सुनिता बराल (अध्यक्ष, अनेरास्ववियु)

सुनिता बराल (अध्यक्ष, अनेरास्ववियु)

सुनिता बराल (अध्यक्ष, अनेरास्ववियु)

केही वर्ष अगाडि विद्यार्थी आन्दोलनलाई बुझ्ने व्यक्तित्वहरूले जसरी बुझ्नुहुन्थ्यो, त्यो भन्दा केही फरक काम गर्नुपर्छ भन्ने स्थितिमा अहिलेको विद्यार्थी आन्दोलन रहेको छ । त्यो समयको माग हो भन्ने विद्यार्थी संठनहरूको बुझाइ छ । कोभिड महामारीको समयमा शिक्षा क्षेत्रमा सबै जनाले अनुभूति गरेको विषय के हो भने हाम्रा विश्वविद्यालयहरू कति बढी प्रविधिमैत्री छन र आवश्यकता परेका बेला प्रविधिको उपयोग गरेर शैक्षिक क्षेत्रलाई कति गतिशील बनाउन सक्छन् भन्ने प्रश्न सोध्नुभयो भने हामी निकै पछाडि रहेछौँ भन्नलाई मैले हिचकिचाउनु हुँदैन । कोरोना महामारीका बेला हामी विद्यार्थी संगठनहरू हड्ताल वा सडक आन्दोलन गर्ने अवस्थामा थिएनौँ र गर्नुहुँदैनथ्यो । तर त्यो अवस्थामा विद्यार्थीहरूले आफ्नो निजी बसोबाससम्म पुग्नका लागि के गर्ने भन्ने कुरा सबैभन्दा ठूलो प्रश्न थियो । स्थायी बसोबासमा पुग्नका लागि सहजता वा अस्थायी बसोबासमा खाद्यान्नको व्यवस्थादेखि लिएर उनीहरूले प्राप्त गर्नुपर्ने दैनिक परीक्षाका विषयहरूमा अनेरास्ववियु सशक्त रूपमा लागिरहेको थियो । त्यति मात्रै होइन, हामी सामाजिक सरोकारका क्षेत्रमा पनि काम गर्छौं । त्यही क्रममा हामीले विभिन्न नाकामा गएर छिमेकी मुलुकबाट नेपाल आउने नेपाली नागरिकहरूलाई सहजीकरण र गन्तव्यसम्म पु¥याउनका उद्धारको काम गरेका थियौँ ।

हामीले अहिले विद्यालय तहमा कक्षा ९ देखि माथि संठनको काम गर्छौं । तर ९ कक्षादेखि १२ कक्षासम्मको संठनलाई राजनीतिक रूपमा होइन, संगठित हुने र समूहमा काम गर्ने अभ्यासका रूपमा अगाडि बढाउनुपर्छ । १२ कक्षासम्म माथिको संठनलाई कसरी संठन संरचना सञ्चालन गर्ने, राजनैतिक विषयहरू प्रतिको बुझाइ कस्तो राख्ने र ती बुझाइलाई कसरी आफ्नो काममा प्रयोग गरी राज्यलाई खबरदारी गर्ने ठाउँमा कसरी पु¥याउने भन्ने हिसाबले हामीले प्रशिक्षण गर्छौं । जब संघीयताको कार्यान्वयन हुँदै थियो, त्यतिबेला हामीले स्थानीय तथा प्रदेश संरचनाको संठनको निर्माण गरेका थिएनौँ । त्यतिबेला त्यो आवश्यकता महशुस पनि भएको थिएन् । जब संघीय संरचनाअनुसार स्थानीय तहहरू निर्माण भए, त्यसपश्चात् आज अनेरास्ववियुले देशभरिका सबै स्थानीय तहहरूमा पनि संगठित रूपले काम गरिरहेको छ । त्यसैले केन्द्रीय कमिटी सानो संरचनामा हुन्छ भने हामीले प्रदेश, जिल्ला, स्थानीय तह हुँदै विद्यालयसम्मको संरचनामा व्यवस्थित छौँ ।

राजनीतिमा चुनौतीसँगै अवसर पनि छ । हाम्रो पार्टीका विभिन्न नेताहरू जो अहिले देशको नेतृत्व तहमा हुनुहुन्छ उहाँहरू पनि विद्यार्थी राजनीति हुँदै आउनु भयो । धेरै जनाले विश्वविद्यालयमा गएर पढ्ने र विद्यार्थी राजनीति गर्ने अवसर त पाउनुभएन । तर उहाँहरू पार्टीको केन्द्रीय समितिदेखि देशको मन्त्री सम्म ४० वर्षभन्दा कम उमेरमा हुनुभएको छ । अहिले पनि ४० वर्षभन्दा कम उमेरको धेरै जना नेताहरूले पार्टीमा नेतृत्व गरिरहनुभएको छ । हाम्रो पुस्तासम्म आइपुग्दा हामी ४० वर्ष छेउछाउ पुग्दा खेरी युवाको पनि तल्लो तहको जिम्मेवारीमा भूमिका देखिन्छ । हामी त्यो जिम्मेवारीका लागि तयार छौँ । तर नयाँ कुराको खोजी र संघर्ष गर्ने व्यक्ति नै सबैभन्दा पहिले स्थापित हुने रहेछ । त्यो कुरा हामीले बुझ्नुपर्छ । हिजो कम्युनिस्ट आन्दोलन सुरु गर्दैगर्दा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली करिब १६ वर्षमा नै भूमिगत हुनुभएको थियो । करिब १३ वर्षको उमेरमै विभिन्न कार्यक्रममा हिँडेको कुरा उहाँले सुनाउनु हुन्छ । अहिले हाम्रो सामाजिक र पारिवारिक मनोविज्ञानले १६ वर्षको उमेरको युवालाई बच्चा नै हो भन्छ ।

