सहजकर्ता (बेद प्रकाश ढकाल): सबैलाई नमस्कार, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको यो सिटी हलको आँगमनमा सबैलाई ढोग दियाँ, जदौ, नमस्कार। कर्णाली उत्सवः कुडा कर्णालीका; कर्णालीका कुरा सुन्ने-सुनाउने, कर्णालीलाई चिन्ने-चिनाउने यो छैटौँ संस्करणमा कर्णाली प्रदेशको सुन्दर नगरी, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसम्म आइपुग्दा हिजोमा यसको विगत के थियो? भन्ने कुरालाई चर्चा गर्नका निम्ति आयोजकले ‘चौघान-चर्चा’ एउटा सेसनको आयोजना गरी मलाई यो सेसनको सहजिकरण गर्ने जिम्मा दिएकोमा म आयोजक प्रति कृतज्ञता जाहेर गर्दछु। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, यसको इतिहास, जहाँ हामी छौ। यो माटोमा सुर्खेत उपत्यकाभित्र जहाँ हामी छौ। यसको इतिहास धेरै लामो छैन। यसको आवादीको इतिहासको खास कुरा गर्दै छु मैले, यसको आवादीको इतिहास धैरै लामो छैन।
संघीय राजधानी काठमाडौंबाट ६०० किलो मिटर यो उत्तर पश्चिममा रहेको कर्णाली प्रदेशको राजधानी, यो सुर्खेत उपत्यका समुन्द्र सतहबाट करिब ६६५ मिटर उचाईमा पर्छ। यहाँको हावापानी एकदमै मनोरम छ। न धैरै गर्मि, न धैरै जाडो, मनोरम प्रकारको हावापानी रहेको सुन्दर उपत्यका, स्थायी रुपमा २०२३ साल भन्दा पहिले यहाँ स्थायी रुपमा बसोबास थिएन। औलो लाग्ने कारणले गर्दा साविकको गढी गा.वि.स, गढीमा रहेको दैलेख र सुर्खेतको केन्द्र गढी थियो र सुर्खेतको जिल्लाको सदरमुकाम गढी थियो। गढी बाटै गढीमा बस्ने र यहाँ खेतिपाति गर्ने, खासगरी यसको उत्तर तिर रहेका पहाडी पखेराहरुमा माथी बसाई बस्ने ,बस्ती बस्ने र यसको तल यहाँ सुर्खेत उपत्यकामा खेतिपाती गर्ने चलन रहेको थियो। सुर्खेतका पुराना जातिको रुपमा राँजीलाई लिने गरिन्छ। यद्यपि राँजी अथवा थारु को हो? भन्ने कुराको बारेमा अहिले हामी यहाँ छलफल गर्ने छौ।
त्यसैगरी सुर्खेतको इतिहासलाई खोज्दै जाँदा १६५० मा निर्माण भएको लाटीकोईलीको मन्दिरलाई हेर्दा खेरी यसको विगत ऐतिहासिक पुरातात्विक महत्च धैरै पहिलेसम्म जोडिन्छ। हामी यो कुरा आदरणीय सरहरुबाट अहिले लिने छौ। बाँकी कुरा म अहिले बिचमा पनि जोड्दै जाउँला। अहिलेलाई माधव सरले अघि नै हाम्रो वक्ताहरुको परिचय गराईसक्नु भएको छ। ‘चौघान-चर्चा’ मा हामी सँग हुनुहुन्छ, प्रा. डा. पदमलाल देवकोटा, उहाँ मध्यपश्चिम विश्वविद्यालयको संस्थापक भाइस चान्सलर (उपकुलपती) हुनुहुन्छ। त्यसैगरी महेन्द्र प्रसाद गिरी सर हुनुहुन्छ, उहाँ लामो समयसम्म प्राध्यापन पेसामा लागेर निवृत हुनु भएको हो। उहाँ तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्यापसको क्यापस प्रमुख र तत्कालिन सुर्खेत शिक्षा क्यापसको प्रमुखको रुपमा रहेर आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुभएको छ। त्यसैगरी थारु कल्याणकारीणी सभा सुर्खेतको पुर्व अध्यक्ष कृष्ण बहादुर थारु दाई हुनुहुन्छ।
उहाँहरु बाट हामीले यो ‘चौघान चौर’ का बारे यसको विगत देखि वर्तमानसम्म कुराहरुलाई कोट्याउने, यसको चर्चा गर्ने हामीले जमर्को गर्ने छौ। म सुरुवातमा कृष्ण बहादुर थारुज्युलाई, सुर्खेतमा यो उपत्यकामा थारुहरु कहाँबाट, कसरी, किन ल्याइए? भन्ने जिज्ञासाबाट कुरालाई अगाडी बढाउन चाहान्छु। थारु जातीहरु यहाँ दाङ्गबाट आएको भन्ने छ। बाँकी कुरा दाईले नै बताउनु होला। थारु जातीहरुलाई सुर्खेतमा किन, कसरी, के का लागि ल्याईयो? कहाँ बाट आए भने कुरा उठान गरिदिनका निम्ति म कृष्ण बहादुर थारुज्युलाई अनुरोध गर्दछु।
कृष्ण बहादुर थारुः धन्यवाद सहजकर्ताज्यु, उपस्थित सम्पुर्ण महानुभावलाई नमस्कार। हामी सुर्खेतका थारु बासीहरु खासगरीकन दाङ्ग बाट नै आएको भन्नेमा हाम्रो पुर्खाले खोज गर्नुहुन्थ्यो। अब दाङ्गबाट कहिले आए भन्ने कुरामा धैरैको मत भिन्नता छ। कसैले भन्छ, १९७० मा आएको भन्छ, कसैले त्यो भन्दा बढी पहिला नै आएको भन्छ। त्यसमा एकता चाहिँ नभएको हुनाले मलाई लाग्छ, त्यहि १९७० को सेरोफेरोमा दुई चार बर्ष अगाडि पछाडि आएको हुन सक्छ। तर दाङ्गबाट चाहिँ तिनिहरु आफैँ मनोखुशी आए कि कसै मार्फत ल्याईयो भन्ने कुरा पनि मैले बुझेको कुरा, पनि केहि गैर थारुहरुले चाहिँ सात जना थारुहरुलाई ल्याएर सुर्खेतमा देखाउने काम भयो होला। त्यो देखाई सकेपछि तिनिहरु पुनः आफ्नो ठाँउमा फर्केर गए। फर्किसकेपछि घरको सर-सल्लाह अनुसार पुनः आएर उनिहरु चाहिँ सुर्खेतमा बसोबास गर्ने काम भयो। अनि यहाँ चाहिँ फडानी गर्ने काम भयो। ति ल्याउने मान्छे को हुन भन्ने कुरा पनि म सुनेकै भरमा, सोधेकै भरमा ठ्याक्कै नमिल्न सक्छ। त्यसैले मैले बुझे अनुसार , मैले सोधेको अनुसार यो भक्तविर श्रेष्ठ (कटवारी) र कृष्णालाल पन्त (डिठ्ठा) र जनक लाल भारती भने व्यक्तिले ७ जना थारु समुदायलाई ल्याएर यो ठाँउमा बसालेको अथवा देखाएर, देखाएकै हुन भन्ने मैले बुझेको छु।
सहजकर्ताः धन्यवाद दाजु यो जानकारीको लागी, सुर्खेतमा यो थारु जातिहरुलाई खेतिपाती गर्नैका निम्ति ल्याईएकै हो त्यसो भए, हैन त ?
