डा. नम्रता पाण्डे, परियोजना निर्देशक, आइएसटिएस

‘कर्णाली–प्रणालीः योजना पूर्वाधार र लगानी’ को विषयमा कर्णालीकै भूमिमा बसेर बहस गरिरहँदा कर्णाली नदी झैं केन्द्रबाट कर्णालीमा आउने हरेक चिज घुमेरै आएको हो त? विकास, योजना, पूर्वाधार, लगानी र प्रशासनिक सुविधाको कार्यान्वयन कर्णालीसम्म आइपुग्न धेरै घुम्नु परेको कारण भौगोलिक जटिलताले मात्र हो या योजना र प्रणाली बनाउँदा कागजमा मात्र सीमित गरियो वा यहाँका नागरिकको जीवनशैली स्तरोन्नति र मनोवैज्ञानिक रूपमा चेतना विकासलाई सँगै नसमेटिएको हो त्यसलाई ध्यानमा राखिनुपर्दछ ।
विकासको लागि पूर्वाधार र पूर्वाधारको लागि लगानी आवश्यक पर्छ । लगानीको बजेट कसरी छुट्टिएको छ कर्णालीको लागि? अवसर र चुनौती छुट्टिएको बजेटलाई कसरी लगानी गर्ने वा कर्णालीमा किन लगानी गर्ने भन्नेसम्मका अध्ययन हुनु जरुरी छ । विकास त केन्द्रबाट कर्णालीसम्म घुमेरै पुग्छ तर त्यतिन्जेल सम्म कर्णालीको मौलिकता कसरी बचाउने हो त्यो पनि महत्वपूर्ण छ ।
विकास, बजेट र अङ्कगणितका कुरा त धेरै विज्ञता र प्रतिवेदनले प्रष्ट पार्न सक्लान् तर कर्णालीको प्राकृतिक सम्पदालाई कसरी भरपुर उपयोग गर्ने त्यसमा ध्यान पुग्न सकेको देखिएन । अरू विकास खोज्दाखोज्दै कर्णालीमा उपलब्ध स्रोत जल, जमिन र जडीबुटी समेत पछि परेको महसुस गरेका छौं । किनकि यसमा आत्मनिर्भर बन्न सक्ने कर्णालीले उपयुक्त योजना र लगानी पाएन । समग्रमा भन्नुपर्दा कागजमा अङ्कित योजना र प्रणालीले कार्यान्वयन पाएन त्यसैले कर्णालीले अझै पनि सोचेको कुरा पाएको छैन ।
हामी प्रणालीमा पनि चुकेका छौं । प्रकृतिको अपार प्रेम पाएर पनि सरकारको प्रेम र ध्यानाकर्षण किन पाएन कर्णालीले? यसलाई गहन तरिकाले सोच्नुपर्छ । अपार सम्पदा हुँदाहुँदै विकासको प्राथमिकतामा कर्णाली किन पछि परिरहेछ? सरकारी स्तरबाट कर्णाली किन उपेक्षित रह्यो?
