
पैसा भन्नासाथ मलाई जीवन निर्वाहका लागि आवश्यक पर्ने चिज भन्ने लाग्छ । तर यो सबथोक चाहिँ होइन । पैसाको आवश्यकता जीवनभन्दा पक्कै पनि ठूलो छैन । जीवन जिउनको लागि अन्य धेरै माध्यमहरू हुन्छन् । ती माध्यमबाट पैसा जन्माउने हो ।
पैसा पनि एउटा माध्यम हो । जसको आवश्यकता कसैलाई बढी र कसैलाई कम पर्छ । तर जीवन जिउनका लागि यो नभई नहुने वा यति नै चाहिने भन्ने मापन चाहिँ हुँदैन । पैसा नभईकन पनि धेरै मान्छे सफल छन् । सानो पुँजीबाट धेरै कमाएका पनि छन् । ५० रुपैयाँ लगानीबाट ५० करोडको सम्पत्ति जोडें भन्नेहरू पनि छन् । पैसाभन्दा ठूलो कुरा जुक्ति हो । त्यसैले पैसा साधन हो तर साध्य होइन ।
कर्णाली भनेको हामीले जान्दाखेरि नै विकट क्षेत्र हो भनेर जानेका हौं । तर त्यति हुँदाहुँदै पनि कर्णालीसँग प्रशस्त प्राकृतिक स्रोत साधनहरू छन् । अहिले सडक र सञ्चारको सुविधा भने धेरै ठाउँमा पुगेको छ ।
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा प्रभु बैंकको शाखा छ । त्यहाँ अहिलेसम्म गाडी जाँदैन । तीन चार दिन लगाएर हिँडेर जानुपर्छ । जहिलेसुकै हिउँ परिरहेको हुन्छ । शाखा खोलिसकेपछि त्यहाँका मान्छेलाई धेरै सुविधा भएको छ । हामीले पैसा, सामान र कर्मचारी हेलिकप्टरबाटै त्यहाँ पुर्याएको हो ।
मैले यहाँहरूलाई भन्नुपर्ने कुरा चाहिँ के हो भने उद्यमी बन्न कोसिस गर्नुस् । अथवा अन्यत्रबाट उद्यमीहरूलाई यस प्रदेशमा आकर्षित गर्नुस् । त्यसो भयो भने हामीले रोजगारी सिर्जना गर्न सक्छौं । हामीले यहाँ भएको स्रोत साधनलाई अधिकतम रूपमा प्रयोग गर्न सक्छौं ।
हामीसँग जडिबुटी त छ भन्छौं । तर ८० करोडको जडीबुटी निर्यात गरेर तीन अर्बको जडिबुटीजन्य औषधी आयात गर्छौं । यसले के देखाउँछ भने हामीले वस्तुको कन्भर्जन वा भ्यालु एड गर्न सकेका छैनौं । अब हामीले त्यतातिर सोच्नुपर्यो ।
अहिले सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगिसकेको छ । बैङ्कहरूलाई अनिवार्य रूपमा स्थानीय तहमा लगानी गर्नु भन्ने नेपाल सरकार र राष्ट्र बैङ्कको निर्देशन रहेको छ । आवश्यकता भनेको खाली उद्यमशीलता र उद्यमी बन्ने सोचको मात्रै हो । बैङ्कले तपाईंहरूलाई लगानी गर्नैपर्छ र लगानी गर्छ ।
कर्णालीमा भौगोलिक कठिनाइहरू छन् तर ती कठिनाइहरूलाई चिर्दै अब डिजिटल बैङ्किङका कुराहरू पनि आए । दूरसञ्चार कम्पनीहरू नेपाल टेलिकम, एनसेल आदिले पनि सामान्य बैङ्किङको काम गर्न खोजिरहेको अवस्था छ । कर्णालीको अबको अभियान भनेको यहाँको स्रोत साधनलाई चिन्ने र त्यसलाई बढीभन्दा बढी भ्यालु एड गरेर बाहिर पठाउने हो । अथवा बजारमा लिएर आउने हो । बजार देशभित्रै र बाहिर पनि छ ।
