समाजमा सधै“ संघर्ष हुन्छ। विभिन्न वर्ग, लिङ्ग, जातजाती, क्षेत्र आदिका मानिसले एकै समयमा विभिन्न प्रकारका विभेद भोगिरहेका हुन्छन्। यही सवालमा कुरा गर्न कर्णाली उत्सवको पाँचौं संस्करणको तेस्रो दिन समाज र संघर्ष सत्रको आयोजना गरिएको थियो। उक्त छलफलमा समाजसेवी महिलाहरू टीका बुढाथोकी, ममता नगाल, पवित्रा शाही र मञ्जु सुनारले भाग लिएका थिए। पत्रकार मनिषा केसीले सत्रको सहजीकरण गरेकी थिइन्।
समाजका धेरै विशेषता हुन्छन् । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा पुरुषको जस्तै महिलाको समान विकास असम्भव छ । त्यसका लागि महिलाले धेरै नै संघर्ष गर्नुपर्छ । आफू स्थापित हुन वा आफ्नो अस्तित्व कायम गर्न तथा आफ्नो स्वतन्त्रता मर्यादाका लागि सबैले निरन्तर संघर्ष गर्नैपर्छ ।
म विद्यालय पढ्दाताका धेरै छोरीले पढ्न पाएका थिएनन् । मलाई मेरो विद्यालयका हेडसरले उतिबेला भनेको कुरा अहिले पनि सम्झना छ– तिमी ठूलो भएपछि तिम्रो आफ्नो वर्गको लागि बोल्नुपर्छ है । त्यो स्वाभाविक थियो किनभने महिलालाई हेर्ने दृष्टिकोण फरक थियो । श्रीमतीलाई पिटेपछिमात्रै पुरुष मर्द हुन सक्थे । नत्र नामर्द । समाजले नै त्यसलाई स्वीकाथ्र्यो । यी सबै देख्दा भोग्दा मैले समुदायका लागि काम गर्नुपर्छ भन्ने सोचेँ । २०४६ सालमा एसएलसी पास गरिसके पछि समुदायमा महिला उत्प्रेरक भएर काम गरेँ ।
त्यतिबेलाको एउटा घटनाले मलाई धेरै नमजा भयो । त्यो के भने– २० वर्षकी एक महिला बन्ध्याकरण गर्न आउनुभयो । उहाँका तीन वटा बच्चा थिए । तर उहाँको पाठेघर खसेकोले बन्ध्याकरण हुन सकेन । उहाँ रुँदै डाक्टरको कोठाबाट बाहिर निस्किनुभयो । उहाँ लगायत अन्य महिलाहरूका कुरा सुन्दै गएपछि समाजमा धेरै नै विभेद रहेको थाहा पाएँ । महिला र बालबालिकालाई समाजले आश्रित समूहमा राखेको पाएँ मानौँ उनीहरू केही गर्न सक्दैनन् ।
महिलाले अधिकार खोज्ने हो भने पनि बढी किन चाहियो भन्ने पुरुष स्वर सुनिन्छ । महिलाका धेरै सीमा तोकिएका छन् । पुरुषलाई यस्तो सीमा हुँदैन । सभ्य समाज निर्माणका लागि समानता जरुरी हुन्छ । महिला पुरुषको समान अस्तित्व र समान मर्यादा कायम हुनु जरुरी छ । अहिले पनि हामी छोरी जन्माउन चाहँदैनौँ । छोरीको भ्रुणहत्या भइरहेको छ । छोरी जन्माएको भनेर महिलालाई घरबाट निकाला गरिएका छन् । बहुविवाहका कारण पनि महिला नै पीडित भएका छन् । छाउगोठको अभ्यासले पनि महिलालाई अपमानित बनाएको छ ।
