
विश्वव्यापी रूपमा रङ्गमञ्चलाई समाज रूपान्तरणको सबैभन्दा महत्वपूर्ण औजारको रूपमा हेरिन्छ । रङ्गमञ्च हुँदैनथ्यो भने सामाजिक न्याय स्थापनामा कठिनाई हुने थियो । २०६४ सालमा संविधानसभाको चुनावताका हामीले सडक नाटक गर्ने अवसर पाएका थियौं । र, कर्णालीमा समाज रूपान्तरणको सबैभन्दा उत्तम माध्यम रङ्गमञ्च हुनसक्छ ।
२०६५ सालको कुरा हो । काठमाडौंस्थित गुरुकुलमा हामीले कर्णाली दक्षिण बग्दो छ भन्ने एउटा नाटक प्रस्तुत गरेका थियौं । त्यो चाहिँ विकासमा रङ्गमञ्चले खेल्ने भूमिकाको सबैभन्दा प्रचुर उदाहरण हो जस्तो मलाई लाग्छ ।
समग्र कर्णालीमा रङ्गमञ्चको गति एकदमै न्यून छ । जसको कारण हो यहाँका मानिसको मानसिकता । यहाँ नाटक गर्दा महिलाको भूमिका पनि पुरुषले नै निभाउनुपर्ने अवस्था छ । नाट्यकर्मीहरूलाई हेर्ने दृष्टि गलत छ । पढ्न सकेन, जागीर छैन, त्यसैले नाटक खेल्छ भनिन्छ । यस्तो सोचले रंगमञ्चको विकासमा ढिलाइ भयो । आफ्नै इच्छाशक्तिले अगाडि बढ्न खोजेपनि सामाजिक कारणले हामी केही कमजोर भयौं ।
शायद नेतृत्व तह पनि हाम्रो लागि उदार भइदिएन कि । हामीलाई माया गर्ने, सम्मान गर्ने भइदिएन कि । फलस्वरूप आज हामी यो स्थितिमा छौं । जहाँ बसेर हामीले गफ मात्र गरिराख्नुपरेको छ । पूर्व र पश्चिमको तुलना गर्दा पूर्वमा आज दश वटा रङ्गमञ्चहरू छन् । इलाम, विराटनगर आदि ठाउँमा नाटक घरहरू छन् । त्यहाँ सरकारी र निजी तबरबाट नाटकलाई प्रवद्र्धन गरिएको छ ।
गत वर्ष कर्णालीमा राष्ट्रिय नाटक महोत्सवको आयोजना भयो । जहाँ आयोजना गरिएको थियो त्यो कभर्ड हल दर्दनाक अवस्थामा थियो । त्यसले पनि यहाँको माहौललाई संकेत गर्छ ।
साहित्य दुई तरिकाले स्थापित हुन्छ । पहिलो, पुर्खाहरूबाट हस्तान्तरित हुँदै आउने कला र संस्कृति । दोस्रो, लिखित रूपबाट स्थापित हुने साहित्य । पढेर लेख्नेले हाम्रा कथा लेखेनन् । हामी भोग्नेले पनि हाम्रा कथा लेख्न सकेनौं । दलित वा पिछडिएको वगएको कथा त उनीहरुले नै लेख्नुपर्यो नि । तर लेखपढ नै गर्न नपाएपछि उनीहरूले कसरी आफ्ना कुराहरू लेख्न सक्थे त? हामीले कर्णालीका कथाहरु लेख्ने र यहाँको नाट्य यात्रालाई अगाडि लैजाने पूर्ण प्रयत्न गरिराखेका छौं । हाम्रो यात्रा जारी छ ।
मैले नाटक काठमाडौंमा नै पढेको हो । तथापि मलाई मेरो माटोले तानेर फेरी कर्णालीमा ल्यायो । थाहा छैन मान्छेहरू किन शहर केन्द्रित हुन्छन् । हाम्रो प्रयास कर्णालीमा नाटकको विकास हो । सकभर काठमाडौंका मान्छे पनि नाटक हेर्न मुगु, जुम्ला वा कालिकोट नै आउन् भन्ने लाग्छ ।
काठमाडौंमा अवसरहरू पनि हुन्छन् । त्यहाँका अन्तर्राष्ट्रिय नाटक उत्सवहरूमा हामीले यहाँको कथालाई प्रतिनिधित्व पनि गर्न सक्छौं । साहित्य स्थापित गर्ने भनेको पनि त्यही त हो नि आफ्नो कथा अरूकहाँ गएर देखाउने हो हामीले । मलाई लाग्छ कर्णाली दक्षिण बग्दो छ देखाएपछि नै खस भाषाले काठमाडौंमा लाजको घुम्टो खोल्न थालेको हो । त्यो भन्दा अघि त्यहाँ मान्ठ भन्दा पनि लाज हुन्थ्यो । कसैले सुने पनि नसुने पनि हामीले खस भाषामै नाटक गर्छौं भन्यौं । भाषा र साहित्यको विकास यसरी नै हुने हो ।
हामी कर्णालीका मान्छेले नै कर्णालीका कथाहरू भन्न सकेनौं भने कर्णालीका हौं भनेर हिंड्दा पनि शोभा दिंदैन । विदेशका कथाहरू नेपालमा आउँछन् तर कर्णालीका कथाहरू अन्त किन नजाने त? त्यस कारण हामीले प्रयास गर्दै छौं । र, हामीले त्यसको सम्भावना पनि देखेका छौं । यस उत्सवमा देखिएको उत्साहजनक सहभागिताले पनि त्यही संकेत गर्छ कि हामी अगाडि बढ्दै छौं ।