डा. दिनेशचन्द्र देवकोटा, पूर्वाधारविद् तथा पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

सिंजा उपत्यका राजधानी रहेको कर्णाली बाह्रौं तेह्रौं शताब्दीतिर आर्थिक दृष्टिकोणले सबल राज्य थियो । यहाँ भोटतिरबाट नुन आउँथ्यो । तर समय कालखण्डमा २४० वर्षसम्म काठमाडौं केन्द्रित एकात्मक शासन प्रणाली रह्यो र कर्णालीलाई हेर्ने दृष्टिकोण नकारात्मक रह्यो । कर्णाली दुर्गम, विकट, गरिब आदि नामले चिनिन थाल्यो । केन्द्रकै कारण कर्णाली पछाडि परिरहेको कुरा हामीले स्विकार्नुपर्छ ।
तर कर्णालीको आफ्नै गौरव गाथा छ । कर्णालीको आफ्नै स्वाभिमानी इतिहास छ । र यहाँ विकासका प्रशस्त सम्भावना छन् । कर्णालीको सामाजिक ढाँचा, यहाँको पर्यावरण पनि हाम्रो सम्पत्ति हो । वातावरणीय हिसाबले हामी सुरक्षित छौं । र, हाम्रो भित्री ज्ञान सुरक्षित छ । हामीसँग परम्परागत मूल्यहरू सुरक्षित छन् । यो नै कर्णालीको गौरव हो । अब यसैमा टेकेर हामी अगाडि बढ्नुपर्छ ।
हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाएका छौं । समावेशी विकासको हाम्रो एउटा अवधारणा छ । अब संघीय सरकारले कसरी प्रदेश र स्थानीय सरकारसंग सहकार्य गर्छ । कसरी सहयोग गर्छ । सङ्घीय सरकारले ठूला परियोजनाहरु लागू गर्दा प्रदेश र स्थानीय तहलाई कसरी जोड्छ । आदि महत्वपूर्ण कुरा हुन् । संविधानले स्थानीय तहका एकल अधिकारमा पूर्वाधार निर्माणका काम पनि छन् । तसर्थ अब कर्णालीको विकासको मुख्य विषय पर्वतीय हरित अर्थतन्त्र हुनुपर्छ । जसले स्थानीय तहलाई प्रदेश र संघसंग जोड्नेछ ।
यस्तै, शिक्षालाई विकासमा जोड्ने कुरा चुनौती र सम्भावना दुबै हो । हिजो हामीले ७० प्रतिशत सामान्य शिक्षा पढायौं तर अबको लक्ष्य चाहिँ ७० प्रतिशतलाई प्राविधिक र व्यावसायिक शिक्षा दिनुपर्छ । जसले शिक्षालाई जीविकोपार्जनसंग जोड्न सक्छ ।
यसलाई हामीले मार्ग निर्देशक सिद्धान्तका रूपमा हेर्न र विकास गर्न जरुरी छ । यसो गर्यौं भने हामीले विकास गरेको मानव संसाधनलाई रोजगारीसँग जोड्न सक्छौं । तसर्थ, शिक्षा क्षेत्रमा काम गर्ने यहाँका आदरणीय व्यक्तित्व, राजनीतिज्ञ, विकासप्रेमी, समाजसेवी सबैको ध्यान यसमा जानु जरुरी छ । कर्णाली प्रदेश सरकारले यसलाई आफ्नो शिक्षा नीतिमा जोड्नुपर्छ । उद्यमशीलताको विकास गरी बेरोजगार युवालाई रोजगारी सृजना गर्न सकिन्छ ।
हामीले वन, वातावरण, कृषि, जडिबुटी क्षेत्रको विकासका लागि अर्गानिक प्रविधिहरूको विकास गर्न सक्छौं । कर्णालीमा रहेको पर्यटकीय संभावनालाई उजागर गरी समृद्ध नेपाल निर्माणमा योगदान गर्न सकिन्छ ।
मुलुकको रूपान्तरण गर्ने मुख्य उपकरण नै शिक्षा हो । कर्णाली प्रदेशले अबको शिक्षालाई समयसापेक्ष बनाई यहाँको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ । ज्ञानमा आधारित समाजको स्थापना गरी गुणस्तरीय मानव स्रोत निर्माण गर्नुपर्छ ।
विकास अर्काले दिन्छ, अर्काले ल्याइदिन्छ, विकास खाने हो भन्ने खालको चिन्तनबाट हामी बाहिर आउनै पर्छ । कर्णाली मात्र होइन समग्रमा विकाससम्बन्धी हाम्रो चेतनामा राजनीतिक हस्तक्षेप छ । त्यो विचारधारामा पनि हामीले परिवर्तन ल्याउन जरुरी हुन्छ । हामीले नगरे कसले गर्छ भन्ने सोचको विकास गर्नुपर्छ । राजनीतिज्ञ र प्रशासककहरुमा रहेको केन्द्रीकृत सोच भने हटाउन सक्नुपर्छ ।

 

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events