योगेन्द्र शाही, सदस्य, कर्णाली प्रदेश योजना आयोग

‘कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन, वैरागीका बाँझा मन डुली अघाउँदैन’ भन्ने यो लोकोक्तिले कर्णाली कसरी पछाडि पर्यो, विकास किन घुमाउरो बाटो भएर कर्णाली आइपुग्छ? कर्णालीमा किन पाठ्यपुस्तक समयमै आइपुग्दैन? जस्ता कुरासँग सम्बन्धित छ । त्यसमा हाम्रा आत्मगत कुराहरू पनि होलान् तर देशको अर्थ राजनीति, हाम्रो देशको सामाजिक अर्थ व्यवस्था र हाम्रै कतिपय सरकारका कामपनि जिम्मेवार छन् । तर कर्णाली गरिब वा मागीखाने भाँडो हो भन्ने चिन्तन बदल्नु छ ।
भारतमा सिक्किम र हिमाञ्चल धनी बन्न सक्छन् भने कर्णाली प्रदेश किन धनी बन्न सक्दैन? कहीँ हाम्रो विकासको ढाँचामा त केही खराबी छैन? यो सोचनीय कुरा छ । जहाँसम्म सामाजिक र मानव विकासको विषय हो यो नितान्त हामीले केन्द्रमा नै राखेर त्यसका लागि नै पूर्वाधार बनाउने हो भन्ने हाम्रो सरकारको बुझाइ छ । योजना आयोगको .धारणा छ ।
हामीले नाराकै रूपमा पनि ‘सामाजिक र आर्थिक रूपान्तरणका लागि पूर्वाधारको निर्माण’ भनेका छौं । हामीले स्कुलका पूर्वाधार, अस्पतालका पूर्वाधार, जनताको चेतना, शिक्षासँग जोडेर हामीले ती पूर्वाधारहरू निर्माण गर्ने हो ।
अहिले पनि डोल्पामा बाटो जोडियो भनेता पनि छ ठाउँमा गाडी बदलेर जानुपर्ने अवस्था छ । पुलहरू छैनन् । हुम्लामा त अझै बाटो जोडिएको छैन । सिमकोटमा चीनतिरबाट पहिला बाटो जोडिएको हो ।
कर्णालीको पूर्वाधारमा जुन प्राथमिकताका साथ कामहरू हुनुपर्थ्यो त्यो भएको छैन । कर्णाली प्रदेश सरकारले आर्थिक वृद्धिका पक्ष वा रेखाहरू तय गरेको छ । ती रेखाहरूमा भेरी कोरिडोर, कर्णाली कोरिडोर, मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग मात्र होइन जुम्ला र डोल्पालाई जोड्ने मार्ग, जाजरकोट र जुम्लालाई जोड्ने मार्ग, जुम्ला र रारा ताल वा मुगु जोड्ने मार्ग, मुगुदेखी हुम्ला जोड्ने मार्ग छन् । यी सबै रेखालाई हामीले उत्पादनसँग जोड्नुपर्छ भनेका छौं । यसले तुलनात्मक लाभका क्षेत्रहरूलाई ट्रिगर गरोस् र जनतालाई बढी भन्दा बढी लाभ पुगोस् भन्ने हो ।
सुर्खेतमै पनि हामीले केही पूर्वाधारहरूका काम गरेका छौं । प्रदेश राजधानीको पूर्वाधार विकासका लागि रिङ्गरोड र खानेपानी परियोजनालाई अघि बढाएका छौं । प्रदेश अस्पतालमा नमूना अस्पतालको रुपमा विकास गर्न महत्वपूर्ण लगानी भएको छ ।
हुन त कर्णालीमा केही पनि भएको छैन उस्तै अवस्था छ कि भन्ने पनि लाग्दो हो तर परिवर्तनले गति लिएको छ । हामीले अपेक्षा गरे अनुसारको परिवर्तन नभएको होला तर जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको छ । रुकुम पश्चिमको चौरजहारीमा हाइकम्युनिटी अस्पताल स्थापना भएको छ । हामीले शिक्षामा पनि उत्तिकै ध्यान दिएका छौं । यद्धपी पूर्वाधारमा गरिएको लगानी अलि बढी भिजिवल हुन्छ ।
