आहुती: मान्ठ र मइडो

यो कार्यक्रमको अध्यक्षता गरीरहनु भएका मित्र र उपस्थित सबैलाई सबभन्दा पहिले मेरो हार्दिक अभिवादन  छ। यो कार्यक्रममा निम्तो गर्नु भएको हुनाले र केही बेर बोल्ने अवसर उपलब्ध गराउनु भएकाले आयोजक साथीहरुलाई सबैभन्दा पहिले धन्यवाद दिन चाहान्छु। उँहाहरुले ३० मिनेटको समय भन्नुभाछ, म त्यतिपनि नलिईकन तपाईहरुको कार्यक्रम ढिलासुरु भएको छ, त्यसकारणले त्यतिपनि समय नलिईकन म थोरै आफ्ना कुराहरु तपाईहरुको बिचमा राख्ने छु। मलाई सुरुमा यो कर्णालीमा मान्ठ कहिले आयो बारेमा बोल्नु पर्यो भनेर भन्नु भएको थियो। मैले भने त्यो बिषय एउटा सानो बिषय मात्र होला, त्यसमा म फेरी त्यति धेरै ज्ञान भएको मान्छे पनि नहुला, त्यसकारणले त्यसमा मात्र केन्द्रित नगर्न पाएको भए हुन्थो भनेर मैले भनेको थिए र उँहाहरुले हुन्छ त्यसो हुदा मान्ठ र मइडोमै बोलम न त, समसामयीक सबै कर्णालीका विविध पाटाहरुका बारेमा छलफल चलाउदा राम्रो होला भन्नुभयो। म त्यसैको वरपर थोरै राख्न चाहान्छु।

अब ईतिहासकारहरुले र अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् की यो क्षेत्रमा, कर्णाली क्षेत्रमा हुन त नेपालका शासकहरुले कति लाई कर्णाली भन्ने पनि निकै गारो छ। कहिले कुन अञ्चललाई एकातिर हाल्देका हुन्छन, कहिले कुन जिल्लालाई एकातिर हाल्देका हुन्छन, यसको ठ्याकै ठेगान छैन। त्यहिपनि हामी यो क्षेत्र भनेर कुरा गर्दै जाने हो भने यहाँ १० हजार बर्ष अगाडि नै मानव जातीको चलखेल थियो भनेर दाबी गर्ने मानवशास्त्रीहरु नेपालमा हुनुहुन्छ। तर त्यसको ठोस प्रमाण अझैपनि प्रमाणित भएको छैन। सुर्खेतमा भएको केहि अनुसन्धानहरु, केहि उत्खननहरुबाट ति दाबी आएका छन्। यसको बारेमा थप अनुसन्धान हुन बाँकि नै छ, तर हाम्रो अगाडि व्यासीहरु र दोब्चाहरु करिब ३ हजार बर्ष भन्दा अगाडी नै यो क्षेत्रमा आईसकेको थिए भन्ने कुरा पुष्टि हुन्छ। अहिले सम्म पुष्टि गरेका छन् मानिसहरुले, अनुसन्धानकर्ताहरुले।

हुनत यो भिडमा मजाड क्षेत्रका अथवा माथिल्नो हिमाली क्षेत्रका भोटे, लामाहरु असाध्यै कम देख्छु।  जहाँ सदरमुकाम हुन्छ, त्यहाँका वरपरका मान्छेहरुनै  कुर्चिमा बस्न आईपुग्ने हाम्रो पुरानै परम्परा हो। त्यो लत हामीबाट छूटेको छैन। तैपनि यो क्षेत्रमा दोब्चाहरु र व्यासीहरु नै सबभन्दा पहिले आए भनेर नै योगि नरहरिनाथ पनि स्वीकार गर्नु हुन्छ।  ईतिहासकारहरु अरुले पनि स्वीकारेका छन्।  त्यसपछि सुरु हुन्छ यो क्षेत्रमा खसहरुको आगमन, कतिपयले ३ हजार बर्ष अगाडि नै खसहरु आईसकेका थिए भनेर भनेका छन् र पछिल्नो लेखिएका पुस्तकहरु हेर्यो  भने र अनुसन्धानहरु हेर्यो भने उनिहरु २२ सय बर्ष अगाडि उनिहरु यहाँ आईसकेको उनिहरुले तथ्यहरु प्रस्तुत गरेका छन्। खसहरु यहाँ आए, उनिहरु कताबाट आए, स्वभाविक रुपमा गंगा मैदान हुदै आए भन्ने कुरा पुष्टि हुन्छ।

