कर्णालीको बोली: प्रा. डा. जिबेन्द्र गिरी

सर्वप्रथम त मलाई गर्व लाग्छ, म जन्मिए कर्णाली प्रदेशमा। कर्णाली प्रदेश त्यस्तो प्रदेश हो, जसले नेपाली भाषा दियो, खस भाषा दियो, जहाँ प्राचीन सभ्यता र संस्कृतिको खानी छ, जहाँ कर्नालको ध्वनि सुसेल्दै कर्णाली छ र भेरीको दुमदुमि बजाउदै भेरी ओर्लिरहेको छ। त्यस्तो ठाउँमा म जन्मन पाए। जहाँ हिमाल देखि उपत्यकाहरु सुर्खेत उपत्यका जस्तो उपत्यका छ। अनेक सांस्कृतिक धरोहर, विभिन्न गुम्बाहरु देखि लिएर मन्दिरहरु, म उभिएको धर्तीको काक्रेबिहार लाटीकोइली देखि लिएर पञ्चकोशी, चन्दननाथ देखि लिएर कनकासुन्दरी, त्रिपुरासुन्दरीसम्मको सास्कृतिक विशेषता छ। प्राकृतिक कान्जीरोवा हिमाल लगायतका राराताल, स्यार्पुतालदेखिका तालहरुले प्राकृतिक मनोरम अवस्था सिर्जना गरेका छन्। त्यो धर्तीमा सास फेर्न पाएकोमा, जन्मिन पाएकोमा गर्व गर्ने अवसर मैले पाए र मेरो धर्ती प्रति म शिर झुकाएर नमन गर्दछु।

यही धर्तीको बोलीका बारेमा मैले आज बोल्नु पर्ने छ। यो धर्तिको बोली भित्र हामी यहाँ  नेपालका १४४ झण्डै जातजाती मध्ये थुप्रै जातजाती हामी यहाँ बसोबास गर्छौ। हिमाल क्षेत्र तिर शेर्पाहरु हुनुहुन्छ, भोटे, लामाहरु हुनुहुन्छ, गुरुङहरु हुनुहुन्छ, थुप्रै जातजातीहरु त्यता हुनुहुन्छ।  बिचमा क्षेत्री, ठकुरी, बाहुनहरु, सन्यासीहरु यस्तो हुनुहुन्छ, थारुहरु यही हुनुहुन्छ। किसिम किसिमको संस्कृतिले यो धर्ती सजिएको छ।  हाम्रो धर्तीमा यहाँको बोली  बोल्ने ४८ वटा बोलीहरु यहाँ भित्र रहेछन। हामी सँग ८ वटा बोलीहरु मध्येमा केहि चिनियाँ तिब्बती परिवारका र केहि भारोपेली परिवारका ति बोलीहरु रहेछन। बोलीलाई मैले भाषालाई यहाँ बोली भएको हुनाले बोली शब्द नै प्रयोग गरिरहेको छु। त्यस्ता भाषाहरु अथवा बोलीहरु हाम्रो धर्तीमा  बोलिन्छन्। यही धर्तीबाट विकसित भएको नेपाली भाषा आज जताततै फैलिएको छ, विस्तार भएको छ। सरकारी कामकाजको भाषाका रुपमा परिचित छ। यही खस भाषा खस बोलीबाट विकसित भएको त्यो भाषा हो।  यो भाषा लगायत यहाँ बोलिने केहि भाषाहरुको म छोटो सुची चाहिँ यहाँहरुलाई  वर्तमान जनगणनाले ल्याएका तथ्यांकहरुका आधारमा म जनसंख्या भन्ने छैन, किनभने यहाँ जनसंख्या भन्दा पनि क्रमले यहाँ चाहिँ कुन भाषाको अलि बढी जनसंख्या चाहिँ हामी हेर्न सक्छौ।

यहाँ नेपाली बोलिन्छ सबैभन्दा धेरै ८८.८५ प्रतिशतले, ‘खस’ छ त्यसपछि ६.३४ प्रतिशत, ‘मगर ढुट’ छ १.६ प्रतिशत, ‘खाम’ छ ०.८ प्रतिशत, ‘थारु’ छ ०.४६  प्रतिशत, ‘भोटे’ भनेको छ ‘भोटे लामा’ पनि भन्नुहुन्छ उहाँहरु, ०.३३ प्रतिशत, ‘जुम्ली’ ०.३१ प्रतिशत, ‘डोल्पाली’  ०.१८ प्रतिशत, ‘कार्मारोङ’ ०.१४ प्रतिशत, ‘मुगाली’ ०.१ प्रतिशत, ‘गुरुङ’ ०.०८ प्रतिशत, ‘तामाङ’  ०.०७ प्रतिशत, ‘हिन्दी’ ०.०७ प्रतिशत, ‘अछामी’ ०.०७ प्रतिशत, ‘बोटे’ ०.०६ प्रतिशत, ‘राजी’ ०.०५ प्रतिशत एवम प्रकारले जम्मा  ‘मगर’, ‘काइके’, ‘डोटेली’, ‘मैथिली’, ‘नेपाल भाषा’, ‘नेवारी’, ‘भोजपुरी’, ‘अवधि’, ‘शेर्पा’ लगायतका भाषाहरु यहाँ चाहिँ ‘खाम्ची’, ‘राउटे’, ‘उर्दु’, ‘बैतडेली’, ‘संस्कृत’, ‘राई’,  ‘छन्त्याल’, ‘छिलिङ’, ‘यागथुङ लिम्बु’, ‘सांकेतिक भाषा,’ ‘तिब्बती’, ‘मुसलमान’, ‘माझी’, ‘थकाली,’ ‘बाजुरेली’, ‘बज्जिका’, ‘अंग्रेजी’, ‘कुमाल’,  ‘बझाङ्गी’, ‘सुनुवार’, ‘बेलाहारे’, ‘बान्तवा’, ‘याक्था’, ‘थामी’, ‘दराई’, ‘चामलिङ’, ‘दुरा’, ‘बराम’, ‘बंगाली’, ‘राजस्थानी’, ‘धिमाल’, ‘जिरेल’, ‘मेचे’, ‘पहरी’, ‘हायु’, ‘पन्जाबी’, ‘ताजपुरिया’, ‘सुरेल’, ‘नखुलेको’, जनगणनामा नखोलिसकेको र अन्य गरेर जम्मा  १६ लाख ८८ हजार,४१२ हाम्रो जनाले यी भाषाहरु बोलिदो रहेछ।