यी र यावत् महिलाका समस्यालाई सम्बोधन गर्न तथा महिला स्वतन्त्रता स्थापित गर्न धेरै महिला दिदिबहिनीको योगदान रहेको छ । यद्यपि, आमाको नामबाट नागरिकता जारी गर्नमा समस्या छ । शिक्षामा महिला पछि परेका छन् । अत हामी सबैको संघर्ष जरुरी छ ।
समाजमा रहेका सबै विभेद शक्ति र सत्ताका आधारमा बनेका हुन् । अतः सभ्य समाज निर्माणका लागि सबैको अपनत्व भएको राज्य हुनु जरुरी छ । महिला हिंसा मुक्त समाज निर्माण गर्नकै लागि मैले मेरो जीवन समर्पित गरेको छु । महिलाको जीवन सम्मानित हुन सकेमात्र हामी सभ्य हुन सक्छौँ ।
यसका लागि हामीले सबैभन्दा पहिला गाउँ समाज र समुदायमा जनचेतनाको निर्माण गर्नुपर्छ । महिला र पुरुषको समान सहभागिता सुनिश्चित गर्नुपर्छ । त्यसले नै समान अस्थित्व स्वीकार गर्न सिकाउँछ । हामीकहाँ बालविवाह व्याप्त छ । त्यसले पनि छोरी र महिलालाई धेरै नकारात्मक प्रभाव पारेको छ । हाम्रा धेरैजसो सामाजिक दृष्टिकोणमा पनि बदलाव ल्याउनु जरुरी छ । हामीकहाँ सकारात्मकता कम छ नकारात्मकता बढी छ । छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा भिन्नता छ । समाजले महिलाको नेतृत्व सहजै स्वीकार गर्न सकेको छैन । यी सबै कुरामा बदलाव ल्याउनु नै हाम्रो प्रयत्न हो ।
सभ्य समाजमा सबैको समान हैसियत हुनुपर्ने रहेछ । तर हाम्रो समाज वा भनौँ म जन्मिएको क्षेत्र कर्णाली प्रदेशको कुरा गर्दा समाज भिन्नै छ । धेरैथरी विभेदले भरिएको छ । लैंगिक विभेद छ । जातीय विभेद छ । वर्गीय विभेद छ । धर्मका आधारमा पनि विभेद छ । भौगोलिक विभेद छ । यही विभेदभित्र हुर्कंदै गर्दा मलाई अधिकारका लागि लड्ने प्रेरणा मिलेको हो ।
म २०५० सालदेखि अधिकारसम्बन्धी अभियानमा जोडिएको हुँ । हामी भन्छौँ व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ, परिवार–परिवार मिलर समाज बन्छ, समाज–समाज मिलर राष्ट्र बन्छ, राष्ट्र–राष्ट्र मिलर हाम्रो विश्व बन्छ । तर हाम्रो समाज त्यसरी बन्न सकिरहेको छैन ।
म दलितको छोरी हुँ । प्राथमिक विद्यालयमा अध्यापन गर्छु । ३० वर्ष अघि जब मेरो पहिलो पोस्टिङ भयो म गएको समुदायमा बस्ने कोठा पाउन पनि मुश्किल भयो । शिक्षकको रूपमा जाँदा पनि त्यो समाजले मलाई जातीय विभेद गर्यो । विद्यालय नजिकै धेरै घर थिए तर मलाई कसैले कोठा नदिएपछि दुई तीन घण्टा टाढा पर्ने कामीको घरमा बसेँ । यसअघिका विभेद मलाई सामान्य नै लाग्थे । तर यसपटक भने धेरै पीडाबोध भयो ।
त्यतिबेला अधिकार र समानतासम्बन्धी कुनै प्रशिक्षण थिएनन् । धेरै प्रतिवाद गर्न सक्ने क्षमता पनि थिएन । तर आफूलाई समाजमा सम्मानित व्यक्ति नरहेको महशुस भयो । आफूलाई पशु सरह व्यवहार भएको पाएँ । तब जातीय विभेदविरुद्ध लाग्ने प्रेरणा मिल्यो । परिवारभित्रै रहेको लैंगिक विभेद देखेर अवाक भएँ । छोरीले बोल्नै नहुने कुराले मन पोलिरह्यो ।