कृष्ण बहादुर थारु: हजुर त्यहि बुझिन्छ।
सहजकर्ताः खेतिपाती गर्नका निम्ति ल्याइयो। जस्तो; अन्य जातीहरुलाई औँलो लागेर यहाँ बस्न नसक्ने अवस्था थियो। ४ महिना मुस्किलले चिसो महिना, जाडो महिनामा यहाँ बस्न सकिने र बाँकि ८ महिना यहाँ १ रात पनि सुत्यो भने पनि भोलिपल्ट, पर्सीपल्ट देखि ज्वरो आउने, औँलो लाग्ने, त्यसपछि केहि समयपछि मान्छेको मृत्यु हुने, एकदमै त्रासको अवस्था थियो। त्यस्तो अवस्थामा थारु जातीहरु उपत्यकामा स्थायी रुपमा, यो सुर्खेतमा उपत्यकामा स्थायी रुपमा बसोबास गर्दा थारु जातीलाई औँलो लाग्ने खतरा थिएन?
कृष्ण बहादुर थारुः अब औँलो उन्मुलन कहिले देखि सुरु भयो भन्ने कुरा त म भर्खर सकभर जन्मेकै थिएन होला, जन्मिने बेलामा औँलो उन्मुलन अथवा उपचार भइसक्या थियो। म जन्मिसकेपछि अलि बच्चै हुने बेला सम्म कति बर्ष औषधी उपचार गरियो। म चाहिँ अलिअलि बच्चै थिए। थाहा पाउने बेलामा…
सहजकर्ताः दाजुलाई अलिकति मैले रोके, औँलो लाग्ने समस्या, थारु जातीलाई औँलो लाग्थ्यो कि लाग्दैन्थ्यो? मैले त्यति मात्रै सोधे।
कृष्ण बहादुर थारुः लाग्दैन्थ्यो, राँजीलाई र थारुलई औँलो लाग्दैन्थ्यो।
सहजकर्ताः हस् धन्यवाद, दाजुसँग म पछि फेरी पनि आएँ।
अहिले लाई म प्रा. डा. पदमलाल देवकोटालाई सोध्छु। सुर्खेत उपत्यकाको नामको बारेमा हामीले सानैदेखि सामान्यज्ञानमा सुर्खेतको पुरानो नाम के हो? भन्दा दोभानचौर लेखेको पढ्यौ। पछि यो दोभानचौर होईन, यो त चौहानचौर हो भन्ने कुरा सुनियो। सुर्खेत जिल्ला विकास समितिले प्रकाशन गरेको एउटा किताब ‘सुर्खेत दर्पण’ मा मैले जुम्ला जिल्लाको सदरमुकामलाई पहिले चौहानचौर भनिने र जुम्ली व्यापारीहरु यहाँ सुर्खेतमा आउदाँखेरी उनिहरुले यसलाई पनि, यहाँको सदरमुकामलाई पनि चौहानचौर भन्ने गरेको र केहि समयसम्म, पछि सम्म २०३३ सालमा वीरेन्द्रनगर नामले यो वीरेन्द्रनगर नगर पञ्चायत हुनु भन्दा पहिलेसम्म यो चौहानचौर नै थियो भन्ने लेखेको पाएँ। वीरेन्द्रनगर बजार खास गरी पिपल चौतारी र त्यसको आसपास, यो क्षेत्रलाई यहाँका जनताले चौघान जाने अथवा चौघानचौर जाने, बजार जाँदा चौघान जाने भन्ने गरेका थिए भन्ने कुरा पनि मैले बुढापाकाहरुबाट यहाँ केहि कुरा सोधीखोजी गर्दा थाहा पाएँ। यो नामको बारेमा सरलाई के जानकारी छ?
प्रा. डा. पदमलाल देवकोटाः सुर्खेतमा जति इतिहास लेखिएका छन नि, यी सतही इतिहास छन्। सुर्खेतको पुरानो नाम मल्लकाडाँ हो। उहाँलाई थाहा होला। जयक्ष मल्ल जब पश्चिमबाट मुसलमान लेखेटेर आएर यहाँ बसेका हुन। जयक्ष मल्ल, मल्लकाडाँ। पछि सिँजाली मल्लले लखेटेर यिनिहरु मल्लाज भनेर पुर्व तिर गए। त्यो इतिहास कहिँ छैन। ति मल्लहरुको माथि घोडेलास भने छ। म त यहाँ जन्मेको होईन, महेन्द्र सरलाई यहाँको धैरै थाह छ। म त घर ज्वाँई भएर बस्न मात्रै आएको हो। म यहाँको मान्छे होईन। अनि दोस्रो ठुलो कुरा, जब जितारी मल्लको जेठो छोरालाई अनि रावतहरुले त्यहाँ जुम्लामा राजा बनाउन दिएनन्, भित्र संर्घष भयो। संर्घष हुने बित्तिकै विचारा भागेर यहाँ फिनिकाँडामा आएर एउटा सानो दरबार जस्तो बनाएर राम्रीकाँडामा बस्यो।
एउटा त्यहाँ खम्बो गाडे भन्छन त्यो, यहाँ मान्छेलाई मतलब नै छैन। त्यो खम्बाकोडा आँसिले दलेर फुट्नेवाला छ। मैले गोविन्द मल्ललाई सभापति हुदाँ, ‘ए हजुर त मल्लको रगत हो’, बारतार गर्देउ न भन्दा कसैलाई वास्ता छैन। त्यो घाम पानी सहेको छ। नेपालको सबैभन्दा पहिलो पुरानो सिलालेख, त्यहाँ के लेखेको छ भने ‘श्री जय यक्ष मल्ल, जयतु साल’, १२०० शताब्दीमा त उसले यहाँ वस्ती बसालेको छ। भक्तविर श्रेष्ठले त १९५० विक्रम सम्वतमा यहाँ आएको छ। त्यो इतिहास खोई? आफ्नो इतिहास नै थाहा छैन मान्छेहरुलाई। अर्को त्यसपछि यसलाई के भयो भने उससँग साथ दिएर मुडबरी बाहुनहरु आएका थिए, अनि मल्लकाँडा पछि यसको नाम मुडबर भयो। पछि त्यो सिँजाली राजाहरुले त्यसलाई पनि लखेटर विचरा डोटी तिर गयो। अनि त्यहाँ डोटीमा पनि मुडबर भने छ त्यो। त्यो इतिहास खोई?
त्यसकारण त्यो लेखिने इतिहास छ नि, त्यो सही इतिहास छैनन्। त्यसकारण देखिने इतिहास सही छन। त्यहाँ देखिएको छ। श्री जय यक्ष मल्ल, जयतु साल लेखिएको छ। अस्ति म गए, साल सालै म ढोग गर्न जान्छु। किनभने सुर्खेतमा पहिलो रस्तिवस्ती गर्ने मान्छे त्यो हो। ढोग गर्न हरेक साल जान्छु। नयाँ बर्ष हुने बित्तिकै त्यहाँ जान्छु। मेरो श्रीमतीले भनी, ‘त्यहाँ के राखेको छ र जान्छस’? मैले त अहिले नयाँ चिज देखे भने, त्यो जयक्ष मल्लको शालिक यतापट्टी वीर स्मृति, ५/७ जना माओवादीहरुको मुर्ती राख्या छ। त्यो राख्न मिल्ने हो कि होईन। त्यो सरकारले जान्ला।
सहजकर्ताः हस् धन्यवाद, प्रा.डा. पदमलाल देवकोटा सर ,सर सँग म फेरी पनि आउने छु। सरले कर्णाली नदी सँग सभ्यताका कुराहरुलाई पनि जोड्नुभयो। पछी हामी त्यो कुरालाई जोडौला। अहिलेलाई म महेन्द्र प्रसाद गिरी सरलाई यो सुर्खेतको शिक्षा विकासको इतिहाससँग केहि कुराहरु उठानका निम्ति अनुरोध गर्दछु। खासगरी सुर्खेतको उत्तरीपट्टीका वस्तीहरु अनि पुर्व साइडमा जरबुट्टा बिचमा उता कटकुवा, यता पट्टी गोटीकाँडा, अलि पर जाँदा मल्लकाँडा, फिनिकाँडा हुदै यी वस्तीहरुमा शिक्षाको विकास कसको पहलमा, कहिले देखि, कस्तो खालको शिक्षाको परम्पराको थालनी भयो? र कसरी विद्यालयहरु स्थापना भए? त्यतिबेलाको चेतनाको स्तर के थियो? म आदरणीय महेन्द्र सरलाई यस बारेमा जानकारी गराईदिन अनुरोध गर्दछू?