यी भाषाहरु सबैको एउटै अवस्था छैन। यिनीहरुमध्ये खस समुदायको भाषा सबैभन्दा धेरै बोलिन्छन्। खस भाषा भन्नाले प्राचीन खस पनि छ र अहिले आधुनिक वर्तमानमा खस भनिएको गोर्खापत्रले पानो दिएको भाषा पनि छ भने प्राचीन खसबाट खसका रुपमा रहेको जुन नेपालका विभिन्न भागहरुमा फैलिएको छ त्यो खस, त्यसलाई एकातिर हेर्नुपर्ने छ हामीले र अहिले त्यसबाट विकसित भएको अहिलेको खस जुन भाषा बोलिन्छ, त्यसले पनि प्राचीन खसबाट धेरै नयाँ व्यवहोराहरु विकास गरिसकेको छ। प्राचीन खसमा भएको आउ भन्नु पर्यो भने आओ हुन्थ्यो भने अहिले आउ भन्नुपर्छ हामीले। विभक्तिहरु छैनन्, कतिपय ‘ले’ छैन, ‘लाई’ छैन, प्राचीन खस हेर्यौ भने जुन कुमाउने गडवालीसँग पनि त्यसको साइँनो गासिन्छ। त्यो भन्दा हामी अगाडी बढेका छौ र यो भाषा अहिले सबैभन्दा यहाँ चाहिँ धेरै प्रतिशतले बोलिन्छ। ८८.८५ प्रतिशत नेपाली भाषा भनेर लेखिएको छ। ६ प्रतिशत करिब करिब खस भनेर आयो। त्यसका अतिरिक्त अरु आएका जुन डोटेली छन्, अरुहरु यहाँ बजाङी के के जोडिएर आए, तिनीहरु ५/६ वटा पनि यसैसँग सम्बन्धित यसैबाट विकसित भएका भाषाहरु हुन्।

त्यसपछि अरु पनि थुप्रै भाषाहरु यहाँ भित्र छन् र सरकारी कामकाजको भाषाका रुपमा नेपालीलाई संविधानले नै मान्यता दिएको छ भने यस प्रदेशको भाषाका रुपमा भाषा आयोगले सिफारिस गरेको छ, अर्को सरकारी कामकाजको भाषा, त्यो ‘मगर ढुट’ हो। ‘मगर ढुट’ त्यतिकै महत्वपूर्ण भाषाका रुपमा अब सरकारले चाहिँ यहाँ निर्णय गरेर आफ्नो कामकाजमा त्यसलाई लागु गर्नुपर्नेछ। अब त्यो कति अघि बढेको छ त्यो काम मलाई थाहा छैन, पोहोर मात्रै म आएको थिए भाषा आयोगको नाताले। कर्णाली प्रदेशको सरकारी कामकाजको भाषा सिफारिस गर्ने सन्दर्भमा भाषा आयोगबाट गठित टोलीको म संयोजक पनि हो। मेरै संयोजकत्वमा त्यो प्रतिवेदन प्रस्तुत भएको थियो र त्यतिबेलामा दोस्रो नम्बरको भाषा यही थियो। खस भाषा जम्मा १८/२० जनाले बोल्ने थियो त्यो बेलामा, अहिलेको जनगणनाले जस्तो तथ्यांक ल्याइ पुर्याएको थिएन। तापनि खसभाषा थोरै नै भए पनि यो सम्पदाको भाषा हो। यो इतिहासको भाषा हो भनेर यसलाई भाषा आयोगले सिफारिस गरेको छ। यसलाई सम्पदाको भाषाका रुपमा बेग्लै महत्व दिएर अध्ययन गरिनुपर्छ, बेग्लै खोजी गरिनुपर्छ भनेर विशेष जोड दिएर त्यहाँ खसभाषा नतोके पनि सम्पदाको भाषाको विकास गर्नुपर्छ भन्ने कुराहरु त्यहाँ यहाँ उल्लेख भएको छ।

भित्री रुपमा खसभाषालाई भित्री रुपमा राखेर नै मनमा राखेर त्यो गरिएको थियो। अहिले खसभाषाको जनगणना पनि आएको छ।  खास गरिकन नेपालका भाषाहरु मैले हेर्दाखेरि यो अहिले भाषालाई अलगअलग गर्ने जुन प्रवृति छ, त्योबाट हामीले केहि शिक्षा पनि लिनुपर्छ भन्ने लागेको छ। नेपाली भाषाको जनसंख्या पहिले भन्दा घटेर गएको छ। डोटेली आउने,  बैतडेली आउने, बझाङ्गी आउने, अछामी आउने, आउदा आउदा हाम्रो प्रदेशमा कम्तिमा त्यस्तो छैन। खस भाषा त सम्पदाको भाषा, हाम्रो पुर्खाको भाषा भाएको हुनाले यहाँ एउटा आएको छ।

यद्यपि त्यो पनि नेपाली नै हो र नेपालीकै यसको नेपाली भाषाको आमा भाषा हो त्यो। त्यसो भएको हुनाले खस एउटा आएको छ, यो प्रदेशमा दैलेखी एउटा अलिकति राखे जस्तो लाग्छ मलाई, बाकी चाहिँ डोटेली, बैतडेली उता छ। त्यति यताका भाषाहरु भनेर यसलाई छुटइएको छैन।  हामीले सचेत पनि हुनुपर्छ। नेपाली भाषाको जनसंख्या घट्यो भने, यसैबाट विकसित भएको नेपाली भाषा यदि मुलुकमा घटाउने प्रयत्न भयो भने भावनामा बगेर, त्यसले घाटा पनि गर्छ भन्ने मलाई लाग्छ। त्यसो भएर हाम्रो प्रदेशले एक किसिमले ठिकै ढंगले भाषाका बारेमा आफ्ना विचारहरूलाई अगाडी सारीराखेको छ र बनाइराखेको छ।

त्यसपछि हामीले यहाँ केहि भाषाहरु छन्, जुन हाम्रो प्रदेशमा पनि बोलिन्छन्, अन्यत्र पनि बोलिन्छन्। हाम्रै देश भित्र पनि, देश बाहिर पनि, त्यस्ता भाषाहरु पनि छन् हामीसँग। अब ‘मगर ढुट’ चाहिँ हाम्रो प्रदेशभन्दा पनि वास्तवमा भन्ने हो भने गण्डकी, लुम्बिनीमा बढी बोलिन्छ। तर यहाँ सरकारी कामकाजको दोस्रो भाषाका रुपमा आउन समर्थ भयो त्यो। यहाँ पनि जनसंख्या राम्रै रहेछ भन्ने मलाई लाग्छ। अहिले ‘मगर खाम’को पनि बढेर आएको छ। अब एउटा जनगणनामा के भएछ भने मान्छेहरुले यो जनसंख्या चाहिँ  मगर भरिले एउटै लेख्ने भन्ने नारा नारा चल्यो र ‘मगर खाम’ र ‘मगर ढुट’, तराली हाम्रो यो ‘काइके,’ ‘पोइके’ सम्म पनि सकेसम्म मगर लेख्ने प्रयत्न भयो। त्यसले गर्दा उहाहरुको जनसंख्या ‘पोइके’को घट्ने, उसको घट्ने त्यस्तो खालको एउटा समस्या आयो। त्यसले नीति निर्माताहरुलाई अप्ठ्यारोमा पार्छ। त्यसो भएको हुनाले अलग भाषालाई अलगै रुपमा लेख्यो भने नीति बनाउन सजिलो हुन्छ।