कर्णालीमा धेरै समस्या छैनन् तर कर्णालीले समाधान पाउँछ भन्ने आश्वासन र भरोसा पाउन छोडेर भौगोलिक विकटताको बहानामा यसलाई पछि पार्ने प्रयास भइरहेको त होइन? हामीले बुझेको विकास भनेकै पूर्वाधार, सडक आदि नै हो । किनकि हिजो नुन ल्याउन भोट जानुपथ्र्याे । अर्थात् त्यतिबेलाको विकास पूर्वाधार, स्वास्थ्य, जीवनशैली र व्यापारसंग जोडिएको थियो ।
हामीले कर्णालीमा विकास ल्याउँदा बाटोसँगै के के ल्याउने भन्ने कुरा अध्ययन नै गरेनौं । बाटो कसलाई ठेक्का दिने, उक्त बाटोमा कसको साधन लिएर आउने भन्नेतिर हामीले ध्यान दियौं । नातावाद र कृपावाद यहाँपनि हाबी भयो । यसबाट हामी मनन गर्न सक्छौं कि विकास हामीलाई कसैले ल्याइदिने होइन रहेछ । यहींका नागरिकले पनि हामीलाई त्यो विकास के मा चाहिएको हो आफैं जागृत र सचेत भएर पहलको लागि निरन्तर लाग्नुपर्ने रहेछ ।
अर्कोतिर, भौतिक विकास आउँदा हाम्रो शारीरिक मानसिक मनस्थिति कस्तो हुन्छ? हामी खुशी हुन्छौं कि दुःखी? विकास बजेट कागजमा त आइरहेकै हुन्छ । तर त्यसले हाम्रो मनोभावनामा कस्तो असर पारेको छ? हाम्रो चेतना र जीवनस्तर उकास्नमा मद्दत गर्ने खालको छ कि छैन? हामीले आफूलाई चेतनाको स्तरबाट पनि विकसित गर्नुपर्छ । कर्णालीको बजेट र योजनाले हाम्रो आर्थिक समृद्धि, जीवनस्तर र दैनिकीमा के परिवर्तन ल्याएको छ? विकास त्यसमा भर पर्छ । भौतिक विकासको चाहनासँगै विकासमा सकारात्मक सोच सहितको धारणा र योजनामा सबैको सहकार्य जरुरी हुन्छ ।
बजेट जति निकासा गरिन्छ, त्यो सबै खर्च हुनुपर्छ । हामीले गरिबी निवारण र पूर्वाधार विकासका कुराहरू ल्याउँछौं । किनकि पूर्वाधारले जीवन सहज बनाउँछ । एउटा महिलाले दुई खेप पानी ल्याउन जाँदा एक दिन जान्छ भने बच्चा कसरी स्याहार्ने? सुर्के थैली कसरी भरिन्छ अर्थात् अर्थोपार्जन कसरी हुन्छ? आफूभित्रै पीडा दबाएर खुशी कसरी हुने? कोही महिला आफ्नो सन्तानसहित त्यसै कर्णालीमा किन हाम फाल्छ? एउटी आमाले आफ्नो सन्तानको मायालाई समेत बली दिनुपर्ने खालको योजना र पूर्वाधार, बजेट र भाषण मात्रै दिन्छौं भने हामी कति पछाडि छौं?
हामी घटनाका कारण मात्र खोज्छौ, कर्णालीबासीको मनोभावना र चेतनाको स्तर कसरी विकसित भएको छ, त्यो कहाँ खोज्ने? कर्णालीमा भएका साधन स्रोत र जनशक्तिलाई हामीले नै प्रयोग गर्न सकेका छैनौं । यहाँका स्रोत साधनको प्रयोग र बाहिरबाट कर्णाली प्रवेश गर्न आकर्षित हुने किसिमको कार्यक्रम सहित योजना बन्नुपर्छ । नक्कल गरेर योजना र पूर्वाधारलाई कागजमा समेटिनु जिम्मेवारी निर्वाह गरेको देखाउनु जस्तो मात्रै हो ।
हामी विकासका कुरा गर्दागर्दै अलि बढी आक्रामक हुने गर्छौं । कर्णालीमा यस्तो विकास आओस् कि यसले हाम्रो मानवीय विकासलाई सँगसँगै जोड देओस् । मानव विकासलाई मापन गर्ने आयाममध्ये एउटा महत्वपूर्ण आयाम आध्यात्मिक विकास हो । जसलाई ९० प्रतिशत मानिसहरू छोडिदिन्छन् । मैले विकास के कारणले खोजेको हो? त्यो विकासले मेरो जीवनमा के रूपान्तरण ल्याउन सक्छ? त्यसले अरूलाई कस्तो असर गर्छ? यस्ता प्रश्नको उत्तर समेटिएको विकास आध्यात्मिक विकास हो ।
अर्कोतिर, हामीहरू सबैको मानसिकता केन्द्रीकृत हुन पुगेको छ । हामी सबैको नजर शक्तिकेन्द्रमै जान्छ । हामी सबै काठमाडौंमै बसाईं सर्न चाहन्छौं । विकासको नाममा हामीले आफ्नो मौलिकता त्याग्न तयार छौं । कर्णालीको मौलिकतासहितको विकास नै आजको आवश्यकता हो ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events