सरला गौतम, लेखक

म तराइको मान्छे भए पनि मेरो परिचय कर्णाली र सुदूरपश्चिमसँगै जोडिन्छ । कर्णालीले नै मलाई लेखक अनि पत्रकार बनायो । कर्णालीको आँखा रुँदैन मात्र सपना पनि देख्छ । कर्णाली भनेको पिडाको पहाड मात्र होइन विचारको खानी पनि हो ।
हामीलाई विचार बनाउन किन माइकल र डेभिड नै चाहिन्छ? कर्णालीले देखेको सपना, यसले भोगेको आर्तनाद किन विचार बन्दैन? राष्ट्रिय पत्रपत्रिकामा बल्लबल्ल कर्णालीले अलिअलि स्थान पाउन थालेको छ । त्यसमा पनि पीडाको स्थान बढी छ विचारको कम ।
कर्णाली विचारको पनि थलो हो । खप्तड बाबा, चन्दननाथ, योगी नरहरिनाथ, जसले मार्सी धानकै बिउ लिएर आउनुभयो, यो उहाँहरूको पनि थलो हो ।
कर्णाली आफैंमा विचार पनि हो । सपना पनि हो । लेखकका हिसाबले मलाई कर्णालीको आँसु मात्र लेख्नु थिएन । कर्णालीबाट धेरै कुराको कोशेली लिएर जानु थियो ।
सुरुसुरुमा कर्णालीको हाँसो र सपना पत्रपत्रिकामा पेश गर्दा मान्छेहरु जिल्ल पर्थे । मेरो यस्तो लेख रचनालाई बाँकी भूभागको नेपालीले माया दिए । मन पराए । मलाई झनै हौसला भयो । पटक पटक यहाँ आँए । यँहाका मानिसहरुको जोश, जाँगर र सपनाले मलाई नै उर्जा भरिदियो । कर्णालीको आँशु मात्र देखाएर लोकप्रिय विद्धान बन्ने मानिसहरुलाई भने पोल्यो ।
छाउपडी लगायतको बेथितिमा लड्ने महिलाहरु कर्णालीका मेरुदण्ड हुन् । उनीहरु जसरी बिहानदेखि बेलुकासम्म श्रम गर्छन् त्यो श्रमको उर्जाले कर्णाली उज्यालो पारेका छन् ।
काठमाडौंका पत्रिका र बिदेशी पत्रिकामा महिलाहरुको बेदना मात्र पोखिन्छ । मानौं उनीहरु बिहानदेखि बेलुकासम्म रोएर मात्र बस्छन् । यँहाका महिला शक्तिको प्रतिक हुन् । पीडाको प्रतिक होइनन् । यो दृष्टिकोणलाई बदल्नु आवश्यक छ । कर्णालीको मीना बोले पीडा हुने, अमेरिकाको मोनिका बोले बिचार हुने? यो कहिलेसम्म? विचार निर्माणको प्रकृयामा कर्णालीका मानिसहरुको सहभागिता चाहिन्छ । यहाँका महिलाहरुको झन् धेरै सहभागिता चाहिन्छ ।

म कर्णालीको आँशु देखाउनेप्रति पनि वैरभाव राख्दिन । किनकि कर्णालीको दुःख, कर्णालीको छाउपडीकै कुरा भइरहन्छन् । राम्रो होस् भनेरै यी कुराको चर्चा गरिन्छ । तर त्यो कसले हटाइरहेको छ? काठमाडौंले हटाइरहेको छ, या ट्विटरमा कराउने हामीले हटाइरहेका छौँ, या रेलकला बिष्टहरूले हटाइरहेका छन्?
कर्णालीको अँध्यारोको कुराहरु चाहिँ धेरै भयो तर कर्णालीमा चुपचाप दियो कसले बालिराखेको छ? ति साना मान्छेहरू कसले सभ्यता सिँगारिरहेछन्? ति मानिसहरूको चाहिँ कुरा धेरै भएन । जस्तो थिन्ले दाई, उहाँले डोल्पाको बाटोको सपना देख्नुहुन्थ्यो । अहिले डोल्पामा बाटो पुग्यो । उपल्लो डोल्पामा बाटो पुगेको छैन । जसले बाटोको सपना देखेर बाटोमै बित्नुभयो । बाटोबारे उहाँको विचार वा ज्ञान हामीले पढ्न पाएनौं । डोल्पा भन्नेबित्तिकै हामीले दुनै सम्झन्छौं । हदै भए यार्सागुम्बा सम्झिन्छौँ । या त उही रोदन सम्झिन्छौँ । दुनैले नेपाल हाँकिरहेको थियो । नेपालका सबै जिल्लाका मानिसहरु दुनैमा पसल थापेर बसेका थिए । ब्यापारमा रौनक थियो । त्यो बजारले अथाह सम्भावना बोकेको थियो र त मानिसहरु पसल थापेर बसे ।
आइएनजिओको जागिर छोडेर, खेती किसानी सम्हालेर बसेका रविन्द्र शाही जस्ता युवा थिए । उनको बान्की परेको क्याफेमा बसेर उनकै केशर खेती हेर्दै मैले कुराकानी गरेकी थिएँ ।