कहाँ कुन स्कुल दिने, कहाँ त्यो भाषालाई सामरिक हिसाबले कसरी व्यवहार गर्ने, भाषाको सामरिक महत्व पनि हुन्छ।  यी सबै नीति निर्माताहरुका लागि तथ्यांक सही रुपमा आउनुपर्छ र अहिले सही दिशा तिर जादै छ। भावनामा बगेर पनि कहिलेकाही अनावश्यक कुराहरु उछालिन्छन्। तर ठिक ठाउँमा हामी आयौ भने मात्रै, हाम्रो सहि नीति निर्माण हुन सक्छ। त्यसकारणले अहिले सचेतता आइराखेको छ। अहिले मगर यो उसको खामको भाषाको संख्या बढ्या छ, वक्ताहरुको। मलाई यहाँ त हुनुपर्ने किन यति कम भयो जस्तो लाग्या थियो अघिल्लो जनगणनामा, यसपाला बढेर आएको छ। त्यस्तै थारुहरुको यहाँ राम्रो उपस्थिति छ, थारुको पनि जनसंख्या यो सुर्खेत उपत्यको जनगणना छ त्यो पनि राम्रो छ। अलि जनसंख्या राम्रो भएका भाषाहरुमा शिक्षा पनि सुरु भएको छ पढाउन सुरु गरियो। जस्तो यहाँ थारुको गरियो, मगरको सुरु गरियो। जुम्लाको तातो पानी लगायत केहि ठाउँहरुमा खसभाषामा स्कुलहरु चलाउने प्रयत्न गरियो। सायद मलाई लाग्छ, हुम्लामा भोटे लामा भाषाको पनि स्कुल पढाउने प्रयत्नहरु भैराखेको छ जस्तो मलाई लाग्छ।

मातृभाषा शिक्षा; मातृभाषा शिक्षाको महत्वलाई हामीले  राम्रोसँग अझै मनन गर्न सकेका छैनौ। बच्चाले बोल्दा खेरि आमाको काखमा जुन भाषा सिक्यो, त्यो भाषामा अक्षरम्भ गर्न पायो भने रुचिपूर्वक गर्छ। पहिले गयो अनि आफ्नो भाषा बारेमा केहि पनि सुरु गर्न नपाएर अर्का भाषामा जानु पर्दा खेरि बच्चालाई अरुचि आउन सक्छ। यो कुरो समुदायले पनि बुझेन। यो कुरो नीति निर्माणमा बस्नेहरुले पनि गम्भीरतापूर्वक लिए जस्तो मलाई लाग्दैन। तर मातृभाषा अत्यन्तै महत्वपूर्ण छ र त्यतातिर तिर हामीले केहि प्रयत्न भएका छन् अझै पनि यहाँका भाषाहरुमा लैजानु पर्ने छ। अर्को हामीले गर्नुपर्ने कुरा चाहिँ यो केहि भाषाहरु असाध्यै लोपोन्मुख अवस्थामा छन् हाम्रो यहाँ। ‘खाम्ची भाषा’ राउटेहरुको ज्यादै कम जनसंख्या भएको भाषा हो। ‘काइके भाषा’, ‘पोइके भाषा’, बोटे पनि यहाँ हाम्रो एकदमै कम छ। ‘बोटे’को जनसंख्या अलि बढेको देखिन्छ र डोल्पामा बढेको जनसंख्या  देखिन्छ। मैले त्यहाँ पनि भनेको थिए जुम्लामा गएर, बोटेको उच्चारण उहाँहरुले  ‘भोटे’को उच्चारण ‘बोटे’ पनि गर्दिनुहुन्छ। कहिँ ‘भोटे’को उच्चारण ‘बोटे’ गर्दा त त्यहाँ आएको हो कि जनगणनामा जस्तो पनि कताकता शंका लागिरहेको छ।

सुर्खेतमा ‘बोटे’को जनसंख्या देखिनुपर्ने थोरै देखिने एकदमै, उहाँ गएर हिमाली भेगमा ‘बोटे’को जनसंख्या देखिने, जहाँ डुङ्गा तारिदैन अथवा जो नदी छेउमा बस्ने जात हो, त्यो छैन। त्यस्तै अर्को ‘राजी भाषा’ छ हामीसँग महत्वपूर्ण, यिनीहरु अल्पसंख्यका भाषाहरु र रैथाने भाषाहरु। अल्पसंख्यका एक एक जनाले बोल्ने त यहाँ अनेक भाषाहरु छन्। जनगणनाको दिन कोहि यहाँ भेटियो भने पञ्जाबी बोल्ने भेटियो भने पञ्जाबीको पनि जनगणना आयो। त्यसरी आएको छ। तर तिनको विकास त उही पञ्जाबमै भको छ नि।

 

हिन्दीको जनगणना उतै गरेको छ नि, प्रशस्तै कामहरु भएको छ, तर हामीले यहाँका रैथाने अल्पसंख्यक भाषाहरुलाई खास गरिकन यसै प्रदेशमा भएका र अन्यत्रबाट काम नभएका भाषाहरुमा विशेष जोड गर्नुपर्ने छ। यिनीहरुको प्रकार्यहरु बढाएर लैजानुपर्ने छ। वर्णमाला नभएको भाषालाई वर्णमाला बनाउने, वर्णमाला बनिसकेका भाषाहरुलाई शब्दकोष बनाउने, शब्दकोष भइसकेपछि हामीले चाहिँ व्याकरणहरु बनाउने, अनि साहित्य लेख्ने, स्कुलमा पढाउनका लागि शैक्षिक सामग्री उत्पादन गर्ने, क्रमिक किसिमले गर्न सकिन्छ। यी कमजोर भाषाहरुलाई त्यसो गर्न सकिन्छ, धेरै अध्ययन नभएका भाषालाई भने, नेपाली जस्ता भाषाहरु अथवा देशका धेरै मान्छेहरुले बोल्ने सरकारी कामकाजका भाषाहरु, राष्ट्रिय-अन्तराष्ट्रिय चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ। कयौं प्राविधिक शब्दहरु चाहिन्छन् हामीलाई, अरु भाषालाई त्यहाँ तहमा उठाउन धेरै बिस्तारै गर्दै जानुपर्छ भने ‘नेपाली’ जस्तो अथवा यहाँका अरु ‘तामाङ’ जस्तो अथवा ‘मैथिली’ जस्ता केहि भाषाहरु, जसको साहित्य विकास भैकेको छ, जसले धेरै कामहरु पुरा गर्नुपर्छ, तिनीहरुको संचारका क्षेत्रमा, हरेक हरेक क्षेत्रमा तिनलाई त्यही किसिमले विकासका खुड्किलाहरु हामीले चढाउदै लिनुपर्छ।

