प्रस्तोता (हरिनारायण यादव): ऋति फाउन्डेसन द्वारा आयोजित कर्णाली उत्सवः कुडा कर्णालीका छैठौँ संस्करणको यस समारोहमा उपस्थित हुनुभएका हाम्रा आदरणीय वक्ताहरु र उपस्थित सम्पुर्ण सहभागीहरु, मित्र, आदरणीय दाजुभाईमा नमस्कार। खासमा यस्तो विषयवस्तु लास्ट यएर नै मेरो इच्छा थियो कि, गरौँ भन्ने सल्लाह पनि दिएको थिए मित्रहरुलाई, तर त्यतिबेला त्यो सम्चव नभएर यसपाली त्यसको पार्दुभाव हुदाँखेरी मलाई अति नै खुसी पनि लागेको छ र गौरवाम्वित पनि म भएको छु। हाम्रो उत्सव नै छ, विचारको उत्सव; कर्णालीलाई चिन्ने र चिनाउने सँगसँगै मधेशलाई पनि इन्टरलिङ्क गर्न सकिन्छ। किनकि कर्णाली भनेको मधेश बिनाको कर्णाली सम्भव छैन। हामी तपाई सबैलाई थाह छ कि विगत सयौँ वर्षदेखि तराई मधेशका शिक्षकहरु, गुरुहरु, प्राध्यापकहरु, इन्जिनियर सबै चाहिँ पहाडका कुना कुनामा गणित, ईङ्लिस, विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विधामा उहाँ चाहिँ शिक्षण गर्नुहुन्थ्यो। व्यापारीहरु पनि आएर यहाँ व्यापार गरेको रेकर्ड छ। तर संघीयता आएपछि पछिल्ला दिनहरुमा त्यो क्रम घटिरहेको छ, कारण के हो त आ-आफ्नै प्रदेशमा रोजगारको प्रचुर सक्भावनाहरु छ। त्यसले गर्दाखेरी कर्णाली गर्दा मधेशलाई पनि चिन्नुपर्छ र यसको भुमिका के छ? योगदान के छ? भन्ने हेतुले एकदम हामीलाई खुसी छ।
अब वक्ताहरु तिनजना हुनुहुन्छ हाम्रो, पुर्वमित्रले भनिहाल्नु भयो, सहप्राध्यापक डा. विनय कुमार दास, महोत्तरी जिल्ला उहाँको स्थायी घर हो। विगत ३५ वर्षेदेखि यस वीरेन्द्रनगर सुर्खेतमा उहाँले लिटेरेचर इङ्लिस साहित्य पढाउदै आइरहनु भएको छ। सम्भवतः उहाँका धेरै विद्यार्थीहरु, चेलाहरु तपाइहरुले यहाँ देख्न सक्नुहुन्छ। त्यस्तै श्रवण शर्मा हुनुहुन्छ, नेपाल राष्ट्रिय प्रा.वि बराहताल गाउँपालिकामा उहाँ प्रधानाध्यापकको रुपमा विगत १२ वर्षदेखी काम गर्दै आइरहनुभएको छ। उहाँको स्थायी ठेगाना सप्तरी हो। अर्को व्यापारको सिलसिलामा आउनुभएको छ, अर्जुन ठाकुर। उहाँ चाहिँ नेपाल नाई संघ, सुर्खेतको अध्यक्ष हुनुहुन्छ र उहाँको गृह जिल्ला महोत्तरी हो। उहाँहरुको लामो वर्षको अनुभव छ। अनि म आफै पनि यो ठाउँमा ३ वर्षदेखि अनुभव बटुल्ने प्रकृयामा छु। आजको यो सभा हेर्दाखेरी मलाई स्वरुपराज आचार्यको गीत गाउन मन लाग्यो। “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आधी आए तराईमा पहाडले छेक्नुपर्छ। होइन भने देशभक्ति छैन हाम्रो छातिभित्र, माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ।” यो गीतले एकदम प्रष्ट भनेको छ कि, नेपालको भौगोलिक विविधता र एकताको भावनालाई जोडेको छ र एकदम पारस्परिक सम्बन्ध छ।
यो सिलसिलामा “कर्णालीमा मधेश” भन्ने यो सेसनमा मैले आदरणीय विनय कुमार दास सरलाई पहिलो प्रश्न म सोध्न चाहन्छु। उहाँ विगत लामो वर्षदेखि शैक्षिक क्षेत्रसँग आवद्द भएको हुनाले, मधेश जहा उहाँको जिल्ला हो, कमसेकम ६०० किलोमिटर टाढा छ। मधेश आफैपनि उर्वर भुमि छ। त्याहाँ धेरै शहरहरु छन्, काम गर्ने ठाउँ धेरै थिए होला, हुदाँहुदै पनि यति कठिन ठाउँमा, अहिले पो जिकास भएको छ कर्णालीमा, तर कल्पना गर्नुहोस, ३५ वर्ष पहिला उहाँ आउदै गर्दाखेरी किन आउनुभएको होला? त्यति कठिन यात्रा, २ दिन लागेको होला सायद आउनलाई, के मोटिभेसन फ्याक्टर थियो त? मधेश प्रदेश छोडेर, छोडेर नभनौ, रोजगारीको सिलसिलामा यहाँ आउदाखेरी के छ त सरको मोटिभेसन फ्याक्टर? सरलाई मैले प्रश्न गरे।
