
ऋति फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सव, कुडा कर्णालीकाको दोस्रो संस्करण २०७७ को शिक्षा सम्बन्धी सत्र ‘पढ्नु पड्डोछ’ मा आउनुभन्दा अगाडि हामी स्टेज नजिकै गफ गर्दै थियौँ । त्यसैबेला मैले एकजना आयोजक साथीलाई भनेँ, ‘मलाई अन्य कार्यक्रमहरू भन्दा यो कार्यक्रम अलि फरक लाग्यो । भित्र के छ त्यो त म देख्दिनँ । तर बाहिरबाट हेर्दा एकदमै व्यवस्थित छ ।’ उहाँले दिएको उत्तर के थियो भने, ‘यो कार्यक्रम अहिले जसले व्यवस्थापन गरिरहेको छ, त्यो टिम युवाहरूको जमात हो ।’
सर्वप्रथम म कर्णाली उत्सवको आयोजक युवा साथीहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँले त्यो उत्तर दिँदै गर्दा मेरो मनमा लागेको जिज्ञासा, यो कार्यक्रमजस्तै हाम्रो देश पनि युवाहरूले व्यवस्थापन गर्थे भने कति व्यवस्थित अनि कति विकसित हुन्थ्यो होला ।
हाम्रो देशमा अहिलेसम्म राजनीतिले शिक्षालाई हेरेको छैन । अहिलेसम्म शिक्षामा राजनीति भएको छ तर शिक्षाको राजनीति भएको छैन । त्यसैले म जुन दलको प्रतिनिधित्व गर्छु, त्यसले चाहिँ शिक्षाको राजनीति गर्नुपर्छ भनेर लागिराखेका छ ।
शिक्षाको राजनीति हुनुपर्छ भनिराख्दा म आज समाजवाद उन्मुख देशको राजनीतिको केन्द्रमा शिक्षा पाउँदिन । मलाई बडो दुःख लाग्छ । आज राजनीतिको प्रमुख मुद्दा शिक्षा छैन । बजेट निर्धारण गर्दा शिक्षालाई प्राथमिकता दिइँदैन । संसद्को बहसमा पनि शिक्षाको मुद्दा कहिल्यै उठ्दैन । संसदमा छैन, राजनीतिक दलमा छैन, देशमा छैन अर्थात् शिक्षा राजनीतिको केन्द्रमा छैन भन्ने लाग्छ ।
मैले धेरै राजनीतिज्ञहरूलाई यो प्रश्न सोध्ने गर्छु । उहाँहरूले एउटा बाध्यता सुनाउनुहुन्छ, शिक्षाको राजनीति गर्नु भनेको लामो समयको लागि राजनीति गर्नु हो ।
आज हामीले ल्याएको शिक्षा नीतिले नतिजा दिन धेरै समय पर्खनुपर्छ । करिब १० देखि २० वर्षसम्म लाग्न सक्छ । त्यति लामो समयसम्म कुर्ने र नतिजा निकाल्ने धैर्यता अहिलेका राजनीतिज्ञहरूसँग छैन । अर्को महत्वपूर्ण कुरा शिक्षाको राजनीतिको बारेमा नागरिकहरूलाई भनिरहँदा त्यति चाखलाग्दो कुरा हुँदैन । मैले कतिपय कुराहरूमा संवाद गर्दा उहाँहरुले हाम्रो कुरालाई ‘ठिकै हो’ भन्नुहुन्छ । तर यही कुरा जातियता, भूगोल, क्षेत्रीयताको कुरा गर्दा समाजले सहजै स्विकार्ने र उत्तेजित हुने हुन्छ । त्यसकारण हामीकहाँ शिक्षाको राजनीति गर्न रुचाइँदैन ।
म कतिजना जनप्रतिनिधिहरूसँग कुरा गर्छु, शिक्षाको कुरा गर्नेबित्तिकै उहाँहरूले बजेटमा छुट्याउने भनेको छ वा हाम्रो घोषणापत्रमा लेखेको छ मात्रै भन्नुहुन्छ । शिक्षाको राजनीति भनेको बजेट निर्धारण गर्नुमात्रै होइन । तपाईंले गरेको शिक्षाको राजनीतिको कारणले हजारौं शिक्षकहरूलाई विद्यार्थीहरूप्रति जवाफदेही कसरी बनाउँछ? त्यो राजनीतिले बुझ्न जरुरी छ । त्योसँगै शिक्षकहरूले कसरी आफ्नो ज्ञानलाई अद्यावधिक गर्न सक्छन् त्यो बुझ्न जरुरी छ ।
