
गमता बि.क.
अधिकारकर्मी, दैलेख
म सोह्र वर्षमा महिनावारी भएको थिएँ र उन्नाइस वर्षमा मेरो विवाह भएको थियो । तीन वर्ष पछि मेरो छोरा र पाँच वर्ष पछि छोरी जन्मिए । त्यति बेला स्वास्थ्य चौकीको त के कुरा त्यस्तो बेलामा खाने आइरन चक्कीको सट्टा ढुङ्गा माटो खाने चलन थियो ।
मैले पनि त्यो भोगेको छु । म सुत्केरी हुँदा मलाई आराम चाहिन्छ, मैले आराम गर्नुपर्छ भन्ने कुरा मलाई आफैलाई थाहा थिएन । छोरा छोरी जन्मिएको दुई–तीन दिनमा नै म जङ्गलमा दाउरा, घाँस काट्न जान्थें ।
२०५७ साल तिरको कुरा हो । मेरा छोरा छोरी सानै थिए । म महिनावारी भएको बेला उनीहरूलाई खाना खान दिने मान्छे पनि कोही भएन । त्यस्तो अवस्थामा उनीहरूले धेरै दुःख पाउन थाले । पहिला त म देउता लाग्छ भनेरै डराएँ । बिस्तारै म बेसार बारी, खुर्सानी बारी हुँदै पसें र ढोकासम्मै पुगें । ढोकाबाट म भित्र पसें । त्यसपछि भने म छाउ हुँदा बाहिर निस्किन । अनि समाजको दृष्टि म माथि पर्न थाल्यो ।
त्यति बेला गाडी पनि थिएन, बाटो पनि थिएन । छोराछोरी पाल्न बाहिर हिँड्दै गर्दा पाँच वर्षसम्म कसैको घरको दूध मैले खान पाएन र मेरो घरको दूध अरूले पनि खाइदिएनन् । मेरा मन मिल्ने दिदीबहिनीहरूले मलाई सोध्नुभयो । तिमी के खान्छौ? तिमीलाई किन महिनावारी हुँदैन? कुनै औषधी खान्छ्यौ कि देउता लागेर तिम्रो छाउ बाडी बन्द भयो? उहाँहरुलाई भनें, ‘मलाई देउता पनि लागेको छैन, मैले औषधी पनि प्रयोग गरेको छैन । मैले यस्तो यस्तो गरेको छु तर बिग्रिएको केही पनि छैन ।’ त्यसपछि मैले म जस्तै बिस जना मन मिल्ने साथी बनाएँ । उहाँहरू कसैलाई पनि केही भएन ।
त्यसपछि हामीले बिस वटा आमा समूह बनायौं । बिस्तारै उहाँहरूलाई पनि चेतना भयो । चेतना नभएसम्म केही पनि हुँदो रहेनछ । छाउ वा सुत्केरी भएको बेला आराम गर्नुपर्छ । गाई गोठमा हैन घरमै बस्नुपर्छ । यस्तो गर्दा केही हुँदैन । देउता पनि रिसाउँदैनन् । गाई पनि मर्दैनन् । बारीमा पनि फूल फूलेर फल लाग्छ । सबैलाई ज्ञान भयो । छाउ भनेको त महिलालाई चिनाउने एउटा गुण रहेछ ।
यसरी बिस्तारै बिस्तारै आफ्नो अनुभवबाट आएको चेतना फैलाउँदै जाँदा २०६६ सालबाट मलाई सङ्घसंस्थाहरूले पनि सहयोग गर्दै गए । त्यसपछि छाउबाडी बारे चेतनामूलक कार्यक्रम गरियो । छाउगोठ भत्काएर चर्पी बनाउने अभियान शुरु गराएँ । त्यो चेतना उठाउँदा उठाउँदै धेरै परिवर्तन भयो । अझैपनि छाउबाडी त छ तर त्यो बेला हामी घर नजिक नै आउन पाउथेनौं । हामीलाई धेरै घृणा गरिन्थ्यो । अहिले धेरै सहज छ ।
हाम्रोमा बालबालिकाहरुका समस्या पनि त्यस्तै छन् । हामी बस्ने ठाउँमा प्रायः दलित वा गरिब बालबालिका छन् । हुनेखानेहरूका बालबालिका चाहिँ शहरतिर पढ्न जान्छन् । सरकारी विद्यालयमा पढाउने शिक्षकले पनि राम्रोसँग पढाएका छैनन् । महिला र पुरुषमा पनि विभेद धेरै छन् ।
म बस्ने ठाउँमा एक जना महिला आफ्नो जँड्याहा श्रीमानले दुःख दिइरहँदा आफ्नो पाँच जना जहान लिएर घाटमा ज्यान फाल्न बाध्य भइन् ।
अझै पनि दलित बालबालिकाहरू पढ्न नपाएर त्यसै बाटोमा घुमिरहेका छन् । राज्यले नीति नियम त बनाएको छ । कार्यान्वयन गर्ने पनि हामी नै हौं । त्यो समाजमा बस्ने पनि हामी नै हौं । तर त्यो कार्यान्वयन किन फितलो छ । कार्यान्वयन नै नहुने हो भने नीति बनाएको के काम भयो?