महेन्द्र प्रसाद गिरीः धन्यवाद ढकाल सर, आजको यस उपस्थितिमा पाल्नुभएका सम्पुर्ण श्रद्धय स्रोता महानुभावहरु, आज मलाई यहाँ बोलाएर आफुसँग भएका केहि कुरा राख्ने अवसर प्राप्त भएकोमा हृदयदेखि नै कृतज्ञता सहित धन्यवाद दिन चाहान्छु। मलाई जुन प्रश्न सहजकर्ताज्युले गर्नु भयो। त्यस प्रश्नको बारेमा मलाई जानकारी भएसम्म यथासक्य साँचो र सत्य कुरा राख्ने प्रयास गर्ने छु। यस उपत्यकाको पुरानो इतिहास त, भर्खर मात्र हाम्रो प्रा. डा. पदमलाल देवकोटाज्युले उठाउनु भएकै छ। यो सिँजा साम्रराज्यको खसान क्षेत्र अन्तर्गत पर्ने मल्लकालमा चरम उत्कर्षमा पुगेको सभ्यताको शिखर चुमेको अवस्थामा रहेको थियो। जुन अवस्थामा नै यहाँ काक्रेबिहार र शिव मन्दिर जस्ता मन्दिरहरुको, बिहारहरुको पनि निर्माण पनि भएको थियो। म अब त्यति पुरानो समयको जानकारी त म त्यति राख्दैन। तर पनि मलाई जहाँसम्म जानकारी छ।
यस सुर्खेत उपत्यकाको नयाँ वस्तीको सुरुवात वि.सं को २० औँ शताब्दीको मध्यतिरबाट यहाँ नयाँ जमिन दर्ता गर्ने प्रकिया सुरु भएको देखिन्छ। जसमा वि.सं १९५१ मा यहाँ भर्खर मात्र मित्र कृष्ण बहादुर ज्युले पनि भन्नु भयो। दाङ्गबाट थारु जातीका कृषकहरु मेहेनेती कृषकहरुलाई ल्याएर आवादी सुरु गरिएको थियो। त्यसमा उहाँले उल्लेख गरिसक्नु भएको छ। मलाई याद छ किनभने, मेरो जन्म पनि यहि सुर्खेत जिल्लाको हालको वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को फलाटे भने ठाँउमा भएको थियो वि.सं २०१२ सालमा। त्यतिबेलामा हिउँद याममा मानिसहरु उपत्यकामा झरेर खेतिपाति गर्ने र बर्षा याममा माथिका डाँडाहरुमा भएका वस्तीहरुमा बसेर खेती गर्न दिनभरी तल झर्ने र साँझ परेपछि रातसाँझ गरेर पनि माथि नै फर्किने गर्दथे। किनभने त्यतिबेला त्यो मलेरियाको (औलोको) डर थियो, डर हुन्थ्यो। यहाँको वस्ती पुर्णरुपले नै यहाँ बस्ने वस्ती जुन हुन, त्यो पश्चिमबाट फिनिकाँडा, राम्रीकाँडा, वयलकँडा, गोठीकाँडा हुदै कटकुवा हुँदै मानिसहरुको यहाँ बसोबास हुने गर्थ्यो। जुन अस्थायी बसोबास उपत्यका हुन्थ्यो भने देखि स्थायी बसोबास माथिका गाँउवस्तीहरुमा हुने गर्दथ्यो।
त्यतिबेलामा राणाकालमा शिक्षाको कुनै यहाँ सुविधा थिएन। म भन्दा अग्रजहरुले एउटा कुरा सुनाउनु हुन्थ्थो। शिक्षाको बारेमा राणाकालमा एकपटक विन्तीपत्र चढाएर हामीलाई पनि स्कुल चाहियो। यहाँ पनि बालबालिका पढाउनु पर्यो भनेर बडाहाकिमकहाँ विन्तीपत्र चढाउदा बडाहाकिमले सुर्खेतमा शिक्षा दिनु भन्ने ऐनमा छैन कतैपनि, भनेर जवाफ दिएको कुरा सुन्नमा चाहिँ आएको छ। त्यो भनु हुन्थ्यो मेरो अग्रजहरुले र त्यतिबेलामा गुरुकुल शिक्षाको प्रचलन थियो। गुरुकुल शिक्षा भन्नाले गाँउमा पढेलेखेको मानिसलाई गुरुस्थापना गरेर त्यस गाँउका बालबालिकालाई पढाउने प्रचलन थियो। त्यस्तो काममा यस सुर्खेत उपत्यकाभित्र दुई जना व्यक्तिको नाम आउछ। मेरो हजुरबुवा, जसको नाम अमर गिरी थियो।
उहाँ २०२२ सालमा बित्नुभएको हो। उहाँले गुरुकुल चलाउनु हुन्थ्यो र उहाँलाई ठाँउ ठाँउबाट पश्चिम डाडादराबाट, पुर्व सिम्तादराबाट, मेलीबाट, दैलेख कट्टीबाट त्यतिबेला जिम्बाल, मुखिया भन्ने चलन थियोर। उहाँहरुले लिन आउनु हुन्थ्यो। पढाईदिनु पर्यो, हाम्रो गाउँका बालबालिकाहरुलाई पढाईदिनु पर्यो भनेर लिन आउनुहुन्थ्थो। एक विद्यार्थीबाट एक रुपैँया, ६ महिना पढाए वापत एक रुपैँया र खान बस्न व्यवस्था गर्ने गरी मेरो हजुरबुवा जानु हुन्थ्यो। अनि पढाउनु हुन्थ्यो। त्यस्तै अर्का गुरु कटकुवा क्षेत्रमा बसोबास गर्ने नारायण पुरी महाराज हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो क्षेत्रका बालबालिकालाई, बालिका पढाउने चलन नै थिएन त्यतिबेलामा, छोराहरु मात्रै पढाइन्थ्यो।
यसरी दुई वटा गुरुहरु यो गुरुकुल शिक्षामा त्यतिबेलामा रहेको कुरा म स्वयंमलाई पनि ज्ञान छ। अमर गिरी उहाँको र छोराहरु मेरो बुवा ,माइलो बुवा हरिभक्त गिरी,टिका भक्त गिरि, उहाहरु पनि त्यस परम्परामा गएर छोट गुरु भएर बुवासँग गएर पढाउने र पछि आफै पनि स्कुल खोलेर पढाउने काम गर्नु हुन्थ्यो। पहिला म स्कुलको एउटा कुरा गरौं। सबभन्दा पहिला यहाँ प्रजातन्त्र आएपछि, आज सन्जोकले प्रजान्त्र दिवस पनि परेको छ। फाल्गुन ७ गते, २००७ सालमा प्रजातन्त्र आइसकेपछि २००८ सालमा गोठीकाँडामा एउटा स्कुल स्थापना गरियो। एउटा के दुईटा स्कुल; एउटा कन्या स्कुल र एउटा स्कुलको स्थापना भएको हो र त्यतिबेलामा त्यो स्कुल स्थापना गर्ने व्यक्तिहरुमा हरिलाल पन्त, ईन्द्र बहादुर घर्ति, सुरत बहादुर घर्ति लगाएत त्यतिबेला मनोहर कार्कि लगायत त्यतिबेलाका समाजसेवी महानुभावहरुको निकै सक्रियता रहेको थियो।
