गोविन्द प्रसाद कलौनी, प्रदेश प्रमुख, कर्णाली प्रदेश

ऋति फाउन्डेसन, सुर्खेतको आयोजनामा कुडा कर्णालीका मूल नारा रहेको कर्णाली उत्सवको दोस्रो संस्करणको यस समापनको क्षणमा यस समारोहको अध्यक्षता गर्नुभएका अध्यक्ष कमलराज लम्साल, यहाँ उपस्थित प्रदेश नं. २ का आजका विशिष्ट अतिथि माननीय मुख्यमन्त्री लालबाबु राउत, कर्णाली प्रदेश सभाका माननीय सभामुख राजबहादुर शाही, प्रदेश नं. २ का माननीय मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, कर्णाली प्रदेशका माननीय मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका सचिव, कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्यहरू, यहाँ उपस्थित यस उत्सवका विभिन्न सेसनका प्यानलिष्ट, विद्वान वक्ताहरू र सहजकर्ताहरू, फाउन्डेसनका पदाधिकारी र सदस्यहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी एवम् उपस्थित भद्र महिला एवम् सद्जनवृन्द ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपश्चात् बनेको कर्णाली प्रदेश, भूगोलका हिसाबले बाँकी छ प्रदेशभन्दा ठूलो प्रदेश हो । भौगोलिक विकटता यसको आफ्नो प्रतिकुलता रहेको र राज्यको ध्यान समयमै पुग्न नसकेको कारणले गर्दा यो प्रदेश विकासका सुचकाङ्ककमा पछाडि रहेको छ ।
पर्याप्त जलस्रोत, बहुमूल्य जडिबुटी, आकर्षक पर्यटकीय स्थलहरूको धनी प्रदेश हुनुका साथै खस भाषाको उद्गमस्थल र आफ्नै विशिष्ट परम्परा तथा संस्कृति भएको कर्णाली प्रदेशको आफ्नै विशेषता छ । यसको समग्र विकास गर्न सरकारी प्रयासहरूको साथै गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिहरूको प्रयास समेत अपेक्षित छ ।
यसै सन्दर्भमा कर्णालीको भाषा, कला, साहित्य, संस्कृति र परम्परालाई देशभर चिनाउने र कर्णालीको विकासका सम्भावनाहरूको खोजी गर्ने उद्धेश्यले यस प्रदेशको राजधानी सुर्खेतको सुन्दर पर्यटकीय क्षेत्र बुलबुलेको परिसरमा आयोजित यो कर्णाली उत्सव कार्यक्रम समुन्नत कर्णाली निर्माणको सहयोगी कदम हुन सक्ने मैले महसुस गरेको छ ।
यस कर्णाली उत्सवका सत्रहरूमा प्रत्यक्ष उपस्थित हुन नसकेको भएपनि यो कार्यक्रम र यसका छलफललाई मैले विद्युतीय सञ्चार माध्यमबाट हेरेको, सुनेको छु । कर्णालीको विकास र समृद्धि कसरी गर्न सकिन्छ भनेर यहाँ सञ्चालन भएका बाडो, थाडो र ओटालो, कर्णाली घुमाउटो पड्यो, कर्णाली–प्रणालीः योजना, पूर्वाधार र लगानी, हाट जान्या भोट जान्या जस्ता सत्रहरू महत्वपूर्ण थिए नै ।
त्यसै गरी लैङ्गिक विभेद र सौर्यताको बारेमा भएका मौलिक प्रयास र आगामी कदम पहिल्याउन सञ्चालित छाउ र भाउ सत्र, शिक्षाको महत्व र यहाँको अवस्था झल्काउने पड्नु पड्डो छः साक्षर, शिक्षित र प्राज्ञिक कर्णाली सत्र, अर्गानिक कृषिको अभियान र कर्णाली प्रदेश सरकारले गरेका काम र यस क्षेत्रको आगामी कार्यदिशाको बारेमा सञ्चालित प्राङ्गारिक प्रयास सत्र, अन्तर प्रदेश अन्तरक्रियाको रूपमा सञ्चालित सत्र मुख्य माण्ठः मूल कुडा, आर्थिक समुन्नति र जीवनस्तर उकास्न गर्न सकिने प्रयाससँगै सम्बन्धित पुइँसाका कुडाः थैलीदेखि बैङ्कसम्म जस्ता १४ वटा सत्रहरू सञ्चालन भएका छन् ।
