
दोस्रो संस्करणसम्म आइपुग्दा
रेशमबहादुर विष्ट, सह–संस्थापक, ऋति फाउण्डेसन
आयोजक समिति सदस्य, कर्णाली उत्सव
कर्णाली उत्सव ..कुडा कर्णालीकाको दोस्रो संस्करणको यो गरिमामय समुद्घाटन समारोहमा पाल्नुभएका कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, कर्णाली प्रदेशका माननीय मन्त्रीज्यूहरु, विशिष्ट अतिथिज्यूहरू, राजनीतिक दलका नेताज्यूहरू, कर्णालीलाई बुझ्न र बुझाउनका लागि उपस्थित हुनुभएका देशैभरका विशिष्ट व्यक्तिहरू, सञ्चारकर्मीहरू, सम्पूर्ण अतिथिगण, यो कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सरकारी तथा गैर–सरकारी दाताहरू, कर्णाली उत्सव आयोजनामा अहोरात्र खटी महत्वपूर्ण योगदान दिनुहुने उत्सव आयोजक टिमका मित्रहरू सबैमा आयोजक संस्था ऋति फाउण्डेसन सुर्खेतको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्र्याउँछु ।
कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन
वैरागीका बाझा मन डुली अघाउँदैन ।
कर्णालीमा प्रचलित यो देउडा गीतमा कर्णाली नदीले लट्ठी नबगाए जस्तै शदियौंदेखि बगिरहेको कर्णालीले यस प्रदेशमा विद्यमान भोक, रोग, गरिबी, र अभाव कहिल्यै बगाउन सकेन । बरु कर्णाली नदी जस्तै कर्णालीको श्रम र पसिना सधैँ दक्षिण बगिरहे । उतै दक्षिण देखि पर पर सम्मका भूगोलमा कर्णालीको पसिना माथि विकास र समृद्धिका महल आकाशिए । मौलिक कला र संस्कृति, ऐतिहासिक विरासत, पर्यटन, जलस्रोत, जडीबुटी आदिका हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिने कर्णाली वर्षौंदेखि अभाव र दुःखको पर्याय बनिरहेको छ । देख्ने र लेख्नेहरू कर्णालीलाई अथाह सम्भावनाको पहाड भन्छन् तर कर्णालीको नियति सधैं कालापहाड बनिरहेछ ।
कर्णालीको यही हुनुपर्ने र भइरहेको विडम्बनापूर्ण वास्तविकताबीच कर्णाली प्रदेशको खास तस्बिर र मौलिकता, अनि यहाँको विकास, समृद्धिका बहस र विमर्श मार्फत् कर्णालीको कथानकलाई बाहिर ल्याउनु पर्छ भन्ने हुटहुटी बोकेका केही साथीहरूबीच भएको चिया पसलको संवादबाट जन्मेको हो कर्णाली उत्सव ।
सुर्खेतस्थित ऋति फाउण्डेसन सम्बद्ध हामी केही साथीहरूको अगुवाइमा तयार भएको कर्णाली उत्सवको योजना कर्णालीलाई माया गर्ने, यसलाई कर्म थलो बनाइरहेका व्यक्तिहरू माझ सम्म छलफल र बहसको विषय बन्यो । विभिन्न क्षेत्रका व्यक्तित्वहरू उत्सवमा जोडिनु भयो ।
परिणामस्वरूप यहाँका नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी र पत्रकारहरू सबैको साथ सहयोग, हौसला र प्रेरणाले हामीले अभूतपूर्व ढङ्गले कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न गर्न सफल भयौं ।
गत वर्ष फागुन १९, २० र २१ गते यही सुन्दर पर्यटकीय स्थल बुलबुलेमा सञ्चालित पहिलो संस्करण तीन दिनसम्म चल्यो । पहिलो दिन ‘कर्णालीका बेला’ दोस्रो दिन ‘कर्णाली कोट्याऊँ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँदा छन्’ शीर्षक दिएर दैनिक थिमका आधारमा कर्णालीका लोककला, साहित्य, युवा उद्यमशीलता, श्रम, आप्रवासन, पर्यटन, स्वास्थ्य, शिक्षा, इतिहास लगायतका विविध आयाममाथि विमर्श गरिएको थियो ।
