
अर्थ र बहस
प्रकाश ज्वाला
मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश
ऋति फाउण्डेशनद्वारा २०७७ फागुन २६ देखि २९ सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको सुन्दर प्राकृतिक धरोहर बुलबुले उद्यानमा ‘कुडा कर्णालीका मूल नाराका साथ कर्णाली उत्सवको दोस्रो संस्करण आयोजना गरिएको छ । दोस्रो कर्णाली उत्सव आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्दछु । सर्वप्रथम कर्णाली उत्सव भव्य, सभ्य र उपलब्धिमूलक रूपमा सम्पन्न होस्, प्रदेश सरकार र मेरो तर्फबाट उत्सव सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कर्णालीको सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय लगायत बहुआयामिक विषयहरूमा विभिन्न विद्वान, विज्ञ, अध्येता, जनप्रतिनिधि, व्यवसायीहरूबीच वृहत् बहसको महत्वपूर्ण मञ्चको रूपमा यो उत्सव आयोजना गरिएको छ । यस उत्सवमा विभिन्न क्षेत्रमा रचनात्मक बहस हुनेछ र सकारात्मक एवं समाधानमूलक समाधानको बाटो (ध्बथ इगत) निकाल्ने छ भन्ने विश्वास लिएको छु ।
कर्णाली उत्सवमा अर्थ, अर्थतन्त्र र आर्थिक सवालमा पनि बहस हुनेछ । कर्णालीमा उपलब्ध साधन श्रोतलाई अत्याधिक उपयोग गरेर कर्णालीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र समृद्ध कर्णालीको सपना पूरा गर्ने हाम्रो लक्ष्य रहेको जगजाहेर छ ।
आजको सवाल भनेको कर्णालीमा रहेको साधन, श्रोत र सम्पदाको बढी भन्दा बढी सदुपयोग कसरी गर्न सकिन्छ? कसरी आजको गरिबीको बिल्ला लगाइएको कर्णालीलाई धनी बनाउन सकिन्छ? कसरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिन्छ? कसरी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सकिन्छ? समृद्ध कर्णालीको मार्गचित्र के हो? यी र यस्ता तमाम विषयवस्तुहरूमाथि यस उत्सवमा रचनात्मक बहस हुनेछ र ‘समृद्धिको मार्गचित्र’ तयार हुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
संविधानसभाबाट संविधान निर्माण भएपछि यति बेला हामी संविधान र सङ्घीयता कार्यान्वयनको यात्रामा अघि बढिरहेका छौं । नयाँ सङ्घीय राज्य संरचना अन्तर्गत सातौं प्रदेशको रूपमा प्रदेश नं. ६ को स्थापना भयो । प्रदेश सरकारको निर्णय र प्रस्ताव अनुसार प्रदेश सभाबाट सर्वसम्मतिले देश मै सर्वप्रथम प्रदेशको नामकरण र राजधानीको निर्णय गर्ने काम भयो । भौगोलिकता, ऐतिहासिकता र जनताको एकता, अपनत्व एवं स्वामित्व झल्कने गरी प्रदेशको नाम ‘कर्णाली’ र प्रदेश राजधानी ‘सुर्खेत’ राख्ने फैसला भयो । आज हामी कर्णालीवासीको रूपमा गौरवबोधका साथ प्रदेशको विकास र समृद्धिको अभियानमा अघि बढिरहेका छौं ।
कर्णाली प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । यो पहिलो प्रदेश सरकार हो । सरकार गठनको प्रारम्भिक समय भनेको सबै कुराको जग बसाल्ने समय थियो । भौतिक पूर्वाधार, कानुनी संरचना, कर्मचारी र बजेटको अभावका कारण शुरुवाती कालमा काम गर्न धेरै कठिनाइ व्यहोर्नु प¥यो । अनेकौं चुनौतीहरू खास गरी साधन श्रोतको सीमितता र जनशक्तिको अभावका बाबजुद प्रदेश सरकार आफ्नो लक्ष्य प्राप्तिको लागि क्रियाशील रह्यो । अत्यावश्यक भौतिक पूर्वाधार, बजेट कार्यान्वयन संरचना तथा प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन, कानुनहरू बनाउने काम भयो । यसबीच लोक सेवा आयोग, योजना आयोग लगायत आवश्यक संस्थागत संरचनाहरू समेत स्थापना भएका छन् ।
