
निशा राना, निर्माण समिति अध्यक्ष (बिउराबारी जलविद्युत आयोजना)
हामीले जाजरकोटमा विद्युत बाल्नका लागि धेरै समस्याहरू झेल्नुपरेको थियो । अहिले पनि धेरै समस्याहरू छन् । हामीले जाजरकोटमा १५ किलोवाटको योजनालाई सम्पन्न गर्नका लागि त्यहाँको समुदाय र हामी समितिमा आबद्ध व्यक्तिहरू खटेका थियौँ ।
हामी उज्यालोमा बस्नका लागि धेरै दुःख कष्ट भोगेर योजना सम्पन्न गर्नुपर्छ भन्ने महसुस गरेका पनि थियौँ । हामीले आयोजना निर्माण गर्ने स्थान भेरी नगरपालिका १ मा त्यति बेला यातायात र सडक पूर्वाधारको सुविधा थिएन । आयोजना सम्पन्न गर्नका लागि हामीले सल्लीबजार तथा चौरजहारीबाट डुङ्गामार्फत सामान ल्याउनुपर्ने बाध्यता थियो । आयोजना निर्माण गर्नका लागि हामी आर्थिक रूपमा पनि परिपक्व थिएनौँ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट हामीलाई सहयोग त आएको थियो तर समुदायबाट पनि आर्थिक संकलन र जनश्रमदान गर्नुपर्ने स्थिति थियो । हाम्रो समुदायले उज्यालोमा बस्ने हौसलाका साथ प्रत्येक घरधुरीबाट रू. १० हजार र करिब ६० दिन श्रमदान गरेर आयोजना सम्पन्न गरेका थियौँ ।
राज्यले दिएको बजेट र समुदायले उठाएको रकमबाट नै हामीले आयोजना सम्पन्न गर्न सफल भयौँ । आयोजना सफल भएपछि हाम्रा विद्यार्थीहरूलाई पठनपाठनमा सहज भयो । भान्सामा महिला दिदिबहिनीहरू अलि धेरै खटिनुपर्ने कारणले उहाँहरूलाई पनि उज्यालोले सहयोग ग¥यो ।
उज्यालो आएपछि महिला दिदीबहिनिहरू धेरै नै खुसी हुनुभयो । हाइ भोल्टेजको समस्या अहिले छ । कहिले ट्रान्समिसन समस्या आउने कुराहरू पनि छ । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत जडान गर्दा प्रति परिवार करिब दुई हजार रूपैयाँ पर्छ । तर हामीले ६० दिन जनश्रमदान गरेर पनि रू. १० हजार तिरेर विद्युत बाल्यौँ ।
साना जलविद्युत आयोजनाहरूमा धेरै समस्याहरू छन् । समुदाय आर्थिक रूपले सम्पन्न छैनन् । त्यसैले आयोजनामा मेसिन लगायतका सामाग्री बिग्रेको वा कुनै क्षति पुगेको अवस्थामा समुदायबाट पैसा उठाएर पुनर्निर्माण गर्न धेरै नै कठिन हुन्छ ।
हाम्रै गाउँमा अर्को एउटा १४ किलोवाटको विद्युत आर्थिक अभावले अलपत्र परेको छ । अर्को १६ किलोवाट क्षमताको विद्युत् आयोजना पनि आर्थिक समस्याका कारण अस्तव्यस्तजस्तै छ । खलङ्गा नजिकैको ९९ किलोवाट क्षमताको जलविद्युत आयोजना पनि सिजनमा चलिरहेको छ । त्यस कारण समुदाय र स्थानीय, प्रदेश तथा संघीय सरकारबिचको तालमेल मिलाएर कार्यसम्पादन गर्न जरुरी छ ।
यसरी गाउँमा अलपत्र परेका जलविद्युत आयोजनाहरूलाई विद्युत प्राधिकरणले नै अपनत्व लिएर काम गरिदिएमा राम्रो हुने थियो । हाम्रो गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार त भएको छ तर त्यो विस्तारको नाममा विस्तार मात्रै भएको छ । त्यहाँ पोल गाडेर तारहरू तानेको चार वर्ष भइसक्यो । तर अहिलेसम्म विद्युत आइपुगेको छैन । ती पोल र तारहरू अलपत्रजस्तै छन् । कसको जिम्मा हो त्यसले जिम्मा लिनुप¥यो । यसका लागि विद्युत प्राधिकरण नै सक्रिय हुन जरुरी छ ।