पार्वती बिसुन्के सदस्य, प्रतिनिधि सभा

केही समयअघि रुकुम पश्चिममा दलितको छोराले गैरदलितकी छोरी विवाह गर्न खोज्दा जुन घटना भयो त्यसको जातीय आधार थियो । उमेर पुगेका युवा युवतीहरूले माया प्रेम गरी विवाह गर्छौं भनेर जाँदा युवक मात्रै नभई उसका पाँच जना साथीहरू सहित छ जनाको सामूहिक हत्या भयो ।
विशेषगरी कर्णाली प्रदेश र हामी विकास र चेतना दुबैका हिसाबले पछाडि छौं । अहिले पनि महिला, ज्येष्ठ नागरिक, एकल महिला र दलितहरूलाई हेर्ने नजर परिवर्तन हुन सकेको छैन । लोकतन्त्र भनेको जनताले शासन गर्नु हो । कर्णालीको हकमा यहाँका जनताले साँझ बिहान पेटभरी खान पाउने, यहाँका युवाहरू कालापहाड जानु नपर्ने, यहाँका महिला, ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, जो विकासको मूलधारमा आउन सकेका छैनन्, उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनु हो । यहाँ अझै निरपेक्ष गरिबी छ । हाम्रा आवाज सुनिंदैनन् । हामीसंग छनौटको अधिकार छैन । नागरिकका अधिकारहरुको सुनिश्चितता नै लोकतन्त्र हो ।
हामीलाई लोकतन्त्र चाहिएको भुइँमान्छेलाई विकासको मूलधारमा ल्याउन हो । केन्द्रीकृत राज्यसत्ताले कर्णालीलाई पाखा पारेकै हो । कर्णालीभित्र पनि तलमाथि होला । यहाँ विकास के हो भन्ने पनि थाहा नपाएका मान्छे छन् । मूलधारको कुरा त परै जाओस् । लोकतन्त्र उनीहरुका लागि हो । यद्धपी नेताहरुले मात्रै लोकतन्त्रको प्रयोग गरेको कुरामा पूर्ण सत्यता छैन ।
नेपालको संविधानमा लिपिबद्ध गरिएको कुरा हो, जनताको लोकतन्त्र सङ्घीयतामार्फत् संस्थागत गर्ने । भन्नुको अर्थ राज्य सञ्चालनको अधिकार जनतालाई दिनु र त्यसको अभ्यास संघीय इकाईहरुबाट गर्नु हो । जस्तो कि अहिले स्थानीय तह छ । त्यसपछि प्रदेश र संघीय सरकार छन् ।
अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका तीन सय ३४ जना सांसदमध्ये कर्णाली प्रदेशबाट सात जना महिलाले प्रतिनिधित्व गरेका छन् । त्यसैगरी कर्णाली प्रदेश सभामा रहेका ४० जना सांसदहरू मध्ये १३ जना महिलाहरू सहभागी हुनुहुन्छ । राज्यको नीतिमा व्यवस्था हुँदाखेरि स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एक जना महिला हुने, वडास्तरका पाँच जना महिला मध्ये दुई जना महिला अनिवार्य हुनुपर्ने भन्ने व्यवस्थाले महिलालाई नेतृत्वमा ल्याएको छ । महिलाले घरभित्रका काम मात्रै गर्ने हो भन्ने सोच परिवर्तन भएको छ । महिलाले पनि राजनीतिक नेतृत्व वहन गर्न सक्छन् भन्ने भएको छ । छोरीलाई पनि पढाउने, घर बाहिरका काम गर्न दिने, जागीर खान दिने प्रचलन बढ्न थालेको छ । तर यतिले मात्र पुग्दैन ।
म नागरिक आन्दोलनलाई समर्थन गर्छु । किनभने लोकतन्त्र कसैको पेवा होइन । त्यसैले हामीले खबरदारी गरिरहनुपर्छ । लोकतन्त्रले सबैको मन मुटुलाई छुनुपर्छ ।
लोकतन्त्र यस्तै र त्यस्तै को लागि हो । जस्तो भैरवी गाउँपालिकाको महिलाले उठेर मज्जाले प्रश्न गर्नुभएको छ र यहाँ मञ्चमा हामी दुई जना महिलाहरू छौं । लोकतन्त्र यही अभ्यास हो । देशको वास्तविक तस्बिर देखिने गरी राज्यका यन्त्रमा हुने सहभागिता नै लोकतन्त्र हो । लोकतन्त्रको अभ्यास गर्दै जाँदा त्यहाँ भित्रका कमीकमजोरीलाई सुधार गर्दै जानुपर्छ ।
आजभन्दा झण्डै एक वर्ष अगाडि बजेट आउँदा मैले कर्णाली प्रदेशको बारेमा बोलेको थिएँ । मैले कर्णालीलाई अब सङ्घीय सरकारले क्षतिपूर्ति सहितको व्यवस्था गर्नुपर्छ भनेको थिएँ । क्षतिपूर्ति भनेको काठमाडौंका जनतालाले डोल्पा, हुम्ला र मुगुलाई महसुस गर्न सक्नु हो । उनीहरुलाई थाहा होस् कि कर्णालीमा जीवन कसरी चलिरहेको छ । तबमात्रै सरकारले बजेट र नीति तथा कार्यक्रम राम्रो बनाउँछ ।

Leave a Comment