गौतम बुद्ध कालमा  उत्तर भारमा दुईवटा खस बस्तिहरु थिए। एउटालाई कासी भनिन्थ्यो, अर्को लाई कोसल भनिन्थ्यो। ति दुईटा खसबस्तिबाट नै उनिहरु यता आईपुगे भन्ने पुष्टि हुन्छ। खसहरुले यहाँ आफ्नो एउटा सभ्यता निर्माण गरे। तथापि खसकरणको प्रक्रिया को-को सामेल भए, को-को सामेल भएनन त्यो बेग्लै कुरा हो। उनिहरु मष्टो पुजक थिए। उनिहरुको मष्टोको थान उतरतर्फ फर्केको हुन्थ्यो, छाना नभएको, उनिहरु १२ भाई मष्टो पुजा गर्थे र पछि नौं बहिनि पनि त्यसमा थपिए। मलाई लाग्छ शंकर आचार्यको मानशरोवर यात्रा पछी छैंठौ शताब्दि पछि नै त्यसमा नौ बहिनी थपिए। जसरी हिन्दु देवी देवतामा नौ दुर्गा थपिन्छन, त्यसै गरी १२ भाई मष्टोमा १२ नै बहिनि थपिएको हुनुपर्छ भन्ने मेरो दाबि छ। खसहरुको साम्राज्य भन्नुस वा वस्ती भन्नुस, किनकि त्यतिबेलाको लेख्ननका निम्ति रतन भन्डारीहरु वा अरु थुप्रै साथीहरुले खस साम्राज्य चाहिँ गंगा मैदानसम्म पनि, त्रिसुली सम्मपनि ईत्यादि भनेर चित्रण गर्नु भएको छ। तर म यो क्षेत्र जति डुल्छु थोरै भएपनि मैले जति डुलेको छु। म त्यस्तो विशाल साम्राज्य चाँहि पाउदिन।

अब हाम्रो त्यति बेलाको वस्ति कस्तो छ भन्यो भने, आठबिसकोट भन्यो भने १ सय ६० घर भन्ने हुन्छ। १ सय ६० भयो भने एउटा कोट बन्छ त्यतिबेला, अथवा एउटा सिँगै वस्ति बन्छ। एउटा सानो सानो राज्य बन्छ। हामी हाम्रो यो सभ्यतालाई हेर्ने, खस सभ्यतालाई हेर्ने, उनीहरुले एउटा भाषाको निर्माण गरे, उनिहरु सङ्गुर खानेहरु थिए। अहिले पनि खसहरुमध्ये कँयौको कुलपुजामा पातमा लेखेर सङ्गुर काट्ने चलन छ। किनकि साँच्चै काट्न त मिलेन, त्यसकारण पातमा लेखेर काट्ने चलन छ। उनिहरु कोदो लिएर आएकाहरु थिए,  उनिहरुले एउटा धामी संस्कृति सहितको, आफ्नो एउटा भाषा सहितको, एउटा प्रकृति पुजक प्रवृत्ति सहितको, एउटा भव्य सभ्यता उनिहरुले जतिसक्थे, त्यति निर्माण गरे। त्यो एउटा सभ्यताको रुपमा अगाडि बढ्यो। नागराज देखि भन्नुस वा ग्राचल्ल, मल्ल, ईत्यादि, ईत्यादि.. म अहिले धेरै  लामो व्याख्या त यो छोटो समयमा गर्न नि भ्याउदिन, जरुरी नि छैन। तपाईहरु सबैलाई थाहा छ।

त्यहाँबाट सुरुभएको कथा म यहाँनेर एउटा कुरा राख्न चाहान्छु। त्यो के भने हामी धेरैलाई ईतिहास पढ्दा खेरि आफ्ना पुर्खाहरुले धेरै ठाँउ ओगटेको सुन्न मन लाग्ने हुदो रहेछ। यो अचम्मको विचित्रको मानसिकता बन्दो रहेछ हाम्रो दिमागमा। हामी धेरैलाई हाम्रो आफ्नो पुर्खा को कुरा गर्यो भने हामी भव्य थियौँ भनेर  भन्न मन लाग्ने, त्यस्तो हुन थाल्दो रहेछ। मलाई लाग्छ त्यो बिगतमा सामन्ति राज्यहरु विस्तारले एउटा मनोविज्ञान जो जनसमुदायमा प्रचार गर्यो, धेरै भन्दा धेरै जमिन लुटे पछि, धेरै भन्दा धेरै जमिन आफ्नो कब्जामा बनाएपछि, त्यो सबभन्दा ठुलो हुने भन्ने अवधारणा निर्माण भयो, किनकि सामन्तवादमा मुख्य उत्पादक शक्ति, मुख्य साधन भनेको जमिन नै थियो। जसले धेरै जमिन कब्जा गर्यो, उहि नै सम्पतिवान हुन्थ्यो। उसले नै घोडा र हात्ति धेरै पाल्न सक्थ्यो। उसले नै रानिहरु धेरै पाल्न सक्थ्यो। त्यसकारण स्वभाविक रुपमा त्यतिबेला मनोविज्ञान बन्यो र त्यो मनोबिज्ञान मलाई लाग्छ, अहिले सम्म हाम्रो ईतिहासको लेखनमा पनि छ।