सहजकर्ताः धन्यवाद महेन्द्र सर, यहाँले निकै महत्वपुर्ण जानकारी दिनुभयो। सुर्खेत जिल्लालो शैक्षिक इतिहासको बारेमा, खासगरी दुई जना व्यक्तिहरुले यहाँको गुरुकुल शिक्षा प्रारम्भ गर्नुभएको, पछि गोटीकाँडामा २००८ सालमा विद्यालय खुलेको र सरले सगैसंगै छोरीहरुलाई पढाउनका निम्ति एउटा छात्रा स्कुल पनि खोलिएको कुरा पनि यहाँ ल्याउनु भएको छ। यो प्रसंगलाई म फेरी जोड्ने छु। अहिले म कष्ण बहादुर थारु दाजुलाई एउटा जिज्ञाशा राख्न चाहान्छु। जस्तो; दाङ्गबाट सुर्खेतमा थारुहरुलाई खासगरी खेतिपाती गर्ने कै निम्ति ल्याईयो। त्यसरी ल्याएर आउदाँ थारु जातीको हक भोगको सुबिधा सहित ल्याईयो कि खाली हलो जोत्नका निम्ति ल्याईयो? अथवा खेतिपाती गराउनका निम्ति ल्याईयो? वा काम गराउनका निम्ति ल्याईयो? यस बारेमा तपाईको हजुरबुवाले बुवालाई भन्नुभएको कुरा अथवा बुवाले तपाईलाई भन्नुभएको कुरा अथवा कुनै लिखत भएको कुरा के जानकारी छ यहाँलाई?
कृष्ण बहादुर थारुः अब त्यो ल्याउने मान्छेले कुन हिसाबले ल्यायो भन्ने कुरा त ठ्याक्कै भन्ने अवस्था छैन। किनभने अब हुन सक्छ, आफ्नो स्वार्थ पुर्तिको लागि पनि हुन सक्छ अथवा उनिहरुको जग्गा जमिन नभएर, तिमिहरुको जग्गा जमिन छैन, फलाना ठाउँमा गएपछि जग्गा पाईन्छ भन्ने हिसाबले पनि ल्याउन सक्छ। तर त्यसको पछाडि हेर्ने हो भने, तपाई सुर्खेतमा फडानी गर्ने, बसोबास गर्ने थारु जाती नै हो। थारु,राँजी। त्यतिखेर अन्य जाती यहाँ बस्नै नसक्ने अवस्था ,औँलो लाग्ने, तपाईको साँझपख त्यो राँको लिएर भएपनि डाँडामा आफ्नो घरमा पुग्नै पर्ने। नपुगेसम्म यहाँ एक रात बस्ने बित्तिकै यहाँ जोसुकै मान्छे अन्य जातीको मृत्यु हुन्थ्यो भनेपछि यहाँ फडानी गर्ने त थारु र राँजी नै रहेछन् नि। तर विभिन्न कारणबस आफ्ना कारण, केही बाहिरी कारण र सरकारका नीतिका कारणले पनि अहिले जो थारुले फडानी गरे, जो जग्गा हुनु पर्थ्यो, त्यो उहाँहरुको नाममा हुन सकेन। कारण उहाँ एउटा थारुको मात्रै हैन होला नि त, त्यो ले गर्दा खेरी त्यो स्वार्थकै कारणले ल्याईए कि भन्ने पनि लाग्छ मलाई, मेरो ठम्याईमा है।
सहजकर्ताः हजुर, फडानी गराए, खेत खल्यान गराए तर थारुलाई आफैले उनीहरुले हक भोग गर्ने अधिकार दिएनन्।
कृष्ण बहादुर थारुः हो दिएनन्, किनभने इतिहासले बताइराखेको छ नि पछिल्ला दिनहरुमा, आज सम्म हेर्ने हो भने थारु त जमिनदार हुनुपर्ने हो त, अहिले रैति भएर काम गर्नु परिरहेको छ।
सहजकर्ताः थारु जमिनदार हुनुपर्ने तर थारु रैति भएको कुरासँग त्यो कुरालाई तपाईले जोड्नु भयो। हामीले यस्ता इतिहासहरु हिजो कुन जाती, कसरी, कुन अवस्थामा, कुन काल खण्डमा कसरी बसेका थिए? भन्ने कुराको इतिहासलाई पनि जान्नुपर्छ र सुर्खेतमा पुरानो बसोबास गर्ने जातीको रुपमा दाङ्गबाट आएको र बसोबास गरेका थारु जातीहरु, हिजोदेखि कसरी थिचोमिचोमा परेका थिए भन्ने कुरा दाईले उठान गर्नु भयो। जस्तो; थारु समुदाय र अन्य समुदाय बिचको सम्बन्ध हिजो कस्तो थियो? आजसम्म आईपुग्दा खेरी त्यो कस्तो रहेको छ? त्यो कुरा छोटकरीमा दाईले बताईदिनुहोस न।
कृष्ण बहादुर थारुः अब थारु जातीहरु एकदमै सिधा जातीहरु हुन्। कसैलाई ठग्न नजान्ने, हेप्न नजान्ने, रिसाउन नजान्ने जाती हुन्। एकदम सिधा जाती भन्नुपर्छ। अन्य जातीसँग गैर थारु जातीसँग हाम्रो सम्बन्ध पहिलेदेखि नै रहदै आएको छ। तर चाहिँ एउटा किसान र जमिनदारको बिचमा केहि एकआपसमा द्धन्द भित्र हिसाबमा थियो। अनि जग्गा उसले फाँडेको छ, अहिले रैति भएको छ। त्यो जग्गा अर्काको नाममा गएको छ। उ चाहिँ जमिन्दारको जग्गा जोतिरहेको छ। जोतेको नाममा, बटैया गरेको नाममा घरमा लग्ने, अनि डिजो दिनुपर्ने, उसको बार बारिदिनुपर्ने, घरमा धान लगिदिनुपर्ने, कुटाई दिनुपर्ने, हरेक कुरा घर लिपपोत गरिदिनुपर्ने यस्ता यस्ता बिगतदेखि हुदै आएपछि हामीले २०६३ साल तिर एउटा अधियापटिया कार्यक्रम चलायौं। जसको संयोजक बाबुराम चौधरीजी हुनुहुन्थ्यो। म त्यो समितिमा पनि थिए। हामीले किसान र अधियापटिया गर्ने र जमिनदारहरुसँग हामीले छलफल चलायौँ। ३, साढेँ ३ बर्षसम्म चलायौँ। चलाउदाँ खेरी पछि….
