
पहिले पहिले कर्णालीमा साहित्यिक कार्यक्रमहरू पनि एकदमै कम हुन्थे । २०५३ सालमा म कालिकोटमा हुँदा ‘साहित्य के हो ?’ भन्ने पनि थाहा थिएन । तर अहिले आएर साहित्यिक क्षेत्रमा कर्णालीमा धेरै प्रगतिहरू भइराखेका छन् । कर्णालीको भाषाको मिठास नै यहाँको साहित्यिक पहिचान हो । ति चीजहरू पनि बिस्तारै फैलिरहेका छन् ।
यहाँको भाषा र लवज बुटवल कटेपछि छुट्टिन्थ्यो । साहित्यका कोर्सहरूमा पनि भाषिक सीमितता थियो । तर अहिले यहीं कर्णाली उत्सव जस्ता यस्ता कार्यक्रमहरू भइराखेका छन् । छलफल भइराखेको छ । यहींबाट पनि विभिन्न कुराहरूको प्रसार हुन्छ । स्थानीय साहित्यकारहरूले पनि बुझ्दै जान्छन् ।
साहित्य लेख्दा पनि आधिकारिकता हुनुपर्छ । लेखिएका विषयमा न्याय गर्न सक्नुपर्छ । जुन पात्रको बारेमा कथा लेखिएको हो त्यो पात्रलाई नै न्याय भइराखेको हुँदैन । किनभने जसले लेख्छ त्यो गहिराइमा ऊ गएकै छैन ।
कर्णाली साहित्य आउन त आएको छ तर अलिकति आधिकारिक भएर आइदिनुपर्याे भन्ने मेरो अनुरोध छ । यस्ता उत्सवहरूले अन्तिममा निकाल्ने मोती पनि दियो जस्तो मलाई लाग्छ । यसो हेर्दा अहिले एउटा उज्यालो चाहिँ देख्छु म ।
मैले कर्णाली उज्यालो भन्नुको मतलब एकदमै टल्केको होइन, साहित्यको क्षेत्रमा अलिअलि क्षणिक रूपमा विकास देखिराखिएको छ । त्यो बेलाको स्थिति र अहिलेको स्थितिलाई तुलना गर्दा राम्रो छ । एउटा मान्छेले आधिकारिक रूपमा लेखिदिएन भने त्यो कथा र त्यसको पात्र माथि पनि अन्याय हुन्छ भन्ने कुरा पनि उठेको थियो ।
अहिले कर्णालीका कथा मैले लेखिरहेको छु । यदि मैले नलेखेको भए मेरो बारेमा अर्कैले लेख्थ्यो । म खासमा पात्र नै हुँ तर आफूले लेख्ने साहस गरेँ ।
अहिले मैले उज्यालो के देखेको भन्दा जसलाई लेख्न आउँछ, जसलाई साहित्य पढ्न आउँछ, र उनीहरूलाई लाग्छ कि हाम्रो कथा पनि पढिन्छ अथवा हाम्रो कुरा यसरी पनि राख्न सकिन्छ र हामीले लेखेको चीज सबैभन्दा आधिकारिक हुन्छ र मेरो कथा चाहिँ एउटा पुस्तक बन्न सक्छ, मेरो कथाको पात्र म आफै हुन सक्छु र मेरो कथा मैले यसरी पनि भन्न सक्छु भन्ने सपना उब्जिँदै छ ।
सपना देख्न पनि साक्षर हुनुपर्छ, र कर्णाली साक्षर हुने प्रयासमा छ । सपना कहाँसम्म देख्ने, कहाँसम्म हेर्ने त्यसको उचाई कति हो भनेर नाप्न वा अझ उचाइमा जान चाहिँ सिकिरहेको अवस्था हो । अहिले चाहिँ आफ्नो कथा आफै लेख्छौँ भनेर कलममा मसी भर्नु नै उज्यालोको प्रहर हो भन्ने मलाई लाग्छ ।
साहित्यको रचना गर्ने क्रममा पढ्दै जाने, खोजी गर्दै जाने, एउटा पाठकको रूपमा आफूले आफूलाई साक्षर बनाउँदै जाने हो । कविता लेख्दै गर्दा पनि मेरो एउटा शैली छ कवितामा त्यो शैलीले विषय तान्छ । यो लेख्दै गएपछि, पढ्दै गएपछि धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो ।
विषयगत हिसाबमा त अहिलेका युवा पुस्ता पनि अगाडि देखिइरहेका छन् । कहीँ कुनै घटना भयो भने पनि सामाजिक सञ्जालमा यति धेरै मन छुने कविताहरू आउँछन् । मलाई लाग्छ, युवा पुस्ता यसमा आफै पनि सक्षम भइसकेको जस्तो लाग्छ ।