
आमा र बालबालिकाको सम्बन्ध वा ‘छाउ र भाउ’को सम्बन्ध एकदमै गहिरो हुन्छ । हामीले पोषण दिवसको अवसरमा धेरै किसिमका खानपानको चर्चा गर्छौं । कर्णाली प्रदेशको गाउँ–गाउँ घुम्दाखेरि मैले पत्ता लगाएको कुरा के हो भने, यहाँ ५० प्रतिशत बालबालिका कुपोषित छन् । र, त्यसको कारण हो यहाँका आमाहरु कुपोषित छन् ।
कर्णाली प्रदेशमा ९२ प्रतिशत महिलाहरूको नाममा घर छैन । ती महिलाहरू सुकुम्वासी हुन् । यसको प्रत्यक्ष असर बालबालिकामा पर्छ । हामीले के भन्छौँ भने बालबालिकाहरू स्कूल जाँदैनन्, पढ्दैनन् । यहाँ अशिक्षा छ । यसको कारण स्कूल नभएर होइन । यसको कारण हो आमाहरु अशिक्षित भएर । कर्णाली प्रदेशमा ४१.५ प्रतिशत महिला अशिक्षित छन् । त्यसैले बालबालिकाहरूमा यसको असर परेको छ । त्यसैले छाउ र भाउको सम्बन्ध हेर्दा अलि नकारात्मक टिप्पणी गर्यो कि भन्ने हुन्छ । तर जरा नै यही हो ।
जब हामीले जरालाई समात्दैनौँ तब अन्य खालको विकासले कुनै काम गर्दैन । जबसम्म हामीले आमा र बच्चालाई जोड्न जान्दैनौं, छाउ, भाउ र त्यसपछि बाउलाई पनि जबसम्म हामीले यसमा जोड्न सक्दैनौँ तबसम्म हामीले कर्णालीलाई धकेल्न सक्दैनौँ ।
एउटा विद्वानले लेखेको किताबमा के निक्र्यौल गरिएको छ भने, गर्भवती महिला र तीन वर्षसम्मको बालबालिकामा गरिने राज्यको लगानी ठूला–ठूला विश्वविद्यालयमा गरिने लगानीभन्दा महत्वपूर्ण हुन्छ । जबसम्म आमाको ‘अ’ लाई अर्थतन्त्रको ‘अ’ सँग हामीले जोड्न जान्दैनौँ, तबसम्म देश कङ्गालको कङ्गालै भइराख्छ ।
हाम्रो दिमागको ७० प्रतिशत कुराहरू बौद्धिक होस् वा भावनात्मक, सबै कुरा कि आमाको कोखमा विकसित हुन्छ कि आमाको काखमा विकसित हुन्छ । यदि एउटा महिलाको पेटभित्र बच्चा छ र ती महिलालाई त्रास देखाइन्छ, राम्रोसंग खान दिइँदैन, कुटपीट गरिन्छ भने उनको शरीरमा एक प्रकारको त्रासको रसायन बन्न थाल्छ । त्यो रसायन गर्भभित्र रहेको बच्चाको गिदिमा रगतको माध्यमबाट जान्छ र काखमा भएको बच्चाको गिदिमा आमाको दूधबाट जान्छ । र, त्यसले भावनात्मक विकास हुने बच्चाको गिदीमा नकारात्मक असर पारिदिन्छ । पछि गएर बच्चालाई राम्रै कुरा भन्दा वा राम्रै कुरा पढाउँदा पनि त्यसलाई नकारात्मक रूपमा लिन्छ । हिंसात्मक रूपले लिन्छ ।
अन्ततोगत्वा त्यही बच्चा अगतिलो डाक्टर वा नेता वा अरु केही बन्छ । यो कुरालाई हामी सबैले नबुझेसम्म परिवर्तन हुनेवाला छैन । काठमाडौंमा भन्दा कर्णालीमा बालबालिकाको मानसिक समस्या धेरै छ । किनभने कर्णालीका आमाहरूमा मानसिक समस्या बढी छ । अघि जुन नदीमा हाम फालेर मरेको कुरा थियो, त्यो हिजो भएको कुरा होइन, वर्षौंदेखिको समस्याको कारणले गर्दा सुसाइडल टेन्डेन्सी बढ्यो । यो कुरा बुझ्यौँ भने मात्र हामीले राम्रा बालबालिकाहरू उत्पादन गर्न सक्छौँ । र, पछि गएर ती बालबालिका गतिला व्यक्ति बन्छन् ।
समानताको कुरालाई सामान्य भाषणको रूपमा मात्रै नभई समाधानका साना साना कार्यक्रमको रुपमा अघि सार्नुपर्छ । जस्तो कि एकचोटी एक जना गर्भवती बहिनी मैले चेक गरेको कोठामा आउनुभएको थियो । अर्कै कारणले आउनुभएको थियो । उहाँको टाउकोमा एकदमै ठूलो रातो कसैले पिटेको दाग थियो । अनि मैले बहिनी यो घाँटीमा के भयो भन्दा पहिला त उहाँले भन्नुभएन । पछि कुरा गर्दागर्दै मेरो श्रीमानले मलाई बेलुका बेलुका रक्सी खाएर पिट्नुहुन्छ भन्नुभयो । यसो सोचेर मैले एउटा चिठी लेखें अनि यो लगेर आफ्नो श्रीमानलाई दिनुहोला भनें । उहाँले त्यो चिठी लगेर श्रीमानको हातमा दिनुभएछ । श्रीमानले त्यो चिठी च्यातेर चुलोमा फाल्नुभएछ ।
त्यसको दुई दिन पछि बेलुका श्रीमान् रक्सी नखाएरै घर आउनुभएछ । घरमा आएपछि तँलाई अलिकति रेष्ट चाहिन्छ, तँ रेष्ट गर् आज म खाना पकाउँछु भन्नुभएछ । भोलिपल्ट दिउँसो म आज तेरो कपडा धोइदिन्छु तँ रेष्ट गर् भन्नुभएछ । अनि उहाँलाई लाज लागेछ ।
चेकजाँचका लागि फेरी आउँदा उहाँ मकहाँ आउनुभयो । अनि सोध्नुभयो– डा. साहब त्यो चिठीमा हजुरले के लेख्नुभएको थियो?
