देवी ओली (अध्यक्ष, सामाजिक विकास समिति, कर्णाली प्रदेशसभा)

देवी ओली (अध्यक्ष, सामाजिक विकास समिति, कर्णाली प्रदेशसभा)

देवी ओली (अध्यक्ष, सामाजिक विकास समिति, कर्णाली प्रदेशसभा)

संसद् जनताहरूका लागि आवश्यक कानुनहरू बनाउनका लागि निर्माण भएको संस्था हो । जसलाई व्यवस्थापिका पनि भन्छौँ । उसले सरकारले दैनिक कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने कानुनहरू निर्माण गर्छ । सरकारको निर्माण समेत संसदले गर्छ । सरकारको बजेट, नीति तथा कार्यक्रम पारित गर्छ ।

संसद् सरकार होइन । दैनिक बजेट कार्यान्वयनको कुरा संसद्ले गर्दैन । संसद्बाट पारित भएर सरकारले कार्यान्वयन गरेको बजेटको निगरानी गर्ने संस्था पनि संसद् हो । अहिले हामी विभिन्न संसदीय समिति मार्फत अनुगमनमा जाँदा खेरी नागरिकहरूले सरकारसँग माग गर्नुपर्ने योजनाहरू हामीहरूसँग माग गरिरहनुभएको हुन्छ । संसद् बजेट बाँड्ने संस्था पनि होइन भन्ने वुझ्न जरुरी छ ।

शून्य समय भनेको सांसदले आफ्नो निर्वाचन क्षेत्रमा तत्काल प्रदेशसभा चलिरहेको अवस्थामा सरकारले केही काम गर्नु पर्ने भएमा त्यस्तो अवस्थामा ध्यानाकर्षण गरिने समय हो । कर्णाली प्रदेशसभामा शून्य समयको भरपुर प्रयोग भएको छ । उदाहरणको लागि भदौको महिना जाजरकोट जिल्लाको लेकाली भागमा भेडा गोठालाहरू बेपत्ता भएको अवस्थामा सरकारको शून्य समयमा ध्यानाकर्षण गराएर तत्काल हेलिकप्टर पठाएर उनीहरूको उद्धार भएको थियो । आफ्नो निर्वाचन क्षेत्रमा संसद् बैठक चलिरहेको अवधिमा केही घटनाहरू भएको अवस्थामा यो कुरा सरकारलाई जानकारी गराउनका लागि संसद्को शून्य समयको प्रयोग पनि गरिन्छ ।

कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति सक्रिय रूपमा काम गरिरहेको छ भन्ने कुरा मिडिया र अन्य माध्यममा सुन्न पाएँ । यो मैले व्यक्तिगत रूपमा मात्रै काम गरेको र सक्रिय भएको कुरा होइन । हाम्रो कर्णाली प्रदेशमा जो सीमान्तकृत समुदाय छ, जो समुदाय सामाजिक रूपमै बहिष्कृत छ, उहाँहरूको समस्या र पीडाले हामीलाई काम गर्न आकर्षित गरेको हो । त्यो समस्याको समाधान सरकारले कसरी गर्छ भन्ने कुराको खोजिएको सिलसिलामा हामीले विभिन्न कामहरू गरेका हौँ ।

विशेष गरी कानुन निर्माण गरेर मात्र हुने रहेनछ, कार्यान्वयनको पाटो पनि महŒवपूर्ण हो भन्ने हामीले महसुस गरेका छौँ । सीमान्तकृत समुदायको कुरामा राउटे समुदायकै कुरा गर्दा सरकारले भत्ताको व्यवस्था गरेको छ । त्यसको पनि सदुपयोग भएको छ कि छैन भनेर हामीले त्यहाँ गएर हेर्ने हो भने उहाँहरूले आफ्नो जीवन स्तरको लागि सदुपयोग गर्नु भएको छैन ।

कर्णालीमा विभिन्न सीमान्तकृत समुदायहरू छन् । सामाजिक रूपमा विभिन्न कुरीतिहरू र कुसंस्कारहरू छन् । भेदभाव र छुवाछुत पनि कर्णालीमा रहेको छ । त्यसैले सरकारले नीति तथा कार्यक्रममा ल्याएका कुराहरू सीमान्तकृत समुदायले पायो कि पाएन भन्ने सिलसिलामा हामीले उहाँहरूसँग फिल्डमै गएर काम गरेका छौँ । उदाहरणका लागि बादी समुदायले कर्णाली प्रदेश सरकारसँग विभिन्न माग राखेर लामो आन्दोलन गर्नुभएको थियो । सरकारले उहाँहरूको माग सम्बोधनको लागि एउटा सम्झौता ग¥यो । त्यो माग सम्बोधन हुनुपर्छ भनेर हामीले एक पटक संसदीय समिति मार्फत सरकारलाई निर्देशन गर्यौं ।

हामीले एक पटक निर्देशन मात्रै गरेर बसेका छैनौँ, त्यो निर्देशन कार्यान्वयन भयो कि भएन भनेर निरन्तर निगरानी गरिरहेका छौँ । मलाई व्यक्तिगत रूपमा लागेको कुरा यहाँका लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले जुन खालको उहाँहरूको पहिचान र मानवीय रूपमा बाँच्न पाउने कुराको वकालत गरिरहनुभएको छ, सरकारले त्यो खालको वातावरण दिनु पर्छ भनेर हामीले निर्देशन गरेका छौँ । हाम्रो मूल्याङ्कनमा कर्णाली प्रदेश सरकारले सामाजिक विकास समितिले हालसम्म दिएका निर्देशनहरू मध्ये करिब ७० प्रतिशत निर्देशनहरूको कार्यान्वयन गरेको छ ।

Leave a Comment