
हटारुको रूपमा धेरैपटक भोट र तराई गएका दुईजना वक्ताहरू (राजबहादुर शाही र धनिराम बुढा) का जीवन्त अनुभवहरू सुनेपछि एउटा कुरा स्पष्ट भयो कि, ‘हाट जाने र भोट जाने’ कर्णालीको पुरानो परम्परा हो ।
यो परम्परा कर्णालीको सामाजिक, सांस्कृतिक, उत्पादन प्रणाली, जीवन वृत्ति, राजनीतिक र आर्थिक जीवनसित अन्तरसम्बन्धसित थियो तै पनि ‘हाट जाने र भोट जाने’ मूल रूपमा यो क्षेत्रको स्थानीय निर्वाहमुखी आर्थिक प्रणालीको अभिन्न अङ्ग – व्यापार–वस्तु विनिमय सित सम्बन्धित थियो ।
भौगोलिक रूपमा व्यापार–विनिमय केन्द्रदेखि धेरै टाढा रहेका पहाडका गाउँहरूमा मानिसहरूले आफ्नो परिवारलाई वर्षभरि जीवन यापनको लागि आवश्यक पर्ने नुन, उन, लत्ताकपडा, चिनी, गरगहना जस्ता सरसामानहरू किनेर ल्याउन भोट, र भारत नजिकको तराईसम्म जानैपर्ने बाध्यता थियो ।
यसरी हाट र भोट जाने हटारुहरूले आफूसित आफ्नो गाउँघरको उत्पादन– अन्न, घिउ, जडीबुटी जस्ता बस्तुहरू बोकेर जाने र सो बस्तु बेचेर आएको पैसाले आफ्नो परिवारलाई आवश्यक लत्ताकपडा र अन्य बस्तु किनेर फर्कन्थे । भोटतिर हटारुहरूले आफूले लगेका अन्नसित साटेर नुन ल्याउने चलन पनि थियो । अलिकति सम्पन्न परिवारले पैसा जोहो गरेर भारत सिमाना नजिकको तराईको बजारमा लत्ताकपडा, सुन गहना, र अन्य बस्तुहरू किनेर पहाडतिर बेचबिखन गर्दै फर्कन्थे । ( श्रेष्ठ, २०२८ ; फिसर, सन् १९८६, बिशप, सन् १९९०)
यसरी ‘हाट जाने र भोट जाने’ प्रचलन मार्फत् कर्णालीका मानिसहरूले व्यापार–वस्तु विनिमयबाट फरक फरक भूगोलहरू– हिमाल, पहाड, र मधेस तथा फरक फरक संस्कृति र समुदायहरूलाई जोड्दै आएका थिए ।
हटारुहरूले विकास गरेको वस्तु–विनिमय र व्यापार प्रणाली आधुनिक बजार प्रणाली जस्तो थिएन । यो प्रचलन अहिलेको बजार संस्कृति र बजार अर्थ प्रणाली जस्तो पूरै नाफामुखी र व्यक्तिपरक थिएन । जस्तै अहिले आफूलाई चाहिएको सामान लिन हामी बजारमा जान्छौँ । आफू र आफ्नो परिवारको लागि पैसा तिरेर चाहिएको सामान किन्छौँ । र, मन लाग्यो भने म गाउँका कसैलाई किनेर कोसेली लगिदिउँला तर गाउँको सबैको लागि किन्ने होइन । तर हाट जाने भोट जाने नुन, ऊन, सुन, र अन्य आवश्यक वस्तुहरू गाउँघरमा ल्याउने र सँगसँगै यी बस्तुहरूको वितरण पनि हुने गर्थे । नातागोता र इष्टमार्फत् धेरैले सो बस्तुहरू किन्ने वा विनिमय गर्न पाउँथे । यो हाट जाने प्रणालीमा आधारित व्यापार र वस्तु विनिमय नातागोता, इष्टमित्र, मितेरी साइनो जस्ता सामाजिक सम्बन्धहरूले चलायमान बनाएको हुन्थ्यो (श्रेष्ठ, २०२८; फिसर, सन् १९८६) ।
