कमलराज लम्साल, संयोजक, कर्णाली उत्सव

कर्णाली उत्सव ..कुडा कर्णालीकाको दोस्रो संस्करणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै यस विचार उत्सवमा सहभागी हुनुभएकोमा प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू, वीरेन्द्रनगर नगरपालिकाका मेयरज्यू, प्रदेश योजना आयोगका माननीय उपाध्यक्षज्यू, सदस्यज्यूहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवज्यू, प्राज्ञज्यूहरू, राष्ट्रिय योजना आयोगका सदस्य सचिवज्यू, मध्यपश्चिम विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकायका निमित्त डिनज्यू, प्राज्ञिक व्यक्तित्वहरू, नेपाल पत्रकार महासङ्घका पदाधिकारीज्यूहरू, सुर्खेत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, अतिथि वक्ता, सञ्चालक, दर्शक, श्रोता, पत्रकार, स्थानीय कर्णालीबासी, उत्सवमा प्रत्यक्ष अप्रत्यक्ष जोडिनुभएका उत्सवका साथीहरू, सामाजिक सञ्जालबाट हामीलाई हेरिरहनुभएका सबै र आयोजक संस्था ऋति फाउण्डेशनका सहकर्मी साथीहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।

कर्णाली उत्सव एउटा प्रयास हो जसले कर्णालीको कथ्य बदल्न बल गर्छ । यस्तो कथ्य जसले कर्णाली कमजोर हो भन्छ । हामी अरूभन्दा कम हौं कि भन्ने आँकलन गर्छ । यसलाई चिर्न कर्णालीलाई आफ्नै आँखाले हेर्नुपर्छ÷हेरिनुपर्छ भन्ने हामी ठान्छौं । हामीलाई हाम्रो मौलिकतासहितको पहिचान प्यारो बनाउनु छ । आत्मबल उठाउनु छ । लघुताभासबाट माथि उठ्नु छ । हो, कर्णाली उत्सव यही अभियानको शुरुवात हो ।
हामीले उत्सवको दोस्रो पाइला चाल्दै गर्दा हामीसँग जोडिनुभएका सबै सरकारी, गैर सरकारी, व्यावसायिक संस्था तथा कर्णालीलाई माया गर्ने सबैप्रति हामी ऋणी छौं । हामी चाहन्छौं उत्सव सबैको बनोस् । उत्सव कर्णालीमा बसेर राष्ट्रिय अन्तर्राष्ट्रिय बहस गर्ने माध्यम होस् । यसले समालोचनात्मक चेत निर्माण गरोस् । छलफललाई सर्वस्वीकार्य बनाओस् । लोकतन्त्रलाई सबल बनाओस् ।

हामी ठान्दछौं विकासको जग विचार हो । कुनै समय थियो कर्णालीमा कसैले विकास दिन्छु– भन्दा हुलाक मागिन्थ्यो । आज कर्णालीसँग विकासका बहु आयामिक विषय छन् । कर्णालीको जनजीवन सहज बनाउन हामीसँग प्रशस्त साधन स्रोत छन् । उपाय छन् । मौलिक अभ्यास छन् । बस् खाँचो छ । प्रष्ट विचारको । हामी सक्छौं भन्ने उच्च मनोबलको । र, इमानदार प्रयासको ।

हो, कर्णाली उत्सवमा यसैको वरपर छलफल हुन्छ । विविध विषयमा गन्थन, मन्थन र चिन्तन हुन्छ । सवाल उठाइन्छ । र, समाधान खोज्ने प्रयास गरिन्छ । हामीलाई थाहा छ यसमा हाम्रो प्रयास मात्रै पर्याप्त छैन । यसैले उत्सवको माध्यमबाट हामी सबैसँग सहकार्य गर्न चाहन्छौं । समाजलाई जोड्न चाहन्छौं । कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ । यसमा सबैको हातेमालो हुनु जरुरी छ । र, यसका लागि हामी सदैव तयार रहन्छौं ।
हामीलाई लाग्दैन कि हामी पूर्ण छौं । हामीले गरेको सबै ठिक छ । हामी यो ठान्दछौं कि हामीलाई पनि सल्लाह सुझाव जरुरी छ । हामी विचारको कदर गर्छौं । हामीलाई मार्गदर्शन र सहयोग गर्नुहुने सबैलाई साधुवाद ।

२०७७ फागुन २६ देखि २९ सम्म सञ्चालन हुने यस कर्णाली उत्सवमा यहाँहरूको सक्रिय उपस्थितिका लागि हार्दिक आव्हान गर्दै उद्घाटन समारोह समापन भएको जानकारी गराउँदछु । धन्यवाद ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events