हामी सधैं सहायताबाट चल्ने कुरा हुँदैन । यो कुरा हामी सबैले बुझेका पनि छौं । अहिलेको कोरोना महामारीले पनि हामीलाई धेरै कुरा सिकाएको छ । मैले अघिदेखि यहाँ सोचको कुरा गरिरहेको छु । एउटा उदाहरण पनि दिन्छु । मनाङ जिल्ला एकदमै विकट थियो । त्यहाँ बाटो पनि पुगेको थिएन । बाटो खन्ने क्रम चलेको थियो । त्यसैबेला एक जना दाईलाई व्यावसायिक स्याउ खेती गर्छु भन्ने सोच आयो । स्याउ त त्यहाँ पहिले पनि फल्थ्यो । तर निर्वाहमुखी मात्रै । व्यावसायिक खेती गर्छु भन्ने उहाँको नवीन सोच हो ।
त्यही सोचलाई मूर्त रुप दिन उहाँले एउटा क्लबको नाममा रहेको १६५ रोपनी जग्गा बार्षिक ६५ लाख भाडा तिरेर लिजमा लिनुभयो । अनुसन्धानबाट त्यहाँ स्याउ फल्छ भन्ने भयो । हामी स्याउको विउ खोज्दै युरोप पनि पुग्यौं । रोपेको अर्को वर्षदेखि फल दिने स्याउ पनि पाइने रहेछ । बोटले क्षेत्रफल पनि कम ओगट्ने । स्थानीय स्याउ एक रोपनीमा करिब १५ बोटमात्रै रोप्न मिल्थ्यो । युरोपको उक्त स्याउ भने रोपनीमा ६५ बोटसम्म रोप्न मिल्दोरहेछ । अहिले त्यो फार्मबाट पूर्णरुपमा उत्पादन आइसकेको छैन । अघिल्लो सिजनमा मात्रै करिब ७ लाख किलो स्याउ उत्पादन भयो । यस्ता नवीन सोचको कार्यान्वयन गर्न बैंकले लगानी पनि गर्छ । कर्णालीमा पनि नयाँ नयाँ सोचको खाँचो छ ।
हामीले प्रत्येक वर्ष अर्बौं रुपैयाँको स्याउ भारत तथा चीनबाट आयात गर्छौं । त्यसलाई विस्थापन गर्न सकिन्छ । मोटर बाटो धेरै ठाउँमा पुगिसकेको अवस्था छ । अब ससानो टुक्रा जग्गामा खेतीपाती गरेर हुँदैन । जसले बैङ्किङ क्षेत्रलाई नजिकबाट बुझेको छ त्यस्ताबाट यस्तो कामको नेतृत्व हुनसक्छ । जोखिम उठाउन सक्ने हो भने बजार तयार छ । स्रोतको पनि अभाव हुँदैन ।
हामीले खाली यो भएन वा त्यो भएन, यहाँ भएन वा त्यहाँ भएन भन्ने मात्रै होइन । तपाईं चाहे जुम्लाको हुनुहोस् वा हुम्लाको हुनुहोस् तर केही आइडियाहरू छन् भने लिएर आउनुहोस् । हामी त्यसमा सहयोग गर्न सधैँ तयार हुन्छौं । आवश्यकता पनि त्यसकै हो । मैले कर्णालीमा बैङ्किङ पहुँच, वित्तीय साक्षरता र लगानीको मुभमेन्ट नै चलाउनुहोस् भन्छु । लगानी यहाँकै मानिसले गर्दा पनि हुन्छ । बाहिरका मानिसले यहाँ आएर लगानी गर्दा पनि हुन्छ ।
म अर्को कुरा पनि सुनाउँछु । दैलेखमा शाखा खोल्ने क्रममा म केही वर्ष अगाडी त्यहाँ पुगेको थिएँ । पहाडमा बसेको एउटा सानो बजारमा पुगेपछि मैले तीनवटा चिज देखिनँ । ती हुन्– स्कूल, पेट्रोल पम्प र नर्सिङ होम । मैले त्यहींका व्यवसायीहरूलाई यो शुरु गर्नुस् नत्र बाहिरको मानिस आएर खोलिदिन्छ अनि तपाईंहरू हेरेको हेर्यै हुनुहुन्छ भनें । उहाँहरुले कहाँबाट लगानी ल्याउने भन्नुभयो । हामीले लगानी गर्छौं भनेपछि शान्तिजीले पेट्रोल पम्प खोल्नुभयो । त्यसपछि अर्को एक जनाले होटेल खोल्नुभयो । सायद नर्सिङ होम अहिलेसम्म खुल्न सकेको छैन ।
तपाईंहरुले आफ्नो ठाउँमा राम्रा राम्रा स्कुल खोल्नुहोस् । यदि तपाईंहरूले खोल्नुभएन भने अरुनै कोही आएर खोलिदिन्छ । त्यसैले यहाँ स्रोतभन्दा पनि सोचको अभाव छ । जोखिम लिने क्षमताको अभाव छ । यसमा हाम्रो ध्यान जानुपर्छ । हामीलाई त सरकारले प्रत्येक पालिकामा गएर महिला, उद्यमी, युवा आदिलाई कर्जा प्रवाह गर्नुहोस् भनेर निर्देशन नै दिइसकेको छ ।