कर्णालीको ११ औं जिल्लाका रूपमा रहेको राउटे जातिको जीवन शैलीका बारे साथै कर्णालीको विकास र समृद्धिका बारे सम्बन्धित क्षेत्रका विज्ञ वक्ताहरूबीच सघन छलफल र बहस भयो । त्यति मात्र होइन कर्णाली प्रदेशको मौलिक देउडा नाच, हुड्के नाच लगायतका कला संस्कृतिहरूको संरक्षणका लागि प्रदर्शनीका कार्यक्रमहरू पनि उत्सवसँगै जोडिए । हरेक दिन साँझ प्रतिष्ठित साहित्यकारद्वारा साहित्यिक रुझान सहितका कविता र गजलले कार्यक्रमको रौनकता थपे ।
सारमा आयोजक टिमले अख्तियार गरेको योजना मुताबिक कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भयो ।
कार्यक्रम सम्पन्न भइसकेपछि विश्वभरि फैलिएको कोभिड–१९ महामारीको लकडाउनले गर्दा कार्यक्रम पश्चात् हाम्रा दाताहरूसँग पुग्न नसकेको कारण कार्यक्रमको खर्च व्यवस्थापनमा केही जटिलताहरू आए । तथापि आयोजकहरूका तर्फबाट ऋण, सहयोग र सापटी गरेर भए पनि व्यवस्थापन गरियो ।
कर्णाली उत्सवले कर्णाली माथि निर्माण भएका अनेकन् न्यारेटिभहरू विनिर्माण गरी नवीनतम तवरले कर्णालीलाई बुझ्ने र बुझाउने प्रयास गर्छ । यसले कर्णालीका थुप्रै आयामहरूलाई आम जनतासामु पस्केको छ । साथै यही विमर्श पश्चात् कर्णालीको लोक जीवनको क्षेत्रमा तयार भएका पुराना अनुसन्धानका कृतिहरूलाई सङ्कलन गरी सोसल साइन्स वहा पुस्तकालयले संयुक्त भोलुम निकाली कर्णालीको लोक जीवनको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
गत वर्षझैं यो वर्ष पनि वसन्त ऋतुको पूर्व सन्ध्यामा हामी कर्णाली उत्सवको दोस्रो संस्करणमा छौं । गत वर्षकै लयमा विगतका अनुभवलाई अझ परिष्कृत गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित सुन्दर पर्यटकीय क्षेत्र बुलबुले उद्यानको यो परिसरमा कर्णाली उत्सवको दोस्रो संस्करण भोलिदेखि तीन दिन निरन्तर चल्ने छ ।
यस संस्करणमा पनि गत वर्षझैं दैनिक थिमहरु निर्माण गरिएको छ । पहिलो दिन ‘हाम्मो मान्नमी’ दोस्रो दिन ‘सुर्के थैली’ र तेस्रो दिन ‘कैथा नेता कैथ्यो नेतृत्व’ शीर्षकअन्तर्गत विभिन्न सत्रहरू सञ्चालन हुनेछन् । जसमा पहिलो दिन राज्य र भूगोलले उपेक्षित कर्णालीको स्वास्थ्य, जनजीवन, साहित्य, र लोक समाजका आयामहरू माथि सम्बन्धित क्षेत्रका विज्ञहरूमाझ प्यानल छलफल हुनेछ ।
त्यसैगरी दोस्रो दिनको सत्रमा कर्णालीको शिक्षा, विकास र पूर्वाधार, योजना, र अर्थव्यवस्था लगायतका विषयहरूमाथि सम्बन्धित क्षेत्रका विज्ञहरूबीच प्यानल छलफल हुनेछ ।
अन्तिम दिनको सत्रमा कर्णालीको शासन व्यवस्थापन, प्रशासनिक प्रणाली, कर्णालीका सरकारी र गैरसरकारी संस्थाहरूको कार्य सम्पादन गर्ने तवर तरिका र शासन व्यवस्था जस्ता विषयहरू समेटिनेछ ।
यसरी कर्णालीका विविध आयाममाथि विमर्श सहितको मन्थन गर्दै तीन दिनका कार्यक्रमहरू सकिनेछन् । यो उत्सव कर्णालीका अनेकन् आयामबारे बुझ्न चाहने सबैका लागि एउटा पूर्ण प्याकेज हुनेछ । कर्णालीको वैभव र मौलिकताको प्रचार प्रसार, सम्भावनाको खोजी, विकास र समृद्धिका लागि नीतिगत प्रयासको थालनी, कर्णालीमाथि निर्मित न्यारेटिभ माथिको पुनर्व्याख्याका लागि यो उत्सव उपलब्धिमूलक हुने अपेक्षा लिएका छौं ।
अन्त्यमा, हाम्रो निम्तोलाई स्वीकार गरी कर्णाली उत्सवमा पाल्नुहुने सबैलाई पुनः एक पटक सुन्दर नगरी वीरेन्द्रनगरमा हार्दिक स्वागत गर्न चाहन्छु ।