अमित ढकाल, सम्पादक, सेतोपाटी

वास्तवमा यो मुलुकमा लोकतन्त्र आएकै छैन । हामीले मौलिक कुरा बुझ्नुपर्यो । कर्णालीका जनतालाई मात्रै होइन नेपाली जनतालाई नै लोकतन्त्र आएको छैन । २०४७ सालमा राजा वीरेन्द्रले पहिलो जनआन्दोलनपछि दलमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरे र बहुदलको पुनस्र्थापनाको घोषणा गरेपछि मुलुकमा बहुदल आयो । दलहरूको शासन आयो तर दलहरूले शासनलाई लोकतन्त्रमा लैजानुपर्ने काम अहिले पनि पूरा भएको छैन ।
नेताहरूले लोकतन्त्र आयो अब त्यसलाई सुदृढ तथा बलियो पार्ने भन्नुहुन्छ, तर हामीकहाँ लोकतन्त्रको यात्रा नै शुरु भएको छैन जस्तो लाग्छ । म केही उदाहरण भन्छु, आज जुन दल सत्तामा छ, भनेको आज केपी ओली मात्रै होइन प्रचण्ड, शेरबहादुर देउवा र सुरुमा गिरिजाप्रसाद कोइराला हुँदा पनि भएको के हो भने आफ्नो दलभित्रका मानिसहरूलाई अवसर, दल नजिकका कर्मचारीलाई अवसर, दल नजिकका ठेकेदारहरूलाई ठेक्का, भ्रष्टाचारमा मुछिएका दल नजिकका मान्छेहरूलाई उन्मुक्ति । त्यो अहिले पनि जारी छ ।
अख्तियारले छानबिन गर्न पाएकै हुन्न तर प्रधानमन्त्रीले फलानोले भ्रष्टाचार गरेको छैन भनेर पहिले नै घोषणा गर्नुहुन्छ । त्यसैले हामी दलीय व्यवस्थामा छौं । यति मात्रै होइन दलभित्रको पनि गुटतन्त्रमा छौं । जुन राजनीतिक दलको नेतृत्व सत्तामा पुगे पनि उसले आफ्नो वरिपरि रहेको गुटको बचाउ गर्छ । त्यो गुटले सबैभन्दा धेरै फाइदा लिन्छ ।
त्यसैले जहिले पनि सत्तामा पुगेपछि राजनीतिक दलमा किचलो र झगडा देखिन्छ । काँग्रेस, एमाले, माओवादी सबैमा झगडा छ । केपी ओलीले गुट तन्त्रलाई एक स्तर अगाडी बढाउनुभएको छ । केपी ओलीले देशमा एकतन्त्र, चाकरीतन्त्र बढाउनुभयो । उहाँले गरेका नियुक्तिहरू हेर्नुस् । आफ्नो प्रशंसा र विरोधीहरूलाई गाली गरेकै आधारमा धेरैले नियुक्ति पाएका छन् । त्यो भनेको चाकरतन्त्र हो । यस्तो राणा शासनकालमा मात्रै हुन्थ्यो ।
केबल प्रसाद भण्डारीले भन्नुभएको थियो कि कर्मचारीहरूलाई मानवीय हिसाबले हेरिन्न । उहाँ कर्णाली प्रदेश सरकारको मुख्य सचिव बनेर आउनुभयो र धेरै राम्रो काम गरेर जानुभयो । तर उहाँलाई कर्णाली किन पठाइएको हो? उहाँसँग क्षमता छ, सुर्खेतमा गएर काम गर्नुस् भनेर पठाइएको हैन । उहाँले मिडियामा भनेको एउटा कुरा मन्त्रीलाई मन परेन । त्यसै कारणले उहाँलाई सुर्खेत पठाइयो । उहाँहरूलाई लाग्यो कर्णाली एउटा जगेडा प्रदेश हो, जहाँ दण्डित गरेको कर्मचारीलाई मात्रै पठाइन्छ ।
लोकतन्त्र भएको भए यस्तो हुन्छ? लोकतन्त्रमा दल र गुट नजिकको भनेर हेरिंदैन । क्षमता र योग्यता हेरिन्छ । लोकतन्त्रमा कुनै पनि कर्मचारीको क्षमता छ भने उसले आफूले चाहेको ठाउँमा गएर काम गर्न सक्छु भन्ने वैध अपेक्षा राख्छ ।
