कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण

माननीय गजेन्द्रबहादुर महतज्यूले प्रतिनिधिसभा बैठकमा कर्णालीको विद्युतबारे बोलेपछि संसद् बैठक सकिने वित्तिकै मैले उहाँलाई फोन गरेको थिएँ । उहाँसँग मेरो त्योभन्दा अगाडि पनि सम्पर्क भइरहन्थ्यो । उहाँले मलाई पाँच पटक फोन गर्नुभएको रहेछ त्यो दिन मैले उहाँले संसद्मा बोलेपछि मात्रै थाहा पाएँ । मैले उहाँसँग माफी पनि मागेँ । उहाँसँग पटक–पटक सम्पर्क पनि भइरहेको थियो । जुम्लामा एउटा डिजेल प्लान्ट लैजाने भन्ने करा पनि थियो । हामीले तत्कालै प्लान्ट पनि पठायौँ । केही समयको लागि त्यहाँ ग्रिड नपुगेको कारणले डिजेल लगेर पनि केही समय बिजुली बाल्यौँ ।

नेपालमा लोडसेडिङ अन्त्य भयो । त्यो चाहिँ सहरमा जहाँ १५ घण्टा बिजुली थियो ९–१० घण्टा बलेको थिएन्, त्यो ठाउँमा लोडसेडिङ भएको थियो । जुन बेला म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएँ, त्यस बेला नेपालमा कूल जनसंख्याको करिब ६२ प्रतिशत जनताहरूमा मात्रै ग्रिडको पहुँच थियो । करिब ४० प्रतिशत जनताहरूसँग ग्रिड नै थिएन न त बिजुली नै पुगेको थियो । त्यो २४ घण्टा लोडसेडिङमा थियो । त्यसैले हामीले देश भरी विद्युतिकरणलाई धेरै प्राथमिकता दिएका हौँ ।

सरकारले दिएको बजेट र नेपाल विद्युत प्राधिकरणले कमाएको नाफा सबै हामीले विद्युतिकरणको लागि खर्च गर्यौ । आजको दिनसम्म करिब ९५ प्रतिशत जनताले ग्रिडबाट विद्युत उपभोग गरिरहेका छन् । त्यतिबेला कर्णालीमा जम्मा २६ प्रतिशत नागरिकहरूले मात्रै विद्युत उपभोग गर्न पाएका थिए । अहिले त्यो संख्या करिब ४५ प्रतिशत पुगेको छ । वास्तवमा कर्णालीमा कम विद्युतिकरण भएको छ । त्यसमा विभिन्न कारणहरू छन् ।

भौगोलिक विकटता तथा केही हाम्रो पनि कमी कमजोरी रह्यो होला । तर म आएको भोलिपल्टदेखि नै कर्णाली प्रदेशलाई पूर्ण रूपमा विद्युतिकरण गर्नुपर्छ भनेर हामीले नेपाल विद्युत प्राधिकरणसँग त्यो बजेट नभएका कारण एसिया पूर्वाधार बैंक र युरोपियन विकास बैंकलाई हामीले अनुरोध गर्यौँ । एकदमै कम ब्याजदर अर्थात् ०.०१ प्रतिशत ब्याजदरमा नेपाल विद्युत प्राधिकरणले ऋण ल्याएर दुई वर्षअगाडि करिब २४ अर्बको परियोजना पास भएको छ । उहाँहरूसँग काम गर्दा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही ढिला भएको हो । २४ अर्ब बजेट कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युतिकरणको लागि स्वीकृत भएको छ ।

विद्युतको वास्तविकताको कुरा गर्दा सुर्खेतमा पनि धेरै समस्या आउँछ । कोहलपुरदेखि जुम्ला पुग्दा तीन सय ३० किलोमिटर हुन्छ । प्राविधिक रूपमा त्यो कुरा सहज होइन । तीन सय ३० किलोमिटरको लामो लाइनमा कुनै पनि ठाउँमा एउटा रूखले छोयो भने सिस्टम नै जान्छ । निकुञ्ज क्षेत्रलगायत धेरै कुरामा समस्या छ तर अहिले त्यति भए पनि ग्रिड जोडौँ भनेर लागेका छौँ ।

ग्रिड जोडिसकेपछि पछि सुधार गर्दै लैजानुपर्छ भन्ने सोच छ । हामीले अहिले कालीकोटसम्म ३३ केभी प्रसारण लाइन पु¥याएका छौँ । जुम्लामा हामीले सब स्टेसन बनाइरहेका छौँ । त्यो पनि ३३ केभीमा चार्ज हुन्छ । अहिले कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रसारण लाइनको काम भइरहेको छ । डेढ वर्षभित्र काम सक्छौँ । सब स्टेसनको काम पनि भइरहेको छ, जग्गा किनेका छौँ । दैलेखको चुप्रामा जग्गा किनेर टेन्डर गदैछौँ । त्यहाँदेखि जुम्लासम्म १३२ केभी लाइन लैजाँदै छौँ । त्यसपछि काठमाडौंमा भन्दा विद्युत पूर्ति सहज त्यहाँ हुन्छ । त्यसको ग्यारेन्टी म गर्छु ।

म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदाखेरि सुरुसुरुमा स्थानीय निकायका जनप्रतिनिधि र माननीय सांसदहरू धेरै सङ्ख्यामा आउनुहुन्थ्यो । अहिले धेरै कम भएको छ । चुनावका समयमा अलि धेरै आउनुहुन्छ । पछिल्लो एक डेढ वर्षअघि पुर्वतिरका माननीय सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले मलाई के भन्नुभएको थियो भने, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा तपाईं आएर हाम्रो पोलको राजनीति समाप्त गरिदिनुभयो । पोल र ट्रान्सफर्मर भनेर हामीले भोट माग्थ्यौँ । सबैतिर विद्युतिकरण भएपछि हाम्रो पोल र तारको राजनीति नहुने भयो ।’

