संघर्ष गर्दै गए असफल भन्ने हुँदैन : हिक्मत बादी

बादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक-सामाजिक रूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् ।

बादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै संख्यामा रहेको भए पनि मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा यो समुदायको प्रतिनिधित्व देखिएको छ ।

वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएको यो समुदायलाई सुरुमा तत्कालीन राजा रजौटा र जमिनदारहरुले मनोरञ्जन लिनमा प्रयोग गरेको पाइन्छ । त्यसपछि यो पेसा पनि धेरै नटिकेपछि बादी समुदायका महिलाहरू बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ । बाध्यतावश त्यस्तो पेसामा लागे पनि अहिले यो समुदायका महिलाहरूले यौन व्यवसाय छाडेर अन्य पेसामा छन् र राज्यले पनि यो समुदायलाई यौन हिंसामुक्त समुदायका रूपमा घोषणा गरिसकेको छ । बादी समुदाय अहिले आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रक्रियामा छन् । यो समुदाय भारतको वैंशालीबाट लिच्छविकालमा नेपाल छिरेको विश्वास गरिन्छ ।

अझै पनि बादी समुदाय सोचेअनुरुप अघि बढ्न सकेको छैन । उनीहरुलाई तल्लो दर्जाका रुपमा हेर्ने चलन पनि बाँकी नै छ । तर बादी समुदायका एक युवा हिक्मत बादी भने हिक्मतिलो बनेर आफ्नो समुदायका लागि आवाज उठाइरहेका छन् ।

हिक्मत बादी जसले गर्दा अहिले कर्णालीका बादी समुदायका बालबालिकाहरुले पनि शिक्षा पाएका छन् । उनीसँग बादी समुदायका बालबालिकाको ठूलो भविष्य जोडिएको छ । दैलेख घर भएका उनले ‘बादी सरोकार मञ्च’ स्थापना गरेका छन् । यस मञ्चले पहिलो काम बादी समुदायको अधिकारका लागि लढ्छ । दोस्रो काम बादी बालबालिकालाई शिक्षित बनाएर, बादी समुदायको अधिकारमा अग्रपंक्तिमा उभिने दक्ष र सक्षम बनाउने काम गर्दछ ।

यिनै हिक्मतलाई कर्णाली उत्सव कुडा कर्णालीकामा आयोजकले सोमबार पैकेलो अर्थात् हिरोको रुपमा बोलाएर आफ्नो कथा भन्न लगायो । कथाको सुरुवातमै उनले आफ्नी आमालाई सम्झे । उनका अनुसार उनकी आमाका बुबाले अन्तरजातीय विवाह गरेका थिए । उनकी आमाका बुबा बस्नेत थरका थिए । तर उनले बादी समुदायकी महिलासँग बिहे गरेपछि उनलाई आफन्त र घरपरिवारबाट तिरस्कार गरेर बादी समुदायमै पठायो ।

हिक्मतकी आमा पनि बादी समुदायमै हुर्किइन । सानैमा विवाह भएकी उनकी आमाका २७ वर्षकै उमेरमा सातवटा छोरी जन्मिसकेका थिए । छोराकै आशमा उनका बुबाले अर्की बिहे गरे । बुबाले सानीआमा ल्याएकै वर्ष हिक्मत पनि आमाको कोखमा हुर्किरहेका थिए । २०५० सालमा उनको जन्म भयो । दैलेखको तल्लो डुंगेश्वरमा बस्दै आएका बादी समुदायको सदस्यको रुपमा । अर्की बिहे गरेसँगै बुबा केही दिदीहरु र सानीआमालाई लिएर अछाम जिल्लामा गएको उनले बताए । उनले भने, ‘हाम्रो समुदायको चलनै थियो । अर्को बिहे गरेपछि अन्त जाने । बुबा गएपछि हाम्रो परिवारमा अझै बज्रपात भयो । दुःखमा रहेको हाम्रो परिवारको जिन्दगीमा अझै दुःख थपिए ।’