त्यसकारण एकपटक खस सामराज्य बारेमा कुरा गर्दा अथवा यो क्षेत्रले त्यतिबेलाको वैभव विकास गरेको, त्यतिबेलाको विकास गरेको कुरा गर्दा मलाई लाग्दछ, एउटा मानसिकतालाई हामीले एउटा कुनामा राखेर फेरि पुनर्रविचार गर्नुपर्छ कि, हामीले गंगासम्म फैलिएका थियौँ, त्रिशुलीसम्म फैलिएका थियौँ भनिरहदा, के हामी साँच्चै किताबका पानाहरुमा हामीले आज वर्तमानमा लेख]को जस्तै हामीले त्यतिबेला विकास गरेका थियौँ। यो विषयमा हामीले धेरै छलफल गर्नु पर्छ जस्तो लाग्दछ, धेरै नै छलफल गर्नु पर्छ लाग्छ। एउटा म त्याहाँ नेर पाउछु, त्यो कुरा र कर्णाली को कुरा गर्दै जाँदा एउटा यस्तो ईतिहासको, एउटा यस्तो विन्दु भेटिन्छ, विशेषत: १२ औं शताब्दि पछी, भन्न त केहि साथीहरुले भन्छन कि शंकर आचार्यले पाँचौ र छैठौ शताब्दिमा मानशरोवरको यात्रा सुरुगरेपछि नै  यहाँ हिन्दुकरणको प्रकृया सुरु भयो भनेर भन्ने गरेका छन्।

म थप अध्ययन गर्दै जाँदा १२ औं शताब्दि पछि नै पुग्छु। १२ ‍औं शताब्दि पछि यहाँ क्रमश. वैदिक आर्यहरुको लहर चल्न थाल्यो आउने। र ति वैदिक आर्यहरुको यहाँ प्रवेश सँग-सँगै खसहरुमा जात व्यवस्था देखा पर्यो। किनकि कर्णालीमा आउँदा सबैभन्दा बढि चर्चा गर्नुपर्ने विषय एउटा महिला हो, अर्को जात व्यवस्था हो।  किनकि त्यहि जात व्यवस्था हो, जसले आज नेपालको पहाडभरी जुन जात व्यवस्था फैलिएको छ, त्यो यहिँबाट विकसित भएको हो। वैदिक आर्यहरु आए र खस राजाहरुलाई, रजौटाहरुलाई मनाए र उनिहरुले जात व्यवस्था निर्माण गरे र यहि बाट चार जातवाला, चार वर्णवाला, सार्कि-दमाईवाला, बाहुनवाला, जैसिवाला, सुरुमा दैलेखको उसमा जोईसि लेखिएको छ। सबैभन्दा पुरानो थर लेखिएको सिलास्तम्भ त्यहि दैलेखको हो। नेपालमा सबैभन्दा पुरानो थर लेखिएको स्तम्भ त्यहिनै हो। त्यसमा जोईसि थर लेखिएको छ।

यसरी नेपालमा जात व्यवस्थाको कुरा गर्दा जयस्थिति मल्लले सुरु गरे भनेर जो भनिन्छ,  त्यो त काठमान्डौ उपत्यकाको मात्रै कुरा हो। बागमति उपत्यकाको मात्रै कुरा हो। मधेसको कुरा पनि होईन, पहाडको कुरा पनि होईन। पहाडको कुरा कहाँको कुरा हो? यहाँ को कुरा हो। जो  वैदिक आर्यहरु १२औं  शताब्दिदेखि १४ औं शताब्दि सम्म उनिहरु आए, उनिहरुले नै यहाँ खसहरुसँग मिलेर जात व्यवस्थामा प्रवेश गराएका थिए र जो जात व्यवस्थामा प्रवेश गरेनन, उनिहरुलाई पावै भन्ने चलन छ अहिले पनि।  खस पावै को हुन भन्यो भने, जो जात व्यवस्थामा प्रवेश गर्न चाहेनन, जो  अहिले पनि मदिरा पान गर्न आफ्नो गर्व ठान्छन र अहिले पनि उनिहरु जात व्यवस्था भित्र आफुलाई मान्दैनन।

