
हाट र भोट हामी डोल्पालीलाई उत्तिकै चुनौतीपूर्ण थियो । अहिले पनि डोल्पाबाट भोट हिँडेर जाँदा पाँच देखी छ दिनसम्म लाग्छ । त्यो पनि भारी नबोकेर जानेलाई । भारी बोक्ने हो भने त झन् कुरै छोडौं ।
डोल्पाको भूगोल पनि ठूलो छ । भोटमा जाँदाखेरी त्यो बेला हामी कुनै पनि भोटे महिलाहरू देख्दैनथ्यौं । पुरुषहरू चौंरी, खसी आदि लिएर आउने, यताबाट हामी तिते फापर, मिठे फापर, गहुँ, जौ, उवा लगेर त्यहाँको नुनसित साटासाट हुन्थ्यो ।
नुन र ऊन त्यतिबेला सुनभन्दा बढी किन भयो भने ऊनबाट सबै लुगाहरू हुन्थ्यो । टोपीदेखि लिएर राडिपाखीसम्म सबै लगाउने कपडा उनबाट नै बन्ने हुँदा त्यो बेला ऊन र नुन, सुन भन्दापनि माथि थियो ।
सबै भाषाहरू पनि नजान्ने, महिलाहरू पनि नआउने, दुनैमा आयो भने पनि औडाले मरिन्छ भनेर दुनै पनि नबस्ने राति भयो भने काइके पुगिहाल्नुपर्ने त्यस्तो अवस्था थियो डोल्पाको र भोट क्षेत्रको । त्यसकारण माथि भोटमा जान एकदमै विकट हुन्थ्यो ।
नुन पनि भोटबाट नआइ नहुने, नुन ल्याएर यताको भोटभरी निङमामा आउँथ्यो । त्यहाँ मेला लाग्थ्यो । भोटेहरूले त्यहाँ नुन ल्याउने र तल्लो भेगका मान्छेहरूले अन्न ल्याएर नुन र अन्न साटासाट हुन्थ्यो । त्यसमा पनि उनीहरूको नुन एक पाथी दिँदा हामीले फापर तीन पाथी दिनुपर्ने हुन्थ्यो । त्यस्तै अन्य चिजहरू पनि हामीले बढी दिनुपर्थ्यो ।
भोट जाँदा बाटो अप्ठेरो हुन्थ्यो । भेडाहरू पनि चढ्न नसक्ने, हटारुहरू आउँदा पनि एउटाले भारी बोक्ने र अर्कोले पछाडिबाट धक्का लगाउनुपर्ने हुन्थ्यो । त्यति बेला बाहिरबाट चामल आयात भएर कर्णाली जान्थेन । माथिबाट नुन आउने र तलबाट यहींको उत्पादन खाद्यान्नहरू जाने त्यस्तो अवस्था थियो ।
हाटको कुरा गर्दा २०२५ सालमा म नेपालगन्ज गएको थिएँ । त्यो बेला हामीसँग कटुको र अत्तिस भन्ने जडीबुटी थियो । त्यतिबेला मैले दश धार्नी अत्तिस बोकेको थिएँ । त्यसैले खाने, पिउने, तिते फापर, मिठे फापर सबै चिज बोकेर हामीलाई डोल्पाबाट गोतामटोल आउनमात्रै आठ दिन लागेको थियो । हामीलाई हाट पुगेर आउन लगभग ६० दिन लाग्थ्यो ।
पछि गएर २०२९ सालमा बल्ल कपडा डोल्पा पुग्यो । त्यतिखेरै स्कुलको पनि सुरुवात भयो । अहिले त कहाँबाट कस्तो अवस्थामा आइपुगियो । यसरी विकास देख्न पाइयो । अब त गाडीहरू पनि चल्न थाल्यो सामानको दुःख पनि छैन । यो देख्दा धेरै नै खुसी लाग्छ ।
भोटेहरूको संस्कृति बेग्लै थियो । उनीहरूले यताको भाषा नबुझ्ने र हामीले पनि उनीहरूको भाषा नबुझ्ने हुन्थ्यो । उनीहरू केवल नुन लिएर आउने र यहाँबाट अन्नमात्र लिएर जान्थे । त्यहाँका भोटेहरूलाई नेपालीभाषा र नेपाली विद्यालयको खाँचो भएको कारण उनीहरूलाई पाँच सय रुपैयाँ दिएर सरकारले पढाउन पठाउँथ्यो । माथिल्लो भोटको अवस्था त्यस्तो थियो ।