कहिलेकाही मान्छेहरुले समानताको नारा दिन्छन। सबैलाई एउटै नजरले हेर्छन, त्यसो गर्यो भने भाषाहरु प्रति न्याय हुदैन। त्यसो भएर कुन भाषा कुन तहमा छ, पहिला त्यसको  अध्ययन हुनुपर्यो। त्यो भन्दा अगाडिको काम के गर्ने, त्यसको काम गर्नु पर्यो र बिस्तारै अगाडि जान्छ।  त्यो खालले हामीले अल्पसंख्यकहरुका लोप हुन लागेका भाषाहरुलाई संरक्षण, संवर्धन, विकास, खोजी के के गर्नुपर्छ, त्यो गर्न आवश्यक छ। त्यो सबै तहका सरकारहरुको सबै सचेत नागरिकहरुको कर्तव्य हो।  भाषाको विषयमा ज्ञान गर्ने मान्छेहरुको पनि कर्तव्य हो सबैको आँखा उगार्नु। यी मैले यो समग्रमा यी भाषाहरुका बारेमा भने।

कर्णाली प्रदेशको एउटा सिन यहाँको बोली, यहाको बोली भित्र आजको बहुजातीय, बहुसांस्कृतिक र जुन  हामी अब गणतन्त्रिक नेपालमा छौ, त्यो नेपाललाई हामीले सबै भाषाको ख्याल गर्नु पर्छ र ‘खस भाषा’ लगायत यहाँ बोलिने सबै भाषाको बारेमा हामीले त्यतिकै चिन्ता र चासो राख्नु पर्छ। संसारको ‘भाषा’ भनेको मानवको विशिष्ट आर्जन हो। यो धर्तीबाट कुनै पनि भाषा बिलाउनु भनेको हाम्रो लागि ठुलो क्षति हो। कैयन कुराहरु त्यो भाषाको हराएर गयो भने त्यसले संस्कृतिका कैयन महत्वपूर्ण कुराहरु पनि लैजान्छ। त्यसो भएको हुनाले यी सबै भाषाहरुलाई जोगाउनु हामी सबैको कर्तव्य हो। कहाँ कहाँ सकिन्छ? वर्णमाला नभएकामा वर्णमाला बनाउ।

खसमा सिजालीमा म पनि गएको थिए। सिजामा तीन वटा त्यहाँ चाहिँ हामीले गोष्ठी गरेका थियौ यसलाई जोगाउनका लागि। अहिले पनि भाषा आयोगमा तीन वटा रिपोर्ट आएको छ। खस भाषाका नामहरु सिजाली राख्ने कि जुम्ली राख्ने कि खस राख्ने कि तीनवटा प्रतिवेदनहरु आए। के नाम राख्ने भन्ने बारेमा हामीले त्यहाँ छलफल चलाएका थियौ। वर्णमाला मात्रै वर्णमाला तयार गर्नु पर्यो नि त त्यहाँ के के हुन्छ, जुम्लाको अथवा खसभाषाको ‘ह’.., ‘ह’.. म भन्नै सक्दिन।  ‘हासु’.. भन्नै सक्दिन, त्यसको लागि कसरी लेख्ने भन्ने वर्णमाला चाहियो नि हामीलाई। ‘हासु’ लेख्नलाई वर्णमाला चाहियो नि त, त्यस्तै राउटेमा ‘रहा’, ‘लैगो’, ‘लैगो’ कसरी लेख्ने त? यी वर्णमाला पहिला तयार गर्न पर्यो। ति भाषाहरुको, कमजोर भाषाहरुको, त्यो गरिसकेपछि अनि  व्याकरण र हाम्रा शब्दकोषहरु भइसकेपछि अनि साहित्य इत्यादि र पठनपाठनको कुरा सहज हुन्छ। यो कुरा समग्रमा मैले भने।

अब म त्यो गौरवशाली भाषाका बारेमा बोल्दै छु। जुन ‘खस भाषा’का बारेमा, खासगरी ‘खस बोली’का बारेमा यहाँ मलाई धेरै भन्न भनिएको छ आयोजकहरूबाट। त्यसकारणले मैले अलि आफूलाई त्यतै केन्द्रित गरे। यो कुरा मैले समग्र भाषाको एउटा सिन, किनभने हामी यहाँ सबै भाषा भाषीका मान्छेहरु छौ।  त्यसकारणले यति कुरा गरिसकेपछि म अब ‘खस भाषा’मा प्रवेश गर्न चाहन्छु। भारोपेली भाषा परिवारको सदस्यका रुपमा खसभाषा, खस भाषा भारोपेली परिवारको सदस्यको भाषा हो। भारोपेली भनेको भाषाका केहि परिवारहरु छन्। नेपालमा पाच वटा परिवारका भाषा बोलिन्छन्। एउटा भारोपेली परिवार, एउटा चिनियाँ तिब्बती परिवार, एउटा आग्नेली परिवार, एउटा द्रबिड परिवार र एउटा नखुलेको कुसुण्डा भाषासँग सम्बन्धित परिवार, त्यो मध्ये कर्णाली प्रदेशमा दुइटा परिवारका भाषाहरु बोलिन्छन्। चिनियाँ तिब्बती परिवार र भारोपेली परिवार र खस भाषा भारोपेली परिवार सँग सम्बन्धित छ।

भारोपेली परिवार अत्यन्त विशाल परिवार छ, संसार ढाक्छ यसले। यसका वक्ताहरु सुरुमा युरोपको  युराल पर्वतको पूर्व पट्टिको किर्गिजको मैदानमा बस्थे भनिएको छ। तिनीहरुलाई विरोस भनिन्थ्यो।  ति विरोसहरु फैलिदै फैलिदै आएर त्यसका १० वटा शाखा मध्ये यतापट्टि आर्य इरानेली शाखा आयो। इरानेलीबाट, फारसेली, अरबी, फारसी विकास भए। यता आएपछि आर्य भयो र संस्कृत भाषा आर्य भाषा भयो। त्यही विशाल परिवार, यसैबाट अंग्रेजीको विकास भयो, यसैबाट स्पेनिस भयो, यसैबाट जर्मनी भयो, जर्मनीली भयो, यसैबाट इटालेली भयो, रुसी भयो, संसारका धेरै ठुला ठुला  कहलाएका भाषाहरु यो परिवारसँग सम्बन्धित छ। आज अंग्रेजी र हाम्रा शब्द मिलायो भने कसरी मिल्छन संस्कृत नेपाली, ‘ब्रदर’ ‘भ्रादर,’ ‘पितर’ ‘फादर’ कति मिल्छन,  त्यसो भएर यो अध्ययन भएर तुलनात्मक अध्ययन गर्दा भारोपेली परिवारको संस्कृत भाषा असाध्यै सम्पन्न रहेछ। अन्त हराएका ध्वनि यहाँ  रहेछन्। घजड धब उता पश्चिम तिर हराएका पनि यहाँ घजड धब सुरक्षित रहेछन्।