यहाँ बाट सुरु हुन्छ र त्यो व्यवस्था आईपुग्छ नवराज विश्वकर्माहरु सहित ६ जना युवा को हत्या सम्म, मलाई लाग्दथ्यो कि यहाँ कुनै ठाँउमा त्यो पोस्टर लगाएको भए  हुन्थ्यो, ति ६ जना युवाहरुको, किनकि हामीले आफ्नो शरिरभित्रको घाउ देखाएर कोहि पनि स्वस्थ हुन सक्दैनौ। घाउहरु सहित नै हामीहरु अगाडि जानु पर्ने हुन्छ। म त्यो सोच्दथे यहाँ आउदा, त्यो चित्र कहाँनेर छ। विकसित भनिएको, गणतान्त्रिक भनिएको समाजको त्यो चित्र कहा नजिक छ? जसले हामीलाई कोट्याई रहेको छ। एउटा कथा यहाँनिर जोडिए को छ कर्णालीको। अब म थोरै केहि कुरा राख्न चाहान्छु, त्यो के भने कर्णाली के हो? जब राजा पृथ्विनारायण शाहको राज्य विस्तार सुरु भयो, १८४६ पछी जब जुम्ला हार्यो, त्यसपछि कर्णालीका मान्छे क्रमश. क्रमश.. कोही रिगामबाट सर्दै सर्दै हिडे, कोही खनालबाट हिडे, कोहि बिस्तारै बिस्तारै पुर्वतिर हिडे र यहाँ निमुखाहरुको बास भयो।

यो ठाँउमाथि उपेक्षाको उत्पिडन गरियो, उपेक्षाको उत्पिडन, किनकि यसले लामो समयसम्म सुदुरपश्चिम जस्तो लडेन। केहि समय त लड्यो तर लामो समय यस्ले लडेन। सुदुरपश्चिम २०१९ सालको बैशाख १० गते सम्म लड्यो। ओम सिंहको हत्या हुदासम्म लड्यो केन्द्रिय शासनको विरुद्द, तर कर्णालीले त्यो सुखद अवसर प्राप्त गरेन, त्यसपछि उ उपेक्षामा पर्यो र उपेक्षाको शिकार हुदा हुदै सिङ्गै पञ्चायतकाल व्यहोरियो। पञ्चायतले एउटा अवधारणा निर्माण गर्यो, त्यो के अवधारणा निर्माण गर्यो भने हरेक ठाँउको पहिचानलाई ठाँउ र नदिको नाम बाट चिनाईदिने र हामीलाई कर्णाली भनियो। कर्णाली के हो? तपाईहरुले कुडा कर्णालीका भन्नु भयो, कर्णालीले त कुडा गर्दैन। कर्णालीमा बस्ने मानिसहरुले कुडा गर्छन। मलाई लाग्छ, कर्णालीका मानिसहरुका कुडा हुनुपर्ने हो।

जब कर्णालीको कुरा हुन्छ, जब नदिको कुरा हुन्छ, जब पहाडको कुरा हुन्छ, त्यसपछि त्यहाँका मानिसहरु दोछायामा पर्छन। यो पञ्चायतले निर्माण गरेको हो। पञ्चायतले हिमाल र तराई जोडेर उसले चिराचिरा पारिदियो र तपाईहरुले भन्ने गरेको कर्णालीको डोल्पा देखि मुस्ताङ्गसम्मको क्षेत्र हिमाली क्षेत्र आफ्नै दाजुभाई काटिएर बस्न थाले। मुस्ताङ्गका मान्छेहरु गण्डकी झर्नु पर्यो, डोल्पाका मान्छेहरु धनगढी झर्नुपर्यो वा सुर्खेत झर्नुपर्यो, सिन्धुपाल्चोकको शेर्पालाई बागमति झर्नुपर्यो र दोलखाको शेर्पा जनकपुर जानु पर्यो। किनकि पञ्चायतले हाम्रो सभ्यताहरुलाई टुक्रा-टुक्रा पारेर सिमाङ्कन गर्यो र तिनको नाम राखिदियो, कतै कर्णाली, कतै महाकाली, कतै जनकपुर। हामी जनकपुरबासी भन्दा को हुन उनिहरु? यादवहरु  हुन्, मुसहरहरु हुन्, झाँहरु हुन्, मैथली बोल्नेहरु हुन कि भोजपुरी बोल्नेहरु हुन् कि उनिहरु को हुन्? कसैलाई पनि थाहा हुदैन, जानकि मन्दिर मात्रै थाहा हुन्छ।

कर्णाली भन्दा के थाहा हुन्छ? के देशको सबैभन्दा बढि घनत्वमा बाँचेका, पिधमा बाँचेका कर्णाली भन्दाखेरी यहाँका दलितहरु थाहा हन्छ? अहिले पनि छाउपडी मरमान्तक जीवन बाँचिरहेका महिलाहरु थाहा हुन्छ? अहिले पनि पहिचान गुमाएका व्यासीहरु चिन्छौ हामी, अहिले पनि भोटे-लामाहरुलाई चिन्छ कर्णालीले, कर्णाली भन्दा चिनिन्छ वा नेपालको सिंगै सभ्यतालाई भाषिक रुपमा अगाडि बढाउनको निम्ति उद्गमको थलोको रुपमा काम गरेको हो? के खस भाषाको सभ्यताले स्थान पाउछ? मलाई लाग्छ, कर्णाली पहिचान हुन सक्दैन, कर्णाली पहिचान होईन, जसले भुगोलको आधारमा आफ्नो  पहिचान निर्माण गर्छन, उसको यात्रा लामो हुन सक्दैन। जसले आफ्नो भाषा र संस्कृति र पुर्खैली भुमिथलोको गर्वमा टेकेर यात्रा सुरु गर्दछ, उ अगाडी बढ्ने सम्भावना धेरै छ।