अर्को कुरा बैंकले लगानी गर्दा अलग अलग प्रावधान हुनसक्छ । अरुको हेरेर मेरो किन भएन भन्नुहुन्न । ऋण धनीले मात्रै पाउने भन्ने पनि होइन । नेपालमा १६ लाख जना ऋणीहरू छन् । उनीहरु सबै धनी हैनन् होला नि । त्यसको ५ प्रतिशत धनी हुन सक्लान् । बाँकी ९५ प्रतिशत त मध्यम वा निम्न वर्गका नागरिकहरू नै हुन् । बैकको उपस्थिति जुन ठाउँमा छ त्यसले पनि यो देखाउँछ ।
तपाईंले ऋण पाउनुभएन भने बैंकले नै नदिएको भन्ने हुँदैन । तपाईंजस्तै अर्को कसैले त पाइरहेको होला नि । बैङ्कका पनि केही प्रक्रियाहरू हुन्छन् । ती प्रक्रियाहरू पूरा गर्ने क्रममा कहिलेकाहीं तलमाथि परेको अवस्थामा शाखा प्रबन्धक अथवा बैंकका कर्मचारीले अलिकति आनाकानी गर्न सक्छन् । तपाईंले मापदण्ड पूरा गरेर जानुहुन्छ भने बैङ्कले एकदमै खुसी भएर सेवा प्रवाह गर्छ । बैङ्कलाई पनि राम्रा ग्राहकहरूको खाँचो छ । हामीले खोज्छौं, बुझ्छौं र रोज्छौं पनि ।
बैङ्कहरूले लिलामी किन गर्छन् भन्ने कुरा आयो । करिब ३ करोडभन्दा बढी खातावालाहरू हुनुहुन्छ । उहाँहरूले बैङ्कमा पैसा जम्मा गर्नुभएको छ । उहाँहरूको विश्वासलाई मर्न नदिनको लागि हामीले जसलाई कर्जा दिन्छौं उहाँहरूले समयमै तिरिदिनुभएन भने जुन बेला बचतकर्ता माग्न आउनुहुन्छ त्यो बेला हामीले उहाँको बचत भएको पैसा फिर्ता दिनुपर्छ । हामीले उहाँहरूलाई रोकेर राख्न सक्दैनौं । बैंकले पनि कसैको बचतलाई परिचालन गर्ने न हो । बैङ्कको पैसा कहाँ हो र? बैंकले त पुलको काम मात्रै गर्ने हो । फाइदा लिने दुबै पक्ष ग्राहक नै हो । बचतकर्ताले व्याज पाउँछ । कर्जा लिने मान्छेले उद्योगधन्दा र व्यवसाय गर्छ, कमाउँछ र व्याज तिर्छ ।
कतिपय नचाहेका कुरा हुन्छन् । भवितव्य पनि हुन्छ । वित्तीय अनुशासन पालना नगर्ने उद्यमी व्यापारीहरू पनि हुन्छन् । कोही जथाभावी खर्च गर्ने हुन्छन् । त्यसले कानुनी बाधा व्यवधान ल्याउन सक्छ ।
बैङ्कको चाहाना कहिल्यै पनि आफ्ना ग्राहकलाई मारौं भन्ने हुँदैन । आफ्ना ग्राहकलाई सिध्याइदिउँ वा सडकमा पुर्याउँ भन्ने बैङ्कको चाहाना कहिल्यै पनि हुँदैन । किनकी ग्राहकले सफलता हासिल गरेमात्रै बैङ्कहरूले सफलता हासिल गर्ने हो । ग्राहकहरूले कमाएर बैङ्कलाई तिर्नुभयो भने मात्रै बैङ्कले कमाउने हो ।
कहिलेकाहीँ समयको लचकताका आधारमा तीन महिना पछाडि तिर्छु भन्दा समस्यालाई समाधान गर्न सकिन्छ र त्यस्तो गरिरहेका पनि छौं । अन्तिम अवस्थासम्म पनि असुल नभएमा मात्रै हामीले कानुनी प्रक्रियामा लैजाने हो । तैपनि अन्तिम अधिकार ऋणी कै हुन्छ । उहाँहरू अन्तिम समयसम्म आउनुभयो भने पनि उहाँहरूलाई दिनुपर्छ भन्ने ठान्छौं । त्यसैले बैङ्कहरू लचकदार हुन्छन् ।