विनय कुमार दासः धन्यवाद सर, म बिनय कुमार दास। २०४० साल वैशाख २३ गते म वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा प्राध्यापकको रूपमा म आए। म यहाँ आउँदाखेरि डिफ्रेन्ट सिचुएसन थियो। म त यहाँ आएँ, कसरी आउँछ मानिस त्यो चाहिँ महत्व हुँदैन। भाग्यले मानिसलाई कहाँ लैजान्छ मानिस त्यही जान्छ। अब म चाहिँ जो छ मैले कहिले पनि सोचेको थिएन कि म चाहिँ सुर्खेतमा आउँछु। तर यो वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा यस्तो सिचुएसन भयो कि, इङ्लिसको टिचरको आवश्यकता पर्यो। यहाँ त्यो जमानामा २०४७ सालमा अङ्ग्रेजीको टिचर थिएन। अनि पिताम्बर ढकाल सर चाहिँ त्यो बेला त्यहाँको प्रिन्सिपल वा क्याम्पस प्रमुख हुनुहुन्थ्यो। उहाँले चाहिँ मोहन कुमार कर्ण, तराईकै एउटा सरलाई भन्नुभयो कि, तपाई एउटा अङ्ग्रेजीको टिचर मधेसबाट लिएर आउनुस्। अनि उहाँ मेरो नजिकमा हुनुहुन्थ्यो। त्यसैले उहाँले मलाई एकदिन भन्नुभयो, तपाई सुर्खेत एकचोटी हिड्नुस्, तपाई इङ्लिसको टिचर हुनुहुन्छ, मलाई थाहा छ। तपाई अङ्ग्रेजीको टिचर हुनुहुन्छ र तपाई त्यहाँ सुर्खेतमा गएर चाहिँ त्यहाँ आफ्नो योगदान दिन सक्नुहुन्छ। मलाई चाहिँ यो कुरा राम्रो लाग्यो उहाँको र म यहाँ आए।
यसरी म सुर्खेतमा आए। केही दिन म पढाए, पढाएपछि चाहिँ यस्तो स्थिति भयो कि, विद्यार्थीहरूले मलाई चाहिँ अत्याधिक रूपमा इज्जत गरे। मेरो पढाइ सायद उनीहरूलाई राम्रो लागेका होलान्। त्यसैले उनीहरूले इज्जत गरे, त्यो इज्जतले गर्दा नै म यहाँ रहन पुगे । यो एउटा फ्याक्टर त्यही छ । यहाँ यस्तो सिचुएसन भयो कि मधेसबाट सरहरू आउनुहुन्थ्यो र गइहाल्नुहुन्थ्यो। यही कतै केही मानिसहरू मलाई भन्ने गर्थे, सर सबै सहरहरू त गइहाल्नुभयो, तपाई किन बसिराख्नु भएको छ यहाँ, मैले उनीहरुलाई जवाफ दिए कि,यो क्षेत्र पिछडिएको क्षेत्र छ। यदि सबैजना चाहिँ आफू-आफु यहाँबाट गइ नै दिन्छ भने यो क्षेत्रको वृद्दि र सुधार कसले गर्ने त? पिछडिएको मानिसलाई म सधैँ चाहिँ माथि उठाउन चाहन्छु। त्यसैले गर्दा म यहाँ बसिराखे र आज पनि यही सिचुएसन छ। विद्यार्थीहरूले जो मलाई इज्जत गरे, सम्मान गरे, त्यो चाहिँ मेरो लागि सबभन्दा ठूलो कुरा छ र यही मोटिभेसनल कुराले गर्दा म आजसम्म यहाँ छु र केही दिन अझै रहनेछु।
प्रस्तोताः धन्यवाद डाक्टरसाब, सरले आफ्नो क्वालिटीको बाबजुत र सुचनाको जानकारीले गर्दा यो ठाउँमा आएर मौका पाउनुभयो, ३५/४० वर्षदेखि काम गर्नुभयो। अनि सुन्नमा आएको छ कि, यो वर्ष नै उहाँको रिटायर्डमेन्छ हुदै छ। तर हामी सोच्दै गर्दाखेरी उहाँले आफ्नो जिवनकालको सारा यौवन अवस्थाका थुप्रै कर्महरु, सबै सेवाहरु, सबै यहाँ दिनुभयो। जादैँ गर्दाखेरी मैले बुझेअनुसार उहाँको व्यक्तिगत एउटा घर पनि छैन। अलिकति भावुक हुनुपर्छ यहाँ, उहाँ २०/२५ वर्षमै आउनुभयो र अब जीवनको उत्तरार्धमा जादै गर्दाखेरी यहाँका यालहरु, अनुभवहरु यहाँको, यो ठाउँको लागी त सबैले चिन्छन् तर कस्तो विडम्बना छ, जुन ठाउँमा उहाँ जानुहुन्छ, त्यो ठाउँमा फेरी उहाँ नयाँ नै हुनुहुन्छ होला। अब उहाँ त्याहाँको मान्छेले सर कहाँबाट आउनुभयो? उहाँ चाहिँ यहाँको मान्छे हो कि होइन भन्ने प्रश्न पनि गर्न सक्छन् र यो कहि न कतै भावुक कुरा हो। यो योगदानलाई पक्कै पनि कर्णाली प्रदेशले कदर गर्नेछ भन्ने मलाई लागेको छ। पुनः पनि सर कहा आउछु म।
