेरो साथीहरुलाई भेट्ने बित्तिकै मैले भन्ने गर्छु, रक्तदान गर्नुपर्छ है मेरो साथी हौ भने तिमीहरुले रक्तदान गर्नुपर्छ।
कर्णालीको त्यो दुर दराजमा रहेका हेर्नुस त, मेरो कर्णालीलाई पिछडिएको छ भन्छन्, वास्तवमा होकि क्या हो जस्तो पनि लाग्छ। ति हुम्ला, ति जुम्ला, अनि ति कालिकोट लगायतका दुर दराजमा महिला, दिदिबहिनी, आमाहरु रगतको कारणले धेरैको ज्यान गएको हामीले सुनिरहेका छौ। हो, तिनिहरुको लागि हो। जुन संस्थामा म छु, ‘नेपाल स्वयमसेवी रक्तदाता समाज’ त्यहाँ हामी काम गर्न चाहान्छौ। हामी पालिका स्तरिय, जिल्ला स्तरिय सञ्जालहरु गठन गरेर मेरा ति कर्णालीका दुरदराजमा रगत दिएर केहि पनि हुदैन। हाम्रो शरिरमा प्रत्येक ३/३ महिनामा नयाँ रगतहरु उत्पादन हुन्छन्। हामीले पुरानो त्यो खेर जाने रगतले कसैको ज्यान बाँच्छ भन्ने किन रक्तदान नगर्ने? आउनुस न है, हातेमालो गरौ, रक्तदान गरौ।
यहि शिलशिलामा एकदिन मलाई एकजना रगत चढाउनु पर्ने बिरामी, जसको शरिरमा रगत नै बन्थेन। उहाँले मलाई फोन गर्नु भयो। सर, हजुरको त ‘ए पोजेटिभ’ रगत रहेछ। लौ न, मलाई रगत दिनुपर्यो भन्नुभयो, मैले भने, हुन्छ तयार छु, आउनुस् भने। त्यसको करिब १ घण्टा पछि उहाँले मलाई फेरी फोन गर्नुभयो। सर, तपाईले रगत दिनुभयो? भन्नुभयो। मैले दिएको छैन, तपाई आउनुस्, अनि दिन्छु भने। हैन, तपाई गएर रगत दिदै गर्नुस्, म आएर हालि हाल्छु नि, के ठुलो कुरा भयो भन्नु भयो। ठिकै छ, मान्छेको आ-आफ्नो सोचको कुरा हो भनेर, म रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरे। भर्खरै रगत दिएर बाहिर निस्केको थिए, त्यति बेलामा प्राविधिक भाई विकासले, तपाईलाई उहाँले नै हो रगत दिनु भएको भनेर भने पछि, त्यो बिरामीले मलाई मतलब नै गर्नु भएन। म रक्तदाता हो, कि हैन उहाँलाई केहि मतलब नै भएन। अनि उहाँचाही जानु भयो।
त्यसपछि हुन्छ, मान्छेको आ-आफ्नो प्रकृति हो भनेर म लागे तर मनमा एउटा कौतुहल्ता भईराख्यो। मैले त उसको ज्यान बचाँउनलाई रगत दिएको तर उसले कुनै मतलब राखेन। खैर, कुनै दिन फेरि भेट भयो भने उहाँलाई म रगतका बारेमा कुरा भन्छु भने। त्यसपछि उहाँसँग भेट हुन सकेन। अहिले उँहा सन्चो हुनुभएको छ। रगत नै एउटा यस्तो चिज हो, एउटा रगतले ५ जनालाई बचाउन सकिन्छ। म मेरो संस्थाबाट लागि रहेको छु कि कर्णाली प्रदेशमा पनि दानमा दिएका रगतहरुलाई सरकारले निःशुल्क गराउनु पर्छ भनेर। नेपालका सर्वाधिक रक्तदाता आदरणीय प्रेम सागर कर्माचार्य लम्साल सँगको साथमा म हिडिरहेको छु। तपाईहरुलाई पनि कर्णाली प्रदेशमा, कर्णाली प्रदेशमा मात्रै हैन, नेपाल अधिराज्य भरी नै रगत र रगतको बारेमा केहि खाँचो पर्यो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो सम्पर्क नं. ९८५८०५१११६ मा यँहाहरुको ज्यान बचाउनको लागि यो ज्यान जति खेर पनि हाजिर छ। अहिले राति भयो भनेर नराख्नु होला। मेरो फोन तपाईहरुको लागि खुल्ला हुन्छ भन्दै मेरो कथा यहि बिट मार्दै विदा चाहान्छु, धन्यवाद।
