
व्यवसायमा बहस
सिया कार्की
सदस्य, सुर्खेत उद्योग वाणिज्य सङ्घ
ऋति फाउण्डेसनद्वारा आयोजना गरिएको कर्णाली उत्सव कुडा कर्णालीकाको दोस्रो संस्करण उद्घाटन समारोहका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, ड्यासमा आसीन अतिथिज्यूहरू । सञ्चारकर्मीज्यूहरू र आजको यस कार्यक्रममा आफ्नो अमूल्य उपस्थिति जनाइरहनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा सुर्खेत उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यको तर्फबाट न्यानो नमस्कार ।
सर्वप्रथम कर्णाली लाई चिन्ने र चिनाउने प्रकृतिको बौद्धिक र व्यावहारिक बहसको थालनी गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । कर्णाली उत्सवको दोस्रो संस्करणमा निजी क्षेत्रको तर्फबाट सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुशी अनुभव भइरहेको छ ।
कर्णाली प्रदेशको भौगोलिक एवं जैविक विविधता नै सबैभन्दा महत्वपूर्ण खजाना हो । माथि हिमाली भेगको जैविक विविधता जहाँ हिम चितुवा र रेड पान्डा जस्ता दुर्लभ हिमाली वन्यजन्तुहरू पाइन्छन् । कर्णाली र सिञ्जा सभ्यता नेपालकै सबैभन्दा पुरानो र नेपाली भाषाको उद्गम स्थलको रूपमा पनि लिइन्छ ।
हामीलाई थाहा छ कि कर्णाली प्रदेश कुनै समय चीनसँग व्यापार नाकाको रूपमा पनि चिनिन्थ्यो र देशकै सबैभन्दा समृद्ध भूगोलको रूपमा पनि कुनै समय परिचित थियो । डोल्पाको यार्सागुम्बा र साबिक कर्णालीका सम्पूर्ण जिल्लाहरूको स्याउ, मार्सी धान, जडिबुटी लगायत फलफूल र खाद्यान्नको सम्भावना उत्तिकै छ । प्रदेशको उच्च हिमाली क्षेत्रमा तामा खानी पनि पाइन्छ । डोल्पा, जाजरकोट, दैलेख लगायतका क्षेत्रमा पाइने बहुमूल्य पत्थरको प्रचुर सम्भावना भएको क्षेत्र हो कर्णाली ।
सांस्कृतिक रूपमा खस–आर्य, राउटे, राजी, माझी लगायतका अन्य जातीहरूको उद्गम स्थल हो कर्णाली । कर्णाली नदी जसलाई हाइड्रो पावरको दृष्टिकोणले जोएल अफ एसिया पनि भनिन्छ । कर्णाली नदीबाट मात्रै हजारौं मेगावाट विजुली उत्पादन गर्न सकिन्छ ।
यस्तै पर्यटकीय दृष्टिकोणले पनि कर्णाली दुर्लभ गन्तव्य हो । यी सबै सम्भावना बोक्दाबोक्दै पनि आधारभूत पूर्वाधारहरूको विकास प्रवद्र्धन र प्रयोग नभएका कारणले हामी यी सबै सम्भावनाहरूबाट लाभान्वित हुन सकिरहेका छैनौं । जसले गर्दा निजी क्षेत्र पनि आफ्नो सम्पूर्ण लागत लगाएर उद्योग व्यवसाय सञ्चालन गर्न सकिरहेको छैन ।
यस कार्यक्रम मार्फत् कर्णालीले बोकेको सम्भावना र त्यसमा हुनुपर्ने आन्तरिक र बाह्य लगानी प्राथमिकीकरण गरेर उपयोग गर्न सके हामीले सफलता चुम्न धेरै समय कुर्नुपर्दैन ।
सुर्खेत उद्योग वाणिज्य सङ्घ अन्तर्गत महिला उद्यमी विकास समितिको म संयोजक भइरहँदा सरकारले ल्याएको विना धितो जुन अनुदान कार्यक्रम छ १० देखि १५ लाखसम्म, त्यसलाई चाहिँ सानो एउटा उदाहरणको रूपमा मात्र यहाँ प्रस्तुत गर्न चाहन्छु ।
जुन नीति नियममा हेर्दाखेरि जति सहज र सरल छ व्यवसायी र उद्यमीहरूको लागि उहाँहरूको पहुँचको लागि त्यति सरल नरहेको हुँदा नीति नियमहरू बनाउँदा उद्योगी र व्यवसायीमैत्री हुनुपर्ने पनि म सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।
आजको यस कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य सङ्घका तर्फबाट व्यावसायिक बहसको सुरुवात गर्ने अवसर प्रदान गर्नु भएकोमा आयोजकप्रति म र मेरो संस्थाको तर्फबाट आभार प्रकट गर्न चाहन्छु । अन्तिममा यो उत्सवमार्फत् सरकारका विभिन्न निकाय, विश्वविद्यालय, शैक्षिक संस्थाहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू र सम्पूर्ण नागरिकहरूमा आफ्नो स्रोत साधन र क्षमतालाई बुझेर लगानी गर्न आग्रह गर्दछौं ।
साथै हामी निजी क्षेत्र कर्णालीको समग्र विकासको लागि सधैं तत्पर रहने छौं भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । जाँदाजाँदै कर्णाली उत्सव कुडा कर्णालीकाको दोस्रो संस्करणको भव्य सफलताको शुभकामना व्यक्त गर्दै यस उत्सवमा सहभागी सम्पूर्णलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हार्दिक स्वागत गर्न चाहन्छु ।