
मेरो जीवनमा म दुईपटक ‘हाट’ गएको छु । आजभन्दा ठिक ४० वर्ष अगाडि वि.सं. २०३७ सालमा म पहिलो पटक हाट गएको हुँ । त्यसपछि दोस्रोपटक वि.सं. २०३८ सालमा गएको छु । पृष्ठभूमिको कुरा गर्दा ‘भोट’ जाने क्रम हाट जाने भन्दा पहिलेको क्रम हो । हामीभन्दा पहिलेको पुस्ता भोट गएर आउनुपर्दथ्यो ।
हाट र भोट मूख्यगरी तीन वटा विषयसंग सम्बन्धित छ । यो नुन, सुन र ऊनसँग सम्बन्धित छ । अन्यथा अरू आफूलाई आवश्यक पर्ने वस्तुहरू आफ्नै गाउँमा, आफ्नै ठाउँमा उत्पादन गरेर उपभोग गर्न सकिन्थ्यो । यी तीनवटा चिज आफ्नो ठाउँमा नपाइने हुनाले नै मान्छेहरू हाट र भोट गएका हुन् ।
जब तिब्बतलाई चीनले आफ्नो भूमि भनेर लग्यो, र उसले अलिकति आवतजावतमा नियन्त्रण ग¥यो, त्यसपछि हाट जाने परम्परा सुरु भयो । इष्ट इन्डिया कम्पनीले जब भारतमा राज गर्दथ्र्याे, त्यतिबेला जङ्गबहादुर राणाले १८५७ मा इष्ट इन्डिया कम्पनीविरुद्ध विद्रोह गर्ने सेनालाई दबाउने काममा सहयोग गरेको हुनाले हाम्रो तराइको केही भूभाग बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको केही भू–भाग जुन हामीले सुगौली सन्धिमा गुमाएका थियौँ, त्यो विद्रोह दबाएको पुरस्कार स्वरूप इन्डियाले फिर्ता दियो । सन् १८६० तिर नेपाल र भारतको बीचमा सम्बन्धहरू अलि खुकुलो भयो र समान संस्कृतिका, जातिका, रीतिरिवाजका व्यक्तिहरूको आवतजावत विस्तार भयो । त्यसपछि हाटको परम्परा सुरु भएको जस्तो लाग्छ । त्यसरी हाम्रो हाट जाने प्रवृत्ति बढेको हो ।
दुईवटा कारणले गर्दा भोट जाने क्रम बन्द भएको र हाट जाने चलन सुरु भएको जस्तो मलाई लाग्छ । खासगरी वि.सं. २०३७ सालमा म पहिलो पटक हाट जाँदाखेरि १९ दिन लागेको थियो । दोस्रो पटक म १८ दिनमा घर फर्केको थिएँ । उकाली–ओराली गरिन्थ्यो । अहिलेका जस्ता सहजै हिँड्न सकिने सडकहरु थिएनन् । भएका गोरेटा बाटोहरु पनि सहज बनाएको अवस्था थिएन । जहाँ डोबहरू परेका थिए ती डोबहरूमा नै टेकेर हामी हिँड्नुपर्दथ्यो ।
पछि आएर सडक सञ्जालको बिस्तारसँगै खासगरी कर्णाली राजमार्गको विस्तारसँगै २०५४ सालपछि दैलेख, कालिकोटभन्दा तल हाटको परम्परा कम भएको हो । त्यहाँ पछि पनि केही वर्ष यो हाटको परम्परा थियो । त्यो अनुभव मसँग छ ।
हाट जाँदाखेरि मुख्य रूपमा प्रयोग गर्ने सामग्रीहरू भनेका ‘हटाले डोको’ प्रयोग गरिन्थ्यो, निगालाले अलि बलियो गरी बनाएको डोका हुन्थे । ती डोकाको बिटमा अर्थात् टुप्पोमा जाला हुन्थ्यो । माथिसम्म पनि सामान ल्याउनुपर्ने हुनाले त्यस्तो खालको जाले डोको हुन्थ्यो । काँधको छाला नजाओस् भनेर पिठ्युँमा काम्लो अर्थात् पाखीलाई पट्याएर लामो बनाएर दोब्राएर दुइटा काँधमा लगाएर त्यसको माथि पनि ‘खकन्ना’ भन्ने चिज लगाएर टाउकोमा लाम्पाते लगाएर, घरमै बाटेको अल्लाको बरियो लगाएर सामग्री लिएर आइन्थ्यो ।
मुख्यगरी हाट जाँदाखेरि दैलेखतिरबाट घिउ लिएर जाने चलन थियो । हाट जाँदा पनि दिन (साइत) हेराएर एउटा पूरै गाउँ जान्थे । दिन, बार, साइत हेराएर जाने चलन थियो । अहिले ठूला उद्योगधन्दाबाट नाफा कमाएझैँ त्योबेला घिउ उत्पादन गरेर जाने कुरा हुन्थ्यो । त्यसमा पनि एक खालको प्रतिष्पर्धा हुन्थ्यो । जसले सबैभन्दा ठूलो घिउको भारी लिन सक्यो, ऊसले अलि गर्व महसुस गथ्र्यो । धेरै सामानहरू तल (हाटबजार) बाट ल्याइन्थ्यो । धेरै नुन ल्याउन सकिन्थ्यो ।
