पैकेलो: सिर्जना राववत, विमान चालक

म सृर्जना रावत, नेपाल वायु सेवा निगमको अन्तरराष्ट्रिय फिलिटको विमान चालक। म बुवा धन बहादुर रावत र आमा रावत को छोरी, सर्वप्रथमतः यो कर्णाली उत्सवको आयोजक टिमलाई आफ्नो अनुभव सुनाउने अवसर दिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहान्छु। मेरो जन्म सुर्खेतको वडा नम्बर-६, वीरेन्द्रनगरमा भएको थियो र मेरो पढाई सुर्खेत स्थित आदर्शराज मेमोरियल बोर्डिङ स्कुलबाट सुरु हुदै होराईजन ऐकेडेमी हुदै २०६३ सालमा भएको एस.एल.सि मा म महिला तर्फ बाट टपर र समग्रमा सेकेन्ड टपर भएर कालागाँउ स्थित एस.ओ.एस हर्मन माईनर बाट सम्पन्न भयो। एस.एल.सि दिदा दिदैं मैले विमान चालक हुने सपना बुन्न थाली सकेकि थिए र यसै अनुरुप म उच्च शिक्षाका लागि काठमान्डौं पुगे। काठमान्डौंमा हजारौ विद्यार्थीहरु अप्लिकेन्ट भएको ठाँउमा ८० जनाको सिट थियो र त्यहाँ कम्पिटिटेन्ट ईन्टार्न्स परिक्षामा नाम निकाल्दै मैले प्लस टु मा सेकेन्ड भएर सानोठिमी भक्तपुर स्थित एस.ओ.एस हर्मन माईनर सेकेन्डरी स्कुलबाट आफ्नो प्लस टु को शिक्षा सम्पन्न गरे।

भाग्यबस मेरो जन्म छोरीलाई पढाउनु पर्छ, अगाडि बढाउनु पर्छ, समाजमा चिनिने लायक बनाउनुपर्छ, लैङ्गिक रुपमा उ छोरी भएर जन्मिएता पनि सर्वप्रथम त उ मेरो सन्तान हो र उसलाई अरुले जस्तै ठुलो सपना देख्ने, आकाशमा उड्ने सपना देख्ने लायकको बनाउनु पर्छ र त्यसलाई पुरा गर्ने कर्तव्य हाम्रो हो भन्ने विश्वास राख्ने घर परिवारमा भयो। हो, पाईलट पढ्ने रहर त मेरो थियो तर त्यसलाई पुरा गर्ने सपना म लगायत मेरो बुवाआमा र मेरो घरको हरेक सदस्यको थियो। अनेकौ आर्थिक कठिनाईका बाबजुत मेरो बुवाआमाले मलाई पाईलट पढ्न पठाउने निधो गर्नु भयो। १८ बर्ष नपुगेकि म साउथ अफ्रिकाको जेहोनस स्थित फ्लाईट टेर्निङ सर्भिसेस स्कुलमा मेरो पाईलट टेर्निङको लागि पुगे। मेरो टेर्निङ २०० घण्टाको थियो भने त्यहाँ लगभग १५ देखि १६ वटा परिक्षा दिन पर्ने थियो र हरेक परिक्षा पास हुनको लागि कम्तिमा पनि ७५ प्रतिशत माक्स ल्याउनै पर्ने थियो। म कुनै पनि परिक्षा विफल नभई सरासर पास गर्दै त्यहाँ पनि साढे ९ महिनाको छोटो अन्तरालमा त्यो बेलामा सबैभन्दा अगाडि टेर्निङ सकाउने विद्यार्थी हुन पुगे र त्यस बापत मैले मेरो विद्यालयबाट र मेरो गुरुहरुबाट अत्यन्त धेरै वाह वाहि पनि पाए।

