
विद्धत् प्रवचन
कर्णाली चिनाउने योगी
प्रा.डा. जगतप्रसाद उपाध्याय
सदस्य सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान
ऋति फाउन्डेसनको आयोजनामा आयोजित कर्णाली उत्सव, कुडा कर्णालीकाको दोस्रो संस्करणको समुद्घाटन समारोहका सभाध्यक्षज्यू, यस समारोहका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यू, कर्णाली प्रदेशका माननीय अर्थमन्त्री प्रकाश ज्वालाज्यू, माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीज्यू ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षज्यू, कर्णाली प्रदेश सभाका माननीय सदस्यज्यूहरू । योजना आयोगका सदस्यहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका दुई जना मेरा आदरणीय प्राज्ञ सदस्यज्यूहरू, प्रा.डा. हेमनाथ पौडेलज्यू, जसले प्रतिष्ठानको साहित्य विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । यसैगरी डा. देवी नेपालज्यू, जसले प्रतिष्ठानको लोकवार्ता विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।
यहाँ उपस्थित कर्णाली प्रदेशका जनप्रतिनिधिज्यूहरू, अभियन्ताज्यूहरू, शैक्षिक तथा प्राज्ञ क्षेत्रमा क्रियाशील विद्वान महानुभावहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू र सम्पूर्ण उपस्थित महानुभावहरू ।
सबैभन्दा पहिले म कर्णाली उत्सव, कुडा कर्णालीकाको आयोजनाका निम्ति, ऋति फाउन्डेसन लगायत जो संस्थाहरू यहाँ आबद्ध हुनुहुन्छ, यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसमा सहयोग गर्ने कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश योजना आयोग, वीरेन्द्रनगर नगरपालिका लगायत सुर्खेत जिल्लामा रहेका र अन्यत्रका स्थानीय तहहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
मलाई गत वर्ष पनि आयोजक साथीहरूले निम्ता गर्नु भएको थियो । विशेष परिस्थितिले गर्दा उपस्थित हुन सकेन । म पनि यही क्षेत्रको मान्छे हुँ । कर्णाली प्रदेश मेरो पनि जन्म क्षेत्र, कर्म क्षेत्र र सरोकारको क्षेत्र हो । त्यस कारणले कर्णाली प्रदेशमा आयोजना गरिने उत्सवमा मेरो समेत संलग्नताको अपेक्षा गरिनु स्वाभाविक हो । र, सहभागी हुनु मेरो परम कर्तव्य पनि हो भन्ने ठानेर प्रतिकात्मक रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानले यस पटक सहभागिता जनाएको छ ।
म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने कर्णाली प्रदेशलाई नेपाल प्रज्ञा प्रतिष्ठानले स्थापनाकालदेखि नै महत्व दिएको छ । २०२७ सालमा त्यस बेलाको नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले सत्यमोहन जोशी, चूडामणि बन्धु, प्रदीप रिमाल लगायतका विद्वानहरूलाई काठमाडौंबाट जहाज चार्टर गरेर जुम्ला पु¥याएको थियो । जुम्लाको सिञ्जामा छ महिनासम्म बसेर कर्णालीको संस्कृति, गीत, भाषा र जनजीवनको बारेमा गम्भीर अध्ययन गराएको थियो । विक्रम संवत् २०२८ सालमा ती पाँच वटै पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन भएका थिए । जुन पुस्तकले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