२०८० साल कार्तिक १७ गते राती जाजरकोट केन्द्र भएर गएको भूकम्पका पीडितहरूमा पनि दलितको अवस्था दर्दनाक छ । दलितको जग्गा नहुँदा पाल लगाउने ठाउँ पनि छैन । भूमिमा दलितको अधिकार छैन । शिक्षामा पहुँच छैन । परिणामस्वरूप बालविवाह छ । धेरै जना दुव्र्यवहारमा परेका छन् । अपमानित भएका छन् । दलितहरू अन्तरजातीय विवाहबाट पनि प्रताडित छन् ।
हामीले कर्णालीमा जातीय विभेदको विकराल अवस्था भोगेका छौँ । नवराज विक, सेते दमाई, मना सार्की केही उदाहरणीय नाम हुन् । जसले जातीय विभेदकै कारण मृत्युवरण गर्नुपर्यो ।
सबै समाजमा संघर्ष छ । तर त्यसको रूप कस्तो भन्ने मात्रै हो । संघर्ष नगरेको भए हामी आजको अवस्थामा आउने पनि थिएनौँ । हामी संघर्षबाटै स्थापित भएका हौँ । मैले सानै उमेरमा विहे गरेँ । श्रीमान् सशस्त्र प्रहरी हुनुहुन्थ्यो । द्वन्द्वकालमा उहाँ मारिनुभयो । त्यसपछि म एकल भएँ । द्वन्द्वकै समयमा म विस्थापित भएर वीरेन्द्रनगर आएको हुँ ।
मैले साथमा दुधे बालक बोकेर यो सपनाको सहर छिर्नासाथ धेरै संघर्ष गर्नुपर्यो । यहाँ मैले चिनेको कोही थिएन । त्यतिबेला म १७ वर्षको थिएँ । विस्तारै आफूजस्तै एकल विधवा महिलाहरूसँगको सम्पर्क बढ्यो । हामी धेरैजना मिलेर कर्णालीमा एकल महिला संस्था स्थापना गर्यौं । ६० सालमा स्थापित उक्त संस्थाले एकल महिलाका हक अधिकारका लागि निरन्तर काम गर्दै आएको छ । अहिले हामीले तीन हजार एकल महिलालाई संगठित गरेका छौँ ।
विधवा भएकै कारण मलाई देखेमा अशुभ हुन्छ भनेर आफन्तको विहेमा लुकाइएको थियो । यी र यस्ता धेरै विभेद समाजमा व्याप्त छन् । केही समय अघि मात्र कसैको पूजामा जाँदा तपाईंले पकाएको रोटी चल्दैन भनेर मलाई अपमानित गरियो । विशेष गरी महिलाहरूले धेरै विभेद भोग्नुपरेको छ । त्यसमा पनि एकल महिलाका समस्या धेरै छन् । तर कहाँ गएर कसलाई सुनाउने धेरै समस्या छ । त्यसका लागि तोकिएका सरकारी निकाय छैनन् । एकल महिलाको सम्पत्तिमा अधिकार नहुँदा धेरै आर्थिक समस्या भोग्नुपरेको छ । नेपालमा एकल महिलाको सँख्या झण्डै नौ प्रतिशत छ । तर उनीहरूको हक हितका लागि धेरै कार्यक्रम बनेका छैनन् । नेपालमा पाँच प्रकारका एकल महिला छन् । तर सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न सकिएको छैन ।