त्यो अप्रिसिएसनका साथ म खुसी हुदै आफ्नो ठाँउमा फर्किए। म मनबाट अत्यन्त धेरै खुसी थिए म पाईलट भईसके भनेर र म घर फर्किदा मेरो बुवा आमा लगायत मेरो छरछिमेक, गाँउ, समाज सबै जना अत्यन्त खुसी अनि प्राउड हुनुहुन्थ्यो।  तर यस अघि आउने संघर्षको बारेमा म लगायत मेरो घर परिवारलाई अलिकति पनि हेक्का थिएन।  यदि यस फिल्डमा सुर्खेतबाट कोहि पनि प्रतिनिधित्व नहुदा यस अघि कसरी बढ्ने भन्ने कुराको सर-सल्लाह र सुझाव दिने मान्छे नहुदा हामीले धेरै संघर्ष गर्नुपर्यो र हरेक पाईलामा धेरै ठक्करहरु पनि खानु पर्यो। मेरो डकुमेन्टको फाईल बोक्दै म लगायत मेरो बुवाआमा एउटा देखि अर्को एयरलाईन्सको ढोकासम्म नधाएको दिनहरु पनि थिएन। तर म मनमा विश्वस्त थिए कि मेरो परिश्रमले एक दिन फल अवश्य ल्याउने छ भनेर र त्यो मुस्किलको घडिमा मैले आफुलाई बिचलित हुन दिएन र फर्दर पढ्ने निधो गर्दै वीरेन्द्रनगर मल्टिपस क्याम्पसमा मैले वि.वि.एस पनि जोईन गरे।

मैले मेरो ब्याचलरको पढाई अगाडि बढाउदै गर्दा नेपाल वायु सेवा निगमले भ्याकेन्सिको अनाउन्समेन्ट गर्यो र त्यसमा पनि २०० भन्दाबढि पाईलटहरुले अप्लाई गर्नु भएको थियो र लोकसेवाको परीक्षामा पहिलो चरणमा २४ जना र अन्तिम चरणमा १० जनाको नाम निस्किदा एक म पनि थिए। कर्णालीको छोरी म सृजना रावत पनि थिए र यसरी मेरो नेपाल वायु सेवा निगमसँगको उडानको यात्रा सुरु भयो। सुरुसुरुको दिनहरुमा मेरो आशा अनुरुपको कार्य व्यस्तता हुन सकेन। त्यो कुराले पनि मलाई समय समयमा मलाई अप्डेरो गराई नै रहन्थ्यो। म खुसी थिए, मेरो घर परिवार खुसी हुनुहुन्थ्यो कि मेरो छोरी नेपाल वायु सेवा निगमको पाईलट भयो भनेर तर त्यो खुसी सँगसँगै मेरो जीवनको अर्को संघर्ष पनि सुरु भएको थियो। म छोरी मान्छे, मेरो घर परिवार छोडेर काठमान्डौं जस्तो बिरानो ठाँउमा एक्लै बसेर जागिर खादैँ आफ्नो कामलाई अगाडि बढाउने काम त्यति सहज त थिएन तर पनि मैले कुनै पनि मुस्किल घडिमा आफुलाई बिचलित हुन दिएन।

दिनभरि उडान भरेर घर आउदा ए भोकाएछ भनेर खाना दिने मान्छे हुनुहुन्थेन। कहिले काहि आज मलाई अल्छि लाग्यो, आज मेरो काम गर्दिनुन त तपाईले, भन्ने अर्को कोहि पनि आफ्नो आफन्त नहुदा जीन्दगी त्यति सजिलो त थिएन तर पनि मैले मेरो कामलाई भगवान ठानेर ईमान्दारीका साथ मेरो काम सधै गरी नै रहे । यसै बिच नेपाल वायु सेवा निगमको अन्तराष्ट्रिय फिलीट एयर बस ए-३२० को टेर्निङको लागि मलाई ईन्डोनेसिया २ महिनाको लागि पठाईयो र त्यो टेर्निङमा पनि मैले आफ्नो फुल ईफोर्ट  लगाएर २ महिनाको टेर्निङ सकिदा मेरो ईन्स्टक्टरहरुले एकदमै धेरै अप्रिसिएट गरेर मेरो वाह वाहि गरेर मेरो टेर्निङ सकेर नेपाल फर्के। म फेरि पनि अत्यन्त खुसी थिए। मैले जे जे चाहिराथे, त्यो ढिलै भएपनि सबैकुरा पाई नै राखेको थिए भनेर, तर अचानक विश्वभरी कोभिड-१९ को महामारी आयो र मेरो अन्तराष्ट्रिय लाईसेन्स एन्डोर्स हुन भन्दा अगाडि नै लकडाउन सुरु भयो। त्यो लकडाउनले मलाई केहि पछाडि त पार्यो मेरो करियरमा,  तर त्यतिबेला पनि मैले आफुलाई बिथोलिन दिएन।