यो रमणीय स्थल कर्णाली प्रदेशको राजधानीको रूपमा रहेको सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा आयोजित कर्णाली उत्सवमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि नेपाल प्रज्ञा प्रतिष्ठान अहिले पनि कर्णालीका बारेमा काम गरिरहेको छ । हामीले कर्णाली प्रदेशको भाषा, संस्कृति, दर्शन, साहित्य, कलाको बारेमा अध्ययन गरिरहेका छौं । प्रतिष्ठानले गत वर्ष दैलेख स्थित दुल्लुमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी गर्यो । दुल्लु सांस्कृतिक महोत्सव भयो । परार साल सुर्खेती कल्याण समाजसँगको सहकार्यमा वीरेन्द्रनगर नगरपालिकामा वाङ्मय सङ्गोष्ठीको आयोजना भयो । जसलाई कर्णालीका माननीय मुख्यमन्त्रीज्यूले समुद्घाटन गर्नुभएको थियो ।
यस्तै भव्य कार्यक्रम हामीले जुम्लाको सिञ्जामा आयोजना गर्ने तयारी गरेका थियौं । कर्णालीमा र कर्णालीका लागि कलम चलाउनेहरुको ठूलो भेला आयोजना गर्ने तय गरिएको थियो । प्रकृति, भाषा, संस्कृति, इतिहास, अभिलेख आदिमा कर्णाली के रहेछ भन्ने बारेमा जानकारी गराउनका लागि हामीले एउटा भव्य प्राज्ञिक विमर्श गर्ने प्रस्ताव गरेका थियौं । कर्णाली प्रदेश सरकार पनि त्यसमा सकारात्मक रहेको थियो । तर कोरोना महामारीले साथ दिएन ।
कर्णाली प्रदेशमा अहिले पनि हजारौं ढुङ्गेधाराहरू, हजारौं खम्बाहरू, वीर खम्बाहरू, कृति खम्बाहरू त्यत्तिकै परिरहेका छन् । शिलालेखहरू भैंसी बाँध्न प्रयोग भएका छन् । हाम्रा देवल, खम्बा, ढुङ्गेधाराहरूको अध्ययन र तिनको संरक्षण गर्नुपर्छ । जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारमा गाइने मागल गीतको संरक्षण गरिनुपर्छ । यसमा निम्ति म सरोकारवालाहरुको ध्यानाकर्षण गराउँछु ।
कर्णाली चिनाउने योगी
हामीले कर्णालीको नाम लिँदा खेरी योगी नरहरीनाथलाई बिर्स्यौं भने साँच्चिकै हामीले अन्याय गरेको ठहर हुन्छ । हुन त योगीको बारेमा विभिन्न सन्दर्भहरू छन् । मान्छेका विभिन्न बुझाइहरू छन् । विभिन्न दृष्टिकोणहरू छन् । तर समग्रमा भन्ने हो भने कर्णालीको गौरव मात्र होइन, योगी नरहरिनाथ राष्ट्रकै गौरव हुन् । राष्ट्रिय गौरव मात्र होइन, पूर्वीय संस्कृति, पूर्वीय दर्शन आदि हरेकको अध्ययन गर्न चाहने विदेशीहरूका निम्ति एउटा गौरवको व्यक्तित्व हो ।
मैले योगी नरहरिनाथको बारेमा बोल्नु भन्दा अगाडि कर्णालीको बारेमा केही कुरा राख्न चाहन्छु । अघि हाम्रा कलाकार मित्रहरूले कर्णालीको धुन बजाउनु भयो । अहिलेको लोक जीवनलाई अहिलेको कर्णाली प्रदेश जुन हिजोको रापती को सल्यान रुकुम सँगै जोडिएर बनेको छ । कर्णाली अञ्चल पाँच वटा जिल्लासँगै भेरीका दैलेख, सुर्खेत र जाजरकोट मिलेर बनेको छ । त्यस कारणले अहिलेको कर्णाली धुन भन्दा खेरी कर्णाली प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा रहेको हाम्रो जुन लोक परम्परा, लोक जीवन र लोक संस्कृति छ, त्यसको धुन भन्ने अर्थमा बुझिएको हो । यो स्वाभाविक पनि छ ।
तर कुरा के हो भने, कर्णालीको जुन धुन हो त्यो फरक छ । कर्णाली कसरी बन्यो? कर्णाली नदीको नाम कसरी रह्यो? भन्ने कुरा बुझेपछि कर्णाली धुनको बारेमा बुझ्न सजिलो हुन्छ । ‘कर्नाल’ भन्ने शब्दबाट कर्णाली नदीको नाम रहेको हो । यो कर्नाल भनेको बाजा हो । यस बाजालाई हामीले जोडले फुकेर बजाउँछौँ । तपाईँ–हामीले गाउँमा देखेका छौँ, बजाएका पनि छौँ । यसबाट जमीन नै थर्किने गरी चर्को ध्वनि निस्किन्छ । कर्नालको ध्वनि चाहिँ टाढा टाढा सम्म जान्छ ।