उहाँहरूले त्यतिबेला विद्रोह गर्ने आँट गर्नुभयो, त्यो त्यति बेलाको समयका लागि आवश्यकता थियो । हिजो व्यवस्था परिवर्तन गर्नका लागि र सैद्धान्तिक रूपमा विषयहरू स्थापित गर्नका लागि उहाँहरूले गरेको संघर्ष र उहाँहरूको व्यक्तित्व स्थापित भएको विषय हो । आजको पुस्ताले हाम्रो जीवनका आवश्यकताहरूलाई विकास र जीवनको समृद्धिसँग जोडेर र हामीले हरेक युवालाई उत्पादनसँग जोडेर जीवनको समृद्धिको परिकल्पना गर्न सिकाइएन भने हाम्रो यो पुस्ता मात्र होइन योभन्दा पछिल्लो पुस्ता पनि युवाका रूपमा पचास वर्षसम्म पुग्छ भन्ने खतरा छ । त्यसैले हिजोको राजनीतिक परिवर्तनको स्थिति र आवश्यकताका कारणले अघिल्लो पुस्ता स्थापित भयो र निरन्तर नेतृत्वमा छ । यो हामी सबैका लागि चुनौती हो कि मैले पनि मेरो परिकल्पना अनुसार काम गर्नका लागि मेरो सामाजिक भौगोलिक तथा आर्थिक संरचनाले दिइरहेको छ कि छैन भन्ने विषय मेरो समीक्षाको विषय होला । समग्रतामा हेर्दा हाम्रो पुस्ताले अहिलेको विकासको आवश्यकतालाई परिवर्तनसँग जोडेर देशको समृद्धिको आवश्यकतालाई त्यसरी नै परिवर्तनको एउटा मात्र उद्देश्य बनाएर अगाडि बढ्न सकेन भने हामी पछाडि पर्छौं ।

संवैधानिक व्यवस्थाअनुसार अनेरास्ववियुमा महिलालाई ३३ प्रतिशत स्थान दिने र देशको जनसंख्या परिस्थितिअनुसार ५० प्रतिशत सम्म पुराउने हामीले प्रयास गरेका छौँ । आजको सामाजिक आर्थिक र भौतिक परिस्थितिले हामीलाई यो ठाउँसम्म पु¥याउन सक्षम नबनाइसकेको हो कि भन्ने विषय पनि समीक्षाको विषय छ । अनेरास्ववियुले वैधानिक रूपमा नै सबै संगठनमा आजको दिनमा ३५ प्रतिशत महिला सहभागिता गराएको छ र यसलाई निरन्तर वृद्धि गर्दै लैजाने कुरामा पनि हामी लागिरहेका छौँ । भूगोलको आवश्यकता, वर्गको आवश्यकताले महिलालाई कुनै ठाउँमा बढी विशेषाधिकार दिनुपर्ने कुरा त छँदैछ तर त्योसँगै अब समतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने चेतनाबाट अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसकारण समतामूलक समाज भनेर हामीले सबैलाई प्रोत्साहन गर्यौ भने मेरो दाजु भाइले मलाई पनि सहयोग गर्न सक्ने वातावरण निर्माण हुन्छ भन्ने मेरो बुझाइ हो । हामीले त्यो तहबाट काम गरिरहेका छौँ । हामी प्रश्न गर्न सक्छौँ । प्रश्न गरिसकेपछि समाधानको विकल्पसहितको प्रश्न गर्न सक्नुपर्छ भन्ने चेतना मेरो संगठन नै राख्छ । हाम्रो मातृ पार्टीको सरकार रहँदा पुस्तकमा कर वृद्धि गरेको विषयमा म संगठनको उपाध्यक्ष थिएँ । अर्थमन्त्री डा. युवराज खतिवडा हुनुहुन्थ्यो । हामीले निरन्तर रूपमा दबाब दिएपछि त्यो कुरा परिमार्जित पनि भएको थियो । त्यसकारण संगठनभित्र गर्ने प्रश्नका स्वरूप फरक हुन्छन् र अन्तरपार्टी गरिने प्रश्नका स्वरूपहरू फरक हुन्छन् । हामी संठनको विधान, नियम र स्वतन्त्रतासहितको अनुशासनमा हुन्छौँ । स्वेच्छाचारिता हाम्रा लागि मान्य छैन ।

Leave a Comment