आफ्ना सन्तानलाई विद्यालयमा पु¥याउनका लागि अभिभावकहरूले गर्नुपर्ने योगदान र त्यागको चेतना दिलाउन सक्नु भनेको पनि शिक्षाको राजनीति हो । शिक्षाको राजनीति गर्नु भनेको विद्यार्थी असफल हुँदा उसलाई गाली गर्नु होइन । उसलाई पढाइरहेको पाठ्यक्रमलाई प्रष्ट पार्नु हो । उक्त पाठ्यक्रम परिवर्तन गर्नु हो । विद्यालयको शैक्षिक र त्यहाँको व्यवस्थापनलाई थप प्रष्ट्याउनु हो । त्यसैले शिक्षाको राजनीति गहन छ र त हाम्रो राजनीतिले नबुझेजस्तो मलाई लाग्छ ।
हामीले हरेक छलफलमा समाजमा हिंसा, बेरोजगारी भयो भनेर भनिरहेका हुन्छौँ तर त्यसको औषधी भनेको शिक्षा हो भनेर हामीले बुझ्दैनौँ ।
हामीले गर्ने राजनीतिले पढ्नुपर्छ, सिक्नुपर्छ र नतिजा परिणाममुखी हुनुपर्छ भन्छ । समग्र राजनीतिमा त्यो देखिँदैन । हामीले त्यसलाई नै चिर्ने प्रयास गर्दैछौं । अबको राजनीतिको केन्द्रमा शिक्षा हुनुपर्छ । बेरोजगारी, हिंसा, असमानता लगायतका धेरै कुराहरूको समाधान शिक्षामा रहेको छ । त्यसैले शिक्षालाई साथमा लिएर राजनीतिक दल र राजनीतिज्ञहरूले अगाडि बढ्ने हो भने समाजमा रहेका अधिकांश समस्याहरू समाधान हुन्छन् ।
राजनीति गर्न मानिस योग्य र सक्षम हुनुपर्छ । उसले आफ्नो भूगोल र नागरिकहरूलाई बुझेको हुनुपर्छ । यसमा कुनै दुविधा छैन । राजनीतिज्ञको सर्टिफिकेट चाहिन्छ कि चाहिँदैन भन्ने कुरालाई कसरी हेर्ने भन्ने कुरा हो । मैले स्नातकोत्तर अध्ययन गरेको छु । तर एसएलसी पास गरेको साथीहरू मैलेभन्दा धेरै भूगोल र नागरिकहरूलाई बुझेको समाजलाई बुझेको भेटेको छु ।
त्यसैले विश्वविद्यालयले दिने प्रमाणपत्रकै आधारमा सक्षम, योग्य र शिक्षित भनेर मापन गर्दा त्यो भुल हुन्छ । एउटा अधार त्यो हुनसक्छ तर त्यो मात्रै मापनको विधि हुनु हुँदैन । तर राजनीति गर्ने मान्छे पढेको, बुझेको र उ सधैँ ज्ञानको मामलामा अधावधिक भएको हुनुपर्छ ।
हाम्रो शिक्षामा समस्या छ । हामीसँग तथ्याङ्क त छैन होला तर नेपालमा सबैभन्दा बढी शिक्षित नागरिकहरू कहाँ छन् भनेर सोध्यो भने केही नसोचीकन काठमाडौँ भन्छौं । योसंगै नेपालको सबैभन्दा फोहोर शहर कुन हो भन्दा पनि उत्तर काठमाडौँ नै हुन्छ । त्यसैले पढ्नु, शिक्षित हुनु र त्यसलाई व्यवहारमा लागू गर्नु फरक कुरा हो ।
सिद्धान्त र प्रयोगात्मक कुरा व्यवहार वा काममा गइरहेको छैन । हाम्रो शिक्षाले दिनुपर्ने दुई–तीन वटा कुराहरू छन् । पहिलो कुराः शिक्षाले हामीलाई संस्कार सिकाउने हो । दोस्रो कुराः तपाईंले गरेको काम कति उत्पादनमुलक र प्रभावकारी छ त्यो थाहा पाउनुप¥यो । नागरिकहरूको सिपलाई पाठ्यक्रमबाटै तिखार्नुपर्छ । छिमेकी मुलुक भारतको दिल्लीको उदाहरण हेर्दा त्यहाँ ह्यापिनेस करिकुलम बनाएर कसरी खुसी हुने भनेर पढाइरहेका छन् । जीवनको अन्तिम लक्ष्य खुसी हुनु होला नि त ।