कर्णाली नदी पनि ठूलो छ । लामो छ । कर्नाल जस्तै नागबेली परेर बगेको छ । यसका छालहरूले पनि कर्णालको धुनजस्तै चर्को आवाज निकाल्छन् । त्यस कारणले यो कर्णाली नदी कर्नालजस्तै भएको हो । कर्नालको जस्तै आवाज निकालेर बग्ने भएकोले यसको नाम कर्णाली रहन गएको हो भनेर योगी नरहरिनाथले खोज्नुभएको छ । व्याख्या गर्नुभएको छ । त्यसैले कर्णालीको धुन बजाउँदा योगीले भनेजस्तै कर्नाल नै ल्याएर धुन बजाऊँ ।
हामीले कर्णालीका बारेमा धेरै कुरा गर्छौं । वैदिक धर्मका अनुयायीहरूको तीर्थस्थलको रूपमा रहेको मानसरोवर क्षेत्रसँग कर्णालीको पनि सम्बन्ध जोडिएको छ । पश्चिम तिब्बतमा ठूल्ठूला दुई वटा तालहरू छन् । एउटा मानसरोवर र अर्को राक्षस ताल । तिब्बतीहरूको कैलाश पुराणमा मानसरोवर तालमा चार वटा ठुला नदीका मुहान छन् । भारतमा बग्ने सतलज नदी, सिन्धु नदी, ब्रम्हपुत्र नदी र नेपालको कर्णाली नदी । यी चार वटा नदीको मुहान मानसरोवर ताल हो । मानसरोवर मानव सभ्यतामा चर्चामा आउन थालेको चार हजार वर्ष अगाडिदेखि हो भनेर विद्वानहरूले लेखेको पाइन्छ ।
कर्णाली नदी र यसको विस्तार क्षेत्र नै कर्णाली क्षेत्र हो । यद्धपी पहिलेको कर्णालीले पश्चिममा भारतको कुमाउँ गढवाल र पूर्वमा काठमाडौं उपत्यकासम्मको क्षेत्र ओगटेको थियो । धेरै विद्वानहरूले यस तथ्यलाई स्वीकार गरेका छन् । नागराजले ११४० सालतिर कर्णाली राज्य स्थापना गरेको बुझिन्छ । उनका पुर्खाहरू सातौं शताब्दीतिर कर्णाली आएका थिए । तिनैका सन्तान नागराजले सिञ्जामा सुनको दरबार बनाएर बसेका थिए भनेर लेखिएको छ ।
सुनको दरबार थियो या थिएन या त्यो काव्यात्मक अभिव्यक्ति मात्रै थियो एकीन छैन । तर कुरा के हो भने नागराजले कर्णाली राज्य स्थापना गरेपछि सिञ्जालाई राजधानी बनाएर त्यसलाई अगाडि बढाए । अशोक चल्लले जुम्लालाई व्यापारिक राजधानीको रूपमा र दुल्लुलाई प्रशासनिक राजधानीको रूपमा विकास गरे ।
पृथ्वी मल्लको पालादेखि त्यो राज्य कमजोर हुँदै गयो । भाषा, संस्कृति र साहित्यलाई माया त गरे तर राज्य व्यवस्थित ढङ्गले चल्न सकेन । पन्ध्रौं शताब्दीमा यो राज्य छिन्नभिन्न भएर विभिन्न टुक्रे राज्यहरूमा परिणत भयो । तर त्यसबेला कर्णालीका राजाहरूले भाषा, साहित्य, संस्कृति लगायतका क्षेत्रमा जुन योगदान गरेका छन् त्यसले आजको कर्णाली प्रदेशलाई विश्वमा वाङ्मयको क्षेत्रमा अत्यन्त समृद्ध तुल्याएको छ ।
नेपाली भाषाको पहिलो शिलालेख यही दैलेखको दुल्लुमा रहेको छ । हुम्लामा शिलाजी लेख छन् ।
दैलेखको पादुकास्थलमा देवल छ । पृथ्वी मल्लले स्थापना गरेको कृति स्तम्भ दैलेखमा छ । मोहनप्रसाद खनालले सङ्कलन गरेको लेख हेर्दा धेरै अभिलेखहरू यही कर्णाली प्रदेशका छन् ।
कर्णाली प्रदेशमा रहेका यस्ता अभिलेखहरूलाई सामग्री ग्रन्थ र लोकगीतहरूलाई पालन गर्ने काम योगी नरहरिनाथले गर्नुभएको हो । यस कारणले कर्णाली चिनाउने मात्र होइन, उहाँले त नेपाललाई नै चिनाउने काम गर्नुभयो । त्यस्ता महान् व्यक्ति योगी नरहरिनाथ प्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।
