
कर्णाली प्रदेशमा अलि सम्भावना भएको भनेको पर्यटन नै हो । पर्यटनसँग सम्बन्धित अरू चिजहरूसँग पनि सँगै जान सकिन्छ । कर्णालीमा कोदो फल्छ । सबैभन्दा धेरै जौ फल्ने ठाउँ पनि यहीं हो । जडीबुटीको कुराहरू छ । स्याउ, ओखर फल्छ । तर धेरैजसो कुरा कुहिएर जान्छ । यहाँको अर्गानिक कृषिलाई प्रवद्र्धन गर्नु जरुरी छ ।
हाम्रो शरीरमा तागत हुँदा बित्तिकै पढाई छोडेर नजिकको नाकाबाट भारतमा काम गर्न जाने प्रचलन छ । गाउँमा केटाकेटी र पाका मान्छे मात्रै बस्छन् । खेतहरू पनि बाँझै छन् । उद्यमशीलता भन्दा पनि हाम्रो सोच अलिकति सानो जागिर खान सके खाइहाल्ने नसके छ महिना भारतमा गएर काम गर्ने र बाँकी छ महिना त्यही पैसा खर्च गरेर खाने प्रवृत्ति छ । यो प्रवृत्तिबाट अलिकति बाहिर जान आवश्यक छ ।
कर्णाली प्रदेश हरेक सूचकहरूमा पछाडि छ । ती सूचकाङ्कहरू लाई माथि ल्याउन पहिले सम्भावनाहरूको पहिचान गर्नुपर्छ । त्यसको लागि सुरुमा भौतिक पूर्वाधार आवश्यक पर्छ । अहिले कतिपय स्थानमा बाटो नै पुगेको छैन । बाटो नै नपुगेपछि त बाँकी केही पनि सम्भव हुँदैन । त्यसैले सरकारले सम्भावना भएको क्षेत्रहरूमा सबैभन्दा पहिले बाटो बनाउनु पर्छ ।
अनि कृषिको सम्भावना भएको क्षेत्र पहिचान गरेर कहाँ कति उत्पादन हुन्छ, उत्पादनको भण्डारण र सुरक्षित तवरले बजारसम्म पुर्याउने तथा बजारीकरणको व्यवस्थापन गर्नुपर्छ । त्यसपछि हामीले हामीसंग भएको मार्सी चामल, स्याउ, भेडा आदि बेच्न सक्छौं । तर हामीले अहिले जुम्ला कालिकोटमा पनि ब्रोइलर कुखुरा पठाइरहेका छौं ।
काठमाडौंमा लोकल कुखुरा पाइन्छ तर गाउँमा पाइँदैन । किनकी हामी हिंडेको बाटो उल्टो छ । पहिलो कुरा त वित्तीय साक्षरताको कमी छ । दोस्रो कुरा उद्यमशीलताको विकास पनि यत्तिकै हुने होइन । हामीमा अरुको नक्कल गर्ने बानी छ ।
कर्णाली उत्सवले वहसको थालनी गरेको छ जुन राम्रो हो । अब स्थानीयस्तरम पनि यस्ता कार्यक्रम हुनु जरुरी छ । यसले जनचेतना जगाउँछ ।
हामीलाई राज्यले नदिएको पनि होइन तर त्यो कुरा हामी आफैलाई थाहा छैन । सहुलियतपूर्ण कर्जामा कति धेरै सम्भावनाहरू छन् । अहिले आफूसँग भएको शैक्षिक प्रमाण पत्र धितो राखे पुग्छ । अझ महिलाको हकमा १५ लाखसम्म पाइन्छ ।
