विन्दा पाण्डे, राजनीतिकर्मी

विन्दा पाण्डे, राजनीतिकर्मी

२०६४ सालमा जब म पहिलो संविधानसभाको सदस्य भएँ, त्यतिबेला नागरिकहरूकोबीचबाट सुझाव सङ्कलन गर्ने सन्दर्भमा म सुदूरपश्चिम र कर्णालीमा जोडिन पुगेँ ।
हामीले जतिसुकै कुराहरू नीतिमा लेखे पनि स्थानीय तहमा कार्यान्वयन गर्ने स्थानीय तहमा रहेका हाम्रा सोचहरू, दृष्टिकोणहरू र हाम्रा व्यवहारहरू जबसम्म हामी रूपान्तरण गर्न सक्दैनौँ तबसम्म, नीतिमा लेखिएका कुराहरू भनेको जान्ने र बुझ्नेका लागि वा पहुँच हुनेहरूका लागि मात्रै उपयोगी हुने रहेछ । जसले गर्दा लोकतन्त्र आइसकेपछि हामीले नीतिगत हिसाबबाट धेरै कुराहरू लेखेका छौँ । नीतिगत रुपमा लेखिएका ती कुराहरूमा सबै नागरिकको पहुँच कसरी विकास गर्ने? भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

जुन दिनसम्म हामीले नीतिगत व्यवस्थाहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नको लागि काम गर्न सक्दैनौँ तबसम्म हामीले लेखेका कुराहरूले यहाँका मान्छेहरूको जीवनमा खासै धेरै असर गर्दैन । मैले कर्णालीका केही जिल्लाहरू घुमिसकेपछि कर्णाली स्रोत नभएर गरिब भएको होइन भन्ने लाग्यो ।
कर्णालीमा हामीसँग भएका स्रोतलाई व्यवस्थापन गर्ने र यहाँका मानिसको चेतनालाई विकासको माध्यम बनाउने हो भने हामीले जुन खालका समस्या भोगिरहेका छौँ त्यसको समाधान गर्न सकिन्छ भन्ने लाग्छ ।

यो समाजको समस्या, त्यो समस्यालाई समाधान गर्न हामी कसरी अगाडि बढ्नुपर्छ, र त्यसको लागि सबैभन्दा पहिलो कर्ता को हो भन्ने कुराको नमूना कर्णालीका अभियान्ता गमता बिकजीलाई नै त्यहाँ राख्ने हो भने त्यो सबै कुराको जवाफ आउँछ ।
अर्काे डा. नवराज केसीजीले जे कुरा भन्नुभएको छ, यो मुलुकमा जबसम्म एउटा बच्चा गर्भमा हुँदाखेरि नै आमा शारीरिक तथा मानसिक हिसाबबाट स्वस्थ, पोषिलो खानेकुरा पाउने र खुसी पारिवारिक वातावरण जबसम्म हामीले बनाउन सक्दैनौँ, तबसम्म हामीले जतिसुकै समृद्धिका कुरा गरेपनि त्यो व्यवहारमा हुनेवाला छैन । राजनीतिको पाटो नीतिमा लेख्ने एउटा कुरा होला ।

समृिद्धको पाटो अर्थतन्त्र कति विकास भयो भन्ने कुरामात्रै पनि होइन । हामीले नागरिकहरूलाई सामाजिक सांस्कृतिक हिसाबबाट कति समान व्यवहार गरेका छौँ र म यो समाजको सम्मानित नागरिक बराबरीको हैसियतको सम्मानित भएको नागरिक हुँ भन्ने अनुभूति दिन सकेको दिन यो समाज समृद्ध हुन्छ ।
बच्चाहरू पेटमा हुँदा आमाहरूले म यो मुलुकको समान हैसियतको मर्यादित नागरिक हुँ भन्नेखालको मानसिकतासहित आमाले गर्ने वा सोच्ने व्यवहारले पेटमा रहेको शिशुलाई पनि असर गर्छ भनेर हाम्रो समाजले बुझेको दिन मात्र त्यो सम्भव हुन्छ । कानुनमा धेरै कुरा लेखिसकिएको छ । तर कानुनमा लेखेको कुरा राजनीति हो । राजनीति सबैभन्दा रुखो हुन्छ ।