सहजकर्ताः २०६३ साल तिर चलाउनु भयो, भनेपछी धैरै पछिको कुरा रहेछ।
कृष्ण बहादुर थारुः हामी पछि किसान अधियाँ गर्ने व्यक्तिहरुसँग छलफल गराउदाँ भेला बैठक गरायौ। सचेतना गरायौं। तर त्यसपछि त्यो कुरा मिडियाले बाहिर ल्यायो। त्यो ल्याएपछि सबै, जसले चाहिँ जोताउने गर्थ्यो निःशुल्क रुपमा, हरेक काम गराउथ्यो, त्यो पनि झस्कियो र किसानहरु पनि सचेत भए। मिडियाले पनि बाहिर ल्याएछि ती प्रथालाई अहिले चाहिँ जिरोमा झरेको छ।
सहजकर्ताः हस् धन्यवाद यो जानकरीको निम्ति, थारुहरु अलि सचेत भए २०६३ सालपछि, यो खेत जोत्ने ,अधीयाँ लगाउने मात्रै नभएर घरको काम पनि गरिदिनुपर्ने थारु महिलाहरु गएर, अनि अन्य बेला पनि गएर खेत बाहेकका कुराहरु, यो घर छेउछाउका जग्गाहरु, जसलाई डी भनिन्छ। मकै लाउने, तोरी लगाउने, गहुँ छर्ने कुराहरु पनि गरेर जोतिदिनुपर्ने र उनिहरुले सबै काम गरिदिनुपर्ने कुराको थारुहरु सचेत भइसकेपछि बिरोध गरे। अनि २०६३ साल भन्दा पछाडी त्यो कुरा कम भएको छ भन्ने कुरा कृष्ण दाईले जानकारी गराउनु भयो। म फेरी पनि आउला दाईसँग,
अब अघि हाम्रो प्रा. डा. पदमलाल देवकोटा सरले कर्णाली नदी पवित्र कि अपवित्र भने कुरालाई ल्याउनुभएको थियो। कर्णाली एउटा नदी मात्रै नभएर एउटा सभ्यता हो भनेर पनि भन्ने गरिन्छ। फेरी अब यसलाई हामीले सभ्यता मानिरहदाँ यसको पवित्रतालाई मानुपर्ने होला नी हैन? यहाँको पुरानो एउटा गीत छ।
“कहाँ जान्छै दर्माली हलो जुवा काधँ हाली,
नसुक्यै कर्णाली आउदाँ जादाँ पानी पिउला।” (गित गाउदै…)
हो यो खालको गीत हामी सानैदेखी सुनिरहेकाथियौ। मलाई कर्णाली सभ्यता यहाँको कृषिसंग पनि जोडिएको छ भन्ने लागेको थियो, अझैपनि लागेको छ र मैले नबुझेको कुरा केही हुन सक्छ। आदरणीय प्रा. डा. देवकोटा सरले कर्णाली सभ्यता यहाँ कसरी जोडिन्छ? र सरले भनेको कुरा र अरुले बुझेको कुरा के भिन्नता छ? यसलाई प्रष्ट पारिदिनको निम्ति म अनुरोध गर्दछु।
प्रा. डा. पदमलाल देवकोटाः कर्णाली सभ्यता पञ्चायतले लेखेको हो। एउटा अध्ययन गरेको थियो कर्णालीमा, सिंहषाले मलाई पनि जाउ भन्थ्थो। म भर्खर पढेर आएको थिए। म सभ्यता सभ्यता मान्दैन्न। कर्णाली भनेको एउटा सोभेरेन्स प्रान्त हो। सोभेरेन्सी देउ भनेर, त्यो पनि पञ्चायतमा तिन वटा किताब लेखेर कर्णाली सभ्यता, कर्णाली सभ्यता हुन्छ? खस सभ्यता हुन्छ। जहाँ सम्राट आशोल चल्लले इन्डियाको उत्तरी भाग सब जितेर, त्यो सभ्यता हो। मुला, तिनकुने नक्सा च्यापेर सभ्यता हुन्छ? यो होईन, गलत हो। दोस्रो कुरा ‘राँजी’ भन्छ, ‘रा’ भनेको के हो? ‘सुर्य’ हो। ‘जी’ भनेको के हो? ‘पुजक’ हो। ‘सुर्य पुजक’, ‘सुर्य पुजक’ भनेको के हो? त्यो ‘चन्द्र वशी’ होईन। उहाँहरु चाहिँ चन्द्र वंशी हो, त्यो ‘सुर्य वंशी’ हो। मान्छेलाई थाहै छैन। राँजीहरुको राजधानी काहाँ हो? गुटु हो। गुटु राँजी भाषामा के हो? बुध हो। उ बुधबार जन्मिएको राजा थियो। राजीराज गुटु, सही सभ्यता लेखिएकै छैन।
गलत गलत सभ्यता ल्याएर खान ठकुरीलाई थारु बनाएर हलो जोताउने, उहाँहरु पनि जोत्ने, उहाँहरु पनि नालायक हो। त्यत्रो जनसंख्या छ, माग एउटा थरुहट, माओवादीले उठाएको थरुहट कहाँ हरायो? तपाईहरुलाई भोट माग्न मात्रै उठाएको, मैले भनेको छु। इन्डियामा पहिला तोप आयो अनि पोप आयो। नेपालमा पहिला राइफल आयो अनि बाईबल आयो। अहिले टोल टोलमा चर्चा छ। खोई विद्धानहरुले प्रश्न उठाएको? सब भरौटे मात्र भएर हुन्छ? भरौटै भन्दा माथि पनि बुद्धिजिबी हुनुपर्छ। त्यसकारण त्यो कुरा हो, अब यो भन्दा बाहेक के छ भने मैले अघि भने, पहिला मल्लकाँडा हो, त्यसपछि त्यो जयक्ष मल्लले बाहुनहरु ल्याएँ, त्यो भयो। त्यसपछि गढी कालुपाण्डेले दैलेख खान्न बनाएको हो। अनि यहाँ चाहिँ के छ भने, दुईटा मात्रै डाँडा छन। एउटा माथि चाही रानिमत्ता, एउटा छाप्रेको डाँडा। त्यहिभएर रानीमत्ता सदरमुखकाम नजिकबाट डाडा भन्दैन्न। डाँडालाई पुरै नाउकै नाम डाँडा राख्दिए। एउटा छाप्रेको मात्रै डाँडा छ। यहाँ सुर्खेतको वरिपरी कति डाँडा छन। डाँडाको घर भन्नु पर्दैन यसलाई? हेला गरेर हामीलाई, म त बिद्यापुरमा बसेको।
सर, एउटा कुरा चाहिँ के छ भने, त्यो पवित्र ठाउँ हो। त्यहाँको ठाँउको नाम पन्चपुरी हो। पाँचपुरी थिए, लाटीकाँडा, पुरीकाँडा, लखरपाटा, रेक्चा र पुच्म। पन्चपुरी भनेको त्यो समयमा खस सभ्यतामा पाँच वटा शहर थिए। त्यस्तो ठाँउ हो। अहिले कता कता, अहिले कहाँ चौकुने भन्छन, फौकुने भन्छन। के भन्छन के भन्छन। त्यसकारण तपाई प्रश्न गर्नुहोस नेताहरुलाई पनि, यो कर्णाली ठिक छैन। नेताहरुलाई के सोधनुपर्ने प्रोफेशर देवकोटालाई भन्छ। मैले एउटा भर्खरै विश्वविद्यालयमा पोष्ट डक्टरी गर्न गए। टपिक छान् भन्यो।