यो कुरा सत्य हो कि, यो क्षेत्रले आफ्ना नदिका नामलाई संगितमय बनाउछ। कतै नरसिमगाड भन्दिन्छ त्यसले, नरसिङ्गा जस्तै बग्ने, कतै भेरी दुमदुमि जस्तो भन्दिन्छ त्यसले, कतै कर्नाल जस्तो बग्ने कर्नाली भन्दिन्छ त्यसले। आफ्ना नदिका नामहरुलाई आफ्नो संगितसँग त्यसले जोड्छ। हो, यसको थुप्रै विषेशता छ तर त्यो कर्णाली नदिको विशेषता होईन, त्यो त्यहाँ बस्ने मानिसहरुको बिशेषता हो। त्यहाँ बोलिने भाषाको विशेषता हो। त्यहाँ निर्माण भएको २ हजार २५ सय बर्ष लागेर निर्माण भएको संस्कृतिको विशेषता हो। के यो क्षेत्रले आफुलाई खस हुनुको दाबि गर्न सक्छ? के यो क्षेत्रले आफुलाई खस हुनुको दाबि सँग सँगै भोटे लामालाई पनि आफ्नो काखमा बिसाउन सक्छ? आफ्नो पहिचान दिलाउन सक्छ? मलाई लाग्दछ, सक्नु पर्ने हो। त्यो अधिकार, त्यो ऐतिहासिक अधिकार यो क्षेत्रसँग छ। त्यो ऐतिहासिक अधिकार यो क्षेत्रसँग छ। किनकि यसले निर्माण गरेको छ, आफ्नो संस्कृति, आफ्नो मौलिकता।

मानिसहरु कर्णालीमा बोलिने कुडा भन्न पनि, मैले आयोजक साथीसँग कुरा गर्दै थिए, दिनेशजीसँग, उहाँ भन्दै हुनुहुन्थ्यो, हामीलाई यहाँको भाषा बोल्न पनि लाज लाग्थ्यो। अब तपाईहरु बिस्तारै आफ्नो बोली बोल्न थाल्नु भएको छ। तर त्यहि बोलीले नेपालका शब्दकोष, नेपाली भाषा भनिने भाषाको शब्दकोष असरल्ल भरिएको छ, तपाईहरुलाई थाहा छ। तपाईहरु सबैलाई थाहा छ, त्यसकारणले मेरो बिचारमा कर्णाली भन्ने बितिकै कर्णाली भुगोगलाई, नदिलाई आफ्नो पहिचान बनाउने बितिकै विभिन्न क्षेत्रहरु रिसाउन थालिहाल्छन।

सुर्खेतमा यो कार्यक्रम किन गरेको? रुकुममा किन नगरेको? भन्ने प्रश्न उठिनै हाल्छ। जुम्लामा किन नगरेको? भन्ने प्रश्न उठिहाल्छ,  किनकि भुगोल जोडियो त्यहाँ, सुगमताको प्रश्न उठ्यो त्यहाँ, त्यहाँ पहुचको कुरा उठ्यो, यदि तपाईले संस्कृतिलाई जोड्नुहुन्छ, आफ्नो पहिचानलाई जोड्नुहुन्छ, भाषालाई जोड्नुहुन्छ भने त्यहाँ प्रश्न उठदैन। जहाँ-जहाँ जुन-जुन भाषा बोल्दछन, उनिहरु रमाउन थाल्दछन। तर तपाई भुगोललाई जोड्नु हुन्छ, नदिलाई जोड्नुहुन्छ, त्यहाँका भाषिक सभ्यताका मानिसहरु जोडिन सक्दैनन्। उनिहरुलाई अक्ठेरो पर्न सक्छर। भुगोलको कुरा हो, त्यो भुगोलमा पर्ने मान्छेले सुख पायो, म भुगोलमा पर्ने मान्छे दुःख पाए, भन्ने प्रश्न उठिहाल्छ।

त्यसकारणले मेरो आज तपाईहरुसँग छलफल गर्दा मैले राख्ने कुरा एउटा यहिँ नै हो कि, हामीले राजा महेन्द्रले सुरु गरेको भुगोलको आधारमा, नदिको आधारमा, पहाडको आधारमा, ठाँउहरुको पहिचान दिने र त्यसो भन्नुको मतलब हो, त्यहाँका भाषा र संस्कृतिहरुलाई टुक्रा टुक्रा पारेर विभक्त गरिदिने, जो रणनिति उनले अख्क्तियार गरेका थिए। त्यहि रणनिति हामी क्रमश.. क्रमश.. अहिले पनि अभ्यस्त जस्तो हामी हुदै गईरहेका छौ। यसबाट मलाई लाग्छ, एउटा कुडा कर्णाली यसको हुनुपर्छ। आगामी दिनमा एउटा बिषय यो हुनुपर्दछ।