नेपाल प्रहरीमा नवप्रवेशी अधिकृतहरुलाई देख्दा लाग्छ– उसले के सोच्छ होला? मैले राम्रो काम गरें, शान्ति सुरक्षा कायम गरें भने म बढुवा भएर आइजिपी हुन्छु भन्ने सोच्छ या म कुनै नेताको नजिक भएँ भने वा मेरो मान्छे कोही त्यहाँ भयो भने वा मैले त्यहाँ पैसा पुर्याउन पाएँ भने आइजिपी हुन्छु भन्ने सोच्छ । आजका दिनमा मैले राम्रो काम गरें भने भोलि म आइजिपी हुन्छु भन्ने अपेक्षा राख्ने ठाउँ उसलाई छैन । त्यसैले हामी लोकतन्त्रमा पुगेकै छैनौं ।
हामीले लोकतन्त्रका ३० वर्ष सकसपूर्ण ढंगले बितायौं केपी ओलीले त्यसलाई एक पाइला पछाडि धकेलिदिनुभयो । लोकतन्त्रमा संविधान भनेको लक्ष्मण रेखा हो । जसले संविधानको आधारभूत कुरा, नियम मान्दैन त्यसले लोकतन्त्र के बहुदलीय व्यवस्था पनि नमानेको हुन्छ भन्ने म ठान्छु । बहुदल र लोकतन्त्रलाई जोड्दा बहुदल पहिलो खुड्किलो हो । लोकतन्त्र चाहिं अन्तिमतिरको खुड्किलो ।
कुनै सरकारी कार्यालयमा हुने काम व्यक्तिको अनुहार हेरेर छिटो वा ढिलो हुन्छ । हामीले खोजेको लोकतन्त्र यही हो? आज माधव नेपालको छोरा छोरी वा शेरबहादुर देउवाको छोराछोरी वा कोही पनि दलमा पहुँच भएको नेताहरूको छोराछोरी अवसर पाउने जति सम्भावना छ कर्णाली होस् मधेस होस् झापा नै होस् एउटा औसत नेपाली नागरिकको छोराछोरीले त्यो अवसर पाउने सम्भावना नै छैन ।
हाम्रा न्यायालयमा जाने न्यायाधीश कसरी चुनिन्छन्? दलको नेता वा प्रधानन्यायाधीशसंग नजिक हुनेले मात्रै अब्बल न्यायाधीश बनेर सर्वोच्चमा जाने अवसर पाएको छ । प्रधानमन्त्रीसँग नजिक भएको मान्छे नै प्रहरी प्रखुख बन्छ । क्षमताका हिसाबले एक नम्बरमा परेको मान्छे प्रमुख बन्दैन भने यो लोकतन्त्र हो कि होइन ?
राज्यका अङ्गहरूमा मुलुकको प्रतिविम्ब देखिनुपर्छ । हामीले गर्ने प्रयत्न त्यही हो । त्यहाँ पुग्न समय लाग्ला । भन्ने बेलामा आजै वा हिजै सम्भव थियो भन्ने तर हामीले त्यतातिरको यात्रा तय गर्यौं कि गरेनौं भन्ने हो । मलाई लाग्छ हामीले त्यतातिरको यात्रा तय गरेकै छैनौं ।
माओवादीले जनयुद्ध गर्यो र ५० प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्यो । संविधानमै ३३ प्रतिशत महिला सहभागिता लेखिएको छ । तर यो कतै पनि छैन । अहिले हामीले कुनै पनि सरकार चाहे केन्द्रको होस् वा कर्णालीको ३३ प्रतिशत महिला पुग्दैन । संविधानले भनेको कुरा एउटै पनि नगरेपछि त्यो पनि लोकतन्त्र हो भनेर मान्ने हामीले?
कर्मचारीतन्त्रका लागि लोकसेवा आयोगमा आरक्षण छ । त्यसले गर्दा बिस्तारै सरकारी कर्मचारीमा महिला, दलित तथा जनजातिको संख्या बढ्दै गएको छ । प्रहरी तथा सेनामा पनि बढ्दै गइरहेको छ । तर जहाँ राजनीतिज्ञ हरूले नियुक्ति गर्छन् त्यहाँ बढेको छैन । त्यसैले अहिले लोकतन्त्र छैन दलतन्त्र छ ।
लोकतन्त्रका चार वटा आधारभूत कुराहरू छन् । चार वटा कुराहरू मिलेर लोकतन्त्र बन्छ । राजनीतिक पार्टीहरू सरकार, अदालत, मिडिया र सचेत नागरिक । यी चार वटा खम्बाहरूको सन्तुलनले मात्रै बहुदललाई लोकतन्त्रमा पुर्याउने हो । त्यसैले हाम्रा मिडियाको पनि दोष छ । सबै क्षेत्रमा सुधार आवश्यक छ । मुख्य गरी राजनीतिक क्षेत्र दोषी छ ।

 

Leave a Comment