मैले ‘मायोपिक डेभलमेन्ट विथ पोलिटिकल ल्याण्डन’ मा पोष्ट डक्टरी गरे। ‘मायोपिक डेभलमेन्ट’ भनेको हाम्रै दाजु भाई सिहदरबारमा जान्छन। सिंहदरबारको छतबाट राजनीतिक चस्माले हेर्छन। राजनीतिक टेलिस्कोप हुन्छ नि, अनि कर्णालीका जनता साना कमिला देख्छन। आफु ठुला भईहाले, हात्ति भईहाले, कमिला देख्छन। अनि के भन्छन भने, यी बिचरा भोकै छन कमिला, अब यी कमिलालाई खान दिनुपर्यो भन्छन्। अनि बास्मति चामल ल्याएर आउछन। ओहो यो बास्मतिले माथिबाट सिंहदरबारबाट फाले ति मर्छन। बास्मति आफैँ खाने, कनिका मात्रै फाल्ने। मेरो पोष्ट डक्टरी त्यसमा छ। त्यसकारण यी पक्षहरु बुद्धिजिबीहरुले उठाउनुपर्छ। यहाँ बुद्धिजिवी धैरै पार्टीमा भए, पार्टीका बुद्धिजिवी पनि पार्टीबाट माथि लिएर बुद्धि हुनु पर्यो नि, पार्टी माथिको बुद्धि पर्यो नि, पार्टीका सब दलाल भएर देश बिग्रियो, मेरो भनु यति हो।
सहजकर्ताः धन्यवाद डा.देवकोटा, यहाँले हाम्रो यहाँको कर्णालीलाई केन्द्रले हेर्ने दृष्टिकोणका कुराहरुलाई समेत जोड्नु भयो। हामीले एउटा बिषयबस्तुबाट उठान गर्दा गर्दै बिषयबस्तु टुच्च जोडिहाल्छ। राजनीतिसँग नजोडिने कुरा कहीकत्तै पनि केहि रहदैन। यो कुरामा हामी फेरी पनि आउला। मैले खासगरीकन अघि सरले उठाएकै कुरा, म डा. देवकोटा संगै जोडिए थौरै, छोटकरीमा बताईदिनु होला। जस्तो; राजी जाती सुर्खेत उपत्यकामा पनि वसोबास गरेका र पछि यो भेरी किनार हुदै पश्चिम तिर पुगेका भन्ने कुरा पनि मैले कतै पढेको थिए। सरले चाहिँ यसको अलि परक कुरा गर्नुभयो। राजी जातीहरु खास कहाँबाट आएर सुर्खेतमा बसोबास गरे?
प्रा. डा. पदमलाल देवकोटाः हजुरको राजीहरु पनि, अहिले राजीहरु कहाँ छन् भन्ने हेर्नुपर्छ। सबभन्दा पहिला सहरेमा बोटेहरु थिए। राजीहरु थिएनन्। त्यसपछि राजीहरु छिन्चुमा थिए। त्यसपछि यो भेरीको किनारै किनार यतातिर चाहिँ जामु, कुईने,सोल्टा, जर्बुटा थिए। यिनिहरु के हुन भने राजा होईनन्। जस्तोः उहाँहरु राजा हो नि, थारु भएका होईन्न। यिनिहरुले कस्तो जाती थियो भने, उहाँहरुको संरचना एकदम स्ट्रोङ थियो, काम बिभाजन थियो। उनि फिरन्ते थिएँ। सिकारी गर्ने थिए। त्यसमा जहाँबाट आयो, उत्तर प्रदेशकोफ लखिमपुरबाट आएका, आज चाहिँ जामु, कुईने, सोल्टा, साठी सबै त्यहाँ छ। त्यसकारण ति यहाँका पनि होईनन्। यहाँ त चर्न मात्रै आएका हुन। जस्तो; उहाँहरु नेपाल चर्न आउनुभयो, बिचरा कति दुख पाउनु होला। विरदोसका सन्तानहरुले, उहाँको पछि राज्यलाई चाहिँ सुल्तानहरुले लुटेर लगे, हामी थारु भन्छौ, होईनन् थारु उहाहरु।
सहजकर्ताः हस् डा. साब, हामी फेरी पनि यो कुरामा समय रहेमा जोडिने छौ। मैले महेन्द्र प्रसाद गिरि सरलाई शिक्षाकै प्रसङ्ग जोड्न खोजे, सुर्खेतको खास गरिकन सुर्खेत भनेर त्यतिबेलामा अहिले सुर्खेत त्यतिबेला चाहिँ ४ वटा क्षेत्रलाई चिन्ने गरिन्थ्थो। पुर्व तिर सिम्ता दरा, त्यो चाहिँ साविकको दैलेख जिल्ला अन्तर्गत पर्थ्यो। त्यसको तलपट्टि पुर्व दक्षिणमा गुर्भाकोट दरा, त्यो चाहीँ साविकको सल्यान जिल्ला अन्तर्गत पर्थ्यो। यता तिर आउदाँ पश्चिममा डाँडा दरा र बिचको यो गोठीकाँडा लगायतको एरियाहरुलाई चाहिँ खास सुर्खेत र यो उपत्यका, यिनिहरुलाई खास सुर्खेत भनेर भन्ने गरिन्थ्यो।
खासगरि कन यो खास सुर्खेतमा शिक्षाको कुरा, अघि महेन्द्र सरले आफ्नो हजुरबुवा अमर गिरी विभिन्न ठाउँमा गएर गुरुकुल शिक्षाको संचालन गर्नुभएको कुरा जानकारी गर्नुभयो। अमर गिरीको नाम मैले मेरा बा बाट सुनेको थिए। मेलीमा गएर उहाँले गुरुकुल शिक्षा कसरी पढाउनुभयो भन्ने कुरा, सरको हजुरबाले मेरा बा लाई पढाउनु भएको रहेछ। मैले यो कुराको जानकारी पाए, निकै खुशि लाग्यो। अब जस्तो; अघि छात्राहरुलाई पढाउन, छोरीहरुलाई पढाउने स्कुलको स्थापना भएको कुरा जोड्नु भएको थियो। त्यतिबेलामा पनि छोरीहरुलाई पढाउनुपर्छ भन्ने चेतना खास कसरी जाग्यो होला? त्यसको अगुवाई कसले गर्यो होला? यो कुरा छोटकरीमा सर।
महेन्द्र प्रसाद गिरीः धन्यवाद ढकाल सर, मैले अघि पनि कुरा राखे कन्या स्कुलको, जुन स्कुलको २००८ सालमा गोठीकाँडामा स्थापना गरिएको थियो। त्यस स्कुलको अहिलेको संरचना भन्नु हुन्छ भनेदेखि भैरवस्थानमा चलिरहेको भैरव मा.वि, वडा नं ४ मा चलेको भैरव मा.वि हो त्यसको विकसित रुप। त्यतिबेलामा जसले शिक्षाको निम्ति समाजमा, शिक्षाको महत्व बुझेर समाजमा शिक्षाको प्रचार गर्न महत्वपुर्ण भुमिका खेल्नु भएको थियो। तत्कालिन समाजका अगुवाहरु हरिलाल पन्त, ईन्द्र बहादुर घर्ति, हवलदार सुरत बहादुर घर्ति, धर्मदेव धर्ति र यतापट्टी भिमराज उपाध्याय कटकुवाका, उहाँहरुको पिढीहरुले गोठिकाडाँमा त्यतिबेलामा, किनभने सुर्खेतको गोठिकाँडमा सानो सदरमुखकाम, खास सदरमुकाम त दैलेख मै पर्दथ्यो। किनभने अहिलेको जुन सुर्खेत छ, यसको स्थापना त वि. सं २०१८ सालमा ७५ जिल्लाको स्थापना भएपछि मात्रै भएको हो। त्यो भन्दा अगाडि त सुर्खेतको धैरै भु-भाग दैलेख जिल्ला अन्तर्गत र केही भु-भाग गुर्भाकोट क्षेत्रको सल्यान जिल्ला अन्तर्गत पर्दथ्यो।
