
सार्वजनिक बहसका कार्यक्रममा शिक्षाको कुरा कमै मात्र गरिन्छ । कर्णाली उत्सवमा शिक्षाको सत्र देखेर म औधी खुशी छु । तर अझैपनि शिक्षाको कुरा गरिरहँदा शिक्षक, विद्यार्थी र अभिभावकहरू आउन किन रुचाउनुभएन?
शिक्षामा परिवर्तन ल्याउन धेरै वर्ष खट्नुपर्छ । अन्नबाली एकै सिजनमा उत्पादन हुन्छ । त्यसले आम्दानी दिन्छ र परिवार पनि पाल्छ । बिरुवा रोप्ने हो भने त्यसले पनि केही वर्षमै परिणाम दिन्छ । तर शिक्षामा परिवर्तन ल्याउन अहोरात्र खट्नुपर्छ । त्यसमा विज्ञ, प्राविधिक टिम, बौद्धिक वर्गका साथै अवधि, विधि र अनुभूति आदि हुनुपर्छ जसले शिक्षा बुझेको होस् ।
विद्यालय खोल्दैमा र झोला बोकेर बालबालिका विद्यालय जाँदैमा त्यो पूर्ण शिक्षा हुन सक्दैन । विद्यालयमा गएर बालबालिकाले सिकेका कुरा उनीहरूको ज्ञान र सीपसँग मापन हुनुपर्दछ । बालबालिकाले निश्चित तह पूरा गरिसकेपछि व्यवहारमा प्रयोग गर्न सक्ने खालको शिक्षा हामीकहाँ जरुरी छ ।
हरेक वर्ष हामीले कति बजेट शिक्षामा लगानी गरेका छौं? बजेटको धेरै हिस्सा शिक्षकको तलबमा खर्च हुन्छ तर त्यो मिहिनेतको पारिश्रमिक हो । शिक्षकले १० देखि ४ बजेसम्म विद्यालयमा बसेर पूरै समय बौद्धिक क्षमता प्रयोग गरे पुग्छ ।
हाम्रोमा शिक्षासम्बन्धी नीति धेरैजसो कागजमा मात्रै सिमित छन् । ती कुरा व्यवहारमा प्रयोग हुनुप¥यो । अब स्थानीय तहहरुले शिक्षा क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ । जब शिक्षालाई राजनीतिको अभिन्न अङ्ग मान्न सक्दैनौं तबसम्म राजनीति र शिक्षाको सहकार्य केवल आफ्ना मान्छेलाई शिक्षक बनाउने काममा मात्रै सिमित हुन्छ ।
शिक्षक कस्ता छन् वा कस्तो हुनुपर्छ भन्ने कुरा पनि राजनीतिँगै जोडेर लैजान पाए कति राम्रो हुन्थ्यो । विद्यालयको पठनपाठन, शिक्षकको जिम्मेवारी, बालबालिकाको भविष्यका साथै भोली देश कतातिर जाँदैछ भन्ने कुरा पनि शिक्षाकै विषय हुन् ।
के हाम्रा शिक्षकहरु दक्ष छन्? उनीहरुको सीप र क्षमता विकास गर्न के के जरुरी छ भन्ने कुरा नै नहेरी आन्दोलन गर्ने कुरालाई मात्र शिक्षाको राजनीतिसँग जोडिएको छ ।
बालबालिकाहरूलाई हामीले विद्यालयमा झिकाउने, टिकाउने, सिकाउने अनि बिकाउने चार वटा उद्देश्य लिएको खोइ? कर्णालीमा त झनै दुई तीन घण्टा हिँडेर साना साना विद्यार्थी विद्यालय जान्छन् । त्यति लामो बाटो हिंडेर आउने बालबालिकालाई विद्यालयले कक्षाकोठाभित्र वा बाहिर राखेर समयको सही सदुपयोग किन नगर्ने? के विद्यालय प्रशासन जिम्मेवार हुनु पर्दैन? कहिले शिक्षक छैन, कहिले फलानो चाड, कहिले फलानाको बिहे, छ, कहिले फलानोकोमा पूजाआजा हुँदैछ भनेर पनि विद्यालयमा पढाई हुँदैन । कसैको भोजमा भतेर पकाउन पनि विद्यार्थी लगिन्छ । यस्ता धेरै केसहरू छन् ।
यस्तै शिक्षक तालिममा सिद्धान्तका कुरा मात्रै हुन्छन् । जब तालिममा व्यवहारिक कुराले प्रवेश पाउँदैन तब विद्यार्थीलाई के सिकाउने? म आफैले अनुभव गरेको छु कि अङ्कगणित, बिजगणित, ज्यामितिको व्यवहारिक प्रयोग कहाँ र कसरी गर्ने?