कर्णालीमा विद्युतको क्रान्ति गर्नुपर्ने स्थितिका लागि म के ग्यारेन्टी दिन्छु भने त्यो राजनीति पनि हामीले समाप्त गर्छौं । कर्णालीमा रहेको झरोलाई हामीले निभाउँछौँ । कर्णाली उज्यालो हुन्छ । यसको लागि नेपाल सरकारले २५ अर्ब रूपैयाँ ऋण ल्याएर काम अगाडी बढेको छ । त्यति मात्रै हैन नेपाल विद्युत् प्राधिकरणले कमाएको पैसा पनि यहीँ लगानी गरेको छ ।

हालसम्मको तथ्यांकअनुसार कर्णालीमा सुर्खेतबाहेक नौ जिल्लामा करिब ९० प्रतिशत नागरिकहरूले प्रतिमहिना विद्युतको जम्मा ३० रूपैयाँ तिर्नुहँदोरहेछ । ३० रूपैयाँ भनेको निःशुल्क हो । अब हामीले कर्णालीमा विद्युतको लागि २५ अर्ब लगानी गरेर मासिक ३० रूपैयाँ उठाउँछौँ, यो राज्यको दायित्व हो । नेपाल विद्युत प्राधिकरणको राजस्व हेर्दा सुर्खेत शाखाले मासिक करिब साढे तीन करोड रूपैयाँ उठाउने रहेछ भने बाँकी नौ वटा जिल्लाले मासिक करिब डेढ करोड रूपैयाँ राजस्व उठाउने रहेछ । कर्णालीमा सञ्चालन लागत करिब ७० करोड लाग्ने रहेछ ।

त्यसमा लगानीको त हिसाब नै छैन । विद्युत भनेको आधारभूत आवश्यकता हो र यसलाई पूर्ति गर्नुपर्छ भनेर हामीले यस क्षेत्रमा लगानी गरेका छौँ । अब यस क्षेत्रमा उद्योग स्थापना हुनुपर्छ । सुर्खेतमा एउटा सिमेन्ट उद्योग आउँछु भनेर आएको छैन । सिमेन्ट उद्योग आजबाट आउँछु भन्नुस् त्यो बन्न करिब एक डेढ वर्ष लाग्छ त्यो बिचमा हामीले १३२ केभी प्रसारण लाइन ल्याउँछौँ । अब कुन चाहिँ उद्योगले विद्युत लाइन पाएन भनेर कसलाई गुनासो गरोस् त्यसको तुरुन्तै समस्या हुन्छ । अब कर्णालीमा जुनसुकै ठाउँमा उद्योग स्थापना गर्नुस् विद्युत पाएनौँ भनेर हामीलाई भनेपछि पु¥याइदिन्छौँ यो मेरो प्रतिबद्धता हो ।

पश्चिममा ठूला आयोजनाहरू अब बिस्तारै आउँछन् । सडक नबनीकन परियोजनाहरू आउँदैनन् । प्रसारण लाइन नबनीकन परियोजनाहरू आउँदैनन् । तीन देखि चार वर्षभित्र जुम्लामा १३२ केभी प्रसारण लाइन पुग्छ भन्ने हाम्रो ग्यारेन्टी छ । अहिले तिला देखि फुकोट कर्णालीमा विद्युत प्राधिकरणको समेत लगानी भएका कम्पनीहरूले काम गरिरहेका छन् । त्यहाँ ४५० देखि एक हजार नौ सय मेगावाटसम्मको परियोजनाहरू सञ्चालन गरिरहेका छन् । अब कर्णालीमा ठूला ठूला लगानीहरू आउँछन् ।

कर्णालीमा राजस्व कम संकलन भयो तर यहाँ लगानी व्यापक मात्रामा हुन्छ । विद्युत प्राधिकरणले नाफा गरेको पैसा कर्णालीमै लगानी गरिरहेको छ । राजस्वको कुरा गर्दा विद्युत प्राधिकरणको जम्मा करिब ५० लाख ग्राहकमध्ये करिब २७ लाख ग्राहकले २० युनिटभन्दा कम विद्युत खपत गरी ती सबै जनाले न्यूनतम ३० रूपैयाँ मात्रै तिर्छन् ।

रिचार्जको लागि र इन्टरनेटको लागि मानिसले मासिक सयौँ हजारौँ रूपैयाँ खर्च गर्छन् । कर्णालीमा एउटा घरमा विद्युत पु¥याउन कम्तीमा एक करोड रूपैयाँ खर्च लाग्छ, टाढा टाढा पुग्दाखेरि । यो सरकार र विद्युत प्राधिकरणको दायित्व हो । साना जलविद्युतलाई हामीले ग्रिड जोडेर चलाउनुस् भनेका छौँ । त्यसको राजस्व स्थानीय विकासमा खर्च गर्नुस् भनेका छौँ । पीपीएमा जुन दर छ त्यही दरमा विद्युत प्राधिकरणले दिन्छ भनेका छौँ । जहाँ ग्रिड पुग्छ, त्यस ठाउँको साना जलविद्युत ग्रिडमा जोडिदिनुहोला भनेका छौँ । हाम्रो प्रतिबद्धता के हो भने सुर्खेत वा कर्णालीमा दुई सय मेगावाट विद्युत चाहियो भन्नुस् हामी दिन्छौँ । त्यसका लागि संरचना बनाउन दुई वर्ष जति समय लाग्न सक्छ ।

Leave a Comment