हाट जाने र भोट जाने परम्परामा आधारित व्यापार र वस्तु विनिमयले कर्णालीका कुनै एउटा गाउँका मानिसहरूका सामाजिक सम्बन्धहरूलाई गाउँ भन्दा बाहिर तिर– हिमाल, पहाड, र मधेससम्म– फैलाउन र सम्बन्धको गाँठोलाई बलियो बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।
मैले बुझे अनुसार हाट जाने भोट जाने प्रचलनको नयाँ सामाजिक सम्बन्धहरू बनाउन र ती सम्बन्धहरूलाई स्थायी बनाउने कुराहरूमा पनि महत्त्वपूर्ण भूमिका हुँदो रहेछ । हटारुहरूले हाट र भोट जाँदा बाटोमा पर्ने सबै ठाउँमा इष्टहरू बनाउने, र मित लगाउने चलन थियो । त्यसैले त्यो समयमा हटारुहरूको हिमालदेखि तराइसम्मका मानिसहरूसँग सौहार्द मित्रता हुन्थ्यो, र व्यापार–वस्तु विनिमयलाई सहज बनाउनको लागि यो सामाजिकता आवश्यक पनि थियो ।
यस्तो सामाजिक सम्बन्धलाई हामी मानवशास्त्रको भाषामा सामाजिक पुँजी पनि भन्छौँ । त्यो पुँजी निर्माण गर्न कर्णालीका मानिसहरूले धेरै अघिदेखि जानेको रहेछ नि त ! एकातिर भौगोलिक विकटता र यातायात र बजार सुविधा देखि धेरै टाढा, र अर्कोतिर राज्य र शासकहरूको बेवास्ताले ल्याएको चुनौती र समस्यासित जुध्ने शक्ति र समर्थता कर्णालीका मानिसहरूमा हिजो पनि थियो भन्ने प्रमाण पनि हो नि यो हाट जाने र भोट जाने प्रचलन ।
भौगोलिक कठिनाइ, सुविधाको कमी, राज्यको बेवास्ता जस्ता चुनौतीहरूका बाबजुद पनि त्यो समयमा आफ्नो गाउँ परिवारले भोगेका जीवन यापनका समस्याहरूलाई आफैले समाधान गर्न सक्ने एउटा इतिहास बनाएको रहेछ कर्णालीका हटारुहरूले ।
कर्णालीको हाट जाने र भोट जाने चलनको कथाहरू सुन्दा र यस बारे लेखिएका केही पुस्तकहरू पढ्दा मैले बुझेको एउटा कुरा के हो भने– हिजो राज्य उपस्थिति न्यून हुँदा र अहिले हामीले बुझेको ‘विकास’ नहुँदा पनि आफ्नो समाजलाई चाहिने वस्तुहरूको कसरी आपूर्ति गर्ने भन्ने कुराको अभ्यास त भुईंका मानिसहरूले गरेका रहेछन् । यो काम कुनै नेताले वा, योजना आयोगले गरेको होइन रहेछ ।
हाट जाने र भोट जाने कुरा कर्णालीको दुःखको कथा मात्र होइन, यो भौगोलिक र राज्य व्यवस्थाले थोपरेका कठिनाइहरूसंग लड्न सक्ने कर्णालीबासीहरू, त्यसमा पनि भुईं मानिसहरूका सङ्घर्षका गाथा र इतिहास पनि हो ।
त्यसैले हाट जाने र भोट जाने परम्पराको इतिहास र कथाहरूलाई हाम्रो सामूहिक स्मरणमा जीवन्त बनाइ राख्नु आवश्यक छ । अहिले मोटरबाटो गाउँमै आइपुगी सकेको छ, बजार पनि नजिक सरेको छ, र धेरै उपभोग्य वस्तुहरू किन्न हिजो जस्तो धेरै टाढा सम्म पुग्न पर्ने अवस्था छैन । अहिले हाट जानुपर्दैन । त्यसो भए किन हाटको कुरा गर्नु?