त्यसो भएर यो ठुलो सम्पन्न भाषा मानिन्छ र यो परिवारको सदस्य चाहिँ खस भाषा हो।  त्यो खस भाषाका रुपमा  खस भाषाका दिदीबहिनी भाषाहरु पनि थुप्रै छन्। यो चाहिँ कुमाउने गडवालीसँग अलि नजिक छ। त्यसपछि हाम्रा मैथली, भोजपुरी, भारत तिर बोलिने बंगाली, पन्जाबी, सिन्दी, लहन्दा, आसामी लगायत थुप्रै गुजराती, राजस्थानी थुप्रै भाषाहरुको यो चाहिँ यो भारपेली परिवारबाट आएका भाषाहरु हुन्, हाम्रै यता बोलिने भाषाहरु र त्यसको दिदीबहिनी भाषाको रुपमा यो रहेको छ। भारोपली परिवारको सदस्य हो खस भाषा भन्ने कुरा, एउटा मैले जग समुदायलाई स्पष्ट पारे। त्यसपछि नेपाली र अन्य विभिन्न बोली जन्माउने बोलीका रुपमा खस बोली; खस बोलीले नै धेरै बोलीहरु जन्मायो नेपालमा।

मैले एम.ए पढ्दा खेरि एउटा नेपालका भाषा विज्ञानका हामी चाहिँ धेरै अग्रज बालकृष्ण पोखरेलले के भन्नुभयो भने, जहाँ ढाडी हुन्छ त्यहाँ लिखा धेरै हुन्छ। यो कर्णाली प्रदेश चाहिँ नेपाली भाषा जन्माउने थलो भएको हुनाले त्यहाँ यसका भेद धेरै छन्। वारिडाँडा र पारीडाका भाषामा फरक छ भन्दिनुभयो। त्यसले मलाई बिउझाएर मैले चाहिँ मेरो सिम्तालीका बारेमा थेसिस लेखेको। पी.एच.डी गरे, एम.ए मा पनि त्यही लेखे। मैले गरिन भने यहाँ आएर यो बारेमा कसले गर्छ भन्ने लागेर मैले गरे। यसका बारेमा लेखे मैले पनि। त्यसो भएर यो नेपालका धेरै भाषाहरु जन्मायो यसले भाषिका, अहिले कति भाषिकाका तहमा छन्, कति भाषाका तहमा छन्। भाषा र भाषिकाका फन्दामा म यहाँ कुरा गरेर मेरो सिमित समयलाई खेर फाल्न चाहन्न। तर नेपालीका चाहिँ मुख्यत तीनवटा पहिले भनि आएका पुर्वेली, केन्द्रीय,  पश्चिमा। पश्चिमाका तीनटा भेद: वर पश्चिमा, परपश्चिमा, मध्य पश्चिमा।

केन्द्रिय भनेको जुम्ली, डोटेली हामीले खस के के भन्या छौ, यसलाई बालकृष्ण पोखरेेल र चुडामणी बन्धुहरु देखि हाम्रा अग्रजहरुले केन्द्रीय भेद भन्दै आउनु भएको छ। अहिले पनि केन्द्रीय हो यो। कोहि कोहीले केन्द्रीय भनेर बागमती लेख्दिएका हुन्छन् जाँचमा, त्यो होइन। नेपाली भाषाको केन्द्रीय भेद चाहिँ खस भाषा हो। अहिले जसलाई खस भाषा भन्या छौ यसको पूर्वज उस बेलाको खस भाषा जुन हो त्यो चाहिँ यही जन्मिएको थियो पहिला। सुरुमा जन्माउने ठाउँ यही हो। यसले खस जन्मायो, नेपाल राज्यको विस्तार हुदै गयो, पहिला नागराजाहरु छदा खेरि परपर सम्म खसभाषा पुर्याए। नागराजा भनेको पहिला यहाँ चाहिँ सिजा साम्राज्यमा खारी प्रदेश थियो। खारी प्रदेशबाट आए, सपादलक्ष्य पनि भनिन्छ यो उसलाई। सवा लाख खसहरुको बसोबास भएको, त्यहाँ आएर उनले शासन गरे।

त्यहाँ आएर यो फैलिदै फैलिदै गएर पूर्वसम्म गएर अहिले अनेक भेदहरु नेपालको सिमा काटेर पारीपट्टि दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर लगायत यतातिर उता देराधुन अहिले हुदा हुदा अस्ट्रेलिया, अमेरिका कति ठाउँ पुग्या छ, कति ठाउँ पुग्या छ। नाना भेदहरु जन्माइदियोले। त्यसो भएर नेपाली भाषा त्यस्तो फर्टाइल ल्यांगवेज हो। त्यस्तो चाहिँ उर्वर उर्भरता भएको भाषा हो, जसले कैयन भाषाहरु जन्मायो। हामीले हेर्दा हेर्दै कयौ भाषाहरु हाम्रा आँखा अगाडि मरे। कयौ मर्छन् अब तुरुन्तै। तर नेपाली भाषा आज संसार भरि फैलिएको छ। एक किसिमले यो भाषाले जन्माएका भाषाहरुमा अथवा यसका भेदहरुमा अब कति भेद भाषा हुन्छन्, कति भाषिका हुन्छन्, त्यो समयले निर्धारण गर्ने कुरा हो। बुझिने बेला सम्म भाषिका भइरहन्छन्, नबुझिने भए भने भाषा हुन्छन्। भाषा विज्ञानको परिभाषा त्यही हो। तर त्यसमा राष्ट्रको इन्ट्रेस्ट पनि हुन्छ।

उर्दु र हिन्दु एउटै हुन् तर दुई देशका भाषा हुन्, तिनी फरक फरक भाषा हुन। त्यसमा राजनीतिले पनि काम गर्छ, राष्ट्रिय इन्ट्रेस्टले पनि काम गर्छ। कुनै भाषालाई भाषिका भन्ने कि भाषा भन्ने, भारतमा मैथली के भन्छ, यो भोजपुरी लगायतलाई पनि हिन्दीका भाषिका भन्नुपर्ने किन? जनगणना; त्यही भएर अघि मैले भने, होसियार भनौ,नेपालीको जनगणनामा पनि ख्याल गरौ है। आफ्ना आफ्ना मैले सिम्ताली लेखाइदिने, सल्यानमा सल्लानि लेखाइदिने, अर्काले प्ययुठानी लेखाइदिने गर्दै गयौ भने नेपाली बोल्ने मान्छे इत्ति हुन्छ। त्यसो भएर राष्ट्रिय इन्ट्रेस्ट पनि हुन्छ। त्यतातिर पनि हामीले ख्याल गर्नुपर्छ त्यही भनेको। यसबाट धेरै भाषाहरुको विकास भएको छ। सुरुमा खस नाम भयो, खसबाट गएर पर्वती भयो, गोर्खाली भयो, हुदा हुदा नेपाली नाम यसले पाएको छ अहिले। यति भनेपछि म चाहिँ अब यसको इतिहास असाध्यै पुरानो छ सुदिर्घ परम्पराको भाषा हो। यो अहिले भर्खर आएको भाषा होइन यो, एउटा सुदिर्घ परम्परा छ यो। सुदिर्घ परम्परा भएको भाषा हो यो।