यसो किन हुनुपर्छ भन्ने मलाई लाग्दछ भने, यो कर्णाली क्षेत्र, यो क्षेत्र आज हामी जहा छौँ, अघि एउटा प्रशिक्षण पनि हामीले सुन्यौं, विदेश जादा के के गर्नु पर्छ भनेर, सिकेर जानु पर्छ भन्ने प्रशिषण, यो प्रशिक्षण अहिले यहाँ चलाउनु त स्वभाविक भई हाल्यो। किनकि यो प्रशिक्षण आज भन्दा धेरै बर्ष अगाडि मुगलकाल देखिको प्रशिक्षण हो। मुगलान जाने भन्ने कुरा यहि बाट सिर्जना भएको हो। जुनबेला मुगलहरु ५०० बर्ष अगाडि भारतमा शासन गर्थे। त्यतिबेला गएका प्रदेशीहरुलाई मुगलानिया भनिन्थ्यो। किनकि हिन्दुहरुले शासन गरेपछि हिन्दुस्थान भयो। मुगलहरुले शासन गर्दा मुगलान थियो। मुगलानबाट फर्किनेहरुलाई मुगलानिया भन्ने गरिन्थ्यो। त्यो मुगलान जाने कर्म ५०० बर्ष अगाडि देखिको हो।

हामीले अहिले सम्म छुट्कारा पाएनौ। हामी त्यतिबेला भारतसम्म मुगलान जान्थ्यौ र म ईतिहासकारहरुसँग यहि संवाद गर्न खोज्छु कहिले काँहि, के हामी ५०० बर्ष देखि के मुगलान नगई टिक्न सक्दन्थौ? कर्णाली र सुदुरपश्चिम र हाम्रा राजा महाराजा ले विकास गरेको वैभव कहाँ थियो? मेरो प्रश्न गहिरो छ, त्रिशुलीसम्म फैलिएको भनिएको, गंगा मैदानसम्म फैलिएको भनिएको त्यो साम्राज्य कस्तो थियो? जबकि हाम्रा मानिसहरु त्यतिबेला नै मुगल साम्राज्यको चौखिदार बस्न जान बाध्य थिए। मलाई लाग्छ, हाम्रो ईतिहास बारेको अध्ययन हाम्रो अर्थशास्त्रमा आधारित नभईकन हाम्रो केहि भावनात्मक उडानमा मात्र आधारित छ कि वा यसबारे पुनः छलफल जरुरी छ। यो क्षेत्रको मात्र होईन, सिङ्गै नेपालको ईतिहास लेखनको सन्दर्भमा अर्थशास्त्रलाई वेवास्ता गरिएको छ। अर्थशास्त्रलाई वेवास्ता गरिएको छ र अधिकाशं ईतिहास लेखन राजा महाराजाका रानीहरु कतिवटा थियो भन्नेमा केन्द्रित गरिएको छ।

अलिकति अगाडि बढेर त्यो अलिकति फैलावट कति थियो? उनले को को जितेका थिए? कहाँ सम्म कुत्तबुझ थिए भन्नेसम्म अगाडि बढेको छ, तर समग्र अर्थतन्त्रमा आधारित छैन। त्यसकारणले यो दुःख अघि प्रशिक्षण दिईएको दुःख हाम्रो ५०० बर्ष पुरानो प्रमाणीत छ। यो कुरा ५०० बर्षमा कर्णाली जुन बाटो हिड्यो, पृथ्वीनारायण शाहले देखाएको बाटो हिड्यो होला, बहादुर शाहले देखाएको बाटो हिड्यो होला, यो ठाँउमा सबभन्दा पहिले हाकिम तोकिएका भक्ति थापाको बाटो हिड्यो होला, त्यसपछि महेन्द्रको बाटो हिड्यो होला, आज हामी विभिन्न नेता, राजनितिक पार्टी ईत्यादिको बाटो हिड्दै छौ।

मलाई लाग्दछ, हाम्रो बाटो ठिक छ कि छैन?  ५०० बर्षको बाटो, जो हामी हिड्यौ, हामीलाई के बनाईदियो त?  ५०० बर्ष को बाटो हिड्दा हामी मुगलानियाबाट कतार जाने सम्म भयौ। भारतमा चौखिदार बस्न जानेबाट अब हामी कतारमा गएर महलमा गएर पाले बस्ने सम्म भयौ। ५०० बर्षको यात्रा हिड्दा हामी घोडा चढ्ने र पैदल हिड्नेबाट हामी म्यानपावरले देखाएको बाटो हुदै, हामी प्लेन चढ्नेसम्म भयौ।  मुगलान हाम्रा कति हजार जान्थे होलान? आज हामी कति लाख पुग्यौ?

