
विश्वविद्यालय बाहिर प्राज्ञिक बहस
कमलेश डिसी, निमित्त डिन
मानविकी र सामाजिकशास्त्र सङ्काय, मध्यपश्चिम विश्वविद्यालय
ज्ञानका कुराहरू, सिद्धान्तका कुराहरू, इतिहासका कुराहरू चौतारा चौतारामा भन्नुपर्छ । वास्तवमा हाम्रा विश्वविद्यालयहरू ज्ञानको उत्पादन, ज्ञानको प्रचार प्रसार र ज्ञानलाई अझ परिमार्जित गर्ने तथा अनुसन्धान गर्ने थलोको रूपमा रहेका छन् ।
हामीले विश्वविद्यालयबाट प्राप्त हुने ज्ञानलाई समाजमा कसरी पु¥याउने, विश्वविद्यालयबाट सिकेको प्राज्ञिक बहसलाई समाजमा कसरी लैजाने भन्ने बारेमा पनि सोच्न जरुरी छ । यस सन्दर्भमा कर्णाली उत्सवको आयोजना गरेर यहाँका उत्साही युवा साथीहरूले कर्णाली प्रदेशको समग्र विकास यहाँको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
मलाई लाग्दछ हामीले पनि आफ्नो ठाउँबाट केही कामहरू गरिरहेका छौं । मध्यपश्चिम विश्वविद्यालयले पनि अब निकट भविष्यमै ‘कर्णाली इन्स्टिच्युट फर इन्डिजिनियस एन्ड टेक्नोलोजिकल नलेज स्टडी’ भन्ने एउटा अलग फ्याकल्टी स्थापना गर्दैछ ।
त्यसले कर्णालीमा रहेका आदिबासीहरूको सीप, कला, क्षमतालाई क्यापिटलाइज गर्ने, त्यसलाई प्रचार प्रसार गर्ने, त्यो सीप र कलालाई आधुनिकीकरण गर्ने र त्यसमा प्राज्ञिकता पनि भर्ने काम गर्ने हामीले अपेक्षा गरेका छौं ।
कर्णालीको विकासमा विश्वविद्यालयले हातेमालो गर्ने र यसको ऐतिहासिक ज्ञान यहाँको सीप तथा प्राचीन सिञ्जा राज्यले जुन एउटा विरासत आर्जन गरेको थियो त्यसबारे वर्तमान पुस्तालाई केही खुराक पस्कने हामीले अपेक्षा गरेका छौं । र, यसैका लागि विश्वविद्यालय पनि लागिरहेको छ ।
कर्णाली उत्सवमा विश्वविद्यालयको तर्फबाट मलाई यहाँ केही शब्द राख्ने अवसर दिनुभएकोमा त्यसको लागि म आयोजकलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।
