
पैसा मलाई जीवन हो जस्तो लाग्छ । किनभने हाम्रा दैनिक क्रियाकलापहरू बिहान उठ्दादेखि राति सुत्ने बेलासम्म कुनै न कुनै रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसासँग जोडिएका हुन्छन् । पैसा विनिमयको आधार हो । पहिले वस्तुको विनियम हुन्थ्यो । यसलाई सरलीकृत गर्न पैसाको आविष्कार भयो । त्यसपछि खरीद विक्रीको कुरा भयो । आज हाम्रा हरेक आवश्यकता पैसाकै माध्यमबाट परिपूर्ति हुन्छन् । व्यवसाय सञ्चालन वा विकास निर्माण पनि पैसासंगै गाँसिएको छ । अतः स्रोत साधनलाई राम्रो ढङ्गले प्रयोग गर्ने माध्यम पनि पैसा नै हो ।
जबसम्म बैङ्कको पहुँच हुँदैन तबसम्म विकासका कुराहरू अथवा वित्तिय स्रोत परिचालन वा वित्तिय पहुँचका कुराहरू सम्भव हुँदैनन् । सबैभन्दा पहिलो आधार बैङ्किङ अथवा वित्तिय पहुँच हो ।
वित्तीय पहुँचका धेरै मोडालिटी छन् । हामीले अहिले शाखारहित शाखाको कुरा पनि गरेका छौं । पछिल्लो समय डिजिटल बैङ्किङका कुराहरू पनि आए । जुनसुकै माध्यमबाट भएपनि बैङ्किङ पहुँच देश विकासको अनिवार्य शर्त हो ।
बैङ्किङ पहुँचसंगै वित्तिय साक्षरताको पनि उत्तिकै महत्व छ । हामीले वित्तिय साक्षरताका लागि पनि काम गर्नुपर्छ । वित्तिय चेतना, वित्तिय साक्षरता र वित्तिय पहुँचले मात्रै मानिसहरूलाई वित्तिय सञ्जालमा जोड्छ ।
वित्तिय सञ्जालमा जोडिनु भनेको एकातिर आफूसँग भएको निष्क्रिय पुँजीलाई सुरक्षित तवरले राख्नु र आवश्यक परेको बखत फिर्ता लिन सक्नु हो । अर्कोतर्फ कसैको निष्क्रिय पुँजीलाई कसैले कर्जाको माध्यमबाट सक्रिय बनाइदिन्छ । ठूला व्यवसाय, कलकारखाना, होटल, आदि त्यही सक्रिय पूँजीको उपज हो । सरसर्ती हेर्दा फलाना व्यक्तिको यति सम्पत्ति छ भन्ने देखिन्छ तर त्यहाँभित्र सबैको पैसा हुन्छ । बैङ्कको पैसा भनेको पनि जनताकै निक्षेप हो ।
परम्परागत सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा दुईखाले समस्या देखिए । पहिलो कुरा सही मान्छेले पाएन । दोस्रो बिचौलियाको बिगबिगी भयो । त्यसैले जसले पाउनुपर्ने हो उसैले पाउनुपर्छ भन्ने कुराको समाधान गर्न बैङ्किङ प्रणाली अवलम्बन गरिएको हो । जहाँसम्म दुर्गमको कुरा छ त्यहाँका स्थानीय तह, तिनका वडा कार्यालय र बैङ्कले साझेदारी गरेर एउटा प्रक्रिया अपनाउन सकिन्छ ।
न्यून आय भएका मजदुर किसानहरूलाई बैङ्कको पहुँचमा पुर्याउन नेपाल सरकारले आजभन्दा दुई वर्ष अगाडि सात वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा ल्यायो । अहिले थपेर नौ वटा शीर्षक बनाएको छ । सहुलियतपूर्ण कर्जाको चुरो कुरो उद्यमशीलतासंग सम्बन्धित छ । जोसंग उद्यम गर्ने जाँगर छ तर पुँजीको अभाव छ भने उसलाई बैंकसंग जोड्ने हो ।
कृषि, महिला उद्यमशीलता, वैदेशिक रोजगारीबाट फर्केका युवा, परम्परागत पेशाको विकास, शिक्षित बेरोजगार युवा, उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन आदि सहुलियतपूर्ण कर्जाका क्षेत्र हुन् । यद्धपी यसका लागि सोच र योजना जरुरी छ । सहुलियत ऋणको व्याजदर दुई तीन प्रतिशत मात्रै छ । त्यसैले केही गर्ने जोश जाँगर भएका मानिस कर्जा लिन बैङ्कमा आउनुपर्छ । यसको मुख्य उद्धेश्य भनेको उत्पादन र रोजगारीमा वृद्धि हो ।
राष्ट्र बैङ्कको निर्देशन अनुसार अहिले प्रत्येक बैङ्कको प्रत्येक शाखाले कम्तीमा १० वटा सहुलियतपूर्ण ऋण अनिवार्य रूपमा दिनुपर्छ । अनिवार्य दिइएन भने जरिवाना लाग्छ । यसमा नागरिकहरुले राष्ट्र बैङ्कसमक्ष उजुरी गर्न सक्छन् । कर्जा नदिने बैङ्कहरूलाई थप कारबाही समेत हुन्छ ।
अतः सरकार र केन्द्रीय बैङ्कले परिश्रमी मान्छे तथा मजदुर किसानहरूलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको हो । जलविद्युत, कृषि र पर्यटन त राज्यको प्राथमिकताका क्षेत्र नै हुन् । हामीले कृषिमा १० प्रतिशत लगानी गर्नैपर्छ । पर्यटन र जलविद्युत्मा हाकिमले १५ र २५ प्रतिशत लगानी गर्नैपर्छ । त्यसैले हामीले पर्याप्त लगानी गरेका छौं ।