मेरो भनाई के छ भने, कर्णाली क्षेत्रले  आफ्नो बाटो आफै गराउनु पर्छ। उसले आफ्नो विद्रोहको बाटो आफै गराउनु पर्छ। आफ्नो पहिचानको बाटो उसले आफै गराउनु पर्छ। कुनै पनि ज्ञानि मुसो, सबै भन्दा ज्ञानी मुसोले पनि शक्तिशाली छ भन्दैमा बिरालो हिड्ने बाटो हिड्न मिल्दैन। किनकि ज्ञानी मुसोलाई लाग्न सक्दछ कि, बिरालो त म भन्दा शक्तिशाली हो। त्यो हिड्ने बाटो हिड्यो भने त म पनि अगाडि बढ्छु तर त्यो ज्ञानी मुसो बिरालो हिड्ने बाटोमा हिड्यो भने सबैभन्दा पहिले मारिन्छ। काठमान्डौंले देखाएको बाटो, आजसम्म ५०० बर्षका शासकहरुले देखाएको बाटो हो त्यो बाटो कर्णालीको हुन सक्दैन भन्ने मलाई लाग्दछ।

५०० बर्ष मा उसले उत्पिडन बाहेक केहि पनि पाएको छैन। ५०० बर्षमा आफै भित्र पिलो जस्तो हुर्केको महिला उत्पिडन,पृतिसत्ता बाहेक उसले केहि पनि हुर्काउन सकेको छैन। ५०० बर्षमा  आफैभित्र  कुहिएको मासुको डल्लो जस्तो जात व्यवस्था बाहेक उसले केहि पनि हुर्काउन सकेको छैन। उ सँग जमिन छ, उ सँग हिमाल छ, उ सँग नदि छ, उ सँग भव्य सभ्यता छ तर उ अगाडि बढिरहन सकिरहेको छैन। त्यसकारण उसको बाटो आफ्नै हुनुपर्दछ, बिल्कुल आफ्नै हुनुपर्दछ। मलाई लाग्दछ, अघिको प्रशिक्षणलाई ध्यान दिने हो भने हामी निकै नै खराब ठाँउमा छौ, हामी निकै नै खराब ठाँउमा छौ।

अबको बाटो के हुन्छ? नदिहरु त बगिरहेका छन, कर्णाली पनि बगिरहेको छ। कर्णालीमा विधुत कम्पनिको दर्ता कसले गरेको छ? कुडा कर्णालीका त हामीले गरिरहेकै हुन्छौ, कर्णाली दर्ता चाहिँ कसले गरिरहेको छ? मेरो एक जना मानिससँग भेट भएको थियो, तिला कर्णालीको मालिकसँग तिला कर्णाली त यतै बग्दछ तर उनले पुर्जा देखाएका थिए। उनको हातमा तिला कर्णाली थियो। यहाँका नदिनालाहरु यदि कर्णालीले दाबि गर्दैन भने कसले हातमा जादैछ? एम.सि.सि ले पोल गाड्न थालेकै छ। तपाईहरुको बिजुली जादै छ, भारत हुदै बंगलादेश वा अन्यत्र देशमा। यहाँको कुडा कर्णाली अर्को त्यहाँ नेर हुनु पर्दछ, त्यहाँनेर छलफल हुनु पर्दछ, कि यहाँको नदिनाला हामी के गर्दै छौ? प्रत्येक व्यक्तिको खल्ति भित्र र क्रमश.. यम.सि.सि हुदै विदेशीको हातमा यस्तो हुदै छ।

यो त हुदै नै छ, यहाँ कतिवटा कपडा कारखाना खोल्ने हो? योजना बन्दै छ यहाँ कतिवटा मेशिनरी पाठपुर्जा बनाउने योजना बन्दै छ? यहाँ कृषि को निम्ति योजना के छ? मल कारखाना खुल्छ कि यहाँ? ४० बर्ष भयो, म त सानै थिए, भर्खर युवा थिए त्यति बेला। मेरा नातेदारहरुको जग्गा खोसिएको थियो काठमान्डौंमा, मल कारखाना खोल्ने भनेर, ४० बर्ष भयो मल कारखाना खुलेन। मल हाल्नै पर्ने बनाईदिने के के, रासायनिक मल भनेको सुगरको औषधी जस्तो रहेछ, ब्लड प्रेसरको औषधी जस्तो रहेछ, खाए पछि छोड्न नमिल्ने रहेछ, खाएको खायै गर्नुपर्ने, थपेको थप्यै गर्नुपर्ने। रासायनिक मल हालेको हाल्यै गर्नुपर्ने, हालेन भने उब्जनी चाँहि नहुने तर रासायनिक मल खुल्दै नखुल्ने। अब कर्णालीमा खुल्छकि, तपाईहरुले खोल्नु हुन्छ कि।

