विकास अर्न्या ! विकास खान्या !

विकास के हो? विकास र राजनीति कसरी परस्परमा सम्बन्धित छन्। राजनीतिले विकासलाई सही मार्गमा डो¥याउन सकेको छ वा छैन? त्यसमा पनि विकासका हिसाबले पछाडि परेको कर्णालीमा विकास सम्बन्धी बुझाई के हो? विकास गर्नका लागि हो वा खानका लागि? वा विकास खाने परम्परा के हो? विकास र सुशासन कसरी परस्परमा जोडिएका छन्? कर्णाली उत्सवको पाँचौं संस्करणको तेस्रो दिन यही सवालमा नीतिगत छलफल गरिएको थियो। छलफलमा प्रतिनिधिसभा सदस्य विनिता कठायत, कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार र विकासविद रमेश अधिकारीले भाग लिएका थिए। उक्त सत्रलाई विकासविद हीरामणि घिमिरेले सहजीकरण गरेका थिए।


 

विकास कालो पनि होइन, सोतो पनि होइन । यसलाई एउटै शब्दले परिभाषित गर्न पनि सकिँदैन । १८औँ शताब्दीतिर विकास भन्नाले कुनै व्यक्ति वा घरको आम्दानी बढाउनुलाई बुझिन्थ्यो । अर्थात् प्रतिव्यक्ति आय वा कूल गार्हर्थ बढाउनु नै विकास थियो । आर्थिक विकासको परिभाषा यही थियो ।

यद्यपि, एडम स्मिथले स्थापना गरेको आर्थिक विकाससम्बन्धी अवधारणालाई कार्ल माक्र्सले सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत विस्तार गरे । उनले समाज विकास वा सामाजिक रूपान्तरण नै आर्थिक विकासको ध्येय हो भने । त्यसका लागि श्रमिक वर्गको पक्षपोषणमा जोड दिए । यसरी आर्थिक र सामाजिक विकासलाई जोडेर हेर्दा मानव विकासको अवधारणा विकास भएको छ । हाल विकासलाई सामाजिक न्यायसँग समेत जोडेर हेर्न थालिएको छ ।

पछिल्लो समय हामी मानव विकास सूचकांकमै काम गरिरहेका छौँ । यसले राज्यको धन नागरिकको न्यायका लागि कसरी सदुपयोग गरिएको छ भन्ने देखाउने प्रयास गरेको छ । ती सूचककै आधारमा हामी धनी र गरिबलाई परिभाषित गरेका छौँ । र समग्रमा गरिबको उत्थानका लागि काम गरेका छौँ । हालैमात्र नेपाल सरकारले गरेको एउटा सर्वेक्षणले सुदूरपश्चिम प्रदेश सबैभन्दा गरिब र त्यसपछि कर्णाली दोस्रोमा रहेको देखाएको छ । कर्णाली प्रदेशमा अझैपनि २७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन् । सबैको मुख्य ध्यान यसैमा हुनुपर्छ ।

अर्कोतिर गरिबका अर्थशास्त्री भनेर चिनिने अमर्त्य सेनले भनेका छन्– विकास स्वतन्त्रताको परिपुरक हो । जुन राज्यले लोकतान्त्रिक विधि पद्धति अंगालेको छ त्यहाँका मानिस भोकै रहनु पर्दैन । यद्यपि, कर्णालीको हकमा कुरा गर्दा यहाँ आर्थिक विकासको पनि अभाव छ । साथै सामाजिक र राजनीतिक विकासको पनि पर्याप्तता छैन भन्ने लाग्छ । कर्णालीका मानिसले हीन भावना बोकेर हिँडेको दिनसम्म हामी गरिब हौँ । र अन्यत्रकाले पनि कर्णालीलाई हेप्दासम्म हामी अविकसित हुन्छौँ ।