अर्को श्रवण शर्मा सर, उहाँलाई चाहिँ मेरो प्रश्न, भर्खर अघिल्नो सेसनमा एकजना प्रस्तोताले भन्नु भयो कि, हाम्रो देशको ७ ओटा प्रदेशमध्य शिक्षाको गुणस्तर मधेश प्रदेश सबभन्दा तलबाट फ्रस्ट छ र कर्णाली प्रदेश चाहिँ दोस्रो छ। अब यसका यावत् कुराहरु होलान्, कारणहरु होलान्, त्यो हामी अहिले छलफल गर्न सक्दैनौ। तर शर्मा सरलाई मेरो प्रश्न के छ कि, ठ्याक्कै सातै प्रदेशमा हामी पछिल्ना लास्ट बाट फ्रस्ट र सेकेन्डको विद्यालय शिक्षालाई अलि गुणस्तर बनाउनको लागी तपाइको विचारमा के कति कठिनाई छन्? वा टपमा हामी जान सक्छौ कि सक्दैनौ? त्यसमा मधेश मुलका शिक्षकहरुको योगदान के हुन सक्छर? तपाइजस्ता सयौँ शिक्षकहरु यहाँ विद्यालय शिक्षामा मधेश प्रदेशबाट उहाँ आउनुभएको छ, सरको यसमा विचार पाउँ न।
श्रवण शर्माः धन्यवाद सर, सबभन्दा पहिला म यो ‘कर्णाली उत्सव: कुडा कर्णालीका’ मा आज यो आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम, यो उत्सव सञ्चालन गर्नमा सहयोग पुर्याइदिनु भएका विभिन्न संघसंस्था हरु, सरकारी, गैरसरकारी संघसंस्थाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। साथै यहाँ उपस्थित हुनुभएका बुवाआमा, दिदी, दाई, बहिनी, भाइ तथा विभिन्न क्षेत्र सेक्टर बाट आउनुभएका, पाल्नुभएका कर्मचारी वर्गहरूमा मेरो न्यानो नमस्कार टक्र्याउन चाहन्छु। सरले प्रश्न धेरै राम्रो सोध्नुभयो, योभन्दा अगाडि विभिन्न ठाउँमा हाम्रो तराई मधेसका शिक्षक, गुरुवर्गहरूले सेवा गर्नुभयो, त्यो चाहिँ मलाई पनि अवगत छ। यहाँ उहाँहरुले धेरै कुरा सिकाउनुभयो, सिक्नुभयो र विद्यार्थीहरूलाई, सिकारुहरूलाई माया, ज्ञान साथसाथै उज्ज्वल भविष्यको बाटोमा डोर्याउनु भयो। म २०७२ साल मङ्सिर २ गतेतिर यो सुर्खेत आएको थिए। त्यहाँबाट यही श्री नेपाल राष्ट्र प्राथमिक विद्यालय, स्याउले जुन बराहताल-७, सुर्खेतमा अवस्थित छ, त्यहाँ म अहिले प्रधानाध्यापकको रुपमा काम गरिरहेको छु।
हाम्रो यो कर्णाली प्रदेशमा मैले शिक्षा क्षेत्रमा देखेको, गरेको, भोगेको अनुभूतिहरू संक्षिप्तमा मैले भने। सबभन्दा पहिला म आफ्नै विद्यालयबाट सुरु गर्छु। म बस्ने ठाउँमा प्राय दलित र जनजातिहरूको बस्ती बढी भएको छ। त्यहाँ विद्यार्थीहरूमा सकारात्मक भावना विकासको निम्ति विभिन्न संघसंस्थाहरू आएर हामीलाई सहजीकरण गरिदिनुभएको छ। आज पहिलाको भन्दा हाम्रो विद्यालय चाहिँ अहिले धेरै राम्रो भएको जस्तो मलाई लागिरहेको छ। यसमा हाम्रो बराहताल गाउँपालिका, कर्णाली प्रदेश सरकार, अन्य संघसंस्थाहरू, भातृ संगठनहरू पनि हामीलाई धेरै सहयोग पुर्याइरहनुभएको छ। अनि विद्यार्थीको सिलसिलामा भन्दा, शिक्षालाई गुणस्तर बनाउनका निम्ति हामीले सबैभन्दा पहिला विद्यालयको प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अनि शिक्षक अभिभावक संघ गरी यी तीन समितिहरू, प्रतिनिधिहरू र शिक्षक स्टाफको सबभन्दा धेरै बढी भूमिका देखिन्छ। किनभने, प्र.अ ले मात्रै विद्यालय राम्रो बनाउन सक्दैन। त्यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ अर्थात् अन्य सरकारी संघसंस्थाहरू, अभिभावकहरू सबैको अहम भूमिका हुनुपर्छ। त्यसमा बढी भूमिका खेल्नुपर्ने कुरा हेर्दाखेरि प्रधानाध्यापकको देखिन्छ।