म के भन्दै छु भने, मैले छोटोमा गर्दा के भन्न खोजेको भन्दाखेरि, कर्णालीको बाटो, उसको प्रगतिको बाटो हो। मलाई लाग्दछ काठमान्डौंले देखाएको बाटो हुनसक्दैन। उसले आफ्नो शक्ति आफै चिन्नु पर्दछ। राजा महेन्द्रदेखि निकै योजनाबद्द रुपमा कर्णालीलाई, कर्णालीका आफ्नो सभ्यताको,  खस सभ्यताका मानिसहरुलाई तिमीहरु खस सभ्यताका मानिसहरु कम हौ, तिमीहरु कर्णालीवासी बढी हौ भन्न सिकायो। तिमीहरु कर्णालीको  नदिको आसपासमा बस्ने मानिसहरु धेरै हौ, त्यो भन्दा कम तिमी खस-आर्यहरु, खसहरु।

त्यसकारणले मेरो बिचारमा आफ्नो पहिचानको लडाईको यात्रा कर्णालीले छुट्टै आफ्नै  मौलिक बनाउनु पर्दछ। आफ्नो प्रगतिको यात्रा कर्णालीले आफ्नो छुट्टै मौलिक बनाउनु पर्दछ र आर्थिक विकासको यात्रा पनि कर्णालीले आफ्नै छुट्टै मौलिक बनाउनु पर्दछ। नत्र उ अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्दैन। यो कसरी बनाउने? के गर्ने? त्यो त तपाईहरुले विषेश छलफल गर्नुपर्दछ। हामीले सकेको हामीले पनि सहयोग गर्न सक्छौ। त्यो अर्कै विषय भयो। तर मुल कुरा जसरी काठमान्डौं अगाडी बढीरहेको छ, जसरी अमेरीका अगाडि बढ्या छ, त्यसरी हामी बढ्न सक्दैनौ, जसरी काठमान्डौ अगाडि बढ्याछ त्यसरी कर्णाली अगाडि बढ्न सक्दैन। मलाई लाग्छ, बिर्सेका सम्पुर्ण पहिचानहरुलाई एकचोटी बिउत्याउनु पर्दछ।

कर्णालीलाई अशिक्षित भनिएको छ, म सरासर इन्कार गर्छु। यो त बेलायती मोडलको अमेरीकन मोडलको शिक्षाले भनेको  हो, कहाँ हो अशिक्षित? मार्सी धान किन खाएको मिठो मानी मानी? त्यो उब्जनि कला कहाँबाट अशिक्षित? यो त बेलायतीहरुले ल्याईदिएको हल्ला थियो, स्कुलको रुपमा र उसले भन्थ्यो कि गाँउमा एउटा स्कुल खोल्ने बितिकै गाँउमा स्कुलमा नआउने सबै अशिक्षित। त्यो त बेलायतीहरुको मोडेल थियो। त्यो मोडेलमा कर्णाली पर्न जरुरी छैन। कर्णाली शिक्षित ठाँउ हो, योग्य ठाँउ हो, सिर्जनशिल ठाँउ हो, जरुरी छ कि आजको षड्यन्त्रलाई उसले कसरी चिर्छ? उसलाई अशिक्षित भन्ने षडयन्त्रलाई कसरी चिर्छ? उसलाई अविकशित भन्ने षड्यन्त्रलाई कसरी चिर्छ र उसलाई अगाडि बढ्न सक्दैन भन्नेहरुलाई उसले कसरी नयाँ बाटो दिन्छ? त्यो चाँहि चुनौतिको कुरा हो।

मलाई लाग्दछ, आधुनिक परिभाषाहरु कर्णाली माथि जसरी लादिएको छ, पिछडिएको,अशिक्षित ईत्यादी, जो लादिएको छ, त्यो सबै चिजलाई ईन्कार गर्न जरुरी छ। हो, उत्पिडन मार्फत हामी कँहा सडक पुगेनन्, उत्पिडन मार्फत हामी कहाँ ज्ञान पुगेन, उत्पिडन मार्फत हामी कहाँ सारा अत्याचारहरु भएर हाम्रो पहुचको वृद्दि भएन र मुम्बईका गल्लिहरुमा हामी  सिलाजित बेच्न बाध्य भयौ, त्यो अर्कै कुरा हो। त्यो उत्पिडनको कथा हो तर हाम्रो सारा सिर्जनशिलताको कथालाई अगाडि राख्ने हो भने मलाई लाग्छ, कर्णाली आफ्नो बाटोमा अरुले थाहा नपाउने गरि तर अरुले भव्यतापृर्वक देख्ने गरी अगाडि बढ्न सम्भव छ। मैले राख्ने अहिले यति हो, धन्यवाद।

 

Leave a Comment