डा. दुर्गा थापा, प्रदेश अस्पताल सुर्खेत

म आफै महिला पनि भएको र आफै चिकित्सक पनि भएको साथै म यहीँ जन्मेर यहीँ पढेको कारणले पनि सानैदेखि मैले यहाँका महिला र बालबालिकाको स्थिति पनि देखिराखेको थिएँ । म पढ्न जाँदाखेरि मेरो बाबालाई ‘तपाईंको छोरीलाई किन यत्रो लगानी गर्न लाग्नुभएको? छोरीहरू त अर्काको घरमा जाने जात हो, उसले कमाएको सम्पत्ति पनि अर्काको घरमा जान्छ, छोरीलाई १० पास गरेपछि बिहे गरेर पठाइदिए त भैगो नि’ जस्ता कुराहरू मेरै आफन्तजनले भनेको पनि मैले नसुनेको होइन ।
हामीले दैनिक रूपमा बिरामीहरू हेरिरहँदा यति वृद्ध महिलाहरू पनि आउनुहुन्छ, जसको पाठेघर खसेको हुन्छ, उहाँहरूको सरसफाइमा पनि एकदमै कमी भएको हुन्छ । उहाँहरूलाई आफ्नै सन्तानले नभएर सानो बच्चाहरूले लिएर आइरहेका हुन्छन् । जसले गर्दा कर्णालीको स्वास्थ्य अवस्था कस्तो छ भनेर हेर्न कतै जानुपर्दैन । उहाँहरूलेनै कर्णालीको स्वास्थ्य अवस्था चित्रण गर्नुहुन्छ ।
यहाँ महिलाहरू अझ पनि ‘मलाई यो भएको छ’ भनेर भन्न डराउँछन् । अझैँ पनि उनीहरू आफूलाई भएका कुराहरू लुकाएर राख्छन्, त्यसले गर्दा बेलैमा उपचार गरेको भए समाधान हुने सानो समस्याहरुले बिकराल रुप लिन्छ । जब कि अन्तिम समयमा उहाँहरू हामीसँग आउँदाखेरि हामीले सान्त्वनासम्म पनि दिन नसक्ने स्थिति भइसकेको हुन्छ ।
बालबालिकाको अवस्थाको कुरा गर्दा, सबैजना हामी जस्तो भाग्यमानी पढ्न लेख्न पाउँछन् भन्ने छैन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरन्दा अलि पर जाने हो भने त्यहाँका बालबालिकाहरू राम्ररी पढेका छैनन् । उनीहरूले पाउनुपर्ने आधारभूत शिक्षा पाएकै छैनन् । र, उनीहरू अझै पनि कुपोषणको शिकार भइरहेका छन् । जो बच्चा सानैदेखि कुपोषित छ, जसले सानैदेखि आहारविहार पाएकै छैन, उ चाहिँ ठूलो भएर देश अथवा यही कर्णाली प्रदेशकै लागि कसरी काम गर्छ? यो प्रश्न गर्नुपर्ने कुरा नै हो । जबसम्म हामीले महिला र पुरुष भनेर विभेद गर्न छाड्दैनौँ र हामी सबै मानव हो भनेर सोच्दैनौँ तबसम्म यो जात वा लिङ्ग विभेद हामीले हटाउन सक्दैनौँ ।
कोरोना महामारीको पहिलो लहरका बेलामा निरन्तर रूपमा प्रदेश अस्पताल र प्रदेश सरकारले एक महिनाको लागि रुकुममा पनि मलाई खटाएको कारणले गर्दा यहाँ र रुकुम दुवैको परिदृश्य हेर्न पाएँ । त्यो हेर्दा कि पढेर सिकिन्छ कि परेर सिकिन्छ भनेको ठिकै हो जस्तो अनूभुति भयो ।
कोरोना जब संसारमा महामारीको रूपमा आयो त्यति बेला कसैले पनि कोरोनाको बारेमा खासै पढेको थियो जस्तो लाग्दैन । हामीलाई यसको बारेमा खासै ज्ञान थिएन । जब कोरोना संसारलाई नै महामारीको रूपमा आइपर्याे त्यसपछि यसलाई हामीले कसरी रोक्न सक्छौँ भन्ने सोच्न थाल्यौँ । जति बेला हामी हात धुनुपर्छ, मास्क लगाउनुपर्छ, सामाजिक दुरी कायम राख्नुपर्छ भन्ने कुराको लागि नै जोड गरिराखेका थियौँ ।
प्रदेश अस्पतालमा कार्यरत हामी सिमित जनशक्ति डाक्टरका साथै नर्स, एच.ए., अथवा कार्यालय सहयोगी जोे स्वास्थ्य संस्थासँग सम्बन्धित हुनुहुन्थ्यो उहाँहरू प्रायः सङ्क्रमित भएको अवस्था थियो । अझ त्यसमा पनि हामीले हाम्रो वरिष्ठ परामर्शदाता डा. हरि सापकोटालाई गुमाएको अवस्था थियो । एक त हामी थोरै संख्यामा थियौँ त्यसमा पनि सङ्क्रमित भएको बेला कति जना क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपरेको थियो । त्यस्तो अवस्थामा पनि हामीले धेरै काम गरेका थियौँ ।