वि.स २०१८ सालमा सुर्खेत जिल्लाको स्थापना गर्ने बेलामा दैलेखबाट सिम्ता सुर्खेत, यो सुर्खेत उपत्यका र सल्यानबाट गुर्भाकोट क्षेत्रलाई काटेर एउटा जिल्ला स्थापना गरिएको हो। यस जिल्लाभित्र त्यतिबेलामा स्कुल स्थापना गरिएको पहिलो घटना त्यहि वि.सं २००८ सालको जसले, वि.सं २०१९ सालमा आएर हाईस्कुल, माध्यमिक तहसम्मको शिक्षा दिने संस्थाको रुपमा विकास भएको छ। त्यो अहिले जन नमुना उच्च माध्यमिक विद्यालय हो। उच्च शिक्षाको कुरा गर्ने हो भने सुर्खेत जिल्ला धैरै पछि परेको छ। हुन त अहिले आएर विश्वविद्यालय सम्म स्थापना भईसकेको छ तर पनि इतिहास यसको हेर्ने हो भने २०१९ सालमा आएर पहिलो हाईस्कुल जिल्लामा स्थापना भएको थियो। दोस्रो स्कुल सिम्तामा भानु मा.वि र तेस्रो हाईस्कुल गुमीमा एउटा आनन्द मा.वि गरेर तीन वटा हाईस्कुल मात्रै चलिरहेको थियो। यो २०२५ सालसम्मको अवस्थामा भने, वि.सं २०२८ सालमा जब नयाँ शिक्षा योजना लागु भयो। त्यसपाछि केहि स्कुलहरुको संख्या सरकारले जिम्मेवारी लिएपछि बढेको हो।
सहजकर्ताः सर मैलै थोरै कुरा, जस्तो; वीरेन्द्रनगर बहुमुखी क्याम्पस उच्च शिक्षाको निम्ति सुर्खेतमा एउटा सामुदायिक क्यामपसको रुपमा स्थापना भयो। सर त्यो क्यामपसको प्रमुखको रुपमा रहेर पनि काम गर्नुभयो। यो क्याम्पस बनाउनुपर्छ भन्ने कुरा कसरी उठ्यो? र त्यसको सुरुताकाको अवस्थामा कस्तो थियो? थोरै हामीसँग करिब १० मिनेट मात्रै समय भएको जानकारी प्राप्त भएको छ। त्यसैले छोटकरीमा सरले साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पस जुन अहिले मध्यपश्चिम विश्वविद्यालयको आधार क्याम्पस पनि हो। त्यो क्याम्पसको सुरुवाती अवस्था कस्तो थियो? र के-के बिषयहरु अध्ययन अध्यापन हुन्थे? यी कुरा छोटकरीमा।
महेन्द्र प्रसाद गिरीः अब उच्च शिक्षा, माध्यमिक शिक्षापछिको उच्च शिक्षाको निमित्त प्रयास वि.सं २०३६ सालको सामान्य जुन परिर्वतन आयो राजनीतिमा, त्यसपछि जागरण आएको आवस्थामा २०३७ साल तिरबाट त्यहाँ क्याम्पस स्थापना गर्नुपर्छ भन्ने भएको हो। किनभने त्यतिबेलामा ११/१२ पढाउने चलन थिएन। ११/१२ पढाउने संस्थालाई क्याम्पस भनुपर्ने अवस्था थियो। विश्वविद्यालय शिक्षा अन्तर्गत गाभिएको थियो त्यो ११/१२ को आईए, आईकम, आईएसी तहको शिक्षाहरुलाई र २०३७ सालमा यहाँ प्रयास भयो क्याम्पस स्थापनाको , म त्यतिबेलामा एम.ए पास गरेर सैनिक क्याम्पस भिमफेदीमा शिक्षकको रुपमा कार्यरत थिए। मलाई समेत त्यतिबेलामा आफ्नो जिल्लामा क्याम्पस खोल्ने भएपछि तिमी पनि आउनुपर्छ भनेर यहाँका बुढापाखा मान्छेहरुले पनि खवर गर्नुभएको थियो।
२०३७ सालमा १० हजार रुपैँया नपुगेर त्यतिबेलाको नियममा क्याम्पस स्थापना गर्नका निमित्त क्याम्पसको नाममा ८० हजार जम्मा गर्नु पर्ने नियम थियो। जुन ८० हजार रुपैँया मध्ये उत्तरगंगा र लाटीकोईली गाउँ पञ्चायतले केही रकम र केहि बजारका व्यापारीहरुले चन्दा संकलन गरेर केहि रकम जम्मा त भयो। तर त्यो ८० हजार पुगेन। नपुगेपछि २०३७ सालमा क्याम्पस स्थापना हुन सकेन र पछि २०३८ सालमा सो काम पुरा भएपछि वि.सं २०३८ सालमा क्याम्पसको स्वीकृती त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गरेको हो। त्यो बेला म भिमफेदी क्याम्पसबाट सरुवा भएर नेपालगंन्ज क्याम्पसमा आईसकेको थिए। मलाई त्यहाँ त्यतिबेलामा लिनलाई क्याम्पस संचालन गर्नुपर्ने भयो। किनभने त्यतिबेलामा क्याम्पसमा यस जिल्लामा एम.ए पास गरेको जम्मा दुई जना व्यक्ति थियौ। एउटा बलभद्र भारती हुनुहुन्थो, एउटा म स्वयं थिए। बलभद्र भारती नेपालगंन्ज क्याम्पसमा क्याम्पस चिफको रुपमा काम गरिरहनु भएको थियो।
म त्यहाँ शिक्षकको रुपमा काम गर्थे र मलाई लिनको निम्ति त्यतिबेलामा यस जिल्लामा कार्यरत सि.डि.यो (प्रमुख जिल्ला अधिकारी) रामचन्द्र पौडेल र जिल्ला पञ्चायतका सभापति ओम बहादुर जि.सि दुई जना जानुभयो । यस क्याम्पसका स्थापनाको निमित्त यहाँ सबैभन्दा बढी भुमिका बढी दौडधुप गर्ने र सबैलाई गएर सम्झाई बुझाई गर्ने व्यक्तिमा हामीले नाम लिनुपर्दा स्व. हरिलाल पन्तको नाम बिर्सिनु हुदैन। उहाँले विद्यालय स्थापना गर्दा गोठीगाडाँमा पहिलो विद्यालय स्थापना गर्दा महत्वपुर्ण योगदान दिनुभएको थियो भनेदेखि पछि आएर क्याम्पस स्थापना गर्नका निम्ति पनि महत्वपुर्ण योगदान दिनुभयो। वि.सं २०३८ सालबाट यहाँ उच्च शिक्षाको थालनी भयो। जसमा मैले क्याम्पस प्रमुखको रुपमा काम गर्ने सौभाग्य पाएँ। त्यसैको विकसित रुप लगभग २९ बर्षपछि वि.स २०६७ सालमा यहाँ मध्यपश्चिम विश्वविद्यालयको रुपमा हामीले अहिले विश्वविद्यालय पाएका छौ। सन्जोकले आज त्यस विश्वविद्यालयका प्रथम कुलपती प्रा. डा. पदमलाल देवकोटाज्यु यहि हजुरहरुका सामु हुनुहुन्छ।