भारोपेलीको कुरा छोड्दिम. युराल पर्वतको किर्गिजको मैदानका विरोसहरुले बोल्ने समय छोड्दिउ। संस्कृतबाट मात्रै हेर्यो भने ३५ सय वर्ष भयो। संस्कृतको अघिल्लो आर्य भाषाको मात्रै हेर्यो भनेदेखि, आर्य भाषा चाहिँ  इस.वी. पूर्व, अहिले २००० इस.वी. मा छौ हामी, यो भन्दा १५ सय वर्ष अगाडी सुरु भयो ऋग्वेदहरु र इस.वी.को ८०० सम्म  एउटा खालको संस्कृत भयो। इस.वी.को ५०० सम्म अर्को खालको संस्कृत भयो। एउटा वैदिक संस्कृत भनिन्छ, जसमा वेदहरु लेखिए। अर्को लौकिक संस्कृत भनिन्छ, जसमा महाभारत लेखिए। त्यसपछि प्राकृत काल सुरु भयो, पाली भयो, मागदी, अर्धमागदी, सौरसिनी,  पैशाची भन्ने जस्ता अनेक भाषाहरु बिचमा आए। ५ सय वर्ष त्यता पनि गयो।

त्यसपछि यो प्राकृतकै पनि अरु भेदहरु आए। पाली पछिको अर्को ५ सय वर्ष त्यो अर्को भेद भेदमा गयो र अनि अपभ्रंश भन्ने नाउ दिइयो त्यसपछि, ‘बिग्रेएका’ भन्ने अर्थ हो ‘अपभ्रंश’को अहिले हामीलाई यता आएर अपभ्रंश भाषा प्रयोग गरे भन्छन्, हामी त्यसलाई अलि रुचाउदैनौ, परिवर्तन भन्छौ भाषाका मान्छेहरु। झन्डै १५ सय वर्ष यो प्राकृतकाल भनौ अथवा अपभ्रंश समेतलाई जोड्यो भने इस.वी.पूर्व ५०० देखि लिएर इस.वी.को १ हजार वर्ष सम्म यो समय रह्यो। पहिलो प्राकृत इस.वी.को पाना १ सम्म, त्यसपछि ५०० सम्म अर्को प्राकृत अनि अपभ्रंश यो भयो।  अनि इस.वी.को ११०० मा आधुनिक आर्यभाषाहरु जन्मिए। आधुनिक आर्यभाषाहरु भनेको ‘आर्य’ भनेको ‘संस्कृत भाषाहरु’ हो। अहिले हाम्रो खस भाषाबाट विकसित भएको नेपाली भाषाको आयु १ हजार वर्ष करिब भयो।  यो प्रदेशमा, यो भूभागमा जन्मिएका आर्यभाषाहरु जम्मैको उमेर यति नै हो। पञ्जाबीको हेरे पनि, आसामी हेरे पनि, बंगाली हेरे पनि, लहन्दा, सिन्दी, पञ्जाबी, इन्डिया तिरका हेरे पनि, भोजपुरी, अवधि जे हेरे पनि यिनीहरुको आयु ११०० इस.वी.बाट सुरु भयो झन्डै १ हजार वर्ष भयो।

यो सबै जोड्दा यो हाम्रो मात्रै जन्मिएको, खसभासा जन्मिएको ११ सय वर्ष झन्डै १ हजार वर्ष, अब ११ सय झन्डै झन्डै हुने बेला हुन लागेको छ।  उहीले देखि संस्कृत काल देखि जोडेर यसको परम्परा हेर्यौ भने पनि ३५ सय वर्षको  यसले  इतिहास राख्छ। त्यसो भएर हामीसँग अहिले पनि संस्कृत शब्दहरु कयौ छन्, हाम्रो खसमा पनि छन्। यसबाट जन्मिएका कयौ भाषाहरु छन्। संस्कृत शब्द नजानिकन यतातिर हामीले केहि कुरा मेसो पाउदैनौ। खस भाषामा पनि थुप्रै संस्कृत शब्दहरु छन्। त्यसो भएर संस्कृतसँग यसको साइँनो गासिएको छ, आर्यभाषासँग यसको साइँनो गासिएको छ। ३५ सय वर्ष करिब करिबको सुदिर्घ परम्परा यसले राख्दछ।

त्यसपछि मैले सम्पदाको बोलीका रुपमा खस बोले, सम्पदाको भाषा अघि पनि मैले केहि भने। यति महत्वपूर्ण सम्पदाहरु छन्, नेपाली भाषाको इतिहास यहाँ अध्ययन नगरिकन छेउटुप्पो पनि आउदैन। हाम्रा आली, अटाली, अटलकय क्रिया छ।  हाम्रो अहिले प्राचिन अभिलेखहरु, यो १  हजार वर्ष भयो भन्ने त्यसै भनिएको होइन। यसका अभिलेखहरु छन्। जुम्ला, त्यतिबेलाको सिँजाको राजधानी जुम्ला, गृष्मकालिन राजधानी जुम्ला, सितकालिन राजधानी दुल्लु, त्यहा अभिलेखहरु छरपष्ट ढुंगा ढुंगामा छन्। कुनै शिला बनेर बसेका छन्, कुनै कनकपत्र बनेर बसेका छन्, कुनै ताम्रापत्र बनेर बसेका छन्, कुनै भोजपत्र होलान्, कुनै दान दिएका कागजहरुमा छन्, कुनै केमा छन्, जग्गा दानका कागजहरुमा, थुप्रै सम्पत्ति हामीसँग छ।

सम्पत्ति हामीले कति बटुल्यौ? योगी नरहरीनाथले केही बटुल्नुभयो, पूर्णप्रकाश नेपालले केही बटुल्नुभयो, मोहन खनालले केही बटुल्नुभयो। हाम्रा अग्रजहरुले दुख गर्नुभएको छ। अझै हामीले हामी जो कर्णाली प्रदेशकै मान्छेहरु नरहरीनाथ पछि अझ यसैगरी लाग्ने मान्छे भैदिएको भए, धेरै बटुल्ने थियौ होला। तर त्यो काम हाम्रो अधुरो छ। मैले हेर्दा अहिले सबैभन्दा पहिलो अभिलेख भनेर भनियो, यसका बारेमा अलिअलि कुरा भएको छ। त्यो  राजा दामुपालको को अभिलेख विक्रम संवत १०३८ सा.के. ९३५ लेखिएको छ त्यहाँ। ओम मणि पद्म हुँ, दामुपाल भुपाल रेख भई कृष्णु अढईको भाई सौपाल अढई सा.के. ९०३, एउटा यो यहाँ छ।