भनें– त्यो चिठी मैले मेरो नामबाट लेखेको होइन । तपाईंको नामबाट पनि लेखेको थिइन । न त अस्पतालको नामबाट । त्यो चिठी मैले तपाईंको गर्भभित्र रहेको बच्चाको नामबाट लेखेको थिएँ । चिठीमा लेखेको थिएँ– प्रिय बुवा, म अहिले आमाको काखभित्र खेलिरहेको छु, सुरक्षित छु, खेल्ने धेरै ठाउँहरू छन् यहाँ । म बाहिर आएर तपाईंको हात समातेर स्कूल जान आतुर छु । तपाईंको काखमा खेल्न म आतुर छु । मेरो बुवालाई भेट्न म आतुर छु । तर मेरो बुवा, बेलुका सात बजेपछि मलाई कसैले घाँटी चेपेको जस्तो लाग्छ । कसैले मलाई मार्न खोजेको जस्तो लाग्छ । मेरो आमाको वरिपरि मेरो बुवा हुँदाहुँदै कसले यस्तो गर्यो होला र? मलाई त यो कुरामा विश्वास लाग्दैन । मेरो आमाको सुरक्षा गरिदिनुहोला है बुवा । किनभने उहाँकै पेट मेरो घर हो । एउटा सानो चिठीले उहाँ परिवर्तित हुनुभएछ ।
त्यसैले परिवर्तनको मोडेल नै परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ । छाउगोठलाई हटाएर छाउ महल बनाउनु जरुरी छ भन्ने लाग्छ । कुनै पनि घरको राम्रो कोठा, जुन कोठामा राम्रा पुस्तकहरू होउन्, सानो एउटा रेडियो पनि झुन्डिएको होस्, प्रशस्त खानेकुरा होस्, जब महिलाहरू महिनावारी हुन्छन् त्यो कोठा उनीहरूको लागि होस् । अनि संसारले नै कर्णालीबाट सिकुन्, छाउ गोठ होइन छाउ महल बनाउनुपर्छ भनेर । त्यसैले साना साना नमूनाहरूलाई अलिकति भित्री रूपमा गएर विकास गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
तपाईंले जुन प्रश्न गर्नुभयो त्यो प्रश्नको उत्तर त्यही प्रश्नमै छ । महिलाहरू हरेक रात अन्तिममा सुत्छन् । यति मात्रै होइन महिलाहरूले खाना पनि अन्तिममा खान्छन् । त्यो खानामा भात र दाल चाहिँ हुन्छ होला, तर तरकारी हुँदैन । सबैभन्दा आवश्यक तत्व त्यही हो ।
अन्तिममा खाने महिलाहरुको खानामा हरियो साग सब्जी, प्रोटिनयुक्त कुराहरू तथा आइरनजस्ता तत्वको कमी हुन्छ । जसले गर्दा उहाँहरूबाट जन्मेको बच्चामा पहिलेदेखी नै रगतको मात्रा कम हुन्छ । अघि गमताजीले भन्नुभयो कि बच्चा जन्मेको दोस्रो दिनमै उहाँ घाँस दाउरा गर्न जानुहुन्थ्यो । त्यस्तो गरुङ्गो काम गर्दा दूध राम्रोसँग आउँदैन । अनि बच्चाले दूध पनि राम्रोसित खान पाउँदैन ।
परिणामतः त्यो बच्चाको शरीरमा धेरै प्रकारको भिटामिनको कमी हुन्छ । त्यसमा आइरनको पनि कमी हुन्छ । रक्तअल्पताको एउटा लक्षण माटो चाट्नु हो । कर्णालीका धेरै बच्चाहरुले माटो चाटेको पनि हामीले देखेका छौं ।