शुभकामना मन्तव्य : महेन्द्रबहादुर शाही मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार

शुभकामना मन्तव्य
महेन्द्रबहादुर शाही
मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार

कर्णाली उत्सव ..कुडा कर्णालीका समुद्घाटन कार्यक्रमका अध्यक्षज्यू । कार्यक्रममा उपस्थित कर्णाली प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू । कर्णाली प्रदेश सभाका माननीय सदस्यज्यूहरू । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षज्यू, सदस्यज्यूहरू । स्थानीय तहका जनप्रतिनिधिज्यूहरू र यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय अतिथिज्यूहरू र सहभागी सम्पूर्ण महानुभावज्यूहरू ।
कर्णाली छुट्टै पहिचान बोकेको क्षेत्र हो । विश्वका थुप्रै मान्छेहरूले कर्णालीका बारेमा धेरै कुराहरू जान्दछन् । धेरै कुराहरू बुझ्दछन् । उनीहरूलाई धेरै कुराहरू थाहा छ । यद्धपी कर्णालीको विस्तृत अप्रेसनका लागि यो बौद्धिक कार्यक्रम हो ।

कर्णाली उत्सवले कर्णालीको समग्र अप्रेसन गर्नेछ । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपश्चात् दोस्रो वर्ष यो बहस आयोजना हुन गइरहेको छ । आयोजकले जुन उद्धेश्यका साथ कार्यक्रमको आयोजना गर्नुभएको छ, कर्णाली प्रदेश सरकारको तर्फबाट यसको उच्च सफलताको शुभकामना व्यक्त गर्दछु । कर्णालीमा के के कुरा छन? यसको समग्र इतिहास कस्तो छ आदिबारे हामीले जान्न र बुझ्न जरुरी छ ।

धेरै शताब्दी पार गरेर अहिले हामी नयाँ युगमा प्रवेश गरेका छौं । हामीले आफ्नो सभ्यता के थियो? आफ्नो संस्कार के थियो? हिजोको सामाजिक परिवेश कस्तो थियो? पुर्खाहरूले के के गरेका थिए? उनीहरुले कसरी जीवन जिएका थिए? यी सबै कुराहरू हामीले बिस्तारै भुल्दै गइरहेका छौं । हामीले आफ्नो भाषा, संस्कृति, रीतिरिवाज, भेषभुषा, इतिहास बिर्सियौं भने हाम्रो जीवन पूर्ण हुँदैन ।
हामी अहिले धेरै आधुनिक भइसकेका छौं । यसो हेर्दा अब नेपाली भाषा नै लोप हुन्छ कि भन्ने ठूलो चिन्ता छ । प्रायः हामी सबैका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन् । घरमा पनि अंग्रजी भाषाबाटै कुराकानी गर्छन् । भाषा तथा इतिहासको रक्षाको लागि यस्ता वैचारिक बहसहरू बडो जरुरी हुन्छ ।

हाम्रा हरेक पिपल चौतारीहरूमा पुस्तान्तर छलफल हुनु जरुरी छ । परम्परागत ज्ञान सीपको प्रसार हुनु जरुरी छ । पहाडबाट तराई तथा गाउँबाट शहरतिर हुने बसाईं सराईंका कारण धेरैले पुराना गाउँको परिवेश बिर्सेका छन् । हामीले हाम्रा पुर्खाले गरेका संघर्ष बिर्सेका छौं । हामी सफलता हासिल गर्न चाहन्छौं भने आफ्नै इतिहास जान्नु जरुरी छ ।

यस्ता उत्वसमार्फत् हामीले आफ्नै इतिहास खोतल्नु जरुरी छ । यहाँको राजनीतिक, आर्थिक, सामाजिक प्रणालीबारे बहस हुनुपर्छ । हिजो सुनै सुन लगाउने कर्णाली प्रदेश, चरेसको थालमा खाना खाने कर्णाली प्रदेश, तामाका भाँडाहरूमा अन्न राख्ने कर्णाली प्रदेश अहिले प्लाष्टिकमा कसरी पुग्यो? सामूदायिक भावना भएको कर्णाली किन केही गर्नुपर्दा संघसंस्थाहरू मुख ताक्नुपर्ने भयो? यी तमाम अवस्थाका कारण विश्लेषण गर्नु जरुरी छ । आफ्नै खुट्टामा उभिएको आत्मनिर्भर कर्णाली आज कसरी परनिर्भर भयो? कर्णाली प्रदेशले किन बैसाखीको सहारा लिएर हिंड्नुपर्ने अवस्था सिर्जना भयो?
अर्को कुरा आज हामी कहाँ छौं भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ । राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक आदि हिसाबले हामी कहाँ छौं? यसको विष्लेषण गरिनुपर्छ । र, कर्णाली प्रदेशको भविष्यबारे पनि केही आँकलन गर्नु जरुरी छ । आशा जगाउनु जरुरी छ । हामी ठिक वा गलत बाटो कता हिंडेका छौं सचेत गराउनु जरुरी छ । कर्णाली पछाडि प¥यो भनेर अरूलाई गाली गरेर मात्रै बस्ने होइन यहाँको विकासका लागि हामी आफैं जुर्मुराउनु जरुरी छ ।

यदि कोही मान्छे दौडेर प्रथम हुन्छ भने त्यो दौडेरै प्रथम भएको हो । तर म दौडेको भए मै प्रथम हुन्थें भन्ने प्रकारको सोच राख्यौं भने अरूलाई उछिन्न सक्दैनौं । त्यसैले कर्णाली पछाडि पर्नुको कारण अरू केही होइन । कोही होइन । मुख्यतः आफ्नै कारण हामी पछि परेका हौं । र, हामी हाम्रै कारणले अगाडि बढ्न सक्छौं ।

यो कार्यक्रमको मुख्य उद्धेश्य भनेको कर्णालीको भविष्यमा केन्द्रित हुनु हो । हाम्रा समस्याहरूको समीक्षा गर्ने हो । अनि समाधानको बाटो पहिल्याउने हो । तब मात्र हामीले कर्णाली प्रदेशलाई साँच्चै सुन्दर र सभ्य प्रदेश बनाउन सक्छौँ । कर्णाली प्रदेशबाट हामीले अशल संस्कारहरुको सिर्जना र विकास गर्नुपर्छ ।

यसको मुख्य दायित्व भनेको राज्यको हो । सरकारको हो । सरकारमा रहेका मान्छेहरूको हो । त्यसकारण सरकारले पनि आगामी दिनहरूमा यस्ता प्रकारका छलफल वा बहसहरूको थालनी गर्नुपर्छ । समृद्ध कर्णाली निर्माणमा हामी सबै लाग्नुपर्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events