अब विद्यालयको हाताभित्र के भइराछ? विद्यार्थीहरू हाम्रो राम्रो ज्ञान, शिप, शिक्षा विद्यार्थी भाइबहिनीहरूले इच्छाएको, रुचि गरेको शिक्षा चाहिँ शिक्षकहरूले प्रदान गरिरहेको छ कि छैन? हाम्रो प्रशासन कस्तो छ? अनुशासन विद्यार्थीहरूमा कस्तो छ? यी सम्पूर्ण कुराहरूको जिम्मा प्रधानाध्यापलाई हुन्छ। त्यही समन्वय विद्यालय व्यवस्थापन समितिसँग, शिक्षक अभिभावक संघको समितिसँग, अभिभावकहरूसँग मोटिभेशन गरिरहनुपर्छ। यसमा अहिले हाम्रो विद्यालयमा अर्थात् बराहतालका प्रायजसो धेरै विद्यालयमा बराहताल गाउँपालिकाले लगाएका नीति नियमले गर्दा विद्यार्थीहरू चाहिँ अहिले धेरै राम्रो देखिएको छ। प्रभाव पनि राम्रो छ र विद्यार्थीहरूको गुणस्तरीय शिक्षाको लागि सबभन्दा पहिला अभिभावक चनाखो हुनुपर्छ मेरो विचारमा, किनभने, विद्यालय विद्यार्थीलाई पठाउने भयो, विद्यालयमा विद्यार्थी पढ्यो कि पढेन, होमवर्क पायो कि पाएन, कुन सर अब्सेन्ट हुनुभयो, नियमित छ कि छैन, शिक्षकहरू नियमित छ कि छैन, यदि भएन भने त्यो कुरा कुनै मिटिङहरूमा गएर समन्वय गर्ने, के कस्तो समस्याहरू छ, विद्यार्थीहरूको त्यो बुझ्ने, त्यस्तो प्रक्रिया अपनायो भने हाम्रो शिक्षा बलियो चाहिँ हुन्छ जस्तो मलाई लाग्छ, धन्यवाद।
प्रस्तोताः धन्यवाद शर्मा सर, अहिले विश्व चाहिँ ग्लोवल मार्केट छ। कुनै पनि देशको नागरिकलाई कुनैपनि देशमा जान, आउन, व्यवसाय गर्न, आफना इनोभेसनका चिजहरु बनाउन रोकतोक गर्दैन। किनकी अहिले नलेज ठुलो कुरा हो। अब कर्णाली प्रदेश र मधेशको अन्तरसम्बन्ध छ, यहाँका कृषिका उपनहरु तराईमा जाने र तराईका उत्पादन भएका खाद्य वस्तुहरु पहाडमा आउने छदैँ छ। त्यसका अलबा आर्थिक पनि सम्बन्ध छ, राजनितिक सम्बन्ध छ, सामाजिक सम्बन्ध छ, शैक्षिक सम्बन्ध छ। कर्णाली प्रदेशका विद्यार्थीहरु मधेश प्रदेशमा लोकसेवा पास गरेर जब गर्न सक्छन्, उताका मान्छेहरु यता आएर निजामतिमा,स्वास्थ्य सेवामा, शिक्षणमा आबद्द हुन सक्छन्। तर यहिँ दौरानमा खासमा मधेश प्रदेशको नागरिकलाई जसको आफ्नै भेषभुषा छ, आफ्नै बोली व्यवहार छ, आफ्नै तौर तरीका छ, आफ्नै संस्कार छ। यस्तो किसिमको मान्छेलाई कर्णाली प्रदेशमा कुनै उद्योग,कलकारखाना, व्यवसाय गर्नको लागी के कति समस्या कठिनाई छ? वा तपाईले बुझ्नुभएको छ र त्यसको समाधान के हुन सक्छ? भनेर मैले अर्जुन ठाकुर सरलाई प्रश्न गरे।
अर्जुन ठाकुरः धन्यवाद सर,सर्वप्रथम कर्णाली उत्सव टीम सबैलाई मेरो तर्फबाट धन्यवाद र यहाँ बोल्ने मौका दिनुभएकोमा विशेषगरी कमल सरलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ उपस्थित सबैमा मेरो तर्फबाट नमस्कार र अविवादन छ। म २०४६ सालमा यहाँ सुर्खेत भित्रिएको हो। मेरो काका चाहिँ २०४५ सालमा राजाको सवारी हुनुभन्दा अगाडि आउनुभएको थियो। अनि काकाको पछाडि लागेर म २०४६ सालबाट यही रेगुलर म आफ्नो पेशामा निरन्तरता दिइरहेछु। यहाँको मानिसको विकासको कुरा गर्नुहुन्छ भने एउटा पनि कालोपत्र यहाँ थिएन सुर्खेतमा। मान्छेले भन्छन्, विकास-विकास विकास भएको छैन, तर मेरो विचारमा चाहिँ सुर्खेत लाग्छ कि, मलाई स्वर्ग जस्तो लाग्छ, पहिलेको अवस्था हेरेर हैन, बाटोघाटो यता देखेर, तर मलाई यहाँको सबै कुराले गर्दा एकदम मानिसहरू, वातावरण सबै एकदम मजाको छ। मलाई पनि माया गर्छ र म पनि यहाँको मानिसहरूलाई र यहाँको ठाउँलाई म माया गर्छु। किनभने, रेगुलरमा २०४६ सालबाट यहीँ बसिरहेको छु। त्यहीभएर सबै यहाँ मलाई राम्रो लाग्छ। हैन सर, म त्यहीभएर म २०४६ सालबाट यही काम गरिरहेको हो।
प्रस्तोताः धन्यवाद ठाकुर सर,अब म डाक्टर सर कहाँ आएँ, सरको लामो अनुभव छ। कर्णाली र मधेसको बीचमा संस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक सम्बन्धलाई एउटा सर चाहिँ उच्च शिक्षामा आबद्ध भएको हुनाले यसको अन्तरसम्बन्धलाई कसरी नियाल्नुभएको छ?