मैले सँगसँगै आफ्नो मास्टर्स पनि जोईन गरे र यहि अन्तरालमा मैले मेरो एम.बि.ए पनि सकाए। कोभिड चल्दा चल्दै मेरो जिवनले अर्को पाटो फेर्यो र मेरो विवाह भयो। भाग्यबस मेरो श्रीमान पनि यहि फिल्डको हुनुहुन्थ्यो।  भनिन्छ  नी, एउटा नारीले एउटै जन्ममा ३ वटा जन्म लिन्छ भनेर। मैले मेरो दोस्रो जन्म लिएको थिए तर दोस्रो जन्म लिएतापनि  मेरो पहिलो जन्ममा जस्तै म फेरि पनि  भाग्यमानी नै भए। मेरो श्रीमान एउटै फिल्डको भएर मलाई मेरो नयाँ परिवार र मेरो नयाँ श्रीमानबाट पनि निरन्तर आशा, भरोसा र अगाडि बढ्ने विश्वास मैले पाई नै रहे।  यसै गरेर मैले आफ्नो काम गरिराख्दा नेपाल वायु सेवा निगमको तर्फबाट नेपालको ईतिहासमा भएको पहिलो सम्पुर्ण महिला क्रु ले गरेको फ्लाईटको ऐतिहासिक क्षणमा म भाग लिन पाए र ककपिटमा जिम्मेवारी लिनको लागि म र क्यापटेन भावना पन्थी थियौं।

यो फ्लाईट सम्पन्न हुदा नेपाल सँग-सँगै देश विदेश भरी नै एकदमै ख्याति कमायौं र यसले मलाई आफ्नो काममा अझै बढि प्रोत्साहान दियो। यस फ्लाईट वापत तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल, नेपाली कांग्रेस पार्टी सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाज्यु , नेपाल नागरिक उड्यन प्राधिकरण लगायत अन्य शिर्ष नेताहरु र संघ/संस्थाहरुबाट सम्मानित हुने अवसर पनि पाँए।  म आफ्नो काम त्यतिबेला देखि अहिलेसम्म निरन्तर ईमान्दारीका साथ गरिरहेको छु। आफ्नो काम गरिराख्ने क्रममा काम राम्ररी गर्दा काम, काम मात्र नभएर एउटा मनोरञ्जनको पाटो पनि बन्छ भन्ने कुरा मैले हरेक दिन महसुस गरिरहेको छु। कुनै बेलामा जुन देशहरु मेरो लागि एकादेशको कथा थियो, सपनाको संसार थियो, मेरो सपनाको देशहरु हुने गर्दथ्यो, अहिले मैले काम गर्दा थुप्रै देशहरु आफ्नै कामको शिलशिलामा घुम्ने मौका पाईरहेको छु।