मान्छे किन जागिर खान, पढ्न पैसा कमाउन चाहन्छ भन्दा खुसी हुन नै होला । उनीहरूले कसरी खुसी हुने भनेर विद्यार्थीलाई सिकाइरहेका छन् । त्यसभित्र समस्या समाधानदेखि आलोचनात्मक चेतका कुरा छन् । त्योसँगै उद्यमशीलताका कुरा छन् । आफ्नो घरमा भएका उत्पादन र सामग्रीहरूलाई कसरी बजारीकरण गर्ने भन्ने कुरा शिक्षासंगै जोडिएको हुन्छ ।
हाम्रो मुख्य समस्या भनेको हाम्रो स्कुल जेल को मोडेलमा बनाइयो । त्यो खुला भएर बाहिर समाजमा पुग्नै सकेन । जेलमा एउटा जेलर हुन्छ स्कुलमा प्रधानाध्यापक हुन्छ । कक्षामा हुने संरचनाहरू जेलमा पनि त्यस्तै हुन्थ्यो सुरुसुरुमा । स्कुलमा घण्टी हुन्छ जेलमा पनि हुन्छ । स्कुललाई जेलको मोडेलबाट स्कुलको मोडेलमा परिवर्तन गर्नु पर्छ भनेर भनिन्छ ।
हाम्रो स्कुलमा विद्यार्थीलाई भित्र राखेर जबरजस्ती सिकाउने भन्दा पनि उनीहरूलाई खुला राखेर अभिव्यक्त गर्न सिकाउनुपर्छ भन्ने लाग्छ । अहिलेको शिक्षा अभिभावक, शिक्षक र स्कुल केन्द्रित छ तर विद्यार्थी केन्द्रित छैन । अबको शिक्षा विद्यार्थी केन्द्रित बन्नुपर्छ ।
सुरुमा हाम्रो शिक्षा नीति र राजनीतिक दलको नीति चाहिँ स्पष्ट हुनुपर्छ । अहिलेसम्म हामीले जति नीति बनाएका छौँ त्यसको प्राथमिकतामा कसरी विद्यार्थीहरूलाई विद्यालयमा हुल्ने भन्ने मात्रै छ । विद्यालयमा गइसकेपछि विद्यार्थीहरूलाई कसरी दक्ष बनाउने र बाहिर आएपछि कसरी काम गर्न सक्ने बनाउने भन्ने हाम्रो शिक्षा नीतिले स्पष्ट पार्नुपर्छ ।
सार्वजनिक विद्यालयहरूको स्तरोन्नतिमा अब हाम्रो ध्यान जानुपर्छ । अबका केही वर्ष प्राथमिकतामा शिक्षालाई राख्नुपर्छ । यहाँ त के भयो भने एउटा विद्यार्थी र एउटा शिक्षक विद्यालयमा छिर्दाखेरि मैले यहाँ पढेर वा पढाएर केही पनि हुँदैन भन्ने भाव उसभित्र आउँछ भने उसले केही गर्न सक्दैन ।
हरेक विद्यार्थी र हरेक शिक्षक विद्यालयमा छिर्दाखेरी नै म उत्तम विद्यालयमा पढिरहेको र पढाइरहेको छु भन्ने वातावरण बनाउन सक्दैनौँ भने त्यसबाट उत्तम नतिजा न शिक्षकले दिन सक्छ न विद्यार्थीले ।
अर्को कुरा विद्यार्थीले पढाई छोड्नुमा केही सामाजिक आर्थिक कुराहरू छन् । यसमा हामीले ध्यान दिएर एउटा अभिभावकले किन आफ्नो बच्चालाई विद्यालय पठाउन सकिरहेको छैन? उसको घरको समस्या के छ? भन्ने कुरासम्म पनि हाम्रो शिक्षा नीतिले ध्यान दिनुपर्छ ।
हामीले पढाइरहँदा विद्यार्थीहरूले किन पढ्ने भन्ने प्रश्नको उत्तर दिन सकिरहेका छैनौँ । सबैले पढिरहेका छन् त्यसैले पढेको जस्तो भएको छ । त्यसैले हाम्रो विद्यालयले विद्यार्थीलाई किन पढ्ने र अभिभावकलाई किन पढाउने भन्ने बुझाउनुपर्छ ।
अबको मुख्य चुनौती हिजोको दिनमा प्रविधि थिएन सिक्नका लागि शिक्षकलाई भेट्न विद्यालयमै जानुपथ्र्यो । अबको शताब्दीमा हामीले दिने ज्ञान इन्टरनेटमा छ भने किन विद्यालय जाने भन्ने प्रश्नको उत्तर दिन जरुरी छ । त्यसैले विद्यार्थीले सिकेको कुरा व्यवहार र संस्कारमा ल्याउन सक्नुपर्छ भन्ने बुझाउन जरुरी छ ।