जस्तै एक जना हाम्रो सिनिएर दिदी हुनुहुन्थ्यो, उहाँले र मैले प्रदेश अस्पतालमा २४ घण्टासम्म काम गरेको अवस्था पनि थियो । हामी सहजै काम गर्न सक्ने भएर वा स्वस्थ भएर दौडिएको होइन । त्यतिबेला हाम्रो प्राथमिकता मानिसहरूको स्वास्थ्य थियो र हामीले सकेसम्म उहाँहरूलाई सुविधा दिनुपर्छ भन्ने उद्धेश्य थियो ।
प्रदेश अस्पतालले त्यस्तो महामारीको बेलामा पनि सेवा सुविधाहरू चाहिँ बन्द गर्नुपरेन । अस्पतालको नयाँ भवन बनिराखेको ठाउँमा कोरोना युनिट बनाइएको थियो । अहिले पनि काम गर्ने जनशक्ति र बेडको कमी छ । हामीसँग चार वटा मात्रै आइसियु बेड छन् । वार्डहरूमा पनि बेड कम छन् । प्रदेश अस्पतालको अलावा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पक्कैपनि केही आशा जगाएको छ ।
अहिले पनि प्रदेश अस्पतालले थाम्न सक्ने बिरामी भन्दा धेरै नै बिरामीहरू आइरहनुभएको छ र हाम्रो नयाँ बनेको तीन सय बेड क्षमता भएको अस्पताल पनि राम्रो अनि धेरै जनशक्तिका साथ छिट्टै चल्छ होला । म प्रदेश सरकारलाई यदि कर्णालीको बासिन्दालाई राम्रो सेवा सुविधा दिने हो भने र यहाँको जनशक्तिलाई थेग्न सक्ने हो भने छिटो भन्दा छिटो यसका लागि चाहिने स्रोत साधनहरू उपलब्ध गराउनुपर्छ भन्ने सुझाव पनि दिन चाहन्छु ।
सुर्खेत मात्रै नभएर कर्णालीमा यति दूरदराजका ठाउँ छन्, जहाँबाट मान्छे अझै तीन चार दिन हिँडेर आउनुपर्छ । त्यस्तो ठाउँहरूमा वैदेशिक रोजगारीका कारण घरमा कि वृद्ध छन् कि बालबच्चा छन् कि महिला छन् । महिलाहरू अगाडि आएर आफ्नो भावना बताउन पनि सक्दैनन्, उनीहरू अस्पताल आयो भने पनि श्रीमानलाई सँगै लिएर आउँछन् । उनीहरू मलाई यो समस्या छ, यता दुखेको छ भनेर भन्न पनि सक्दैनन् ।
नेपालमा नै शिक्षाको अवस्था न्यून रहेको छ भन्ने तथ्याङ्क छ । त्यसमा पनि कर्णाली प्रदेशमा शिक्षाको स्तर झनै कम छ । हामीले दुईचार जना पढेलेखेको व्यक्ति देखेर कर्णाली प्रदेशमा सबै जना पढिसके है भन्न सक्ने अवस्था छैन । अर्काे कुरा हामीसँग अस्पताल र स्वास्थ्य चौकी होलान्, सिटामोल पनि पुगेको होला तर सिटामोल दिने मान्छे त्यहाँ अझै पुगेको छैन । एक जना डाक्टर वा एक जना नर्स पनि नपुगेको अवस्था छ । हामीसँग ठाउँ पनि एकदम सानो छ, जनशक्ति पनि एकदम कम छ ।
प्रदेश अस्पतालमा वरिष्ठ विशेषज्ञहरू पनि छौँ तर हामीसँग चार वटा आइ.सी.यु. बेडमात्र छ । पाँचौँ बिरामी आयो भने हामीले उसलाई रिफर गर्नुपर्ने हुन्छ । जनशक्ति पनि केही हदसम्म छ तर आफूले पढेको कुरालाई व्यवहारमा उतार्नका लागि ठाउँ अनि स्रोत साधनको कमी छ ।
अझै पनि कर्णालीमा महिला र बालबालिका पिछडिएकै छन् । उनीहरूमा अझै पनि कति धेरै स्वास्थ्य समस्या छ, कुपोषण छ । अझै पनि कर्णालीबासीमा महिलाहरू डाक्टर बन्न सक्छन् भन्ने सोच नै छैन । सोचका हिसाबले नै हामी अलिकति पछाडि छौँ । सर्वप्रथम हामीले हाम्रो सोचलाई परिवर्तन गर्न सक्नुपर्छ ।
अन्त्यमा एउटा मान्छे स्वस्थ हुनका लागि त्यो मान्छे मात्रै स्वस्थ भएर हुँदैन । उसको घरमा उसको आमा स्वस्थ हुनुपर्छ अनि बुवा, बाजे, बज्यै स्वस्थ हुनुपर्छ । एउटा एउटा घरहरू स्वस्थ भए भने समग्र कर्णाली प्रदेश पक्कै नै स्वस्थ हुने छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events