विनय कुमार दासः यहाँ मधेश प्रदेश र कर्णाली प्रदेशको शैक्षिक अवस्थालाई म पहिले चाहिँ केलाएर हेरेँ। सरहरूलाई चाहिँ म दुईतिरका शैक्षिक अवस्था के-कस्तो छ, त्यसपछि हामी सांस्कृतिक अवस्थातिर आउँछौ र क्रमश चाहिँ आर्थिक अवस्थाहरू इत्यादि अरुको पनि चर्चा म गर्नेछु। यो सबैभन्दा पहिले शैक्षिक अवस्थाको चाहिँ कुरा गर्दाखेरि मधेश प्रदेश र कर्णाली प्रदेशको शैक्षिक अवस्था डिफरेन्ट किसिमको अवस्था छ। मलाई यहाँ सुर्खेतमा आउँदाखेरि म यो पिछाडबाट प्रेरित भएर आएको थिएँ, कि यहाँका व्यक्तिहरूको शैक्षिक अवस्था र अरु अवस्थाहरूलाई सुधार्छु, यहाँ पिछडिएको ठाउँ छ र पिछडिएका ठाउँलाई म बनाउने छु भन्ने विचारले म यहाँ आएँ। तर यहाँ मैले चाहिँ के हेरे, शैक्षिकमा अवस्थामा उताको स्थितिभन्दा यताको स्थिति डिफरेन्ट भयो। यहाँका विद्यार्थीहरूमा के छ, पढ्नेतिर ज्यादा इन्ट्रेस्ट देखिँदैन। उता मधेशमा विद्यार्थीहरू फुल टाइम स्टडी गर्दछन्। तर यहाँ कर्णाली प्रदेशमा विद्यार्थीहरू अहिले पनि पार्ट टाइम नै स्टडी गर्दछ। यो फरक छ उता र यतामा।
मेरो नै छोराहरू छन्। एक,त त्यहाँ पैसामा पनि कतै काम गरिरहेको छैन, टोटल्ली उसको चौबीसै घण्टाको समय अध्ययनमा बित्दछ। तर यहाँ म त्यो हेर्दैन, यसलाई मैले अलिकति चाहिँ बहुत मलाई यसको लागि खेद छ, कि यहाँका विद्यार्थीहरू शैक्षिक अवस्थालाई ठिकसँग बुझ्न तयार छैन, कि उनीहरूको वातावरण नै यस्तै छ। फरक चाहिँ मैले हेर्छु, यो शैक्षिक अवस्थामा यसरी। उता फुलटाइम स्टडी गर्छन्, यहाँ अहिले पनि पार्टटाइम नै स्टडी गरिरहेका छन्। यही डिफरेन्ट छ। अब यसबाट तराईबाट चाहिँ यहाँका विद्यार्थीहरूले केही शिक्षा, केही पाठ सिक्ने हो भने उता गएर हेर्नुपर्छ। शैक्षिक अवस्थाको यो अवस्था मैले डिफरेन्ट हेरीरहेको छु, आफ्नो जुन कुराहरू पनि राख्छु।
म हृदयले बोल्छु, म हृदयले आफ्नो कुरा राख्छु। यो कुरा तपाई चाहिँ बुझ्नुस्। अब सांस्कृतिक अवस्थामा हेर्दाखेरि चाहिँ के हुन्छ, तराईको र यहाँ कर्णाली प्रदेशको संस्कृतिक अवस्था लगभग-लगभग सेम छ। हामी न यताउतामा केही फरक पाउदैनौँ। यहाँ चाहिँ ठिक ठिकै अवस्था छ र सबभन्दा राम्रो यहाँ जो छ, जुन जियोग्राफिकल अवस्था
छ यहाँको, भौगोलिक अवस्था यहाँ राम्रो छ। यहाँ सुर्खेतको भौगोलिक अवस्था मलाई सबभन्दा राम्रो नेपालभरिमा नै सबभन्दा राम्रो लाग्छ। यहाँको वातावरण समसितोष्ण छ। यहाँ न धेरै जाडो छ, न धेरै गर्मी छ। काठमाडौँमा चाहिँ ज्यादा जाडो भइहाल्छ र तराईमा ज्यादा गर्मी भइहाल्छ। यो दुवै कुराले गर्दा यो सुर्खेत एकदम राम्रो देखिन्छ। यो जियोग्राफिकल दृष्टिकोणबाट सबभन्दा बेस्ट फर्टाइल भूमि सुर्खेत नै हो।
आर्थिक दृष्टिकोणले हेर्दाखेरि सुर्खेतका मानिसहरू र यो कर्णाली प्रदेशका मानिसहरू मलाई लाग्छ, अलि बढी सम्पन्न छन्। मधेशतिरका मानिसहरू त्यति सम्पन्न छैनन्, यो म भन्दछु। त्यहाँ तपाईहरू चाहेमा मधेशका मानिसहरू काठमाडौँमा हेर्नुस्, कति दिनहिन अवस्थामा देखा पर्दछन्। मधेशको आर्थिक अवस्था र कर्णाली प्रदेशको आर्थिक अवस्थामा मलाई चाहिँ के हुन्छ, कर्णाली प्रदेशका मानिसहरू पनि आर्थिक अवस्थामा राम्रो देखिन्छन्। अरु कुन अवस्था छ, त्यसमा शैक्षिक अवस्था, सांस्कृतिक अवस्था, भौगोलिक अवस्था, अब राजनीतिक अवस्थामा चाहिँ के छ? मलाई फेरि सुर्खेतको फेभरमा बोल्न बाध्य हुनुपरेको रहेछ। सुर्खेतमा म धेरै खुसी छु की, यहाँको राजनीतिक अवस्था अत्याधिक राम्रो मिलनसार छ,अत्याधिक राम्रो छ। चाहे जुनसुकै पनि पार्टी, २०४६/०४७ सालदेखि यहाँ जो बहुदल आइसकेको थियो, त्यो बेलामा भर्खर भर्खर बहुदल आएको थियो। मैले हेरे कि, सुर्खेतमा अहिले पनि जति राजनीतिक पार्टीहरू छन्, त्यो सबै पार्टीहरूमा एउटा चाहिँ मिलनसारता, कोर्डिनेसन छ, एकले अर्कालाई सपोर्ट गर्दछन् यहाँ।