सहजकर्ताः हस् धैरै धेरै धन्यवाद महेन्द्र सर, मैले माफी चाहे, हामी समयको पावबन्दीमा छौ। सरसँग धेरै महत्वपुर्ण कुराहरु हामीले सुन्ने चाहाना राख्दा राख्दै पनि समयको पावबन्दी भएकोले सरसँग यति नै रोके, माफी चाहान्छु। हामी यो सेसनको अन्त-अन्तमा छौ। डा. देवकोटा, हजुर मध्यपश्चिम विश्वविद्यालयको संस्थापक उपकुलपती पनि हुनुहुन्छ। हामीसँग समय त धेरै छैन, तैपनि मैले सोध्न छुटाएका, हजुले भन्न छुटाएका केहि कुरा छ भने सरले बढीमा दुई मिनेट, कृपया।
प्रा. डा. पदमलाल देवकोटाः मध्यपश्चिम विश्वविद्यालयको म उपकुलपती भए। म कोही नेताको घर धाएर भएको होईन। मेरो विद्यार्थी पढाएको, मैले मास्टर पढाएको, पिएडी पढाएको, शिक्षा मन्त्री भयो। घरै आएर सर जानुपर्छ भनेर आएको, म नेता कहा धाएन र म उपकुलपती भईसकेपछि उपकुलपती जस्तो काम गरे। मैले कसैको भनेको टेरेन। बाबुरामले राजीनामा दे भने, निकाल्नुहोस् भनेँ। दिननाथ शर्माले राजिनामा दे भने, निकाल्नुहोस् भनेँ। शुशिल कोईरालाले राजिनामा दिनुहोस भने, निकाल्नुहोस् भनेँ। मैले राजिनामा नदिएर ३ बर्ष चलाए। मैले उहाँ सरलाई र पिताम्बर सरलाई लगेर हामीले गुन्द्रुक-भात खाएर ५ वटा फ्याकलिटी, ६८ वटा कोर्ष बनाएर चलाएको विश्वविद्यालय हो, रगत, पसिनाले। यहाँ कोहिले बुझ्दैनन्।
मलाई सब नेताहरुले ब्ल्याक लिस्टमा राखे। राखेपनि मलाई फरक पर्दैन। किनभने मलाई चाहिँ आज अमेरिकाको विश्वविद्यालयमा पनि पढाउन आउछु भने तुरुन्तै,एकचोटी मेरो श्रीमतीले अमेरिका जानुपर्यो भनिन् मलाई, ८ बजे दिए ‘सर यु कम एलेभेन वो कल्क’ ११ बजे, दुई घण्टामा मेरो भिसा लाग्छ। म त्यस छोड् चाहेन। मेरा २ जना साथीले छाडिस्के। शुभद्रा बेलबासे र भुवन लाल प्रधानले छोडे तर म छोड्दैन। मेरो एक जना विद्यार्थी मर्यो। त्यो मरे पनि, त्यो मारे पनि छोड्दैन। यो देशमा काम गर्छु, बुद्धि खेलाउछु, कसैको चाकडी गर्दैन, लेख्छु। मेरो तीन वटा किताव अमेरिकामा पढाई हुन्छ। म चाहिँ डराउने मान्छे होईन। मेरो बुद्धि छ। ‘नलेज इन पावर’ भन्छ। नलेज भएपछि सवै डराउछन्। त्यो नलेज विकास होस् सबै कर्णालीका बासिन्दाहरुको, मेरो दाजुभाईको, मेरो छेउछाउमा बस्नेहरुको, मेरो सुन्नेको निमित्त नलेज बढोस र पावर आवस्, धन्यवाद।
सहजकर्ताः धन्यवाद सर, धैरै धेरै धन्यवाद सर, वास्तवमै यतिबेला युवाहरु विदेशिने लहर छ। यतिबेला उहाँले हामी देशमै बस्नुपर्छ। ज्ञान आर्जन गर्न हामी जहाँसुकै जाउँ तर देश भित्रै बस्नुपर्छ। हामीले देश भित्रै ज्ञानको आर्जन गर्नुपर्छ। ज्ञानको विकास गर्नुपर्छ। कुनै पनि राजनीति प्रभावमा नलागेर काम गरेको जिकिर गर्नु भयो। हामी उहाँको यो विचारलाई सम्मान गर्छौ। उहाँ योगदानलाई सम्मान गर्छौ। मैले अघि पनि भने फेरी पनि हामी यस्ता कार्यक्रम काही जोडिदा आउदाँ जादाँ लाउला पिरती, फेरी पनि हामी जोडिउँला। अहिलेलाई आजको हाम्रो यो चौघान-चर्चा सेसनको हामी अन्तमा छौ। सुर्खेतका पुराना शिक्षाविद् महेन्द्र प्रसाद गिरी सर, उहाँ सुर्खेतको शिक्षाको विकासको इतिहासलाई मज्जाले सबैले बुझ्ने गरी जानकारी गराईदिनु भयो। त्यसका निम्ति सरलाई धैरै धन्यवाद।
प्रा. डा. पदमलाल देवकोटा सरले यहाँको सभ्यताको कुरा, कर्णाली नदिकोसँग जोडिएको सभ्यताका कुरा, थारु जाती, राजी जातीसँग जोडिएका कुरालाई पनि प्रष्ट पारिदिनु भयो। सरलाई पनि धरै धन्यवाद। कृष्ण बहादुर थारु दाई हुनुहुन्छ। उहाँले सुर्खेतमा थारुहरु कहाँबाट, कसरी, किन आए? र थारुहरु कस्तो प्रकारको थिचोमिचोमा परेका छन? र अहिले आएर थारुहरुमा कसरी चेतना जागेको छ? भन्ने कुराको जानकारी गराईदिनु भयो। वास्तबमै कर्णाली प्रदेशको राजधानीको रुपमा यो सुर्खेत उपत्यका आईपुग्दासम्म हिजो यसले आजको अवस्थासम्म यो एकाएक यहाँ आईपुगेको होईन, यसको एउटा लामो गौरवपुर्ण इतिहास छ। लामो गौरवपुर्ण विगत छ। अहिले वीरेन्द्रनगर नगरपालिकाले उप-महाननगर बग्ने मापदण्ड पुरा गरेको छ। हामीलाई आशा छ, केहि समयपछि यो वीरेन्द्रनगर नगरपालिका उप-महानगरपालिका भएको हामी उप-महानगरपालिकाको बासिन्दा हुने छौ।
वीरेन्द्रनगरमा एकदमै राम्रा भौतिक संरचनाहरु छन। वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भईरहदाँ २०२२ मा स्थापना भएको यहाँ विमानस्थान अहिले पश्चिम क्षेत्रकै एकदमै भरपर्दो विमानस्थान रुपमा रहेको छ। महेन्द्र राजमार्गसँग जोड्ने रत्न राजमार्ग, जो २०३८ सालमा सम्पन्न भएको थियो। यसले सुर्खेतलाई अथवा कर्णालीलाई देशका विभिन्न सडकको संजालसँग जोडिरहेको छ। अहिले हामी सबैले गौरव गर्ने यो सुन्दर नगरी वीरेन्द्रनगर भोलीका दिनमा अझ परिष्कृत र विकसित हुँदै जाने छ भन्ने आशा र अपेक्षाका साथमा आजको कार्यक्रममा यो सेसनमा वक्ताका रुपमा आउने हाम्रा आदरणीय व्यक्तित्वहरुप्रति म पुन: नमन गर्दै आयोजकलाई धन्यवाद दिदै चौघान-चर्चा सेसनबाट विदा हुन्छु। आउदा-जादाँ लाउँला पिरती, जदौ, नमस्कार, ढोकदियाँ।