‘हाट जाने र भोट जाने’ परम्पराको इतिहासलाई हामीले भुल्न हुँदैन; कर्णाली बासीहरूले यो इतिहासलाई भुल्न हुँदैन । ‘हाट जाने र भोट जाने’ परम्परा भुईं मान्छेहरूको इतिहास हो । यो इतिहास जीवन्त राख्नु भनेको उहाँहरूले कर्णालीको सांस्कृतिक निर्माणमा, कर्णालीको राष्ट्रियता निर्माणमा गरेको योगदानको कदर गर्नु पनि हो ।
हाट जाने र भोट जाने परम्पराले त्यस समयमा गाउँ परिवारलाई चाहिने आवश्यक वस्तुहरू मात्र आपूर्ति र वितरण गरेको थिएन । हटारुहरू एक ठाउँ देखि अर्कोतिर जाँदा, पुरानै ठाउँहरूमा आएका नयाँ चलनहरू देख्दा, नयाँ मानिसहरू सित भेटघाट र अन्तरक्रिया गर्दा हटारुहरूले नयाँ नयाँ सूचना, जानकारी, र ज्ञान पनि त थाहा पाउँथे ।
हटारुहरूले मधेस र भारतको सिमाना नजिक सम्म पुग्दा कुन कुन ठाउँहरूमा श्रम रोजगारका नयाँ अवसरहरू छन् भन्ने थाहा पाउँथे, नयाँ राजनीतिक परिवर्तनहरू, लवाइ खवाइ, भाषा, र संस्कृतिको बारेमा जानकारी पाउँथे । सो सूचना, जानकारी, र ज्ञानको बारेमा पनि त गाउँघरमा जानकारी र सञ्चार पक्कै गर्थे होलान् ।
त्यसकारण वस्तु–विनिमयले चेत पनि ल्याउँछ, सूचना पनि ल्याउँछ, र सँगसँगै यसले नयाँ संस्कृति पनि ल्याउने गर्छ । वि.स. २०२६ सालतिर जुम्लाको दियार गाउँमा मानव शास्त्री बिहारी कृष्ण श्रेष्ठले गरेको अध्ययनमा के उल्लेख गर्नु भएको छ भने त्यस समय जुम्लाका दलितहरू मधेस तिर हाट झर्दा भरतको नैनी तालतिर पानी चल्ने र नचल्नेमा खासै विभेद नगर्ने रहेछ भन्ने थाहा पाइसकेपछि बिस्तारै यताका दलितहरू त्यता काम गर्न जान थाले । हाट जाने कुरा वस्तु विनिमय मात्र होइन विचारको विनिमय पनि थियो ।
वि.स. २०२६ मा अमेरिकन मानव शास्त्री जेम्स फिसरले डोल्पा को काईके भाषी मगरहरूले गर्ने नुन, उन, र उपभोग्य वस्तुहरूका अन्तर–हिमालय व्यापार–विनिमय सम्बन्धी गजबको अध्ययन गरेको थिए । हरेक वर्ष यी काइके भाषी तरालि मगरहरू गर्मीमा भोट तिर गएर नुन ल्याएर अरू जिल्लामा व्यापार–विनिमय गर्ने, र खेतीपातीको काम सकेर दक्षिण तराईतिर झरेर भारत नजिकको बजार देखि विभिन्न सामानहरू खरिद गरेर पहाडतिर बेच्दै आउँथे ।
भोट जाने क्रममा उनीहरूले केही कुराहरू त्यहाँबाट सिके । पहाड झर्दा केही कुराहरू त्यहाँबाट सिके । र, तराई झर्दा केही कुरा त्यहाँबाट पनि सिके । फिसरका अनुसार काइके भाषी मगरहरू भोटतिर जाँदा उताका स्थानीयहरू सित उनीहरूकै संस्कृति अनुसार घुलमिल हुन्थे । तर मध्य पहाडतिर झर्दा जात व्यवस्था मान्ने हिन्दु समाजमा उनीहरू पनि ‘चोखो जुठो’ मान्ने जस्ता व्यवहारहरू गर्थे ।
उनीहरूले भोट, पहाड र मधेसका बाटोमा पर्ने गाउँहरूमा मित लगाएका हुन्थे जसले गर्दा उनीहरूले एकातिर सुरक्षा पाउन सजिलो हुन्थ्यो भने अर्कोतिर ती ठाउँहरूमा व्यापार र वस्तु विनिमय गर्न सहज हुन्थ्यो ।
यसरी हाट र भोट जाने कारणले काइके भाषी मगरहरूका संस्कृतिमा पनि केही परिवर्तनहरू भयो । उनीहरू अलिकति हिन्दुकृत भए । नेपाली भाषा सिक्दै गए । नेपालमा भएका नयाँ राजनीतिक परिवर्तन र राजनीतिक प्रणाली–पञ्चायती व्यवस्था, गाउँ पञ्चायतको बारेमा मात्र नभएर देशको राजधानी काठमाडौंको राजनीतिको बारेमा पनि जानकारी लिन पाए ।
कालान्तरमा यसरी भोट र तराइमा व्यापार गर्ने मगरहरू र उनका परिवारका सदस्यहरू नै आफ्नो गाउँ पञ्चायतको राजनीतिमा प्रभुत्वमा आए र आफ्नो समाजलाई मूलप्रवाहको समाजसित जोड्ने प्रयासमा लागे ।