अहिले पनि सम्बन्ध विच्छेद गरेर बसेका एकल महिला पारपाचुके गरेर बसेका एकल महिला श्रीमान् बेपता भएर बसेका एकल महिला र विवाह नै नगरी लामो समयसम्म एकल जीवन बिताएका एकल महिलालाई एकलको दृष्टिले हेरिएको छैन । यद्यपि, उहाँहरूले धेरै प्रकारका आर्थिक सामाजिक साँस्कृतिक समस्या भोग्नुपरेको छ ।
नेपाली समाजमा अर्थात् मैले भोगेको परिवेशमा मैले धेरै संघर्ष गर्नुप¥यो । कति चाहनाहरू लुकाउनुप¥यो । कति कुरा व्यक्त गर्नै सकिएन । कति कुरामा कतिसँग जुध्नुपर्यो ।
पहिलो कुरा लैंगिक विभेद हो । छोरा जन्मियो भने भोज खुवाउने र छोरी जन्मियो भने हेलाँ गर्ने हाम्रो सामाजिक परम्परा छ । यसरी हुर्केका दुई छोराछोरीको मनोविज्ञान कस्तो होला । हामीले निर्दिष्ट गरेका लैंगिक भूमिकाहरूले पनि छोराछोरीलाई समान हुन दिँदैन । छोरा भए पढ्न पाउने छोरी भए घरधन्दा घाँस दाउरा गर्नुपर्ने बाध्यता हुन्छ । छोरा भए बाबुसँग र छोरी भए आमाको साथ लाग्नुपर्ने अभ्यास छ ।
यसरी हामीले लैंगिक विभेदको अभ्यास गरिरह्यौँ । र हामी महिलाहरू त्यसैको चपेटामा परिरह्यौँ । अहिले पनि छोरालाई राम्रो शिक्षा दिन निजी बोर्डिङ स्कूल र छोरीलाई सरकारी स्कूलमा भर्ना गरिदिने चलन छ । छोरीलाई जागीरका लागि तयार गराएका हुँदैनौँ । बाहिरी परिवेशमा घुलमिल गराउँदैनौँ । छोरीलाई केवल विवाह गर्ने घरजम गर्ने र केटाकेटी जन्माउने हिसाबले मात्रै सोचेका हुन्छौँ । छोरा र छोरीको हुर्काइमै ठूलो विभेद छ ।
म सानैदेखि पढाइमा पनि टाठो थिएँ । घरमा हिसाब किताब राख्न सघाउँथेँ । यसरी घरबाहिरकाहरूसँग पनि बोल्न सक्ने भएँ । गाउँ समाजमा आमा दिदीबहिनीको दुःख बेदना देखेर नै त्यसका विरुद्ध संघर्ष गर्न प्रेरणा मिलेको हो । मैले महिला र बालबालिकाको अधिकारका लागि काम गर्न थालेको ३४ वर्ष भयो । र म एकल महिला भएको पनि २७ वर्ष भयो । सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट मेरो श्रीमान् मारिनुभएको हो ।
अहिले पनि म देख्छु म जस्तै दिदी बहिनीहरू बजार जानुप¥यो वा कतै बाहिर जानुप¥यो भने कुनै पुरुषलाई साथ लिएर जाने चलन छ । एक्लै हिँड्दा पनि धेरै शंका उपशंका गरिन्छ । अझ विधवा महिलालाई देखियो भने साइत बिग्रन्छ भन्ने पनि छ । यस्तो अवस्थामा कर्णाली प्रदेशका महिला वा छोरीहरूलाई कसरी स्वतन्त्र बनाउन सकिन्छ । कसरी उनीहरूलाई अघि बढाउन सकिन्छ । उनीहरूको सामाजिक आर्थिक तथा राजनीतिक सशक्तिकरणमा हामीले विशेष ध्यान दिनु जरुरी छ । त्यसैका लागि भनेर कर्णाली प्रदेश सरकारले छोरी वचत खाता कार्यक्रम पनि सुरु गरेको छ । हामीले अन्धविश्वास र कुरीति हटाएर छोरीहरूको हक अधिकार स्थापित गर्नु नै अहिलेको मुख्य कार्यदिशा हो ।