
सुनिता बराल (अध्यक्ष, अनेरास्ववियु)
केही वर्ष अगाडि विद्यार्थी आन्दोलनलाई बुझ्ने व्यक्तित्वहरूले जसरी बुझ्नुहुन्थ्यो, त्यो भन्दा केही फरक काम गर्नुपर्छ भन्ने स्थितिमा अहिलेको विद्यार्थी आन्दोलन रहेको छ । त्यो समयको माग हो भन्ने विद्यार्थी संठनहरूको बुझाइ छ । कोभिड महामारीको समयमा शिक्षा क्षेत्रमा सबै जनाले अनुभूति गरेको विषय के हो भने हाम्रा विश्वविद्यालयहरू कति बढी प्रविधिमैत्री छन र आवश्यकता परेका बेला प्रविधिको उपयोग गरेर शैक्षिक क्षेत्रलाई कति गतिशील बनाउन सक्छन् भन्ने प्रश्न सोध्नुभयो भने हामी निकै पछाडि रहेछौँ भन्नलाई मैले हिचकिचाउनु हुँदैन । कोरोना महामारीका बेला हामी विद्यार्थी संगठनहरू हड्ताल वा सडक आन्दोलन गर्ने अवस्थामा थिएनौँ र गर्नुहुँदैनथ्यो । तर त्यो अवस्थामा विद्यार्थीहरूले आफ्नो निजी बसोबाससम्म पुग्नका लागि के गर्ने भन्ने कुरा सबैभन्दा ठूलो प्रश्न थियो । स्थायी बसोबासमा पुग्नका लागि सहजता वा अस्थायी बसोबासमा खाद्यान्नको व्यवस्थादेखि लिएर उनीहरूले प्राप्त गर्नुपर्ने दैनिक परीक्षाका विषयहरूमा अनेरास्ववियु सशक्त रूपमा लागिरहेको थियो । त्यति मात्रै होइन, हामी सामाजिक सरोकारका क्षेत्रमा पनि काम गर्छौं । त्यही क्रममा हामीले विभिन्न नाकामा गएर छिमेकी मुलुकबाट नेपाल आउने नेपाली नागरिकहरूलाई सहजीकरण र गन्तव्यसम्म पु¥याउनका उद्धारको काम गरेका थियौँ ।
हामीले अहिले विद्यालय तहमा कक्षा ९ देखि माथि संठनको काम गर्छौं । तर ९ कक्षादेखि १२ कक्षासम्मको संठनलाई राजनीतिक रूपमा होइन, संगठित हुने र समूहमा काम गर्ने अभ्यासका रूपमा अगाडि बढाउनुपर्छ । १२ कक्षासम्म माथिको संठनलाई कसरी संठन संरचना सञ्चालन गर्ने, राजनैतिक विषयहरू प्रतिको बुझाइ कस्तो राख्ने र ती बुझाइलाई कसरी आफ्नो काममा प्रयोग गरी राज्यलाई खबरदारी गर्ने ठाउँमा कसरी पु¥याउने भन्ने हिसाबले हामीले प्रशिक्षण गर्छौं । जब संघीयताको कार्यान्वयन हुँदै थियो, त्यतिबेला हामीले स्थानीय तथा प्रदेश संरचनाको संठनको निर्माण गरेका थिएनौँ । त्यतिबेला त्यो आवश्यकता महशुस पनि भएको थिएन् । जब संघीय संरचनाअनुसार स्थानीय तहहरू निर्माण भए, त्यसपश्चात् आज अनेरास्ववियुले देशभरिका सबै स्थानीय तहहरूमा पनि संगठित रूपले काम गरिरहेको छ । त्यसैले केन्द्रीय कमिटी सानो संरचनामा हुन्छ भने हामीले प्रदेश, जिल्ला, स्थानीय तह हुँदै विद्यालयसम्मको संरचनामा व्यवस्थित छौँ ।
राजनीतिमा चुनौतीसँगै अवसर पनि छ । हाम्रो पार्टीका विभिन्न नेताहरू जो अहिले देशको नेतृत्व तहमा हुनुहुन्छ उहाँहरू पनि विद्यार्थी राजनीति हुँदै आउनु भयो । धेरै जनाले विश्वविद्यालयमा गएर पढ्ने र विद्यार्थी राजनीति गर्ने अवसर त पाउनुभएन । तर उहाँहरू पार्टीको केन्द्रीय समितिदेखि देशको मन्त्री सम्म ४० वर्षभन्दा कम उमेरमा हुनुभएको छ । अहिले पनि ४० वर्षभन्दा कम उमेरको धेरै जना नेताहरूले पार्टीमा नेतृत्व गरिरहनुभएको छ । हाम्रो पुस्तासम्म आइपुग्दा हामी ४० वर्ष छेउछाउ पुग्दा खेरी युवाको पनि तल्लो तहको जिम्मेवारीमा भूमिका देखिन्छ । हामी त्यो जिम्मेवारीका लागि तयार छौँ । तर नयाँ कुराको खोजी र संघर्ष गर्ने व्यक्ति नै सबैभन्दा पहिले स्थापित हुने रहेछ । त्यो कुरा हामीले बुझ्नुपर्छ । हिजो कम्युनिस्ट आन्दोलन सुरु गर्दैगर्दा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली करिब १६ वर्षमा नै भूमिगत हुनुभएको थियो । करिब १३ वर्षको उमेरमै विभिन्न कार्यक्रममा हिँडेको कुरा उहाँले सुनाउनु हुन्छ । अहिले हाम्रो सामाजिक र पारिवारिक मनोविज्ञानले १६ वर्षको उमेरको युवालाई बच्चा नै हो भन्छ ।