विश्वविद्यालयकै कुरा हेरौ भने, नेपाली कांग्रेसले पनि विश्वविद्यालयलाई बनाउँछ, एमालेले पनि बनाउँछ, माओवादीले पनि विश्वविद्यालयलाई बनाउँछन्। सबैले बनाउन मन लगाएका छन्। तर यही विश्वविद्यालय जन्मेको दिन मधेशमा पनि, जनकपुरमा पनि राजर्षी जनक विश्वविद्यालय खुल्यो। सेम डे जुडुवा भाइहरू हुन् दुबै र त्यहाँ चाहिँ विकास हुन सकेन। किन त भन्दा, त्यहाँका राजनीतिक पार्टीहरूमा एकता छैन। यहाँ अहिले पनि म हेर्छु कि, ठूलो एकता छ, सारा सुर्खेत चाहिँ जो छ, यो नेपालको टप नम्बरको क्षेत्र बन्न गएको छ। एक नम्बरको छ, काठमाडौँलाई पनि पन्छाइदिएछ। त्रिभुवन युनिसिटीलाई पनि यहाँको विश्वविद्यालयले पन्छाइदिएको छ। भौतिक पूर्वाधार हेर्ने हो भने काठमाडौँको छैन त्यति, जति यहाँको विश्वविद्यालयको छ। यो किन भयो त भन्दा, राजनीतिक अवस्थाले गर्दा हो। यहाँका राजनीतिज्ञहरू धेरै नै राम्रो ढङ्गले सबै पार्टीहरूले मिलेर कोर्डिनेसन बनाएका छन् र त्यसले गर्दा यहाँको राजनीति अवस्था मलाई मधेशको राजनीतिक अवस्थाभन्दा धेरै राम्रो लाग्दछ। यही मेरो विचार छ, त मधेशको अवस्था चाहिँ, त्यहाँ राजनीति राम्रो छैन, यहाँ धेरै राम्रो छ।
प्रस्तोताः धन्यवाद डाक्टर साब्, अब म फेरि शर्मा सर कहाँ गए, प्रधानाध्यापक सर कहाँ। तराई मधेशबाट विशेषत शिक्षासँग सम्बन्धित क्षेत्रमा काम गर्न आउँदाखेरि के कति विभेद, स्नेह, माया पाउनुभएको छ? अझ मधेश मूलका सरहरू, शिक्षकहरू यहाँ कर्णालीमा काम गर्दैगर्दाखेरि उहाँहरूको पारस्परिक सम्बन्धलाई कसरी सुढृढ गर्न सकिन्छ? हजुर पनि डेढ दशकदेखि यहाँ हुनुहुन्छ, यसो यस विषयमा विचार पाउँ न।
श्रवण शर्माः धन्यवाद सर,अब यो प्रश्नमा के भन्न खोजे त भन्दा, म करिब १०/११ वर्षदेखि यहाँ सेवारत छु। यहाँका मानिसहरूको वातावरण, शिक्षा क्षेत्रमा होस्, स्वास्थ्य क्षेत्रमा होस् वा विभिन्न क्षेत्रमा मैले धेरै मिलनसार पाए। किनभने म पनि एउटा मगर समुदायमा बसिरहेछु। त्यहाँ कस्तो छ भने, मलाई यो फिलिङ आउँदैन कि, मेरो घर सप्तरीमा मात्र छ, यहाँ छैन। विद्यार्थी भाइबहिनीहरूले केही समस्या भयो भने, जतिबेला पनि सर कहाँ हुनुहुन्छ? एकछिन आउँछु म, मलाई यो सिकाइदिनुहोला,भनेर भन्छन्। म प्रा.वि स्तरको प्र.अ हो, तर म ९/१०, ११/१२ को पनि इङ्लिस पढाउछु। त्यो समाजमा भएका विद्यार्थीहरूलाई केही अप्ठ्यारो समस्या पर्यो भने म सेवा गर्छु। अझ पनि यसमा कस्तो छ भन्दाखेरि, विद्यार्थी भाइबहिनीहरूले केही समस्या भयो भने आउने, केही अर्को वेडिङ, एनिभर्सरी, अरु विभिन्न इभेन्टहरूमा मलाई बोलाउने, माया गर्ने, माया त तराई भन्दा म धेरै सुर्खेतमा पाइरहेको छु। विभेद मैले चाहिँ देखिन आजसम्म है।