कर्णालीको सन्दर्भमा राज्य र नागरिकबीच दुरी छ । राज्यले आधारभूत सेवा सुविधा प्रवाह गर्न सकेमा नागरिक स्वतः राज्यको नजिक हुन पुग्छन् । जब शासन सत्ता सञ्चालन गर्नेले आफूलाई शासकका रूपमा लिन थाल्छन् तर राज्ययन्त्र जनता विरोधी बन्छ । राज्य र नागरिकका बीच दुरी बढ्छ । कर्णालीमा राज्य नागरिक दुरीबारे केही कुरा महŒवपूर्ण छन् ।

पहिलो कुरा मुलुकका सबै प्रदेशमध्ये कर्णालीमा बेरुजु सबैभन्दा बढी छ । यद्यपि, सबै बेरुजु रकम भ्रष्टाचार नभए पनि यहाँ भ्रष्टाचार धेरै छ भन्न कठिन छैन । यसले के देखाउँछ भने यहाँ विकास गर्ने मात्र हैन खाने परम्परा पनि विकास भएको छ ।

दोस्रो कुरा कर्णालीमा खर्चको दर कम छ । अर्थात् आर्थिक वर्षको आधा समय वितिसक्दा पनि करिब १० प्रतिशत मात्रै खर्च हुन सकेको छ । बाँकी अवधिमा ९० प्रतिशत खर्च गर्दा के त्यहाँ गुणस्तरता र पारदर्शिता कायम गरिन्छ ?

तेस्रो कुरा हो अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीको बढ्दो संख्या । अख्तियारमा कर्णालीका विभिन्न जिल्लाबाट आर्थिक वर्ष २०७७/०७८ मा ३८५, २०७८/०७९ मा ४०६ र २०७९/०८० मा ४८० उजुरी परेका छन् । हुनत यसले भ्रष्टाचारको मात्रा मात्रै देखाउँदैन बरु जनचेतनाको विकास पनि देखाउँछ । अतः कर्णालीभित्र शासन गर्ने सबै सरकार र राजनीतिक दलहरू सुध्रनुपर्ने स्थिति छ ।


 

 

भर्खरै मैले बङ्गलादेशको भ्रमण गरेकी थिएँ । विकासमा हुने भ्रष्टाचारको कुरा गर्दा बङ्गलादेशमा नेपालमा भन्दा धेरै अनियमितता छ । तर त्यहाँको राम्रो पक्ष भनेको कृषि केन्द्रित नीति हो । त्यहाँको कृषिले नै अर्थतन्त्रलाई धानिरहेको छ । हामी कुनै पनि कुरामा केन्द्रित छैनौँ । हामी जे पनि आधाआधी गरिरहेका छौँ । त्यसैले बजेट पनि छर्ने प्रवृत्ति छ ।

लोकतन्त्रकै कुरा गर्दा हामीले संविधानको पालना कति गर्यौं भन्ने प्रश्न उठ्छ । हिजो राजाका पालामा वा केन्द्रिीकृत व्यवस्थामा अधिकार तल पुगेन भनेका थियौँ । तर अहिले अधिकार तल पु¥याउन के कुराले रोकेको छ ? विकास र बजेटको कुरा गर्दा हामी यति दरिद्र छौँ कि त्यसले सामाजिक सोचलाई समेत भ्रष्ट बनाएको छ । हामीले वर्षौंदेखि जनतासँग गरेका बाचा वा काम गर्न सकेका छैनौँ किन ? कर्णालीमा बाटो र विजुली लैजाने भन्न थालेकै कति भयो र प्रगति के भयो ? कर्णालीमा स्थापित संस्थाहरूलाई अत्यावश्यक बजेटको समेत अभाव छ । उदाहरणको रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेर्न सकिन्छ । अहिले पनि कर्णालीका कतिपय स्थानका केटाकेटी झरो बालेर पढेका छन् । यहाँका महिलाले घरेलु तथा सामाजिक हिंसा व्यहोर्नुपर्को छ । यसरी आधारभूत सेवा सुविधाबाटै वञ्चित हुनुपर्दा कर्णालीका मानिसको मनोवल खस्केको हो भन्ने लाग्छ ।