यहाँको जनजीविकाको अवस्था र जनअपेक्षा दैनिक रूपमा साहित्यको माध्यमबाट साहित्यिक सत्रमा प्रस्तुत भएका छन् । हाम्रो यो कर्णाली प्रदेश तथ्याङ्कमा हेर्दा ४४.२ प्रतिशत नागरिक आर्थिक रूपमा अति नै पछाडि छन् । जबकि यो आँकडा राष्ट्रिय स्तरमा २८.८ प्रतिशत मात्रै छ । २८.९ प्रतिशत नागरिक यहाँ निरपेक्ष गरिबीका रेखामुनि रहेका छन् । जबकि राष्ट्रिय दर १८.७ प्रतिशत मात्रै हो ।
हाम्रो प्रदेश प्राकृतिक स्रोतमा धनी र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । यहाँका यार्सागुम्बा, शिलाजित, चिराइतो, लेक तितो, गुर्जो, दालचिनी, जस्ता जडिबुटीको सङ्कलन, प्रशोधन र व्यापारको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने अवस्था छ ।
त्यस्तै मुगुको रारा ताल, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शे–फोक्सुन्डो ताल, जुम्लाको सिँजा उपत्यका, दैलेखको ज्वाला क्षेत्र, सुर्खेतको काँक्रेविहार जस्ता मनमोहक प्राकृतिक छटा र ऐतिहासिक स्थलहरूलाई पर्यटकीय केन्द्रको रूपमा अगाडि बढाउन सकेमा यो प्रदेशको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने छ ।
यसका साथसाथै यस प्रदेशको अर्गानिक कृषि उत्पादनको माग सिङ्गो नेपाल र विदेशमा समेत रहेकाले कृषिको माध्यमबाट समग्र प्रदेशबासीको जीवनस्तर उकास्न सकिने स्थिति छ । व्यावसायिक पशुपालन, फलफूल खेती आदिको समेत यहाँ पर्याप्त सम्भावना रहेको छ । यसरी प्रत्यक्ष रूपमा जनताको जीवनसँग सम्बन्धित रहेर काम गर्न सकेमा समुन्नत कर्णाली निर्माणमा धेरै समय लाग्ने छैन भन्ने मैले विश्वास लिएको छु । यस उत्सवलाई पनि मैले समुन्नत कर्णाली निर्माणका लागि जनस्तरबाट भएको सराहनीय प्रयासको रूपमा लिएको छु ।
यहाँको मौलिकता जगाइ मौलिकताका माध्यमबाटै यस प्रदेशलाई मुलुकभर र अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउन सकेमा हामी हाम्रो विशिष्ट पहिचान दिन सक्ने छौं । खस भाषाको उद्गमस्थल हाम्रो प्रदेशमा छ । अब हामीले मौलिक विकास र समुन्नतिको पनि उद्गमस्थल यस प्रदेशलाई बनाउनुपर्ने छ । यस काममा यो उत्सव सहयोगी साबित हुने मैले अपेक्षा गरेको छु ।
अन्तमा यस उत्सवमा सञ्चालन भएका विभिन्न सत्रका निष्कर्षहरूलाई सुझावको रूपमा सङ्घीय सरकार, यहाँको प्रदेश सरकार, स्थानीय तहहरूमा पठाउनु् नै हुनेछ । ती सुझावहरूलाई मध्येनजर गरेर नीति निर्माण र कार्यक्रम बनाई अगाडि बढ्न म प्रदेश सरकारको ध्यानाकर्षण गर्दछु ।
ऋति फाउन्डेसनले विगत, वर्तमान र भविष्यमा गर्ने यस प्रकारका अझ परिष्कृत रचनात्मक क्रियाकलापहरूले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा र कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको दीर्घकालीन सोच पूरा गर्न टेवा पु¥याउने छ भन्ने विश्वास लिँदै आयोजक सबैलाई बधाई दिन चाहन्छु ।
यस कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा विशिष्ट अतिथि प्रदेश नं २ का माननीय मुख्यमन्त्रीज्यूलाई स्वागत गर्न चाहन्छु र उपस्थित सम्पूर्णजनमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events