यस बर्षमात्रै डोल्पा, जुम्ला र मुगु लगायतका जिल्लामा उत्पादित झण्डै एक अर्बको स्याउ कर्णाली प्रदेशले निर्यात गरेको छ । कनेक्टिभिटीलाई उत्पादन, बजार र जनताको जीवनस्तरसंग जोड्नु जरुरी छ । हामी त्यही चाहन्छौं ।
हामीले जडीबुटी खेती र प्रशोधनका कुरा पहिलो पञ्चवर्षीय योजनामा राखेका छौं । हामी दिगो विकासका लक्ष्यमा पनि केन्द्रित छौं । जडीबुटी खेती कर्णालीको लागि वरदान हो । यार्सागुम्बा यहाँको मोति हो । यहाँको जलस्रोतलाई कसरी दोहन गर्ने भन्ने हाम्रो चासो र चिन्ताको विषय हुनुपर्छ ।
तिब्बतमा रेल जोडिनुभन्दा अगाडि बार्षिक करिब २० हजारको संख्यामा पर्यटक आउँथे । अहिले त्यहाँ झण्डै तीन करोड पर्यटक बार्षिक रुपमा भित्रिन्छन् । त्यहाँको आर्थिक वृद्धिदर १५ प्रतिशत भन्दा बढी छ । अझ पर्यटन क्षेत्रको वृद्धिदर हेर्ने हो भने २५ प्रतिशत भन्दा बढी छ । उनीहरूले पूर्वाधार, शिक्षा, आर्थिक उत्पादन, सबै क्षेत्रमा परिवर्तन गरे । पहिले तिब्बती क्षेत्र भन्दा हाम्रो क्षेत्र धेरै विकसित थियो । त्यो हिसाबले हेर्दा हामीले धेरै गर्नुपर्ने थियो भन्ने कुरा साँचो हो तर हुँदै नभएको भने होइन ।
कर्णालीको मार्सी चामल, स्याउ, सिमी, ओखरले जुन बजार पाएको छ, त्यसलाई प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ गर्ने तथा बजारसँग जोड्ने योजना छ । यहाँका अर्गानिक उद्योगधन्दालाई बलियोसँग अगाडि बढाउने कुरा छ । त्यस्तै कृषिको पकेट क्षेत्र कार्यक्रमसँगै अर्गानिक मल उत्पादनलाई जोड्ने हो भने त्यसबाट राम्रो उत्पादन लिन सकिन्छ ।
सङ्घीयता कर्णालीका लागि एउटा ठूलो अवसर हो । यदि हामीले बजेटको ७० प्रतिशतसम्म खर्च गर्ने हो भने १४ प्रतिशत सम्म आर्थिक वृद्धिदर हासिल गर्न सक्छौं । राष्ट्रिय योजना आयोगसँग छलफल गरेरै हामीले त्यो टुङ्गो लगाएका थियौं । तर संघीयतामा प्रवेश गरिसकेपछिको पहिलो वर्ष नीति कार्यक्रम तथा कानुन नबन्दा समस्या भयो । दोस्रो वर्षसम्म कर्मचारीको अभाव झेल्नुपर्यो । अहिले पनि कर्णाली प्रदेशमा करिब ३० देखी ३५ प्रतिशत मात्रै दरबन्दीहरू पूरा भएको अवस्था छ । तेस्रो वर्ष कोभिड महामारीले सबैलाई अत्यायो । अब चाहिँ हामी बजेटको सदुपयोगमा सचेत छौं ।
हामीले कर्णाली प्रदेशमा गोल्डेन ट्रायङ्गल भनेर पर्यटनको गुरुयोजना बनाएका छौं । सुर्खेतको काँक्रेबिहारलाई केन्द्रबिन्दु मानेर डोल्पा र रारालाई जोड्ने गरी यहाँका विभिन्न पर्यटनका पूर्वाधारहरू पञ्चकोशी, पचाल झरना, सिञ्जा, लगायत विभिन्न स्थानलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने सोच छ ।
यस्तै गुणस्तरीय शिक्षाका लागि नमुना विद्यालय, हिमालय विज्ञान र प्रविधि विद्यालय आदिका लागि काम गर्ने सोच बनाएका छौं । लैंङ्गिक विभेद अन्त्य गर्न छोरी सुरक्षा खाता, बेरोजगारी समस्या हल गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका कुरामा पनि ध्यान दिएका छौं ।
अन्त्यमा, जातीय भेदभाव, छुवाछुत जस्ता कर्णालीका विद्यमान विभेदलाई हटाउन हामी सबै एकजुट भएर लाग्नुपर्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events