कालिकोटको पलाता गाउँ पाँच बजे उठ्छ । मान्छेहरू काममा लाग्छन् । युवाहरू काम गर्छन् । यहाँ पहिले द्वन्द्वको बम पड्किन्थ्यो, अहिले विकासको बम पड्किन्छ । दश बर्षको अन्तरालमा दोश्रो पटक म यो गाँउमा पुगेकी थिएँ । यो गाँउ बद्नाम गाँउ थियो । चोरीको लागि बद्नाम । रक्सी र झैझगडाको लागि बद्नाम । तर म दोश्रो पटक पुग्दा यो सबै झन्डै शुन्यमा झरेको थियो ।
अहोरात्र काम र बन्दै गएको आफ्नो गाँउ देखेर मानिसहरु खुशी थिए । यो आफै जादु भएर भएको थिएन । मानिसहरुको पसिनाले बनाएको थियो । पसिनाको कथाहरु बाहिर आउन थाल्नुपर्यो । यही पसिना र परिवर्तनको कुरा समेटेर राष्ट्रिय अखबारहरुमा कभर स्टोरीहरु गरें । पसिनाले ल्याएको परिवर्तन थाहा पाएपछि मानिसहरुमा उत्साह थपिएको प्रतिकृया पनि पाएँ ।
महिलाहरू त घरको काम र निर्माणको काम दुबैतिर सकृय थिए । कर्णाली मौरीजस्ता महिलाहरूले हाँकेको ठाउँ हो । महिलाहरूको आँशु मात्र नलेखौँ, त्यो आँशुबाट निस्किएको विचार लेखौँ । छाउपडी गोठमा बसेका महिलाहरूको दुःख मात्र नलेखौँ, चार दिन बस्दा, उसलाई कस्तो महसुस हुन्छ, त्यो आर्तनादबाट निक्लेको सत्य पनि लेखौँ ।

कर्णाली भनेको उद्यमीहरूको ठाउँ हो । दश बर्ष अघि झुपडीमा चिया पसल थापेको एक युवालाई भेटेकी थिएँ । दश बर्षपछि भेट्दा तीनतारे होटलको योजना गर्दै थिए । कालिकोटको मान्ममा सबैभन्दा राम्रो होटलका मालिक बनिसकेका थिए । बाँकी लक्ष्यको लागि रेखा कोर्दै थिए ।
मान्मकै पूर्ण बिक दाईले बनाएको जुत्ता देश विदेशमा प्रख्यात छ । जटिबुटीको व्यापारमा साना व्यापारीहरु लागेका छन् । यी मानिसहरुको मेहनत र लगन कर्णालीबारे बाहिर आउने एकाङ्की दृष्टिकोणमा छोपिएको छ ।
कर्णालीका किसानले माटोलाई गरेको माया सिक्नलायक छ । अर्गानिक खेतीप्रति उनीहरुको लगाव, नेपालले मात्र होइन बाँकी विश्वको लागि पाठ हो । यहाँको जटिबुटीको बयान अतुलनीय छ । यो सबै छर्लङ्ग देखिनुपर्छ । लोकज्ञानमा हाम्रो विश्वास जाग्नु जरुरी छ ।
छाउपडीको विरुद्धमा रातदिन लड्ने यति धेरै यहाँका महिलाहरू हुनुहुन्छ । आज हामी काठमाडौंका महिलाहरू सडकमा गएर प्लेकार्ड बोक्दैमा बिसवटा मिडियामा छाउँछौं । यँहाको गाँउ गाँउको माहिलाको एउटा मिडियामा पनि अन्तरवार्ता आउँदैन । बाजुराकी रेलकला आमा, बडिमालिकाकी पण्डितकी बुहारी भुवनेश्वरी उपाध्याय, बाजुरा कोल्टिकी उपमेयर सृष्टि रेग्मी जस्ता मान्छेहरूले छाउपडी विरुद्ध लडिरहनुभएको थियो । आफ्नो घरभित्रबाट सुरु गरेर उहाँहरूले आफ्नो क्षेत्रमा सुधार ल्याउन सफल पनि हुनुभएको थियो ।