अर्को यसमा अरु कुरा के छ भने, सबै शिक्षकहरूले के बुझ्नुपर्यो भने, म विद्यालयमा मात्र शिक्षक होइन, म जहाँ गएपनि म एउटा शिक्षक हो, भनेर यो भावना चाहिँ राखिरहनुपर्ने हुन्छ। किनभने, शिक्षक भनेको समग्र विषयहरूबाट ज्ञान आर्जन गरेर आफ्नो विद्यार्थीहरूलाई सिकाउनु महत्वपूर्ण एउटा कुरा देखिन्छ। शिक्षकमा हुने सबै ज्ञान हुन्छ। एउटा सानो बच्चालाई राम्रो बाटोमा लग्ने प्रथम भूमिका एउटा शिक्षक को नै हो। त्यही भएर शिक्षक हुनु भनेको धेरै राम्रो तथ्य म मान्छु। विद्यार्थीहरूमा भएका समस्या, अन्य सिकारुहरूमा भएका समस्याहरूलाई समाधान र निराकरण गर्ने एउटा शिक्षक नै हो। अर्को कुरा मैले के भन्न खोजे भने, विद्यार्थी भाइबहिनीहरूलाई हामीले सधैँ राम्रो ज्ञान, सिप विकास चाहे शैक्षिक गतिविधिको होस्, कि स्वास्थ्यतिरको होस्, विभिन्न सेक्टरहरूको ज्ञान तिनीहरूलाई सानैबाट दिनुपर्ने अवस्था हुन्छ।
मधेशबाट धेरै शिक्षकहरू यहाँ आउनुभयो, पढाउनुभयो, कति सरुवा भएर जानुभयो, कति रिटायर भएर जानुभएको छ, कति बस्नुभएको छ, त्यो मध्य एउटा म पनि हो। म यही एम.यु बाट चाहिँ मास्टर डिग्री अहिले भर्खरै मेजर इङ्लिसमा गरे। अनि त्यसपछि मलाई त्यही गाउँको मान्छेहरूले सर हजुर आफ्नो घरतिर जानुहुन्न? सबै सरहरू जानुभयो, तपाई किन बस्नुभएको छ? भनेर सोध्ने गर्दछन्। अनि म मा.वि को तयारी पनि गरिरहेको छु। आफ्नो अध्ययन पनि निरन्तर छ। तर मलाई यो सुर्खेतभन्दा बराहताल छोड्न मन लागिरहेको छैन, किन होला भन्ने कुरा म आफै बुझ्न सकिरहेको छैन। माया प्रेम, म कुनै काजमा एकदिन सुर्खेत वीरेन्द्रनगर आए भने, अभिभावक, समिति सम्पूर्ण मान्छेहरूले मलाई फोन गरेर सर कहिले आउनुहुन्छ? कहाँ जानुभयो? भनेर यति माया र स्नेह पाएको छु । त्यही भएर मैले विभेद चाहिँ यहाँ देखिन जस्तो मलाई लाग्छ।
प्रस्तोताः धन्यवाद शर्मा सर, अब म लास्टमा डाक्टर दास सर कहाँ आउछु। सरले लामो समय प्राध्यापन गर्नुभयो, तपाईजस्तै प्राध्यापन फिल्डमा काम गर्ने अन्य सरहरूको लागि कर्णाली प्रदेश सरकारले वा स्थानीय सरकारले वा यहाँको लोकल समाजले उहाँहरूको योगदानलाई कदर गर्नको लागि के गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ? सरको कुनै एउटा सुझाव छ भने यसो भन्दा हुन्छ।
विनय कुमार दासः ठिक छ धन्यवाद, म त चाहिँ अब धेरै वर्षदेखि यहाँ पढाए। मैले कुनै पनि प्रकारको इच्छा राखेको छैन। मेरो कुनै इच्छा आफ्नो छैन कि, मेरो लागि होस्, त्यो होस्, यो पाउँ, त्यो पाउँ, मेरो इच्छा कहिले पनि रहेन। तर चाहिँ के छ त भन्दा, मधेसबाट यहाँ आएका जो हाम्रा सरहरू हुनुहुन्छ, विभिन्न व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको गुणको पहिचान यहाँका विद्यार्थीहरू, यहाँका समाजहरूले बुझेको हुनुपर्छ। त्यो अनुसार तिनीहरूको अलिकति कदर गरिदिनुपर्छ, उनीहरूको सम्मान गरिदिनुपर्छ। उनीहरूको जो सम्भावना आउँछन्, त्यो सम्भावनालाई राम्रो ढङ्गले प्रस्फुटित हुन दिनुपर्दछ। न कि उनीहरूलाई सप्रेस गर्नुपर्दछ, सप्रेस नगरेर उनीहरूलाई प्रस्फुरित हुन दिनुपर्यो। ताकि उनीहरूको पनि भविष्य राम्रो हुन सकोस् र यहाँका मानिसहरूलाई उनीहरूले सही ढङ्गले राम्रो तवरले सेवा गर्न सकुन्।