मानिसमा यति धेरै निराशा छ कि अबको मुख्य कार्यभार भनेकै जनतामा आशा जगाउनु हो । देश बनेन मात्र भन्दा पनि देश मैले बनाउने हो वा हामीले बनाउने हो भन्ने भावनाको विकास गर्नु जरुरी छ । हामीले मुलुकको समविकासका लागि कर्णालीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यहाँ जनतालाई सेवा सुविधा पु¥याउन निकै कठिन छ । यद्यिप, यसका लागि हामीमा सामुहिक भावना हुन जरुरी छ । दलीय दृष्टिबाट मात्र हेर्दा कर्णालीको भौतिक विकास असम्भव छ ।


 

 

विकासका विभिन्न मोडालिटी छन् । कुनै संरचनामा राखेर हेर्दा कर्णालीका जनता आफैमा विकासवादी हुन् । यहाँको विकासको आफ्नै मोडेल छ भन्न सकिन्छ । किनभने कर्णालीमा खस राज्यको पहिचान र विरासत छ । राज्यसत्ता अभ्यासको अनुभव छ । पहिलेको कर्णालीले अरुलाई केही दिन्थ्यो भन्ने प्रशस्ती पनि सुनिन्छ । स्वशासनको अभ्यासले कर्णाली पुनः धनी बन्न सक्छ ।

हाम्रा पुर्खाले आवश्यक पाटी पौवा निर्माण गरेका थिए । सामाजिक भावना र विचारले समाज चल्थ्यो । यद्यपि, पैसाको भने अभाव थियो । पैसा कम हुँदा पनि हामीले सामाजिक विकास गर्न सकिन्छ भन्ने सामुहिक भावना पनि विकासको अनुपम मोडेल हो भन्ने लाग्छ । हामीले ठूला पहरा फुटाएर मान्छे तथा पशु हिँड्ने बाटो बनायौँ । त्यसका लागि निःशुल्क श्रम गर्यौं । त्यतिबेला विकास निर्माणका लागि कुनै सरकारले बजेट दिँदैनथ्यो । विकास त सामाजिक आवश्यकता र सामुहिक भावनाले निर्देशित हुन्थ्यो ।

यद्यपि, अहिले विकासका विभिन्न सूचकांकमा कर्णालीपछि परेको कुरालाई हामीले नकार्न सकिँदैन । अर्थतन्त्रको विकास हुन सकेको छैन । न त पहिलेजस्तो सामुहिक भावना नै कायम छ । विकास भनेकै बजेट लैजाने र खर्च गर्ने भन्ने परिपाटीको विकास भएको छ । आजको आवश्यकता भनेको कर्णालीलाई गरिब प्रदेशको रूपमा राखिराख्ने मानसिकताको अन्त्य हो । यहाँको विकासका लागि अलग दृष्टिकोणको निर्माण गर्नु जरुरी छ । मुलुककै समविकासका लागि कर्णालीको विकास पहिलो प्राथमिकता हुनुपर्छ । यहाँका सम्पदा र संस्कृतिको विकास गर्ने हो भने कर्णाली माथि उठ्छ भन्ने लाग्छ ।

कर्णाली कमजोर हो भन्ने कुरा सबैतिरबाट प्रस्तुत भइरहुन नै सबैभन्दा ठूलो समस्या हो भन्ने लाग्छ । यहाँका मानिस भ्रष्ट हुन् भन्नु नै गलत छ । कर्णालीमा कहाँका मानिसले शासन गरेका छन् भनेर केलाउनु पनि जरुरी छ । बरु हामीले कर्णालीका सम्भावना केलाएर त्यसमा लगानी गर्नुपर्छ । यहाँ समतामुलक समाज स्थापना गर्न लाग्नुपर्छ । आवश्यक अनुसन्धान गरी यहाँको कृषि, उद्योग तथा पानी र पर्यटनमा लगानी बढाउनुपर्छ । कर्णालीमा विकाससम्बन्धी अवधारणाबारे साझा धारणाको विकास हुनु जरुरी छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events