तसर्थ हाट र भोट जाने कुरालाई वस्तु विनिमय अर्थात् नुन, ऊन, सुन ल्याउने कुरा सँगसँगै त्यसले कस्ता कस्ता खालका नयाँ नयाँ विचारहरू ल्याए भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुन्छ ।
यो हाट जाने र भोट जाने प्रथाले समाजमा नयाँ किसिमको परिवर्तन पनि ल्यायो । भान्साको स्वाद देखि लिएर राजनीतिक परिवर्तनका कुरा देखि लिएर, भेषभुसा लगायतका थुप्रै कुराहरूमा यसले परिवर्तन ल्यायो ।
त्यसैले यो ‘हाट जाने र भोट जाने’ परम्पराले विगतमा कर्णाली क्षेत्रमा ल्याएका परिवर्तनहरूको बारेमा अध्ययन र छलफल हुन आवश्यक छ । अहिले पनि कर्णालीका मानिसहरू काठमाडौंमा चाइनिज कपडाहरू, गलैँचा किनेर नेपालको सुदूर पूर्व पहाडका गाउँहरूमा व्यापार गर्न गइरहेका हुन्छन् । तर कर्णालीमा पूर्वतिरका कोही पनि व्यापार गर्न आएको पाईंदैन ।
कर्णालीका मानिसहरू अहिले पनि आफ्नो गाउँदेखि धेरै टाढाका ठाउँहरूमा व्यापार गर्न जाने भनेको हिजोको हटारु प्रचलनले सिकाएको ‘सांस्कृतिक पुँजी’ हो । जसले अहिले पनि जीवन निर्वाहको लागि सहयोग गरिरहेको छ ।
अतः हाट र भोट जाने भन्ने दुःखको कुरा मात्र होइन, यसले त व्यावसायिक क्षमता, सीप, अनुभवहरूलाई सांस्कृतिक पुँजीको रूपमा निर्माण गरेको छ । कर्णालीका मानिसहरूसँग त पहिलेदेखि नै उद्यमशीलता र व्यापारको सांस्कृतिक पुँजी रहेछ त!
त्यसकारण यो इतिहासबाट हामीले सिक्नुपर्ने कुराहरू धेरै छन् जस्तो मलाई लाग्छ । भू–गोललाई जोड्ने मानिसहरूले नै हो र भूगोलको कथा संस्कृतिले लेख्ने हो । यो कर्णालीको भूगोलमा हटारुहरूले पनि त्यस्तै कथा, इतिहास, र संस्कृति निर्माण गरेका छन् । तर यी इतिहास र कथाहरू अहिलेको नयाँ विकास र आधुनिकीकरणको होडमा छाँयामा परेका छन्, हराउँदै गएका छन् ।
अब के गर्नुपर्ला भन्ने सन्दर्भमा हटारु भएर हाट जाऊ बजार नजाऊ भन्ने कुरा पनि सम्भव भएन । हामीले बुझ्नुपर्ने के हो भने हाट जाँदा खेरि कस्तो खालको अर्थतन्त्रलाई उहाँहरूले प्रश्रय दिनुभयो भन्ने कुरा महत्वपूर्ण होला ।
यो मुनाफा मात्र कमाउने हिसाबले गरेको विनिमय थिएन । यो एउटा मूल्य मान्यता, समाजका सम्बन्धहरूलाई प्राथमिकतामा राखेर अवलम्वन गरिएको अर्थव्यवस्था थियो ।
त्यो अर्थव्यवस्थामा दुःख गर्नेहरूले आफ्नो घरको लागि मात्रै सामानहरू ल्याएको हुँदैन थियो । हटारुहरु धेरै नाफा कमाउने भन्दा पनि मितको लागि, इष्टको लागि, पल्लो गाउँको लागि पनि सामान ल्याइदिने गर्थे । यस्तो सामाजिकताको भावना, उनीहरूको नेतृत्व शैली अहिलेको बजारलाई पनि सिकाउन जरुरी छ र हामीले पनि सिक्नु जरुरी छ ।
कर्णालीका मान्छेहरूले सिकाएको यो कुरालाई हामी विभिन्न कविता, नाटक, चलचित्र, साहित्यको माध्यमबाट पनि प्रचार गरौं । वस्तु विनिमय मार्फत् विगतमा हटारुहरूले भूगोल र विविध समुदायलाई जोड्दै यो कर्णाली क्षेत्रमा क्षेत्रीय र राष्ट्रिय संस्कृतिको निर्माणमा ठुलो योगदान गरेका थिए । यो कुरा अहिलेको पिंढीलाई सिकाउनु जरुरी छ ।
सन्दर्भसामाग्री
श्रेष्ठ, विहारी कृष्ण. २०२८ (वि.स.). कर्णाली लोक संस्कृतिः दियार गाउँका ठकुरीहरू . भाग ३ लोकजीवन अध्ययन। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान; Fisher, James. 1986. The Trans Himalayan Traders: Economy, Society and Culture in Northwest Nepal. Motilal Banarsidass; Bishop, Barry, C. 1990. Karnali Under Stress: Livelihood Strategies and Seasonal Rhythms in a Changing Nepal Himalaya. University of Chicago Press.