त्यसैले यहाँको प्रदेशको सरकार, यहाँका स्थानीयवासीहरूले यहाँ आउने र आएका सरहरूको चाहिँ राम्रो गुण सम्झेर, गुण बुझेर उनीहरूको कदर गर्नुपर्छ। नत्र उनीहरूको नत जस्टिफाई हुनेछ उनीहरूको सेवाको, न यहाँका मानिसहरू त्यसबाट केही बढी फाइदा लिन सक्छन्। मैले यहाँ बसिहाले, मैले विद्यार्थीहरूलाई फाइदा दिए, सिर्फ एक कारणले गर्दा, त्यो हो विद्यार्थीले मलाई धेरै इज्जत र सम्मान गरे। यही पनि विद्यार्थीहरू धेरै छन्, जो इज्जतको नजरले मलाई सदैव हेर्दै आएका छन्। गार्जिएनलाई पनि ती विद्यार्थीहरूले भने, हाम्रा फलाना सर यस्तो हुनुहुन्छ, उस्तो हुनुहुन्छ र गार्जिएन स्वयंले मलाई यसरी भन्नुभयो, मेरा छोराले तपाईको बारेमा यस्तो भन्छन्, मलाई त्यो कुरा एउटा हो, जसले गर्दा म यहाँ बसिहाले। यसरी म सम्मान पाए विद्यार्थीबाट, मैले यही आफ्नो लागि सबैभन्दा ठूलो पारितोषिक सम्झन्छु। तर यहाँ आउने जो हाम्रा मधेश प्रदेशबाट सरहरू हुनेछन्, तिनीहरूको चाहिँ सही ढङ्गको मूल्याङ्कन गरिदिनुपर्छ। नत्र चाहिँ न त यहाँका मानिसको फाइदा हुनेछ, न त उनीहरूको कोही फाइदा हुनेछ।
प्रस्तोताः धन्यवाद डाक्टर साब, स्वभाविक रूपमा विद्यादान भनेको सबैभन्दा ठूलो दान हो, श्रम हो, सेवा हो, यसलाई हामीले कहिले पनि नजरअन्दाज गर्न सक्दैनौँ। अब अन्तमा; यो छलफलको मैले निष्कर्ष के निकाले त भन्दा, कर्णाली र मधेशको सम्बन्ध सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक रूपमा गहिरो छ। दुवै प्रदेशले एकअर्कामा परिपूरक भूमिका खेलेका छन्, खेल्नुपर्छ। यसमा सबै सजग हुनुपर्छ। यद्यपि भौगोलिक, पूर्वाधार र राजनीतिक असक्षमताका कारण केही चुनौतीहरू रहँदै आएका छन्। यी सबैमाथि विजय प्राप्त गर्दै विकसित कर्णाली बनाउनुपर्छ। यसमा मधेशले पनि ठूलो योगदान दिन सक्छ, योगदान पनि छ।
यति भन्दै मैले वक्ता सरहरूको मन्तव्यलाई यहि टुङ्ग्याउँछु र अब सहभागीहरूमध्ये टाइम पनि ढिलो भइसकेको हुनाले बढीमा तीनजनाको कुनै प्रश्न, टिप्पणी, सुझाव हाम्रो विषयसँग सम्बन्धित छ भने भन्दा हुन्छ। हात उठाएर प्रश्न गर्नुहोला। छैन सायद, लागिरहेको छ मलाई, ठिक छ, धन्यवाद सम्पूर्ण अतिथि सरहरूलाई यति साँझको समयसम्म पनि आरामले कुरेर हाम्रो ‘कर्णालीमा मधेश’ भन्ने विषयमा छलफलमा सहभागी हुनुभएका तमाम यो उत्सवमा आउनुभएका ‘कुडा कर्णालीका’ उत्सवमा सहभागी सम्पूर्ण अतिथिगण र सहभागी मित्रहरूलाई हार्दिक नमस्कार गर्दै यो सेसन यही अन्त्य भएको घोषणा गर्दछु। धन्यवाद नमस्कार, सबैको जय होस्।
कार्यक्रम सन्चालक(तिलक पौडेल): हवस् धन्यवाद, ‘कर्णालीमा मधेस’ सत्रका सहजकर्ता इन्जिनियर हरिनारायण यादव (उपप्रध्यापक), वक्ताहरूः डा.विनयकुमार दास(सहप्राध्यापक, मध्यपश्चिम विश्वविद्यालय), श्रवण कुमार शर्मा (प्रधानाध्यापक, श्री नेपाल राष्ट्रिय प्रा.वी, स्याउले- बराहताल सुर्खेत, अर्जुन ठाकुर (अध्यक्ष, नेपाल नाई संघ, सुर्खेत) उहाँहरूलाई नासो प्रदान गरीदिनुहुनको निम्ति म कर्णाली उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालज्यू लाई हार्दिक अनुरोध गर्दछु। उपस्थित महानुभावहरू, अब हामी “कर्णाली कन्सर्ट” अन्तर्गत सांस्कृतिक साँझमा प्रवेश गर्दैछौ।
कर्णाली उत्सवको छैटौँ संस्करणमा प्रबधकको रूपमा कर्णाली प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, आयोजक सहर वीरेन्द्रनगर नगरपालिका, समन्वय गर्ने कर्णाली प्रदेश योजना आयोग, मध्यपश्चिम विश्वविद्यालय, समृद्धि फाउन्डेसन, सहकार्य गर्ने वैदेशिक रोजगार बोर्डको सचिवालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय -कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय- कर्णाली प्रदेश सरकार, गुर्भाकोट नगरपालिका -सुर्खेत, लेकबेसी नगरपालिका -सुर्खेत, बराहताल गाउँपालिका -सुर्खेत, गुराँस गाउँपालिका- दैलेख र मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