अहिले मोहन खनालले यो भन्दा पनि यो होइन है अर्को छ, यो चाहिँ खास भनेर बामु खड्काको अभिलेख ल्याउनु भएको छ ११५१ को। त्यो चाहि श्री सा.के. १०१६ पिछे १ बामु खड्काको कृति खम्ब शुभ भनेर लेख्या छ त्यसमा। दुल्लुमा छ यी दुइटै दुल्लुका हुन्। अशोक चल्लको विक्रम संवत १३१२ को हुम्लाको ताम्र पत्र, अघि मैले भनेको, हाम्रा आली, अटाली, अटल करि अकृया छ। अशोक चल्लकै समयको अर्को पनि यो पहिला यही हो आधिकारिक भनिन्थ्यो। अब अहिले यसलाई उछिनिसके अरुले, श्री अशोक चल्ल देव  चिरम जयतु, सौना कार्की सौका कर्केनीको देवल, पादुकाको यस्सो जानुभयो भने ढुंगामा यो लेखिएको छ। यस्ता तमाम खालका दुल्लुको कृति स्तम्भ देखि लिएर अनेक त्यहाँका खस राजाहरु, खस राजाहरु पनि पछि निसन्तान भएपछि आदित्य वंशीहरुसँग पनि जोडिएर आएका छन्।

यहाँ थुप्रै खस राजा र तिनका उत्तराधिकारीहरु, थुप्रैका अभिलेखहरु, थुप्रैले विजय गर्दा गाडेका कृति खम्बहरु, कतिमा त आँसी उध्याएर सिद्धिए यहाँका शिलालेखहरु। त्यो दुल्लुको कृति खम्ब आँसी उध्याइ राख्या देखेर हामीले बरु हामी पनि लाग्छौ। म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदा त्यतिबेलामा हामी गएका थियौ कुलपति लगायत।  त्यसलाई जोगाउनु पर्यो भनेर हामीले, अहिले मलाई खुशी लाग्छ, त्यहाँ अहिले चाहिँ बारबेर गरेर त्यसलाई जोगाइएको छ। यी सबै खम्बाहरु, यहाँ हाम्रो मेरै गाउमा लामा ढुंगा भन्ने थिए दुइटा अग्लाग्ला, ती अहिले छैनन् त्यहाँ ढलिसके। महत्नव नै  बुझिएन। काक्रेबिहारका छरपष्ट छरिएका अभिलेखहरु, हामीले तिनलाई पढ्नुपर्ने, त्यहाँ भित्र लेखिएको भाषालाई व्याख्या गर्नुपर्ने ठाउँमा ति सबै चिज सिध्यायौ। यो सम्पत्तिको भाषा हो, यसमा थुप्रै ग्रन्थहरु पनि छन्। ग्रन्थको नाम पनि म अहिले पढ्दिन, किनभने यी धेरै  प्रकाशित भएर आइसकेका कुराहरु हुन्।

सम्पन्न लोक साहित्यको बोलीको रुपमा खसभाषा हो।  यस्तो सम्पन्न लोक साहित्य छ यो बोलीमा, यति धेरै गीतहरु, यति धेरै लोक कथाहरु, यति धेरै उखान टुक्काहरु, यति धेरै गाउ खाने कथाहरु, नेपाली शब्दकोषलाई यहाँका शब्द लगेर हाल्ने हो भने कयौ गुणा बढाइदिन्छ। त्यो प्रयत्न नै राम्रोसँग भएको छैन। अलिअलि मैले यो शब्दकोषमा हेर्नुभयो भने केहि यताका शब्द भेट्नुहुन्छ। अर्को एउटा हामीले ठुलो शब्दकोष निर्माण गरेका छौ। त्यो आयो भने अलि बढी भेटिएला। प्रकाशन भएन त्यो, निकै ठुलो छ यो भन्दा दशौ गुणा ठुलो छ अहिलेको शब्दकोष भन्दा। अनि यहाँ थुप्रै गीतहरु छन्। यहाँ हेर्यो भने मैले हेर्दा मांगल, डेउडा, फाग, सिंगारु, तिज गीत, भैलो, भुओ, पढेली, झ्याउरे, बारमासे गीत, बारमासा, ग्वाल्या गीत, दाँई गीत, बाल गीत, सोरठी, मारुनी, घाटु, भारत, चाचडी, धमारी कति कति, यहाँ मैले  टिपेरै साध्य भएन। यति धेरै लोक साहित्यको सम्पत्ति छ यहाँ भित्र। सबै संकलन भइकेको छैन। एउटा कोसिस प्रज्ञा प्रतिष्ठानले २०२८ सालमा गरेर सिँजाबाट केहि आयो। पूर्णप्रकाश नेपालजीको किताबमा आयो। नरहरीनाथले  धेरै कुराहरु ल्याउनुभयो तर अझै पनि यी सबैलाई बटुल्न सकिएको छैन।

मलाई लाग्छ, कहिलेकाही एउटा झोला भिरेर अब उमेरले ७५ वर्ष हुन लागियो। एउटा झोला भिरेर सुइ सुइ चाहिँ यो बटुल्न पाए कति हुँदो जस्तो लाग्छ। जतिबेला ज्ञान थिएन उमेर थियो, त्यो बेलामा ज्ञान थिएन, अहिले कुरा बुझिएको छ, अहिले समय मिलाउन हरेक चिजले, उमेरले अप्ठ्यारो पारिराखेको छ। तर अहिले पनि इच्छा छ, यो क्षेत्रका बारेमा केहि गर्न पाए हुन्थ्यो। यसले कैयौ शैली दियो, बोल्ने शैलीहरु दियो हामीलाई। बोल्ने अनेक खालका भेदहरु, बोलीका शैलीका भेदहरु, संवादका भेदहरु, भाषा नभएको बेला कस्तो हुन्थ्यो होला मान्छेलाई? सुरु सुरुमा भाषा यो कुरा गर्दा खेरि कति मान्छेले दुःख गरेर यसको निर्माण गरे, यसका भेदहरु निर्माण गरे। लोक गीतमा यति राम्रा राम्रा खालका त्यो लयहरु छन् यहाँ भित्र। यति राम्रा, यहाँ मैले एउटा पूर्ण बन्धु सरको एउटा

“भोटाना बाध पढ्यो भन्दा मेरो लिखित चिल,

कहिले सह्य फटालालाई पैतालाको किल”….