उहाँहरूले त्यतिबेला विद्रोह गर्ने आँट गर्नुभयो, त्यो त्यति बेलाको समयका लागि आवश्यकता थियो । हिजो व्यवस्था परिवर्तन गर्नका लागि र सैद्धान्तिक रूपमा विषयहरू स्थापित गर्नका लागि उहाँहरूले गरेको संघर्ष र उहाँहरूको व्यक्तित्व स्थापित भएको विषय हो । आजको पुस्ताले हाम्रो जीवनका आवश्यकताहरूलाई विकास र जीवनको समृद्धिसँग जोडेर र हामीले हरेक युवालाई उत्पादनसँग जोडेर जीवनको समृद्धिको परिकल्पना गर्न सिकाइएन भने हाम्रो यो पुस्ता मात्र होइन योभन्दा पछिल्लो पुस्ता पनि युवाका रूपमा पचास वर्षसम्म पुग्छ भन्ने खतरा छ । त्यसैले हिजोको राजनीतिक परिवर्तनको स्थिति र आवश्यकताका कारणले अघिल्लो पुस्ता स्थापित भयो र निरन्तर नेतृत्वमा छ । यो हामी सबैका लागि चुनौती हो कि मैले पनि मेरो परिकल्पना अनुसार काम गर्नका लागि मेरो सामाजिक भौगोलिक तथा आर्थिक संरचनाले दिइरहेको छ कि छैन भन्ने विषय मेरो समीक्षाको विषय होला । समग्रतामा हेर्दा हाम्रो पुस्ताले अहिलेको विकासको आवश्यकतालाई परिवर्तनसँग जोडेर देशको समृद्धिको आवश्यकतालाई त्यसरी नै परिवर्तनको एउटा मात्र उद्देश्य बनाएर अगाडि बढ्न सकेन भने हामी पछाडि पर्छौं ।
संवैधानिक व्यवस्थाअनुसार अनेरास्ववियुमा महिलालाई ३३ प्रतिशत स्थान दिने र देशको जनसंख्या परिस्थितिअनुसार ५० प्रतिशत सम्म पुराउने हामीले प्रयास गरेका छौँ । आजको सामाजिक आर्थिक र भौतिक परिस्थितिले हामीलाई यो ठाउँसम्म पु¥याउन सक्षम नबनाइसकेको हो कि भन्ने विषय पनि समीक्षाको विषय छ । अनेरास्ववियुले वैधानिक रूपमा नै सबै संगठनमा आजको दिनमा ३५ प्रतिशत महिला सहभागिता गराएको छ र यसलाई निरन्तर वृद्धि गर्दै लैजाने कुरामा पनि हामी लागिरहेका छौँ । भूगोलको आवश्यकता, वर्गको आवश्यकताले महिलालाई कुनै ठाउँमा बढी विशेषाधिकार दिनुपर्ने कुरा त छँदैछ तर त्योसँगै अब समतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने चेतनाबाट अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसकारण समतामूलक समाज भनेर हामीले सबैलाई प्रोत्साहन गर्यौ भने मेरो दाजु भाइले मलाई पनि सहयोग गर्न सक्ने वातावरण निर्माण हुन्छ भन्ने मेरो बुझाइ हो । हामीले त्यो तहबाट काम गरिरहेका छौँ । हामी प्रश्न गर्न सक्छौँ । प्रश्न गरिसकेपछि समाधानको विकल्पसहितको प्रश्न गर्न सक्नुपर्छ भन्ने चेतना मेरो संगठन नै राख्छ । हाम्रो मातृ पार्टीको सरकार रहँदा पुस्तकमा कर वृद्धि गरेको विषयमा म संगठनको उपाध्यक्ष थिएँ । अर्थमन्त्री डा. युवराज खतिवडा हुनुहुन्थ्यो । हामीले निरन्तर रूपमा दबाब दिएपछि त्यो कुरा परिमार्जित पनि भएको थियो । त्यसकारण संगठनभित्र गर्ने प्रश्नका स्वरूप फरक हुन्छन् र अन्तरपार्टी गरिने प्रश्नका स्वरूपहरू फरक हुन्छन् । हामी संठनको विधान, नियम र स्वतन्त्रतासहितको अनुशासनमा हुन्छौँ । स्वेच्छाचारिता हाम्रा लागि मान्य छैन ।