रुखोपनले मान्छेलाई समृद्ध बनाउँदैन । त्यसकारण मानवलाई समृद्ध बनाउनको लागि जुन खालका कुराहरू हामीले सुनिराखेका र भोगिराखेका छौँ, कसरी सिंगो कर्णालीका नागरिकहरूलाई त्यो खालको अनुभूति दिलाउने र त्यसलाई व्यवहारमा परिवर्तन गराउने हामी सबैले जहाँजहाँ छौँ त्यहीत्यहीँबाट प्रयत्न गर्नुपर्छ । र, यसलाई कार्यान्वयनको तहमा लैजान सक्यौँ भने मात्रै समाधान हुनसक्छ ।

हामीले आजका बालबालिका भोलिका भविष्य भनिराखेका छौँ । त्यो कुरालाई नारा मात्र लगाएर हुँदैन । त्यसलाई अनुभूत गरेर व्यवहारमा रूपान्तरण गर्ने कुरामा हामी सबैले योगदान गर्नुपर्छ । म रूपान्तरण भएको छु कि छैन भनी आत्मसमीक्षा गरौँ । दुनियाँले जे भने पनि गमताजी जस्तै अब म रूपान्तरण गर्छु, मैले गर्नुपर्छ भन्ने खालको प्रतिबद्धताका साथ काममा लाग्यौँ भनेमात्र सफल हुन्छौँ ।

जहाँसम्म महिलाको जीवनमा परिवर्तन गर्न पुरुष कस्तो हुनुपर्छ भन्ने प्रश्न छ, हामीले चाहेजस्तो समानतामा आधारित समाजका लागि पहिलो कुरा तपाईंले मलाई हेर्दा म तपाईंजस्तै नागरिक हो भनेर सोचिदिन‍ुपर्याे । सबैभन्दा पहिले त्यस्ता पुरुष चाहियो ।
अर्काे हाम्रो परिवारमा हाम्रा बुवाहरू कस्ता चाहिए भने, उहाँहरूले हाम्रा आमाहरूलाई आफैसरह हो भनेर सम्मानित व्यवहार गरेको छोराछोरीले देख्न पाउने खालको हाम्रा बाहरू चाहियो । हाम्रा दाजुभाइहरूले हाम्रा दिदीबहिनीहरूलाई परिवारभित्र म उसको संरक्षक होइन ऊ र म बराबरी हैसियतको नागरिक हो भन्न सक्नुप‍र्याे । मेरी दिदीबहिनीमाथि परम्पराको हिसाबले विभेद गर्नेखालको कुनै प्रश्न उठ्छन् भने मैले सबैभन्दा पहिले त्यसको प्रतिकारमा आवाज उठाउनुपर्छ भनी अगाडि बढ्ने दाजुभाइहरू चाहियो ।

जसका कारणले आफ्नो घरभित्र मात्र होइन, आफ्नो समूदायमा र यो मुलुकको पितृसत्ताको आडमा कुनै ठाउँमा, कुनै किसिमको महिला हिंसा हुन्छ, कुनै खालको विभेद हुन्छ, त्यसविरुद्ध अग्रपङ्क्तिमा पुरुषहरूको आवाज उठ्ने खालको स्थिति हामीले समाजमा पायौँ भने त्यो समाजमा आमाहरु सम्मानित हुन्छन् । जुन दिन आमा सम्मानित हुन्छिन् त्यो दिन आमा र बालबालिकाबीचको सम्बन्ध डा. नवराज केसीजीले भन्नुभएकोझैँ प्रगाढ हुन्छ । त्यसले भविष्यको पुस्ता एकदमै असल पुस्ता बन्छ भन्ने मलाई लाग्छ ।

आज हामी जुन छाउ भनिराखेका छौँ त्यो हाम्रा आमाहरूको वा महिलाहरूको उनीहरूमा निहित सबैभन्दा ठुलो शक्ति हो । तपाईं हामी सबै हाम्रो आमाको छाउको अंग हौँ । हाम्रो आमाको छाउविना हामी हुँदैनथ्यौँ । महिलाको छाउ रोकिए संसार रोकिन्छ भन्ने कुरा समाजले अनुभूति गर्न सक्यो भने हामीलाई महिला, पुरुष, लैङ्गिक अल्पसंख्यक सबैलाई छुट्याएर नहेर्ने खालको समाज बन्न सक्छ । त्यही दिन हाम्रो समाज समृद्ध बन्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events