१९७१ साल फागुन १७ गते कालिकोटको लालुलखडा अहिलेको नरहरिनाथ गाउँपालिकामा उहाँको जन्म भएको थियो । विक्रम संवत् २०५९ साल फागुन ४ गते उहाँको निधन भयो । उहाँको राशिको नाम बलवीर थापा थियो । उहाँ गौरीदेवी थापा र ललितसिङ थापाको सुपुत्रको रूपमा जन्मनु भएको थियो । शुरुमै जुम्लाको चन्दननाथ मन्दिरका महन्तसँगको सङ्गतमा लागेर संस्कृत पढ्नुभएका योगी नरहरिनाथले भारतको पन्जाबबाट संस्कृतमा शास्त्रीसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको थियो । सानैदेखि सामाजिक सुधार, धार्मिक सुधार सांस्कृतिक सुधारमा उहाँको विशेष चासो थियो । उहाँले इतिहास, भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्नुभएको छ । कर्णाली चिनाउने मात्र होइन, वास्तवमा पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण शाह बनाउने पनि योगी नरहरिनाथ नै हुनुहुन्थ्यो । उहाँले पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई २००७ सालमा सङ्कलन गरेर सम्पादन तथा सार्वजनिक गर्ने काम गर्नुभयो । जसमा पृथ्वीनारायण शाहले सोचेको अर्थनीति, परराष्ट्रनीति सम्मिलित छन् ।
मैले योगीका ३४ वटा पुस्तकहरूको सूची पाएको छु । उहाँले लेखेका पुस्तकहरू पृथ्वीनारायण शाहको दिव्य उपदेशदेखि लिएर गोरखा वंशावली, पशुपति पुराण, धनुरवेद, शान्ति चरित्र, वागीश्वरी सुती, हिन्दु राष्ट्र माग, गाइको महिमा, हाम्रो देश दर्शन, शिखरिणी यात्रा, आध्यात्मिक नेपाल, मानव धर्म, दैवी सिद्धान्त, जय गोर्खा, वैदिक साम्यवाद आदि हुन् । अहिले हामीले वैज्ञानिक समाजवाद भन्छौं तर योगी नरहरिनाथले वैदिक साम्यवाद भन्नुहुन्थ्यो । सबै जाम, सबै बोलाऊँ, एकले अर्काको मन बुझाऊ, सहयोग गर्न सधैँ एक अर्काको रक्षा गरौँ, कसैले कसैप्रति क्रोध, रिस नगरौं, यति मात्र होइन मित्रका आँखाले म पनि हेर्छु, मित्रका आँखाले तपाईंहरूले पनि हेर्नुहोस् भनेर वेदमा आधारित मानवतावादी विचारहरूलाई उहाँले वैदिक साम्यवादमा व्याख्या गर्नुभएको छ ।
त्यति मात्र होइन गीतामा जतिले तपाईंको पेट भरिन्छ त्यति बस्तु प्रति, त्यति खानाप्रति तपाईंको अधिकार छ, त्योभन्दा बढी तपाईंले खोज्नुभयो भने तपाईं द्वन्द्वको भागी हुनुहुन्छ भनेर लेखेको कुरालाई पनि उहाँले आधार बनाएर वैदिक साम्यवादको परिकल्पना गर्नुभएको थियो । उहाँले त्यही वैदिक साम्यवादका आधारमा विभिन्न व्याख्या गर्नुभएको छ ।
पशुपति महात्म्य इतिहास प्रकाश १ देखि ४ सम्म कर्णाली प्रदेशका सारा कुराहरू त्यसैभित्र छन् । सोझा सोझा अलमलिया, गया बाठा बाठा । त्यो उहाँकै गीत हो । मान्नमी मेरो उज्यालो अन्न्या को होला यो देश? यो गीतले भन्न खोजेको कुरा हो– यो ब्रह्माण्डलाई उज्यालो गर्ने को नेता यहाँ जन्मेको होला वा कहिले जन्मेला? योगीजीले कर्णाली क्षेत्रका यस्ता धेरै लोकगीत सङ्कलन गर्नुभएको थियो । जुन कर्णालीका गीत भनेर राख्नुभएको इतिहास प्रकाशमा सङ्कलित छन् । अनि इतिहास प्रकाशमा सन्धि–पत्र संग्रह भनेर सबै घरघरमा रहेका पाण्डुलिपिहरूलाई उहाँले सङ्कलन गरेर प्रकाशन गर्नुभएको छ ।
