
म सुर्खेतको साबिकको गोठिकाँडामा जन्में, वीरेन्द्रनगरमा खेलें, बढें, हुर्कें । सय कदम भित्रको प्राइमरी स्कुलमा पढें । दुई सय कदमको हाई स्कुलमा पढें । र, एस.एल.सी. सम्मको मेरो शिक्षा यही स्थानीयस्तरमै भयो । त्यो बेला मैले एउटा सुविधाको पहुँच प्राप्त गरें ।
२७ सालसम्म एस.एल.सी. दिन नेपालगन्जमा जानुपथ्र्याे । माथि दैलेख, कालिकोट, सुर्खेत लगायत सबैको सेन्टर नेपालगन्ज हुन्थ्यो । सबैले पढ्न पाउँथेनन् । भौगोलिक कठिनता थियो । यातायातको सुविधा थिएन । गरिबी त झन् मेरो पालामा त्यस्तै थियो ।
२८ सालदेखी एसएलसी सेन्टर सुर्खेत भयो । कर्णालीका अन्य जिल्लाका विद्यार्थी एसएलसी दिन सुर्खेत आउनुपर्ने भयो । यसले गर्दा सुर्खेतका विद्यार्थीले सुविधा पाए तर अन्य क्षेत्र पछाडी पर्यो । यसले अवसरमा पनि भिन्नता ल्यायो ।
जहाँसम्म प्रशासक यहाँकै चाहिन्छ वा बाहिरको भन्ने प्रश्न छ, स्वाभाविक रूपले शासकीय सेवा प्रवाह गर्ने क्रममा स्थानीय प्रशासकहरू पनि चाहिन्छ र बाहिरको पनि चाहिन्छ ।
नेपाल विविधतायुक्त मुलुक हो । सेवा प्रवाह गर्नका लागि, राम्रो सेवा दिनका लागि, अशल सेवा प्रदान गर्नका लागि दुवैको संयोजन हुनु आवश्यक छ । विशेष गरी नेतृत्वलाई अपनत्व लिने काममा चाहिँ स्थानीय प्रशासकहरू बढी भयो भने सजिलो हुन्छ । समन्वयकारी भूमिका निर्वाह गर्न सहज हुन्छ । बाहिरका प्रशासक धेरै बस्दैनन् । निजामती सेवा ऐनले नै निश्चित समयावधि तोकेको छ । त्यो अवधिपछि फेरी अन्यत्र स्थानमा सरकारले खटाएको ठाउँमा सेवा गर्न जानुपर्ने हुन्छ ।
म ४५ सालमा निजामती सेवामा प्रवेश गरें । ३१ वर्ष मैले निजामती सेवामा बिताएँ । दुई वर्ष कर्णाली महाकाली हाइवे प्रोजेक्टमा बिताए । जम्मा ३३ वर्ष काम गरें । त्यसरी जम्मा अवधिको २५ प्रतिशत जति करिब ७–८ वर्ष मैले यही पश्चिम भू–भागमा नै बिताएको छु ।
मैले काम गर्न खोजेका कतिपय कार्यालयमा त्यस बेला मेरा लागि पद थिएन । जस्तै सुर्खेतमा पद थिएन म नेपालगन्ज बसेर काम गरे । कञ्चनपुरमा बसें । कहिलेकाहीं चाहँदा चाहँदै पनि अवसर र मौका प्राप्त नहुने रहेछ ।
पछिल्लो समय घरघरमा सन्तानलाई इन्जिनियर, डाक्टर आदि पढाउने चलन छ । पढ्न सकेनन् भने व्यापार व्यवसायमा लगाउने र त्यो पनि भएन भने बल्ल प्रशासनिक सेवाहरूमा लाग्ने अवस्था छ । कतिपय भने सूचनाको अभाव वा भाषाको कठिनाइका कारण निजामति सेवाको पहुँचमा पुग्न सकेका छैनन् ।
म नापी विभागको महानिर्देशक भएँ । त्यसमा सरुवाको कारणले पीडित भएका जनशक्ति थियो । उनीहरू लामो समयसम्म पहाडी क्षेत्रमा बसेका थिए । ६–७ वर्ष भएको थियो । त्यहाँ पहुँच नहुने समुदाय ठूलो थियो । मैले आफ्नो अर्काको नभनी जसको अवधि पुगेको छ, लामो समय बसेको छ उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर सेवा सेवा प्रवाह गरें एउटा ।
दोस्रो, कर्णालीकै भएका कारण मैले केहीलाई कर्णाली गएर काम गर्न उत्प्रेरित गरें ।
जो जान चाहन्छन् र अन्यत्र धेरै बसेका छन् तिनलाई पनि कर्णाली पठाउने काम गरें । जहाँ मेरो नेतृत्वदायी भूमिका भयो त्यो सेवा प्रवाहलाई अशल बनाउनका लागि मैले त्यसरी रूपान्तरण गर्ने प्रयास गरें ।
प्रशासकले नीति निर्माण, कानून निर्माण र सेवा प्रवाहलाई व्यवस्थित गर्ने हो । प्रशासकको क्षेत्र व्यापक छ । तर, मुख्य कुरो सकारात्मक प्रवृत्ति, धारणा र सोच भएको प्रशासक चाहियो । हामीले प्रशासकलाई हेर्ने होइन पद्धतिलाई हेर्ने हो । पद्धति निर्माण गर्न सक्नुपर्छ । हामी सबैलाई हिंडाउने पद्धतिले नै हो । र, पद्धति बनाउने प्रशासक हुन् । कर्णाली निर्माणका सन्दर्भमा हामीलाई सही पद्धतिको खाँचो छ ।