जसोतसो आमा र दिदीहरुले आफूलाई भने सुखैमा हुर्काएको हिक्मत बताउँछन् । आफूले पढ्न नपाए पनि भाइलाई पढाउनुपर्छ भन्ने लागेर विद्यालय पठाएको उनी सम्झिन्छन् । दिदीहरुको पनि सबैको १२/१३ वर्षकै उमेरका बिहे भयो । त्यसपछि फेरि हिक्मतका दुःखका दिन सुरु भए । दिदीहरुले गर्ने सबै कामहरु सबै उनले गर्नपर्ने भयो । पहिलोपटक आफूले गुडको भारी बोकेर २५ रुपैयाँ कमाएको उनको मानसपटलमा ताजा छ । उनकी आमा त्यतिबेला छोरा कमाउने भयो भनेर खुसी भएकी थिइन् ।

घरायसीसँगै घरधान्नका लागि अरुको काम गर्दै गर्दा उनले २०६५ सालमा एसएलसी पास गरे । आफूले पढ्न आमा र आफ्नो पेट पाल्न धेरै दुःख गरे । उनी सँगैका साथीहरु रमाइरहेका बेला उनले खोलामा माछा मार्दै बसे । अरुको काम गर्दै बसे । उनले लेभरी (मजदुरी) गरेर कमाएको पैसाले गाउँकै कस्मेटिक पसल खोले । विस्तारै उनको व्यवसाय राम्रो भएपछि उनले सुर्खेतमा पनि फेन्सी र पुस्तक पसल खोले । उनले भाइलाई रोजगारीका लागि विदेश पनि पठाए । राम्रो कमाइ भएका भएका उनले गाडी पनि जोडिसकेका थिए । २०७२ सालमा उनले बिहे पनि गरे ।

हिक्मत बादी समुदायका लागि काम गर्नुपर्छ भन्दै अघि सरे । उनी आफ्नो समुदायका लागि काम गर्ने भन्दै विभिन्न संघ-संस्थामा पनि जोडिए । आफ्नो समुदायकालाई सबल बनाउन संघर्ष गर्न थाले । बादी समुदायका बालबालिकाहरुको पहुँच शिक्षामा पुर्‍याउनुपर्छ भन्दै लागे । २०७७ फागुन ९ देखि २६ गतेसम्म उनले मुख्यमन्त्री कार्यालयअघि बादी समुदायको उत्थानका लागि आन्दोलन सुरु गरे । उनले बादी समुदायका लागि जमिनको माग गरेका थिए ।

आफू आफ्ना लागि अब्बल बन्दै गए पनि आफ्नो समुदायका लागि केही गर्न नसकेको भन्दै उनले बादी समुदायको बालकालिकालाई सुर्खेतमा ल्याएर पढाउन सुरु गरे । यो अभियानमा लागेपछि उनले पसल, गाडी सबै बेच्नुपर्ने अवस्था आयो । बालबालिकालाई पढाउने बेला ऋण लागेर उनले बजारमा व्यापारीबाट थप्पड पनि खाए । तर उनले बालबालिकाहरुलाई पढाउने काम रोकेनन् ।

अहिले उनले १२७ बालबालिकालाई सुर्खेतमा होस्टेलमा राखेर पढाइरहेका छन् । उनी भन्छन्, ‘कर्णालीलाई बनाउनु छ भने बालबालिकालाई खान दिएर कुपोषित हुनबाट बचाउँ । शिक्षित बनाउँ ।’ यति लामो संघर्षपछि हिक्मतलाई लागेको छ । संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केही छैन । अहिले कर्णालीसँगै देशभरबाट उनका बालबालिकाका लागि सहयोग पनि आइरहेको हुन्छ । कर्णाली सरकार र नगरपालिकाले पनि सहयोग गर्न थालेका छन् ।

 

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events