गोर्खालीहरूको सैनिक इतिहास बारेमा पनि उहाँले लेख्नुभएको छ । थुप्रै गुरु वंशावलीहरू पनि लेख्नुभएको छ । दैलेखको दुल्लु क्षेत्रलाई चिनाउने गरेर पनि उहाँले लेख्नुभएको छ । यसरी योगीले दर्शन, कला, साहित्य, इतिहास, भाषा आदि क्षेत्रमा कलम चलाउनुभएको छ ।
अहिले हामीले सुर्खेतमा कार्यक्रम गरिरहेका छौं । यो ठाउँ सुर खेत हो । सुर अर्थात् देवताको क्षेत्र भनेर उहाँले नै पहिचान गर्नु भएको थियो । कालिकोटको मान्मलाई मनुको जन्मस्थान भनेर उहाँले नै पहिचान गर्नुभएको हो । बुटवलको नाम बुद्ध स्थल भनेर उहाँले नै प्रष्ट रूपमा व्याख्या गर्नुभएको थियो । हाम्रा हरेक क्षेत्रको ठाउँको नाम उहाँले सही अर्थ लेख्नुभएको छ ।
कसैले राजनीतिसँग जोडेर उहाँलाई राजावादी हुनुहुन्थ्यो भन्छन् । उहाँको आलोचना गरेको पनि सुनिन्छ । उहाँले राजाको वकालत कुनै बेला लहडमा गर्नुभएको होला तर राजालाई पनि सचेत गराउनुहुन्थ्यो । एकचोटी उहाँ दाङको चौघेरामा पुग्नुभएको थियो । त्यसबेला प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठ हुनुहुन्थ्यो । शिक्षामन्त्री परशुराम चौधरी हुनुहुन्थ्यो । नेपाल सरकारका विभिन्न ओहदाका मान्छेहरू त्यहाँ उपस्थित थिए । योगी नरहरिनाथले छाता जसले ओढ्ने हो उसैले समात्नुपर्छ भन्नुभयो । उहाँले त्यो दरबारलाई भन्नुभएको थियो । त्यस भनाईमा शोषण उत्पीडनको विरोध गरिएको थियो ।
दाङ भनेको जमिन्दारहरूको क्षेत्र हो । यहाँ गरिब र निमुखाहरू माथि चरम शोषण उत्पीडन छ । अब विद्रोह गर्नुपर्छ । पढेपछि हतियार पनि उठाउनुपर्छ । मारिन पनि तयार हुनुपर्छ । तर, अन्याय र शोषण गर्नेलाई छोड्नुहुँदैन भन्नुभयो ।
२०५८ सालमा दरबार हत्याकाण्ड भयो । त्यतिबेला पनि उहाँले कडा प्रतिक्रिया दिनुभयो । जसले आफ्नो सुरक्षा गर्न सक्दैन, त्यसले राष्ट्रको सुरक्षा कसरी गर्न सक्छ? त्यसैले जे हुनुपर्ने थियो त्यो भयो भन्नुभयो । उहाँले देखेको कुरा बोल्नु हुन्थ्यो । लागेको कुरा लेख्नुहुन्थ्यो । राष्ट्र, राष्ट्रियता, जनता, भाषा, संस्कृति, साहित्य, इतिहास, दर्शन, कला आदिको अन्वेषक हुनुहुन्थ्यो ।
उहाँले २००६ सालमा नेपालको ताप्लेजुङदेखि दार्चुलासम्म पदयात्रा गर्नुभयो । उहाँको योगदानको कदर गर्दै राज्यले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । उहाँको अध्ययन कुनै विद्यावारिधिभन्दा कम छैन । उहाँले स्थलगत रूपमा अवलोकन गरेर हरेक शिलालेखहरू हेरेर, शिलालेखहरूमा तेल लगाएर घोटेर सफा गरेर, एक एक अक्षर पढेर, रात दिन दुःख गरेर, जहाँ अक्षर मेटिएको छ, त्यहाँ थपिदिएर पूरा गर्नुभएको छ । जसका कारण आज हामीले हाम्रो इतिहास पढ्न पाएका छौँ । हाम्रो इतिहास बारे गर्व गर्न पाएका छौँ । कर्णालीका बारेमा गर्व गर्न पाएका छौँ । राष्ट्रका बारेमा गर्व गर्न पाएका छौँ ।
कर्णाली क्षेत्र दर्शनका दृष्टिकोणले त्यत्तिकै समृद्ध छ । तर समन्वयको अभावको परम्परा यो क्षेत्रमा रहँदै आएको छ । यसको उत्खननमा योगी नरहरिनाथजीको विशेष योगदान रहेको छ भन्ने कुरा राख्दै म योगी नरहरिनाथजी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।