म आबद्ध बैङ्कको आधारभूत व्याज दर ५ दशमलव ७६ प्रतिशत हो भने त्यसमा २ प्रतिशत थपेर ७ दशमलव ७६ प्रतिशतको दरमा मैले कर्जा दिनुपर्छ । त्यो कर्जामा अरू कुनै शुल्क लिन पाइँदैन । धितो पनि लिन पाइँदैन । सरकारले व्याजमा ६ प्रतिशत अनुदान दिन्छ भने १ दशमलव ७६ प्रतिशत दरमा १५ लाख रुपैयाँ ऋण लिएर कुनै व्यवसाय शुरु किन नगर्ने? यस्तै विदेशबाट फर्केको मानिसले सानो व्यवसाय वा उद्यम किन नगर्ने? बरु विदेश गएरै दुःख गर्छु भन्ने मानसिकता बदल्नुपर्यो । हामी नकारात्मक कुराहरू प्रति बढी नै आकर्षित भयौं । अरुलाई दोष मात्रै दिएर भएन । काम गर्न अग्रसर हुनुपर्यो ।
त्यसैले पहिला जानकारी लिनुस् । आफ्नो हकहरूबारे थाहा पाउनुस् । हामी सम्पूर्ण बैंकरहरूको तर्फबाट भन्छौं तपाईंहरू सहुलियतपूर्ण कर्जा लिन जानुभयो र त्यो बैंकले दिएन भने नेपाल राष्ट्र बैङ्कमा फोन गरेर गुनासो टिपाउनुस् । राष्ट्र बैङ्कले तुरुन्तै उक्त बैङ्कको सिइओलाई भनेर तपाईंलाई सहुलियतपूर्ण कर्जा दिन बाध्य गराउँछ । सम्भावनाहरू पहिल्याएर आउनुहोस्, बैङ्कले साथमा साथ हातमा हात दिन्छ । ग्राहकको समृद्धिबिना बैङ्कको समृद्धि सोच्न समेत सकिंदैन ।
अहिले गाउँ गाउँमा बैंक खुलेका छन् । बैंकहरुबीच पनि प्रतिष्पर्धा छ । हामीलाई पनि बिजनेसको दबाब छ । बोर्डले व्यवस्थापकलाई, व्यवस्थापकले शाखालाई दबाब दिन्छ नै । तर मैले ग्राहकलाई सेवा दिइनँ भने अर्कोले आइज कि आइज भनेर तानेर लैजान्छ । हिजोको तुलनामा बैंकको नाफा पनि घटेर गएको छ । गाउँ गाउँमा शाखा लैजाँदा हेलिकप्टरबाट नगद पुर्याउनुपर्छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको प्रयोग हामीले वित्तीय साक्षरताको लागि गरेका छौं । कर्णालीका १५ देखि ५९ वर्ष उमेर समूहका ६९ प्रतिशत महिलाहरूले मोबाइल बोक्नुहुन्छ तर जम्मा २८ प्रतिशतको मात्रै बैङ्क खाता छ । अहिलेसम्म २० हजार ९ सय जनाले करिब ४७ अर्ब सहुलियत कर्जा लिएका छन् भने शिक्षित बेरोजगार कर्जा लिने जम्मा ३८ जना छन् । शिक्षित बेरोजगारहरूले यो भएन, ऊ भएन भन्ने तर आफ्नो जिम्मेवारी याद नगर्ने जस्तो भएको छ । चेतना जगाउने काम बैङ्क, युवा, मिडिया, सरकार सबैको हो ।
बैङ्कहरूले ब्याजमा पैसा लिने र दिनेबाहेक अरू काम किन गर्दैन भन्ने कुरामा प्रष्ट पार्न चाहन्छु । बैङ्कको काम नै त्यही हो । बैङ्क भनेको वित्तीय मध्यस्थकर्ता हो । हामीले सबै गर्छौं भन्यौं भने त्यो भ्रम हो । हाम्रो काम वित्तिय मध्यस्थता गर्ने हो । बाँकी संस्थागत सामाजिक उत्तरदायित्व बाहेक केही काम गर्दैनौं । गर्न अनुमति पनि हुँदैन । हामीमा उद्यमशीलताको चेत निर्माण भयो भने बाँकी परिवर्तन आफै हुन्छ ।