नन्दसिंह बुढा, मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश सरकार

 

कर्णाली उत्सव विगत दुई वर्षदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बुलबुले उद्यानमा संचालन भइरहेको छ । यसमा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई फेरी पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
भौगोलिक हिसाबले कर्णालीभन्दा नितान्त फरक दुई नम्बर प्रदेशका माननीय मुख्यमन्त्रीको विचार हामीले सुन्न पायौं । उहाँले आफ्नो महत्वपूर्ण समय कर्णाली प्रदेशको लागि दिनुभएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु ।
उहाँको भ्रमण राजधानी वीरेन्द्रनगरमा मात्र नभएर कर्णाली प्रदेशको अन्य क्षेत्रहरूमा पनि रहोस् । साथै, कर्णाली प्रदेश र दुई नम्बर प्रदेशको सम्बन्ध भावी दिनहरूमा अझ प्रगाढ बनोस् । यो सम्बन्धले दुबै प्रदेशका जनताहरूको आर्थिक उन्नति, समृद्धि र प्रगतिमा सहकार्य होस् भन्ने चाहन्छु ।
कर्णाली प्रदेशमा भौगोलिक विकटता छ तर साधन र स्रोतको हिसाबले यहाँ धेरै सम्भावना छन् । यो सम्भावनालाई हामीले आगामी दिनहरूमा कसरी यहाँको समृद्धिसंग जोड्न सकिन्छ भन्ने कुरालाई यो तीन दिनको छलफल वा संवादले पनि मार्गदर्शन दिनेछ ।
कर्णाली प्रदेश प्राकृतिक, सांस्कृतिक, धार्मिक हिसाबले अति महत्वपूर्ण क्षेत्र हो । यो नेपाली भाषाको उद्गमस्थल हो । पवित्र धार्मिकस्थल मानसरोवर कर्णालीबाटै पुग्न सकिन्छ । छायाँनाथ, चन्दननाथ र खार्पुनाथ यहाँका तीन महत्वपूर्ण नाथ हुन् । कर्णाली मष्टो देवताका लागि पनि प्रख्यात छ ।
कर्णालीमा केही हिमालहरु पनि छन् । स्वर्गकी अप्सरा रारा, सबैभन्दा गहिरो से–फोक्शुण्डो र विभिन्न जिल्लाहरूमा रहेका ताल तलैया र टारहरू पनि कर्णालीका गहना हुन् । यहाँका कर्णाली र भेरी नदीमा जलयात्राको सबैभन्दा धेरै सम्भावना छ ।
यस्तै बौद्ध धर्मका बाह्रवटा महत्वपूर्ण धाममध्ये एउटा शे–गुम्बा कर्णाली प्रदेशमा पर्दछ । यो देवी र देवताहरूको जन्मस्थल एवं व्यासहरूको तपोभूमी पनि हो । यहाँ प्रशस्त जडीबुटी पाइन्छ । कर्णालीका रमणीय क्षेत्रहरूले पर्यटकहरुको मन नलोभ्याउने कुरै हुँदैन ।
अतः म सबैलाई कम्तीमा एकपटक कर्णाली घुम्नका लागि हार्दिक अनुरोध गर्दछु । यहाँ उपस्थित महानुभावहरूले कर्णालीको प्रचार प्रसारमा साथ दिनुहुनेछ भन्ने ठानेको छु । जसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्नेछ । साथै यहाँको आर्थिक बृद्धिमा समेत टेवा पुग्नेछ ।
अन्त्यमा, कर्णाली उत्सवको आयोजनामा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय योजना आयोगका सचिव एवं कर्णाली प्रदेशका पूर्व प्रमुख सचिव केवल प्रसाद भण्डारीज्यूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । उत्सवको आयोजक संस्था ऋति फाउन्डेसनको सम्पूर्ण टिमलाई पनि म धन्यवाद दिन चाहन्छु । साथै, यो कार्यक्रम पूर्ण रूपमा सफल रहेको छ भन्ने भनाइ सहित मेरो मन्तव्य यहीं अन्त्य गर्दछु ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events