कति राम्रा रस भरिएका गीतहरु छन्। बन्धुको किताबबाट लिएको, अब पूर्ण प्रकाशको,

“लस्कर जोड्या राजाले घुनशैलिका जसो, लस्कर जोड्या राजाले,

रोगण ढाल्या राजाले चित्रकारी जसो, रोगण ढाल्या राजाले।

डाको लाया राजाले पहरीको जसो, डाको लाया राजाले,

उफड मार्या राजाले गोर्ख्याको जसो, उफड मार्या राजाले।”

यो बालाराजा कासीरामको भारत, यिनले यहाँबाट गएर चौदण्डी र उता मोरङपोमा समेत गएर त्यहाँ आफ्नो चाहिँ लडाई गरेका थिए। बालाराजा कासीरामले, यो महाकाव्य, यिनका बारेमा एउटा महाकाव्य बनेको छ। हाम्रा यहाँका हरेक गीतले महाकाव्य जन्माइदिन सक्छ। त्यस्तो शक्ति छ यहाँ भित्र, तर हामीले खोजी गरेका छैनौ। हरेक लोक गाथाले एउटा एउटा महाकाव्य, जितारी मल्लका लोक गाथा, जसले काठमाडौँ देखि लिएर उहा सम्म गएर कर उठाएर लिएर आउथे। खस राजाहरु जो पृथ्वी नारायण शाह भन्दा अगाडी एकीकरण गर्न अनेक प्रयत्न गरे, तर टिक्ने बेलामा उनको टिक्न सकेन। तिनीहरुका बारेमा कैयन गाथाहरु छन्, हुड्केलीहरु छन्, भारतहरु छन्। यसबाट कैयन आधुनिक काव्यहरु जन्माउन सकिन्छ। आधुनिक काव्यहरुको जन्मदाता मध्ये लोक साहित्य पनि एउटा हो।  कैयन कथाहरु छन्, ‘लिखे टुकिनीका कथा’, ‘सुनकेश्राका कथा’ खै हामी तिनका बारेमा अझ धेरै गर्न सक्या छैनौ। हाम्रो साइमल शाहीको  गाथा, हामीले अझै खोज्न सकेका छैनौ। त्यसो भएर थुप्रै लोक गाथाहरु यहाँ भित्र छन्।

यहाँ मलाई बडो अनौठो लाग्छ कहिलेकाहीँ, हाम्रो भाषाको शक्ति हेर्दा। अब त्यो अहिले पनि हाम्रो यहाँ जसरी आफ्नो बोलीमा बोल्दा खेरि एक किसिमको आनन्द ‘अचि वाओ’ कति मजाले भन्छन् हाम्रो त्यतातिर। ‘कासी गइ मुख धोई आइ थि कि’ भन्छन्। टुक्खा-टुक्का, उखान टुक्काहरु १०१ एक उखान टुक्काहरु; ‘अतिकरलाई कालय ज्यानै ले लाई’ अरे क्या, उखान कस्तो छ? ‘अतिकरलाई कालय ज्यानै ले लाई’, ‘कहिले स्याला घाम-कहिले पाडा घाम’, ‘ढल्या रुखा टुप्पा पुग्दो’, ‘जैका छनछनी-उइका फनफनी’, ‘एक पुतको पुतालो हुनैन-एक आखाको अखालो हुनैन-एक भैसाको भैसालो हुनैन’, ‘काचा सुपारी कचपच-पाका सुपारी मुखलाक’ अनेक यस्ता त सैयौं रत्नकर देवकोटाको जुम्लेली उखान पढ्नु होला, कति चाहिँ उनको टुखान टुक्का थियो त्यसको बारेमा।

टुक्काहरु पनि त्यस्तै छन्। ‘कांचा आर्दा खाए जस्तो हुनु’ कतिले हामीले यहाँकाले त बुझ्छौ। ‘मलाई काचा आर्दा खाए जस्तो भयो’ केहि स्वाद न बेस्वादको भयो भने हुन्छ। कांचा आन्द्राको स्वाद हुदैन नि त। ‘नारा छार्नु’, ‘मनभरि जौतिल पाक्नु’, ‘अक्क न बक्क पर्नु’, ‘कालको डोरी’, ‘संगति पुडो भाग’, ‘मर्याउ स्याल जैथो’, यी यी टुक्काहरु  त्यस्तै छन् शक्तिशाली। अनि यहाँ गाउखाने कथाहरु ‘आफु काली-नाउ भने राति’ क्या हो? – ‘रात’। ‘यिउ त यिउ-यिउ टिप्न सय रुपैया दिउ’ क्या हो? -’छाया’। ‘जिंगालो जलिको-सुरको रइगो’ क्या हो? – ‘बन जलेको-बाटो रहेको’ । यस्ता थुप्रै थुप्रै खस भाषा र यसका दिदीबहिनी भाषा वरपरबाट थुप्रै छ। मेरो समय गएछ के गर्नेऽ म अब शिर्षक मात्रै भनेर टुङ्याइदिन्छु है।

त्यसपछि शब्द भण्डारको यसको खजाना छ, यहाँ थुप्रै शब्दहरु छन्। नेपाली भाषाको नियम विश्लेषणका लागि यसले चाहिँ कयौ आधार दिन सक्छ। ‘सुर्खेत लियौ र भैसा कति तिर्यौ सायर’ त्यो ‘लियौ र’ बाट नै ‘लियो र’, ‘लियौ र’ बाट ‘लिएर’ यही विकास भएछ के। नेपाली भाषाको व्याकरण बनाउनु  पर्यो भने यो थाहा पाउनुपर्छ। यसले खुलस्त गर्दिन्छ। विस्तार हुन सक्ने क्षमताले युक्त खसबोली बढेर जान सक्ने, अघि पनि मैले भनिसके यसको बारेमा। प्रकार्य वृद्धि गर्ने सामर्थ्य भएको भाषा, अनेक प्रकार्यहरु, अहिले हेर्नुभयो भने नेपाली भाषा अथवा कसको विकसित रुप, हेर्नुस संसारमा शिक्षा यसैले दिइराहेको छ, कानुन-प्रशासनको भाषा यही भइराखेको छ। विश्वविद्यालयमा पीएचडी सम्म यसैमा गरिन्छ। यति धेरै  प्रकार्यहरु रेडियो, टेलिभिजन, सामाजिक संजाल कहाँ प्रयोग गर्ने अहिले, त्यसो भएर सबै क्षेत्रलाई छुने गरि यसको प्रकार्य अथवा यसको कामहरु विकास भएको छ।

अन्तिममाः म निष्कर्ष थोरै पढ्छु र मेरो भनाइ अन्त्य गर्छु। नेपालको संविधानले नेपालमा बोलिने सबै भाषाहरुलाई राष्ट्र भाषाको मान्यता प्रदान गरेको छ। यस अनुसार कर्णाली प्रदेशमा बोलिने सबै बोलीहरु नेपालका राष्ट्रभाषा हुन्। यी मध्ये नेपाली भाषा संविधानबाट निर्धारित सरकारी कामकाजको भाषा हो भने ‘ढुट मगर’ कर्णाली प्रदेशको सरकारी कामकाजको भाषाका निम्ति भाषा आयोगको मापदण्ड अनुसार सिफारिस गरिएको अर्को भाषा हो। यसरी नै खस भाषा कर्णाली प्रदेशको मात्र नभइ राष्ट्रकै महत्वपूर्ण सम्पदाको भाषा हो। यिनका साथै यस प्रदेशमा अन्य रैथाने भाषाहरुको प्रकार्य वृद्धि गर्दै तिनको संरक्षण र विकास गर्न आवश्यक छ। भाषाहरु मानवका विशिष्ट आर्जन हुन् र कुनै पनि भाषा संसारबाट हराउनु हुदैन। यसका निम्ति सम्बन्धित भाषिक समुदाय, सचेत जनसमुदाय र सबै तहका सरकारको विशेष ध्यान जानु आवश्यक छ। धन्यवाद।

भिडियो

 

Leave a Comment