त्यस्ता मान्छेहरू पनि हुनुहुन्छ जसको कहीँ पनि अन्तरवार्ता आउँदैन । जसको कुरा लेख्दा हामी पनि ट्रोलमा पर्न सक्छौँ । उहाँहरूको कुरा किन सुनिँदैन? उहाँहरूले पनि भन्नुहुन्थ्यो तपाईंहरू कर्णालीमा सधैँ आउनुहुन्छ, एउटै कुरा लेख्नुहुन्छ, किन हाम्रो यस्तो कुराहरू लेख्नुहुन्न? यो बीचमा मेरो कोसिस भनेको कर्णालीको सपना पनि आओस् र कर्णालीको विचार पनि आओस् भन्ने हो ।

आँशुसंग, दुःखसंग, नराम्रो कुरासंग लड्न पनि त ऊर्जा चाहिन्छ नि । अँध्यारोसँग मुठी कस्ने होइन, उज्यालो बाल्ने मानिसहरूको कथाको दियो बाल्ने हो । कर्णाली भनेको देखिएको कर्णाली मात्रै होइन । कर्णालीलाई हेर्न यसको समग्र दृष्टिकोण चाहिन्छ । समाज भनेको नै समग्र हो । समग्र वृक्ष जस्तो हो । हरेक जरा त्यसको जीवन हो । कर्णालीको रोदन, देउडा, सपना, विचार सबै कर्णाली हो ।

कर्णाली जहिले पनि अरूको आँखाबाट वा अरूको विचारबाट अभिव्यक्त भइरह्यो । त्यसैले अघि भनेको जस्तै यसको समग्र चित्र आएन होला । जुन खालको दुःख विरहको कुरा आयो त्यो गल्ती थियो पनि म भन्दिन । त्यो पनि कर्णालीलाई उज्यालो बनाउनकै लागि आएको हो । यँहाका पत्रकार लेखकले कर्णालीलाई लेख्न ठूलै दुर्घटना पर्खने होइन । कहिले मान्छे मर्लान् र कलम तिखारौंला भनेर बस्ने होइन । हरेक क्षण एक एक पाइला यो भेगलाई अघि बढाइरहेका मानिसहरुको उर्जा र हौसला पनि लेख्ने हो ।
यो कठीन भूगोलमा केही गरिरहेका मानिसहरुको जुझारुपनलाई लेख्ने हो । अनुभूति र भोगाई मिसिएर बनेको विचार लेख्ने हो । महिलाहरुको आर्तनाद मात्र लेख्ने होइन । त्यो आर्तनाद बाट उत्पत्ति भएको आर्य सत्य लेख्ने हो ।

कर्णाली जसरी बग्छ त्यसरी नै यहाँका सबै कुरा समेटिनुपर्छ । कर्णाली नदीलाई म हेरिरहन्थें । कतै उर्लन्थ्यो । कतै सुस्त शान्त बग्थ्यो । आफ्ना सन्तान लिएर फाल हाल्ने आमाको पीडामा कर्णाली नदी आँशु आँशु भएर पनि बग्यो होला । बेथिति बिरुद्ध जुध्ने मानिसहरु दखेर बिजुली बेगमा पनि बग्यो होला । यहाँका ज्ञानी मानिसहरुको ज्ञानधारा समटेर प्रज्ञाको बहाब भएर पनि बग्यो होला ।

एउटै धुन र लय छैन नदीको । यसले सबै समेटेको छ । बिशाल छ, गहिरो छ । जति गहिरो र फराकिलो कर्णालीको बान्की छ त्यस्तै फराकिला कुराहरु अब बाहिर आउन थाल्नुपर्छ । लेखनमा, पत्रकारितामा अब भन्न थाल्नुपर्छ कि कर्णाली रुँदैन मात्र सपना पनि देख्छ । यहाँ उज्यालो छ, ज्ञानको धारा छ । यो सम्पूर्ण हो, केही अंश मात्र होइन ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events