कर्णाली प्रदेशलाई यतिबेला गरिब र अभावग्रस्त प्रदेशको रूपमा चित्रण गरिएको छ । तर साधन, श्रोत, सम्पदा र सम्भावनाको दृष्टिले यो प्रदेश अत्यन्त धनी छ । कर्णालीको भू–सतह र भू–गर्भमा अपार श्रोत र सम्पदा रहेका छन् । हाम्रो प्रदेश जलश्रोतको भण्डार हो र जडिबुटीको राजधानी हो । जङ्गल र अर्गानिक उत्पादनको लागि अनुकूल जमिनका साथै जमीनमुनि रहेका प्रशस्त धातुहरू, ग्याँस एवं खनिजवस्तुहरू हाम्रो प्रदेशको बहुमूल्य सम्पत्ति हो ।
त्यसरी नै प्राकृतिक सुन्दरताले भरिएको कर्णालीमा रारा लगायत मनोरम प्राकृतिक सम्पदा, ऐतिहासिक, धार्मिक धरोहरहरू रहेको कारण पर्यटन विकासको ठूलो सम्भावना छ । शे–फोक्शुण्डो, बुलबुले, काँक्रेविहार, कुपिण्डे, पञ्चकोशी, पचाल झरना, स्यार्पु ताल, लिमी भ्याली, सिञ्जा, जाजरकोट दरबार लगायतका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्न सक्दा त्यो कर्णाली समृद्धिको आधार बन्न सक्छ । यी सम्भावनाहरूको सदुपयोग गरेर प्रदेशलाई माथि उठाउन सकिन्छ । कृषि, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा विकास गरेर प्रदेशलाई सम्पन्न बनाउन सकिन्छ ।
यस अवधिमा बजेटको अभावका बीच पनि केही प्रदेश गौरवका योजनाहरू, प्रदेश राजधानी वीरेन्द्रनगरको विकास, शिक्षा, स्वास्थ्य, कृषि, सडक, विद्युत्, खानेपानी, सिंचाई, पर्यटन, उद्योग, सामाजिक सुरक्षा, शान्ति सुव्यवस्था, सुशासन लगायतका क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको छ । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना लगायत महत्वपूर्ण दस्ताबेजहरू निर्माण गरेको छ ।
जनताको साथ सहयोगमा कर्णाली प्रदेशको साधन श्रोत र सम्भावनालाई अत्यधिक उपयोग गर्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को ‘दूर दृष्टि’ (ख्ष्ककष्यल) र ‘ध्येय’ (ःष्ककष्यल) मा प्रतिबद्ध रहँदै आफ्नो लक्ष्य (न्यब)ि प्राप्तिको अभियानमा प्रदेश सरकार अविचलित हिँडिरहेको छ । सहअस्तित्व, समन्वय र सहकार्यको मूल मर्म अनुसार कर्णाली प्रदेशको विकासका लागि सङ्घीय र स्थानीय सरकार, विकास साझेदार निकाय र निजी क्षेत्रसँग हातेमालो गर्दै प्रदेश सरकारले काम गरिरहेको कुरा सबैमा जगजाहेर नै छ ।
हामी आजको ‘सुन्दर’ कर्णालीलाई भोलिको ‘समृद्ध कर्णाली’ (एचयकउभचयगक प्बचलबष्)ि को रूपमा यसको नयाँ परिभाषा स्थापित गर्न चाहन्छौं । हामी सबैको सामूहिक प्रयत्न, सहकार्य र साझा सङ्कल्पबाट समृद्ध कर्णाली र सुखी एवं खुशी कर्णालीवासीको मूल लक्ष्य पूरा गर्न पूर्ण प्रतिबद्ध छौं । यिनै उद्देश्य र भावनाहरूलाई प्रदेश सरकारले आफ्ना नीति, कार्यक्रम, बजेट र योजनाहरूमा संशोधन गर्दै आएको छ ।
कर्णाली सरकारको नीति, कार्यक्रम र बजेट प्रदेशको विकास र समृद्धि एवं जनताको सेवा सुविधालाई संशोधन गर्ने मार्गचित्र हो ।
फेरि पनि सुन्दर बुलबुलेको आँगनमा हुँदै गरेको समृद्धिको बहुआयामिक बौद्धिक बहस ले सार्थकता पाउनेछ र कर्णाली उत्सव पूर्ण रूपमा सफल हुनेछ, उत्सव सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।