नेपाल वायु सेवा निगमले गर्ने सेड्युल फ्लाईट बाहेक अन्य कुनै नयाँ ठाँउमा हुने चुनौतीपुर्ण फ्लाईटहरुलाई पनि म हरेक चोटि स्विकार गर्ने गर्छु। अस्ति भर्खरै पनि चाईनाको सेन्याङ भन्ने ठाँउमा फ्लाईट गरेर म भर्खर फर्केर दुवईको उडान भर्दै म सुर्खेतसम्म आईपुगेकि हुँ। पाइलट यस्तो एउटा फिल्ड हो, जँहा अफिस आकाशमा हुन्छ र मेरो अफिस पनि आकाशमा  नै छ।  कहिले काहि ३५ हजार, कहिले ३६ हजार, कहिले ३८ हजार फीटको उचाईमा कहिले ब्रेकफास्ट, कहिले लन्च त कहिले डिनर गर्ने अनुभुति म हरेक दिन गरि नै रहेको छु ।  त्यो पनि आफैमा अत्ति नै सुन्दर छ ।  कहिले काहि मेरो उडानमा हाम्रो कर्णाली क्षेत्रबाट पाल्नुहुने यात्रुहरुले जुन माया मलाई देखाउनुहुन्छ, त्यसले म र मेरो घरपरिवारलाई अझ धेरै आशा र अगाडि बढ्ने हौसला दिन्छ।

यो कहानिको  वाचक त म हो, विमान चालक त म हो, तर यो कथा म सँगसँगै मेरो बुवाआमा र मेरो घर परिवारको पनि हो। किनकि मेरो घर परिवारले यो छोरी हो, यसलाई अगाडि बढाउन त्यति जरुरी छैन भनेर म माथि आशा, विश्वास र भरोसा नगरिदिएको भए, म आज हजुरहरु समक्ष आएर यसरी बोल्न सक्षम हुदैनथ्ये। त्यसैले मेरो यो कथाको मुख्य पात्र भनेको मेरो बुवाआमा र मेरो घरपरिवार नै हुनुहुन्छ। उँहारुको माया, साथ नै हो र पछिल्नो समयमा म सँग जोडिनु भएको मेरो श्रीमानको पनि छ। म कहिले काहि कुनै कुनै स्थितिमा विचलित हुदा मेरो श्रीमानले भन्नु हुन्छ मलाई, “तिमी त्यो ठाँउमा छौँ, जहाँ हजारौले पुग्ने सपना देखेका हुन्छन तर कसैलाई कुनै परिस्थितिले अगाडि बढ्न दिदैन भने कसैलाई कुनै स्थितिले पछाडि तानिरहेको हुन्छ तर तिमिलाई हरेक परिस्थितिले अगाडि बढाएको छ र तिमी यसरी विथोलिनु हुदैन” भनेर भन्नुहुन्छ।

तपाईहरुको माया र साथ सधै पाईराख्ने आशा मैले राखेको छु। मेरो कहानी यति नै हो र आउदा दिनहरुमा कर्णालीमा अरु चेलीहरु पनि यस्ता कार्यक्रमहरुमा आमन्त्रित भएको हेर्न पाईयोस्। आजको यस नँया युगमा हामी नारीहरुका लागि पनि सम्भावनाका सारा ढोका खुल्ला छन्। अब कर्णालीमा चेलीहरुपनि घरगृहस्ति र घाँस दाउरामा मात्रै सिमित नभएर आफ्नो सपना साकार पार्न अग्रसर हुनुपर्छ। कर्णालीका नारीहरुपनि सक्षम र सबल छन् र परि आए जे पनि गर्न सक्छौ भन्ने कुरा पुष्टि गरेर देखाउन पर्छ। आफु भित्र रहेको सिप र कलाको पहिचान गरेर सपना देखौँ र  ईमान्दारिताका साथ र मेहनेतका साथ त्यसलाई पुरा गर्न लागौं। साथ साथै सबै अभिभावक र समाजले पनि यस कुरालाई आत्म साथ गर्दै छोरीलाई पनि पढ्न र अगाडि बढ्न साथ दिनुहुन अनुरोध गर्दछु। सरकारले पनि नारीको लागि उचित शिक्षा र संरक्षणको व्यवस्थापन गर्दै नारी उत्थानको लागि थुप्रै चेतनामुलक कार्यक्रमको सञ्चालन गर्ने छ भन्ने आशा गर्दै आफ्नो बिचारहरु यहि शेष गर्न चाहान्छु।  यसरी नै माया गरी फेरि फेरि बोलाईदिनु हुन्छ भन्ने आशा राख्दछु, धन्यवाद।

भिडियो

 

Leave a Comment