खोलामा पुलहरू थिएनन् । काठबाट बनाएका नाउमा ठूल्ठूला भारी राखेर नदी तर्नुपथ्र्याे । त्यसो गर्दा ‘अब पल्लो छालमा पुगिने हो कि, होइन’ भन्ने पनि डर हुन्थ्यो । त्यो छाल कटेपछि ‘अर्को जुनी बाँचेको’ जस्तो अनुभव हुन्थ्यो । नाउ पनि सानो एउटा मात्रै हुन्थ्यो । मान्छे चाहिँ धेरै हुन्थे । जसले गर्दा पालो कुर्नुपर्ने हुन्थ्यो । एउटा नदीको किनारमा झन्डै झन्डै पाँच दिन, दश, एघार दिन सम्म पनि बसेको अनुभव छ ।
प्रायःजसो त्यो बेला नापेर मात्र खाना खान पाइन्थ्यो । अन्दाज गरेर यति दिनमा घर फर्किन सकिन्छ भनेर सबै सातु, चामल, सामग्रीहरू पकाउने भाँडाकुँडी, दाउरा बनाउने हतियारहरू जस्तै बन्चरो, आँसी, बाउसो (कोदाली) घरबाटै बोकेर लिएर जान पथ्र्यो ।
भारी बोक्दाखेरी जुन काम्लो पिठ्युँमा राख्थ्यौँ, राती त्यही ओढ्थ्यौं । ओछ्याउनेमा स्याउलाहरु (रुखमा सुकेर झरेका पातहरु) ओछ्याएर बसिन्थ्यो । निश्चित बास बस्ने ठाउँहरू हुन्थे । प्रायःजसो एउटै सिजनमा हाट हुने हुनाले प्रत्येक जिल्ला वा गाउँ ठाउँका मान्छेहरूको बास बस्ने ठाउँ पनि फरक फरक पर्ने गरी छुट्याइन्थ्यो । नास्ताको रूपमा हामी सिरौँला, कसार, चामलका रोटी, सातु आदी घरबाटै बनाएर लैजान्थ्यौं ।
त्यो बेला आम रूपमा पुरुषहरू नै हाट जान्थे । पुरुषहरूमा पनि जो युवा वा परिवारको बलियो सदस्य छ उनीहरु नै हाट जाने परम्परा थियो । जसको घरमा युवा छैन त्यो घरबाट अलि बुढा व्यक्तिहरू पनि जान्थे ।
जुन घरमा महिलाहरू मात्र छन् अथवा श्रीमान् नभएको, छोराहरू नभएको घरबाट युवा महिलाहरू, वा विधवाहरू पनि हाट जाने गर्दथे । पछि आएर महिलाको सहभागिता पनि बढ्दै गयो । सुरुमा चाहिँ घरमा अरू कोही नभएपछि मात्र महिलाहरू जान्थे । एउटा गाउँबाट जाने २५–३० जना हटारुहरूमा हामीले पनि ४–५ जना महिलाहरू देख्थ्यौँ । तसर्थ महिलाहरूको सहभागिता त्यो बेला पनि थियो ।
त्यस बेला हाट जाने क्रममा साँझ आफ्नो आफ्नो क्षेत्रमा बास बस्ने बेलामा एउटा गाउँका पुरुषहरू र अर्को गाउँका महिलाहरू पनि मिलेर दोहोरी तथा देउडा गाउने प्रचलन पनि थियो ।
पहिलेको समाज आत्मनिर्भर थियो । बिस्तारै विकासको प्रक्रिया अगाडि बढेसँगै हामी परनिर्भर हुँदै गयौँ भन्ने कुरा सत्य हो । मैले हाट आउँदाखेरी बिना जुत्ता, चप्पल म खाली खुट्टा हाट गएको हो । धेरै पछि पाँच रुपैयाँको प्लास्टिकको जुत्ता लगाएको छु । त्योबेला कपडाको पनि थिएन । पछिल्लोपटक अलि नरम खालको दश रुपैयाँको जुत्ता लगाइयो । बिस्तारै बिस्तारै कपडाको जुत्ता पनि लगाइयो ।
मैले हिउँदको चिसो कठ्याङ्ग्रिने बेला पनि ट्यारलिङ सर्ट लगाएको छु । यसरी दुःख कष्ट गर्ने हो भने अहिले पनि आत्मनिर्भर हुन सकिन्छ । आत्मनिर्भर हुन केही न केही त्याग गर्नुपर्छ जस्तो लाग्छ । तसर्थ हामी आधुनिक हुने होडमा परनिर्भर भइरहेको कुरा एकदम सत्य हो ।
अहिलेको नयाँ पुस्ताले हाम्रो पुरानो रीतिरिवाज, परम्परा, हाम्रो संस्कृति, संस्कार, अहिलेको आधुनिक विकास, आवश्यकता सबै कुरा झल्किने गरी जुन बहसको प्रारम्भ गर्नुभएको छ, त्यो पनि हाम्रो रीतिरिवाज परम्परा, संस्कृतिको संरक्षणका लागि एक किसिमको जागरण ल्याउन गरिएको प्रयास हो जस्तो मलाई लाग्छ ।
हाट भोट जाने लगायतका परम्परालाई झल्काउने कुरा संग्राहालयमा सुरक्षित राख्नुपर्छ भन्ने लाग्छ । यस कुरालाई मैले कर्णाली प्रदेश सरकार समक्ष पु¥याउँछु ।
