
सुना मुरे बाँसुरिया गोठको बलिमा ।
बारै बार आउनु भया यो चौखा थलिमा ।
तपाईं हाम्रो भेट फेरी फेरी होस् भन्ने यो गीतको सार रहेछ । नेपालमा लोकतन्त्र बाघको खोल ओढेर बसेको स्यालजस्तो छ । किनभने देशमा लोकतन्त्र छ भनेर संविधानमै लेखिएको छ । तर, हामी लोकतन्त्रको खोजीमै छौं । लोकतन्त्रकै लागि हामी पटक पटक सडकमा आएका छौं ।
नागरिक आन्दोलन भनेको एउटा सकृयता हो । जति बेला देशमा ‘कु’ भइरहेको हुन्छ, सरकारले नागरिकका हक अधिकार कटौती गरिरहेको हुन्छ, त्यति त्यति बेला नागरिक आन्दोलन हुन्छन् । यो होइन की सधैँ सडकमा भइरहनुपर्छ । कसैले लेखेर प्रतिगमनको प्रतिरोध गरिरहेका हुन्छन् । कसैले बोलेर विरोध गरिरहेका हुन्छन् ।
अहिले चाहिँ जब हाम्रो प्रतिनिधिसभा विघटन भयो त्यसपछि हामी सडकमा आउनुपर्ने बाध्यता भयो । यस्तो अवस्थामा पनि जनताहरू चुप लागेर हेरेर बसिराख्ने हो भने यो लुटतन्त्र अझै बढेर जान्छ । यसका लागि राजनीतिक चेतनाको विकास हुनुपर्यो । विशेष गरी युवाले राजनीति फोहोरी खेल हो मात्रै नभनेर यसलाई सफा गर्न तम्सिनुपर्छ । अघिल्लो पुस्ताका नेताले हामीलाई देश कस्तो हालतमा छोडेर जाँदैछन् भन्नेमा हामी सचेत हुनुपर्यो । प्रतिनिधिसभाको पुनःस्थापना मात्रैले आन्दोलनको अन्त्य हुँदैन । अन्य धेरै कुराहरू सच्चिनु जरुरी छ । सुशासन सबैभन्दा महत्वपूर्ण कुरा हो ।
मुलुकमा रोजगारीको अवसर कम हुँदा युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य छन् । अर्कोतिर हाम्रो शिक्षा प्रणालीले निर्यातमुखी शिक्षाको प्रबन्ध गरेको छ । पढेर देशमै केही गर्छु भन्ने कमै भेटिन्छन् । युवाहरुलाई स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने प्रेरणा दिनु जरुरी छ । अर्कोतिर नेपालमा कामको कदर नहुँदा हामी विदेश जान प्रेरित छौं ।
सन् २०१८ को अन्तिमको कुरा हो । म केही वर्ष विदेश बसेर आएको थिएं । गाउँमा एक जना छिमेकीको बिहेको निम्तो मान्न गएको थिएँ । दलितहरुको बेग्लै भान्छो थियो । दलित भएकै कारण भोजमा अरुसंग सरिक हुन सकिंदैनथ्यो । म झसंग भएं । विदेशमा बस्दा म रिता थिएं । नेपालमा आउनासाथ रिता परियार । त्यहाँ म पूर्ण रुपमा मान्छे थिएं । यहाँ म मान्छे नै होइन । किनभने दलितले मान्छे भएर बाँच्न पाएकै छैन ।
जातीय विभेद अन्त्यका लागि मैले पदयात्रा गरें । नेपालका धेरैजसो ठाउँमा विभेद कायमै छ । स्थानीय तहका जनप्रतिनिधिहरू समेत जातीय विभेदको शिकार हुनु परेको छ । मैले कञ्चनपुरको चाँदनी–दोधाराबाट पदयात्रा शुरु गरेको हो । त्यहाँ शेरबहादुर सुनार नगर प्रमुख हुनुहुँदो रहेछ । दलित समुदायको मान्छे नगर प्रमुख भएकोमा खुशी पनि लाग्यो । भनिन्छ एउटा पहाड चढेपछि अरू ठूल्ठूला पहाड देखिन्छ । सुदूरपश्चिममा हिँड्दै गर्दा सुनियो– दलितले हेर्यो भने गाई भैंसीले दूध दिंदैन रे । उनीहरु हिंडेको जमीनमा उत्पादन हुँदैन रे । यस्ता वाहियात् कुरा पनि छन् । यस्ता कुरा कर्णालीमा पनि सुनियो ।
पूर्वतिर पुग्दा भने भने विभेदको स्वरूप परिवर्तन भएको पाइयो । विभेदको कुरा नगर्ने तर व्रत छ भन्ने । कम्तीमा युवाहरूबाट परिवर्तनको थालनी हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । युवाहरुसंग कुरा गर्दा दलित साथी बन्न सक्ने तर विहेवारी गर्न नसकिने बताए । दलितहरूको घरमा गएर खाना खाइदिन्छौं तर आफ्नो घरभित्र ल्याउन सक्दैनौं रे । खाना र पानीको कुरामात्रै होइन । लोकतन्त्रमा यतिविधि विभेद हुनुले अर्को छुट्टै सङ्घर्षको माग गरिरहेको छ । म एउटा दलित त्यसमा पनि महिला भएकोले विभेदको भयंकर स्वरुप महसुस गर्न सक्छु । लोकतन्त्रसम्म पुग्न मैले धेरै खुड्किला पार गर्नुपर्छ । तर खुशी चाहिँ के मा लाग्छ भने मञ्चमा आएर यतिसम्म कुरा राख्न सक्ने भएको छु । यो परिवर्तनलाई पनि मैले स्वीकार गर्छु ।