बालबालिकालाई पढाईको महत्व बुझाउन नसक्दा शिक्षाप्रति नकारात्मक सोचको विकास हुनसक्छ । पढेर के हुन्छ र बरु विदेश गएर टन्न कमाउने हो भन्ने सोच व्याप्त छ ।
शिक्षालाई मौलिकताको जगेर्ना गर्न र जीवनोपयोगी सीप सिकाउन प्रयोग गर्नुपर्छ । स्थानीय तहले पाठ्यक्रम निर्माण गर्दा यस्ता कुरालाई ध्यान दिनुपर्छ । शिक्षाले विषयवस्तुको अवधारणा प्रष्ट पार्न सक्नुपर्छ । घोकन्ते वा परीक्षामुखी पढाईले शिक्षालाई तनावयुक्त बनाउँछ । व्यवहारिक शिक्षाले ज्ञान र आनन्द दुबै दिन्छ । रमाइलो गरी सिकेको कुरा दिगो हुन्छ ।
शिक्षाले बालबालिकाको आवश्यकतालाई ध्यान दिनुपर्छ । शिक्षकले मध्यस्तकर्ता वा सहजकर्ताको भूमिकामा हुनुपर्छ । अशल शिक्षाले नै अशल बिद्यार्थी र अशल नेता जन्माउन सक्छ । शिक्षाले देशको भविष्य निर्धारण गर्ने हो । तर हाम्रोमा राजनीति गर्न पढ्न नपर्ने बुझाई छ ।
पढ्नुको उद्देश्य पैसा कमाउनु मात्रै होइन । व्यवहार चलाउनको लागि पैसा कमाउनुपर्छ । पैसा नभई पनि चल्दैन । यद्धपी शिक्षाको सबैभन्दा महत्वपूर्ण उद्धेश्य भनेको अशल नागरिक निर्माण गर्ने हो । समाजमा कायम विभेद हटाउने हो । हामी शिक्षाको मुख्य उद्धेश्यबाट विचलित भएका छौं । पढाइलाई सार्थक जीवनसंग जोड्नुपर्छ । हाम्रो आवश्यकतासंग जोड्नुपर्छ ।
कर्णालीका धेरै जिल्लामा समयमा पाठ्यपुस्तक पुग्दैन । यसमा को जिम्मेवार छ? को दोषी छ? पाठ्यपुस्तक नपाउँदा बालबालिका शिक्षाबाटै विमुख हुन्छन् । यस्ता कुरामा स्थानीय राजनीतिक, बौद्धिक व्यक्ति र नागरिक समाजहरूले खबरदारी गर्नुप¥यो ।
यसमा राजनीतिक नेतृत्वको कुरा आउँछ । आखिर नेता कसले छानेको हो? सरकार कसले बनाएको हो? के हामी त्यसका मतियार होइनौं? हामीले किन त्यस्तो व्यक्तिलाई छान्यौं त? छान्ने बेलामा हामीले किन ध्यान नपुर्याएको त?
व्यवहारिक शिक्षाले हामीलाई यो कुरा पनि सिकाउँछ । अरुलाई कुनै कुरा बुझाउनु अघि सबैभन्दा पहिले आफैले बुझ्न जरुरी छ । जस्तै एउटा कक्षाको कुनै पाठमा लखनको परिवारबारे लेखिएको छ । तर परीक्षामा लखन कहाँ बस्छ भन्ने प्रश्न आउँछ । अनि विद्यार्थी फेल हुन्छ । प्रश्न त तिमि कुन गाउँमा बस्छौ भन्ने सोध्नुपर्छ ।
शिक्षक, प्राध्यापक, लेखक तथा सरोकारवालाले पाठ्यक्रमलाई कसरी प्रयोग गर्ने भन्ने कुरा बुझ्न जरुरी छ । अनि त्यो कुरा विद्यार्थीलाई बुझउन जरुरी छ । शिक्षालाई गुणस्तरीय बनाउन बालबालिकाको क्षमता अभिवृद्धिका साथै उनीहरुको चौतर्फी विकास, बालमैत्री विद्यालय, बालमैत्री भाषा बालमैत्री वातावरण आदि कुरामा ध्यान दिनुपर्छ ।
शिक्षामा उत्प्रेरणा जगाउन भाषा पनि महत्वपूर्ण कुरा हो । हामीले मातृभषा शिक्षामा पनि जोड दिनुपर्छ । अहिले विद्यालयमा दिवा खाजा कार्यक्रम छ । सरसफाईसम्बन्धी अभियानहरु छन् । जुन राम्रो कुरा हो ।
अन्त्यमा, बालबालिका फेल हुनु भनेको शिक्षक फेल हुनु हो । शिक्षा प्रणाली फेल हुनु हो । समाज फेल हुनु हो । देश फेल हुनु हो ।