म ५७ साल देखि सामाजिक काममा संलग्न छु । अहिले पनि हाम्रो देशका ठूला–ठूला नेताहरू महिलालाई, दलितलाई, पिछडिएका वर्गका मानिसहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने कुरामा तयार छैनन् । संविधानमा लेखिएको छ तर कार्यान्वयनको अवस्था कमजोर छ ।
दिनभरी कार्यक्रममा बसेर घर जाँदा पनि महिलाले नै खाना पकाउनु पर्छ । गाई, भैंसी वरपर सबै गर्नैपर्ने हुन्छ । सुत्दा १०–१२ बज्न पनि सक्छ । पुरुष चाहिँ १०–१२ बजेसम्म भट्टीमा बसेर आफूले चाहेको कुरा सबै गरेर जान पाउने यो प्रचलन अहिले पनि जस्ताको त्यस्तै छ ।
मैले यतिका वर्ष राजनीति गरेपनि कुनै एउटा ठाउँमा जानुपर्दा एउटा बाख्रो बेचेर जानपर्छ । हामी महिला तथा दलितहरू आर्थिक हिसाबले पनि सधैँ पछाडि परिरहेको स्थिति छ ।
शिक्षाको कुरा गर्दा त्यतिबेला धनीहरूका छोराछोरीलाई पनि पढ्नुपर्छ भन्ने ज्ञान थिएन । पढेपनि छोराहरूमात्र पढ्न पाउँथे । मेरो पनि बिहे भएर छोराछोरी भइसकेपछि काम गर्दै जाँदा अब त मैले अक्षर चिन्न जान्नुपर्छ है भन्ने हिसाबले बच्चा बच्चीलाई बोकेर नै मैले प्रौढ शिक्षा पढें । अहिले म केही कुरा पढ्न र केही लेख्न सक्ने भएँ ।
बिहानै चार बजे उठेर रातभरी जाँतो पिस्नुपर्ने, ढिंकी कुट्नुपर्ने, धान पनि कुटेर नै भात खानुपर्ने, मकै पनि कुटेर नै रोटी खानुपर्ने चलन अझै पनि हाम्रोतिर छ । मिल कारखाना धेरै छैनन् । कहीं कहीं भए पनि हाम्रा आमाबुवाहरू वा बुढापाकाहरू मिलमा कुटेको निको मान्दैनन् ।
अझै पनि बिहानै उठेर घर लिपपोत गर्ने चलन छ । त्यो कुरालाई चाहिँ म नराम्रो भन्दिन, किनभने दबाबैले गर्नु त ठिक होइन तर हामी आफैले गरेर खान्छौं, मिठो खान्छौं, बिहान दैलो लिपेर हामी सफा गर्छौं, सफा वातावरणमा बस्छौं भने त त्यो राम्रै कुरा हो ।
श्रीमान् घर आएपछि मात्रै श्रीमतीले खानुपर्ने चलन अझै पनि गाउँघरमा छ । केही ठाउँमा अथक प्रयासले त्यस्तो परिस्थिति हामीले हटाउन सफल भएका छौं ।
मेरी छोरी महिनावारी हुँदा मैले गाउँमा बाजा बजाएर खुशीयाली मनाएँ । छोरीलाई घरमै सुताएँ । तर समाजले मेरी छोरीलाई भड्काएर तिमीलाई तिम्री आमाले बिगार्छिन् भने । तिनको अहिले राम्रो नै भइरहेको छ ।
अझै पनि गाउँघरमा छोरी जन्मिंदा यसलाई कता लैजाने हो लैजाऊ भन्ने र छोरा जन्मियो भने बाजा बजाउने प्रचलन छ । त्यसलाई पनि हामीले समाजमा गएर कसरी चेतना फैलाउन सकिन्छ बिस्तारै त्यसमा पहल गर्नुपर्ने छ, गर्छु पनि ।